WATV.org is provided in English. Would you like to change to English?

आमाको मन

छोइ उन ह्ये / इन्छन, कोरिया

1087 हेरेको संख्या

मेरी दिदी मभन्दा १ वर्ष जेठी हुनुहुन्छ । उमेरमा झण्डै उस्तै भएकाले हामी प्रायः साथीजसरी झगडा गर्थ्यौं । त्यसो हुँदैपिच्छे बुबा-आमाचाहिँ खालि मलाई नै गाली गर्नुहुन्थ्यो । म त्यसलाई अन्यायको रूपमा लिन्थें, र त्यस उप्रान्त बुबा-आमाले मसित राम्रो व्यवहार गर्नुभए तापनि मैले उहाँहरूको मनलाई स्वीकार्न सकिनँ ।

जागिरे जीवन सुरु गरेदेखि म बुबा-आमाबाट टाढिएर एकलै बस्न थालें । म हप्तामा एक चोटि चाहिँ घर जान्थें । लामो समयपछि कुनै दिन आमा, दिदी र म डिपार्टमेन्ट स्टोरमा किनमेल गर्न गयौं ।

यताउता हेर्दैगर्दा आमाले दिदीको पुरानो जुत्ता देख्नुभयो, अनि एक जोर जुत्ता किन्न जुत्ता पसलमा जानुभयो । उहाँले मलाई पनि जुत्ता किनिदिनुहुन्छ कि जस्तो लागेको थियो । तर दिदीलाई जुत्ता किनिदिएर उहाँ तरकारी किन्नतिर लाग्नुभयो । तरकारी किनेर जब उहाँ जुत्ता पसलमा फर्किनुभयो तब मैले मन थाम्नै सकिनँ र भनें,

“आमा, म पनि जुत्ता किन्ने ।”

“तिम्रो गोडा एकदम सानो भएकोले त्यो नापको जुत्ता यहाँ पाइँदैन ।”

मेरो गोडा सानो भएकोले त्यो नापको जुत्ता पाउन गाह्रो छ भनेर आमाले भन्नुभयो । तैपनि मलाई जसरी पनि जुत्ता चाहिएको थियो । त्यसैले मैले मेरो रोजाइका जुत्ताहरू लगाइहेरें । आमाको कुरा सही थियो । सबै जुत्ता मेरो लागि धेरै नै ठूला थिए ।

कुनै विकल्प नभएर हामी पसलबाट बाहिर निस्कँदा मैले रिसाउँदै मुख चोसो पारें । म रीसले रन्थनिएकी थिएँ ।

“मलाई माफ गर । पछि म तिमीलाई हामी प्रायः गइरहने पसलमा लगेर किनिदिन्छु ।”

घर फर्कने क्रममा आमाले बारम्बार माफ माग्नुभयो । तैपनि मेरो रीस शान्त भएको थिएन । सानैदेखि दिदीलाई चाहिँ आँखाको नानीझैँ माया गर्नुभएको, अनि मलाई चाहिँ आँखाको कसिङ्गरझैँ व्यवहार गर्नुभएको देख्दा, मलाई आफू आमाकी आफ्नै छोरी नै होइन कि जस्तो पनि लाग्थ्यो ।

म आफ्नो निवासतिर फर्कंदा दिदीले मलाई मोबाइल सन्देश पठाउनुभयो ।

‘आमाले तिमीलाई अन्तै ठाउँमा जुत्ता किनिदिने भन्नुभएको छ । चिन्ता नगर ।’

यसपछि दिदीले पठाउनुभएको अर्को सन्देश मेरो हृदयमा गडियो ।

‘तिमीलाई आमाले अस्ति भर्खर महँगो जुत्ता किनिदिनुभएको थिएन र ?’

ओहो, हो नि । आमासँग रिसाएकोमा म क्षमाप्रार्थी भएँ । तब मलाई विगतको कुरा याद आयो, जुन मैले पूर्ण रूपमा बिर्सेकी थिएँ ।

दिदी जन्मनुहुँदा उहाँको तौल सामान्यभन्दा कम भएकोले उहाँलाई केही समय इन्क्युबेटरमा राखेर हुर्काइएको थियो । त्यसपछि पनि उहाँ प्रायः बिरामी भइरहनुहुने भएकोले आमालाई धेरै दुःख भयो । त्यसको ठीक विपरीत मचाहिँ स्वस्थ र बलियो थिएँ ।

बुबा-आमाले मलाई बेवास्ता गर्नुहुने भएकोले दिदीको बढी हेरचाह गर्नुभएको होइन । तर दिदी बारम्बार बिरामी परिरहनुहुने भएकोले उहाँलाई बढी स्याहार्नुभएको हो । निश्चय नै, दिदीलाई भन्दा मलाई राम्ररी हेरचाह गर्नुभएका समयहरू पनि धेरै थिए होलान् ।

दिदीको जुत्ता साह्रै थोत्रो भएकोले आमाले एक जोर किनिदिन चाहनुभएको थियो । म आफैप्रति लज्जित भएँ । वास्तवमा आमाले मसँग होइन तर मैलेचाहिँ आमासँग माफी माग्नुपर्ने थियो ।

मैले तुरुन्त आमालाई सन्देश पठाएँ ।

‘आमा, मलाई माफ गर्नुहोस् । म तपाईंलाई धेरै माया गर्छु, है ?’

मोबाइलमा सन्देश लेख्न नजान्नुहुने आमाले केही मिनेटपछि मलाई प्रत्युत्तर पठाउनुभयो ।

‘ :- ) ’

सामान्य इमोटिकन(भावनात्मक चित्र सन्देश)मा आमाको मन झल्कियो ।

मचाहिँ सधैँ आफ्नो कुरामा जिद्दी गर्दै आमालाई गनगन गर्ने एक अपरिपक्व छोरी हुँ । मैले स्वर्गीय मातालाई पनि त्यस्तै व्यवहार देखाएकी छु । आफूले रिस देखाउन मिल्ने कुरामा समेत आमा उल्टै मप्रति क्षमाप्रार्थी हुनुभयो, र मलाई प्रेमद्वारा हेरचाह गर्नुभयो । स्वर्गीय माता पनि उस्तै हुनुहुन्छ । मैले अलि ढिला महसुस गर्ने भएकीले कता-कता नरमाइलो लाग्छ । तर अबचाहिँ माताको मुस्कान बन्नलाई म परिपक्व सन्तानको रूपमा हुर्किनुपर्छ ।