भाषा चयन गर्नुहोस् ।

Close

मलाई उत्तर दिनुहोस्

इम जि मिन / गुन्फो, कोरिया

10,653 भ्यु

कोमल र नम्र स्वभावकी एक जना स्त्री मेरो छिमेकमा बस्नुहुन्थ्यो । आमासँग मिल्ने उहाँकी सानी छोरीको शील-स्वभाव पनि राम्रो थियो । अपरिचित मानिसहरूसँग नडराउने ती नानी निकै ज्ञानी भएकीले मैले “वाह् साह्रै ज्ञानी । कति मायालु !” भनेर उनको प्रशंसा गरें । उनी शान्त स्वभावकी भएकीले मैले जिस्किँदै, यी नानी त मसित पनि मान्छिन् होला भन्दाखेरि उनकी आमाले हात हल्लाउँदै यसो भन्नुभयो, “यसलाई स्याहार्न कति गाह्रो छ भन्ने कुरा एकैछिन हेरेर थाहा हुँदैन । यो कति रिसाहा छे, त्यो त दिनभरि योसँगै हुने मलाई मात्र थाहा छ ।”

एक दिन म अलिबेरसम्म उहाँको घरमा बसें, र ती नानी आफूले चाहेजस्तो नहुँदा आमालाई पिरोल्दै रोइरहिन् । हैरान भएर आमाले उनको इच्छा पूरा गरिदिँदैहुनुहुन्थ्यो, तर ती नानी लगातार रोइरहेकीले धैर्यताको बाँध फुटेर अन्त्यमा उहाँले उनलाई ठूलो सोरले हपार्नुभयो ।

मैले हालसालै पढेको एउटा लेखका अनुसार रुवाइचाहिँ संसारको सबैभन्दा खराब आवाज हो । न्यू योर्कको स्टेट विश्वविद्यालयमा मनोविज्ञानका अनुसन्धानकर्ताहरूले नवजात शिशुको रुवाइ, बच्चाहरूको रोदन, वयस्कको अविराम भाषण र चर्को सुनिने करौंती चलाएको आवाज जस्ता झिँझोलाग्दा आवाजहरू सुन्दै गणितको घटाउ हल गर्न लगाएका थिए । तब सहभागीहरूले कसैको बोली अथवा अन्य कुनै होहल्लाको आवाजभन्दा पनि रुवाइको आवाज सुन्दाखेरि गणितको हिसाबमा बढी त्रुटि गर्न पुगेका पाइयो ।

​सहभागीहरूमा चाहे सन्तान भएका पुरुष-स्त्री होस्, चाहे सन्तानविहीन पुरुष-स्त्री होस्, सबैमा उस्तै परिणाम देखियो । अनुसन्धानकर्ताहरूले “अधिकांश आमाहरूले, बच्चा रुँदा दिमाग अनियन्त्रित हुन्छ भन्छन् । योचाहिँ आमामा धैर्यता नभएर होइनकि आवाजले वास्तवमै मानिसहरूलाई एकदम औडाहा हुने भएकोले हो” भने ।

यदि कोही मेरो वरिपरि घुमिरहन्छ र उसले भनेको कुरा गरिदिनको निम्ति मसँग कचकच गरिरहन्छ भने कति हैरान र दिक्कलाग्दो हुन्छ होला ? अनुसन्धानले संसारमा सबैभन्दा रिसउठ्दो आवाज नै रुवाइ हो भनेझैँ त्यो आवाज सुन्ने व्यक्तिको निम्ति ठूलो समस्याको कुरा हो ।

तब मलाई पहिला हेरेको ‘ब्रूस अल्माइटी’ नामक चलचित्र याद आयो । चलचित्रमा एक जना गनगने मानिसले एक्कासि परमेश्वरबाट सर्वशक्ति प्राप्त गर्छ । तब दिनरात अविराम प्रार्थनाहरूको आवाजले त्यो मानिसलाई सताउँछ, उसले ती आवाजलाई रोक्ने तरिका खोज्न थाल्छ । कागजद्वारा त्यसलाई व्यवस्थित गर्दा व्यावहारिक होला भन्ठानेर उसले प्रार्थनाहरू फाइलमा राख्छ । तब फाइलहरूले कोठा चाँडै भरिन्छ, र ठाउँ बचत गर्न उसले स्टिकि-नोट(गम भएको सानो टुक्रा कागज) प्रयोग गर्छ । तब नोटले पनि पूरै कोठाहरू भरिन्छ । त्यसपछि उसले आफ्नो इमेलद्वारा प्रार्थनाहरू प्राप्त गर्छ, तर ती निरन्तर रूपमा यति धेरै आउँछ, कि उसको अकाउन्टमा ठाउँ नै खाली हुँदैन । अन्ततः उसले प्रार्थनाहरूको एक-एक गरेर उत्तर दिन छोड्छ, अनि सबै प्रार्थनाहरूलाई “हुन्छ” भनिदिन्छन् । त्यसको भोलिपल्ट संसारमा खैलाबैला मच्चिन्छ ।

त्योद्वारा मैले, दिनरात आफ्ना सन्तानहरूको हरेक प्रार्थनाको उत्तर दिनुहुने स्वर्गीय पिता र माताको बलिदानलाई महसुस गर्न सकें । हामी सन्तानहरू आफैले केही नगर्ने भएकाले पिता र माताले विश्राम गर्न पाउनुभएको छैन । तैपनि उहाँहरूले “माग, खोज र ढकढक्याओ” भन्नुभएको छ, किनभने उहाँहरू हामीलाई सम्पूर्ण थोक असीमित रूपमा दिन मात्र चाहनुहुन्छ । यो नै परमेश्वरको प्रेम हो ।

‘उत्तर दिनुहोस्, मलाई उत्तर दिनुहोस् !’

मैले हठी भएर असम्भव कुराहरू रोइकराइ गरेर माग्दा पनि स्वर्गीय पिता-माताले बलिदान, प्रेम र धैर्यतासाथ मेरा प्रार्थनाहरूको उत्तर दिनुभयो । पिता-माताले बुबा-आमा भएअनुरूप कष्ट सहनुहुन्छ, त्यो बलिदान साँच्चै कति महान् छ । मेरो कमजोरी जान्नुभएर सहयोग गर्नुहुनेचाहिँ केवल परमेश्वर हुनुभएकोले “माग” भन्नुभएको वचनअनुसार म अनन्त धन्यवाद र प्रशंसाको सोर उचाल्दै परमेश्वरसमक्ष माग्न कहिल्यै छोड्नेछैनँ ।