WATV.org is provided in English. Would you like to change to English?
“हामीले नपठाए पनि गइहाल्ने आइतबार र हामीले नबोलाए पनि आइहाल्ने सोमबार ।” कोरियाको छन्आनस्थित सबुग मण्डलीमा आयोजित ‘जागिरेहरूका निम्ति हिलिङ गोष्ठी’– सहानुभूति टकबाट
‘कार्यक्षेत्रमा तपाईंलाई थकित बनाउने कुरा के हो ?’ भनेर सोधिएको सर्वेक्षणमा एक जना सहभागीको रोचक जवाफले सबैलाई हँसायो । योचाहिँ आफ्नो थकित जीवनमा जति समय आराम गरे पनि अपुग हुने जागिरेहरूको भावनालाई दर्शाउने वाक्य थियो ।
व्यस्त जागिरेहरूलाई आराम प्रदान गर्ने ‘जागिरेहरूका निम्ति हिलिङ गोष्ठी’ सेप्टेम्बर १ तारिखमा कोरियाको सबैभन्दा ठूलो पर्यटनस्थल जेजुदो टापू, सङनाम र छनानमा एकैसाथ आयोजना गरियो । १५ तारिखमा, मङ्गोलियाको उलानबटोरमा पनि आयोजना गरिएको यस कार्यक्रमले स्थानीय बासिन्दाहरूबाट ठूलो प्रतिक्रिया आयो ।
कुल २,२०० जनाको सहभागिता रहेको कोरियाको जेजु ओरा मण्डली, छनान सबुग मण्डली र नयाँ यरूशलेम इमे मन्दिरमा आयोजित ‘जागिरेहरूका निम्ति हिलिङ गोष्ठी’ अर्केस्ट्रा प्रस्तुतिसँगै आरम्भ भयो । प्रत्येक क्षेत्रका चेम्बर अर्केस्ट्राले नयाँ भजन ‘मनदेखि चाहेको,’ ए. फिआजुलाको ‘लिबेर्टेङ्गो(Libertango),’ चलचित्र ‘ला ला ल्यान्ड(La La Land)’को ओरिजिनल साउन्ड ट्र्याक इत्यादि विभिन्न सङ्गीतहरू प्रस्तुत गरे । यस पटक कार्यक्रमको निम्ति जेजुको ओरा मण्डलीमा गएका प्रस्तोताहरूले जेजु र सग्वीफोका स्थानीय बासिन्दाहरूलाई निकै प्रभावित तुल्याए ।
हिलिङ गोष्ठीको शीर्षक थियो, ‘खुशीको खोजी’ । प्रस्तोताहरूले तनावको मुख्य कारणको रूपमा मानव सम्बन्धलाई औँल्याउँदै साहित्यिक कृतिहरू र दृश्य सामग्रीमार्फत “सम्बन्धका कारण हामीहरू कहिलेकहीँ थकित पनि हुन्छौं, तर त्यसबाट पाउने सान्त्वना र प्रोत्साहन ठूलो हुन्छ । असीम प्रेमको स्रोत हुनुभएका बुबा-आमासँगको सम्बन्धलाई फर्केर हेर्दा साँचो खुशी पत्ता लगाउन सकिन्छ” भनेर सुझाए । सहभागीहरूले परिवारको रूपमा, दम्पतीको रूपमा, छोरा-छोरीको रूपमा र जागिरेको रूपमा सहानुभूति प्राप्त हुने विषयमा शिर हल्लाउँदै ध्यानपूर्वक प्रस्तुति सुने । बुबा-आमा र परिवारलाई सम्झँदै आँसु पुछ्नेहरू पनि थिए ।
अतिथिहरूका निम्ति बूथहरू पनि तयार गरिएको थियो । सहभागीहरूले तस्वीर क्षेत्र, हस्तलिखित पोस्टकार्ड बनाउने, मिठाइ बनाउने, शून्य तनाव क्षेत्र, बास्केटबल इत्यादि अनुभव कार्यक्रमहरूमा रमाउँदै आफ्नो तनावलाई कम गराए । कार्यक्रममा सहभागी भएका जेजु प्रान्तीय परिषद्का अध्यक्ष, गिम थे सगले “बाटो सरसफाइ, रक्तदान अभियान जस्ता परमेश्वरको मण्डलीका गतिविधिहरू स्वस्थ जेजुदो टापू बनाउन एक राम्रो आधार बनेको छ । आजको कार्यक्रमले नगरवासीहरूको मानसिक स्वास्थ्यलाई सुधार्न सहयोग पुग्नुको साथै पुस्ताबीचको सञ्चार र सद्भावलाई सुदृढ बनाउनेछ” भन्दै दुवै बूढी औँला उठाए । बाल चिकित्सा अस्पतालमा नर्सको रूपमा कार्यरत गिम सु मिन(२३ वर्षीया)ले “सहानुभूति टक कार्यक्रममा अरूहरूको कहानी सुन्दा ‘थकित हुनेचाहिँ म मात्रै होइन रहेछु’ भन्ने सान्त्वना मिल्यो” भन्दै आफूलाई गोष्ठीमा आमन्त्रण गरेकी आफ्नी सहकर्मीलाई धन्यवाद दिइन् ।
मङ्गोलियाको उलानबटोरमा आयोजित ‘जागिरेहरूका निम्ति हिलिङ गोष्ठी’मा उलानबटोर क्षेत्रका सन्तहरूका सहकर्मीहरू र चिनाजानाहरू गरेर ११० जनाभन्दा बढीको सहभागिता रहेको थियो । बिदाको दिन अपरान्ह आनन्दित मनद्वारा मण्डलीको भ्रमण गरेका सहभागीहरू अनुभव कार्यक्रमको मज्जा लिँदै हाँसे, र परिवारको न्यानो प्रेमको याद दिलाउने गोष्ठीद्वारा निकै प्रभावित भए । उलानबटोरको प्राथमिक विद्यालयकी शिक्षिका, दारिमा(२४ वर्षीया)ले “मलाई बच्चाहरू पढाउने काम रमाइलो लाग्छ, तर कहिलेकहीँ कक्षाको तयारी गर्दा थकाइ लाग्छ । आज मैले उत्कृष्ट बिदा मनाएँ” भन्दै आफ्नो भावना व्यक्त गरिन् ।
गोष्ठीमा सहभागी भएर घर फर्कने क्रममा, भोलिपल्टको दिन सामान्यतया नबोलाइने सोमबार भए पनि कोरिया र मङ्गोलियाका सहभागीहरूको मुहारमा भने मुस्कान लहराइरहेको थियो । गत वर्षको अगस्टदेखि कोरियाको सिहुङबाट आरम्भ भएको ‘जागिरेहरूका निम्ति हिलिङ गोष्ठी’ले क्षेत्र र पुस्ताहरूको पर्खाललाई पार गर्दै २०,००० जनाभन्दा बढी मानिसहरूलाई हिलिङ गर्ने र सान्त्वना दिलाउने समय प्रदान गरिरहेको छ ।