WATV.org is provided in English. Would you like to change to English?

बुबाको घर

म्याड्रिड, स्पेन

612 हेरेको संख्या

म सानो छँदा, बुबाले आफ्नो मासिक तलब बचत गरेर ईंटा, सिमेन्ट, फलामको डण्डी र साबेल जस्ता सामग्रीहरू किनेर ल्याउनुभयो, अनि ती सबैलाई आँगनमा जम्मा गरेर एकलैले घर बनाउनुभयो । पूरै धूलाम्मे भएर निधारबाट पसीनाका थोपाहरू चुहाउँदै खाल्डो खन्नुभएका बुबाको स्वरूप मलाई अहिले पनि याद छ । त्यस बेला म सानै थिएँ, र मेरो नजरमा घर बनाउने काम कहिल्यै सिद्धिँदैन जस्तो देखिएको थियो । बुबाले घर बनाउनको निम्ति किन यति धेरै परिश्रम गर्नुभएको होला भनेर मैले बुझ्नै सकेकी थिइनँ ।

जब म जवान भएँ तब, बुबाले वर्षौं लगाएर बनाउनुभएको घर अन्ततः सम्पन्न भयो । छिमेकका घरहरूमध्ये सबैभन्दा सुन्दर दुई तलाको घर थियो । राम्रो रङ लगाइएका बाहिरी भित्ताहरू, आमाको लागि बगैँचा र न्यायोपना महसुस हुने भित्री भाग … घरका प्रत्येक कुना र ईंटामा बुबाको प्रेम समावेश थियो ।

म कामबाट घर फर्कंदैपिच्छे बुबाको परिश्रम कति मूल्यवान् छ भन्ने मलाई महसुस हुन्थ्यो । ‘बुबालाई कति गर्व लाग्छ होला ?’ भन्दै म बुबाको मनलाई कल्पना गर्थें ।

विवाहपछि म विदेशमा बसाइँ सरें, अनि मेरा बुबा-आमा र बहिनी पनि विदेशमा सर्नुभयो । मेरो परिवारले वर्षौंसम्म त्यस घरमा बसोबास गरेपछि त्यो घर बेच्नुपर्ने भयो ।

घर बेच्न त्यसलाई खाली गर्नुपर्ने भएकोले त्यहाँ जाँदा मैले कोठाहरू र बैठक कोठामा छोडिएका निशानहरूलाई नियालेर हेरें । बहिनीसँग खेल्दा भित्तामा लागेका निशानहरू, मेरो नाम लेखिएको झ्याल, तस्वीर फ्रेमहरू झुण्डिएको ठाउँ … पुराना दिनहरू सम्झेर मेरा आँखा रसाए ।

बुबाले आफ्नो निम्ति कहिल्यै केही किन्नुभएन । घर बनाउन के-कति खर्च लाग्ला, कति समय लाग्ला, के-के छोड्नुपर्ला इत्यादि कुराहरूको उहाँले वास्ता राख्नुभएन । केवल हामीलाई आरामदायक र खुशीको ठाउँ प्रदान गर्ने इच्छामा उहाँले प्रत्येक महिना सामग्रीहरू किन्दै लामो समय लगाएर मौनतापूर्वक घर बनाउनुभयो ।

हिजोआज अधिकांश मानिसहरूले पहिल्यै बनिसकेको घर किन्ने अथवा भाडामा लिने गर्छन्, अनि त्यसलाई अलि-अलि मर्मत गर्छन् । तर हाम्रो घरचाहिँ अति विशेष थियो । बुबाको प्रेम, धैर्यता र भक्तिसाथ निर्मित घर थियो । बुबाले निर्माण गर्नुभएको विशेष घरमा बस्ने मानिसहरू कति जना छन् होला ?

मैले बुबाप्रति मेरो प्रेम अथवा उहाँको प्रयासप्रति कृतज्ञता कहिल्यै व्यक्त गरेकी छैनँ । वृद्ध हुनुभएका मेरो बुबाको खस्रो, साह्रो हात देखेर परिवारको निम्ति परिश्रम गर्नुभएका बुबालाई धन्यवाद नदिएकोमा म लज्जित थिएँ ।

बुबाको लागि त्यो घर खजानाजस्तै भए पनि अर्को देशमा जानुपर्दा उहाँ त्यो घर छोड्न हिचकिचाउनुभएन । जतिसुकै तनमनले बनाएको घर भए पनि आफ्नो परिवारविनाको सुन्दर घर पनि उहाँको लागि अर्थहीनजस्तो देखियो । उहाँको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा नै परिवार सबै जना एकसाथ रहनु थियो ।

हामी रहेको ठाउँ जहाँ भए पनि बुबा हाम्रो घर बन्नुहुन्छ । मसँग बुबा भनिने घर भएकोले म खुशी छु । बुबा, परिवारको निम्ति गर्नुभएको सबै कुराको लागि साँच्चै धन्यवाद !