WATV.org is provided in English. Would you like to change to English?

घरायसी काम बाँडफाँडमा अचम्मको शक्ति छ ।

घरायसी कामचाहिँ परिवार र घरप्रतिको स्नेह हो, परिवारका सबैले सँगै गर्नुपर्ने काम हो ।

80,736 भ्यु

खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने, सरसफाइ गर्ने, सामान मिलाउने, फोहोर व्यवस्थापन गर्ने, किनमेल गर्ने … घरको काम दिनहुँ दोहोरिरहन्छ । गर्छौं तापनि त्यो देखिँदैन, तर गर्दैनौं त तुरुन्त प्रकट भइहाल्छ । घरको काम सरल र नगण्य देखिए तापनि यसको कारणले धेरै परिवारहरूमा कलह उत्पन्न हुन्छ । ‘तिमीले मलाई घरको काममा सघाउँदा के बिग्रिन्छ र ?,’ ‘हैन, दिनभरि काम गरेर आएको मान्छेलाई कति सताउन सक्नुभएको होला ?’ ‘आमाले नै यसो मिलाइदिनुभए हुन्छ नि’ … समस्याचाहिँ घरको काम होइन, तर परिवारजनको सोचाइबीचको भिन्नता हो ।

कहिलेकहीँ घरको काम नगण्य र अनौठो लाग्नु तीतो यथार्थता हो । तर यदि भाँडा माझ्ने ठाउँ जुठा भाँडाहरूको दुर्गन्धले भरिएको छ, रेफ्रिजेरेटर रित्तो छ, फोहोर जताततै छरिएको छ, र नधोएकोले फोहोरै लुगा फेरि लगाउनुपऱ्यो भने के गति हुन्छ होला ? के यस्तो माहोलमा ताजगी र ऊर्जा महसुस गर्न सम्भव छ त ? त्यस्तो घरमा त मानिस शारीरिक र आत्मिक रूपमै सड्न पुग्छ ।

आमाले समय, परिश्रम र तनमन लगाएर तयार गर्नुभएको खानामा पौष्टिक तत्त्व मात्र होइनकि परिवारप्रतिको स्नेह पनि समावेश हुन्छ । त्यो खाना खाने परिवारजनले सन्तुष्टि र प्रेरणा महसुस गर्नेछन्, अनि सँगै बसेर खाना खाँदा एक-आपसमा आत्मीयता बढ्नुको साथै सञ्चार पनि हुन्छ । लुगा धुँदा वा सरसफाइ गर्दा पनि प्रेम र बलिदान चाहिन्छ । त्यसरी घरायसी कामकाजद्वारा अप्रत्यक्ष रूपमा पोखिने प्रेमले परिवारजनको हृदयमा शान्ति र आराम दिलाउँछ ।

घरको काम सपरिवारको काम

घरको सारा काम एक जनाले मात्र गर्दा एकछिनको लागि बाँकी परिवारजनलाई सहज त होला, तर यसको असर पछि देखा पर्छ । मानिलिऔं, सम्पूर्ण कामकाज पत्नी एकलैले गर्ने गर्छिन्, अनि पति र बालबच्चाहरू भने घरको सिन्को पनि भाँच्दैनन् । यदि जटिल काम आइपरेर पत्नी कतै जानुपर्ने भयो भने अब ती परिवारजनले खाना कि बाहिरबाट मगाउनुपर्ने हुन्छ, कि त भोकभोकै बस्नुपर्ने हुन्छ । यदि केही गरी पत्नी बिरामी भइन् भने घर लथालिङ्ग बन्न पुग्नेछ ।

घरको काममा सहभागी हुनु भनेको श्रम विभाजन गर्नु मात्र होइन । यो त सँगै बस्ने परिवारजनले गर्नैपर्ने काम हुनुको साथै परिवारको सदस्य हुँ भनेर प्रमाणित गर्ने कुरा पनि हो । थुप्रै अनुसन्धानको परिणामअनुसार परिवारमा जति धेरै काम बाँडफाँड गरिन्छ, परिवारजनले आफ्नो जीवनमा त्यति नै धेरै सन्तुष्टि महसुस गर्छन् । एउटै घरमा बस्ने परिवार भए पनि उनीहरू कम्प्यूटर चलाउँदै अथवा टिभी हेर्दै आफ्नो समय बेग्लाबेग्लै तरिकाले बिताउन पनि सक्छन् । तर यदि उनीहरूले घरको काम बाँडफाँड गरे भने उनीहरूलाई स्वभावतः एक-अर्कासित कुराकानी गर्ने अवसर पनि मिल्छ, अनि उनीहरू एक-अर्काका अभिन्न अङ्ग हुन् भन्ने यथार्थता पनि बोध हुन्छ ।

यसबाहेक घरको काम गर्नु भनेको परिवारप्रतिको प्रेम दर्शाउनु पनि हो । घरको काम गर्दाखेरि ‘नगरी सुखै छैन’ भन्ने करकापमा परेर गर्नुभन्दा पनि, योचाहिँ म र मेरो परिवार सुखद् वातावरणमा जिउनको निम्ति गरिने कार्य हो, जीवनयापनको एक हिस्सा हो भनेर मनन गर्नुपर्छ । तपाईंले यस्तो मनद्वारा घरको काम गर्नुभयो भने तपाईंलाई घरको काम गर्दा बोझ होइन, आनन्द लाग्नेछ ।

घरायसी कामले बालबालिकामा पार्ने प्रभाव

‘घरको काम बच्चाहरूलाई अह्रायो भने काम झनै बढ्छ,’ ‘यिनीहरूसित पढ्ने समय त हुँदैन, यिनीहरूलाई कसरी घरको काम लगाउने ? …’ अधिकांश बुबा-आमाले छोरा-छोरीलाई घरको काम गर्न लगाउनुभन्दा बरु आफू एकलैले गर्नु बेस भनेर सोच्ने गर्छन् । तर घरायसी कामचाहिँ विद्यालयमा अथवा पुस्तकहरू पढेर सिक्न सकिने कुरा होइन । त्यसैले बाल्यकालदेखि नै उनीहरूलाई अलि-अलि गर्दै काम गर्न दिनु राम्रो हुन्छ । घरायसी काममा लगाउनुचाहिँ त्यत्तिकै बुबा-आमालाई सहयोग गर्नु मात्र नभएर यो शिक्षामूलक कुरा पनि हो ।

बालबालिकालाई कुनै काम जिम्मा दिएमा उनीहरूले जिम्मेवारीको भाव सिक्न सक्छन् । अनि जिम्मा पाएको काम गर्दाखेरि उनीहरूमा एकलैले पनि गर्न सक्छु भन्ने आत्मविश्वास बढ्नेछ । यसरी हेर्दा घरायसी कामचाहिँ बच्चाहरूमा आत्मविश्वास बढाउनको लागि पनि प्रभावकारी हुन्छ । यति मात्र नभएर उनीहरूले कामको क्रमलाई पनि मिलाउन जान्नेछन्, अनि बेला-बेलामा व्यवस्थापन गर्ने आदत बसाल्ने प्रक्रियामा उनीहरू अझ बढी जिज्ञासु, सक्रिय, एकाग्र र सकारात्मक पनि बन्न सक्नेछन् । घरायसी कामहरू सँगै गर्दाखेरि उनीहरूले परिवारलाई सेवा गर्ने मन पनि सिक्नेछन् ।

बच्चाहरूलाई घरको काम अह्राउँदा उनीहरूको उमेरसँग मिल्ने उपयुक्त काम अह्राउनुपर्छ । २-३ वर्षको बच्चाको लागि, खेलौनालाई झोलामा हाल्नु अथवा पुस्तकलाई ऱ्याकमा मिलाएर राख्नु सजिलो काम हो । आत्मनिर्भर हुन सिकिरहेका प्राथमिक निम्न तहका बच्चाहरूलाई चामल पखाल्ने, धुने लुगाको रङ छुट्ट्याउने, ती लुगालाई वासिङ मेसिनमा हाल्ने इत्यादि काम अह्राउँदा हुन्छ । प्राथमिक उच्च तहको विद्यार्थी हो भने उनीहरूले आफ्नो स्कूलको जुत्ता आफै धुन सक्छन् ।

बालबालिकाहरूका निम्ति निशर्त बलिदान र सेवा मात्र गर्नुभन्दा पनि घरायसी काम पनि सँगै गराउँदै उनीहरूलाई पारिवारिक खुशी र मिलाप महसुस गर्ने समय दिएर एक-अर्कालाई सघाउने तरिका सिकाउनु पनि महत्त्वपूर्ण हुन्छ । तर वयस्कले निभाउनुपर्ने जिम्मा उनीहरूलाई दिने अथवा परिस्थितिको ख्यालै नगरी अन्धाधुन्ध उनीहरूलाई घरायसी काम अह्राउनेचाहिँ गर्नुहुँदैन ।

घरको काम बाँडफाँड गर्ने तरिका

१. जो जुन काममा राम्रो छ, त्यही गर्ने

घरको कामचाहिँ परिवारजनको सङ्ख्याअनुसार अथवा उनीहरूको लिङ्ग वा परम्परागत भूमिकाअनुसार बराबर बाँड्नुभन्दा पनि परिवारजनले चाहेअनुसारको काम बाँडफाँड गर्नुपर्छ । व्यक्तिपिच्छे आफूलाई मन पर्ने र खुशीसाथ गर्न सक्ने कार्यक्षेत्रहरू छन् । जस्तै, आमाचाहिँ राम्रो भान्से हुनुभएकोले उहाँले भान्साको काम जिम्मा लिने, बुबालाई घर सफा चाहिने भएकोले उहाँले सरसफाइको काम गर्ने, अनि छोराचाहिँ व्यवस्थापन रुचाउने भएकोले उसले कपडाहरू पट्ट्याएर राख्ने कामको जिम्मा लिने । एक-अर्काप्रति विचारशील हुने, जो जे काममा राम्रो छ उसलाई त्यही कामको जिम्मा दिने, र बाँकी कामचाहिँ सँगै गर्ने ।

२. बाँडफाँड गरिएको कामको मात्रा महत्त्वपूर्ण होइन

घरको काम निष्पक्ष रूपले बाँडफाँड गर्दा मात्र खुशी मिल्नेचाहिँ होइन । खुशी परिवारले घरको काम कसले बढी गऱ्यो, कसले कम गऱ्यो भन्ने कुरामा चासो दिँदैन । काम आधा-आधा बाँड्दा पनि सन्तुष्ट नहुने केही दम्पती छन् भने यसको ठीक विपरीत, कतैचाहिँ घरको काम धेरै गर्नुपर्दा पनि गुनासो नगर्ने परिवार पनि छ । कसको के जिम्मा छ भन्ने कुराभन्दा पनि घरायसी कामप्रति परिवारजनको मनस्थिति र सबै जना सँगै काम गर्न प्रयत्न गर्नु अझ महत्त्वपूर्ण हुन्छ ।

३. अवस्थाअनुसार घुलमिल हुने

घरको काम बाँडफाँड भयो भन्दैमा आफूले जिम्मा पाएको काम मात्र गर्ने, तर अन्य परिवारजनले जिम्मा पाएको कामलाई चाहिँ आफूसँग सरोकार नभएजस्तो गर्नुहुँदैन । मानिलिऔं, बैठक कोठाको भुँइ सरसफाइचाहिँ पतिको जिम्मा हो, तर एक दिन उहाँ कामबाट ढिलो आउनुभयो । तब यो त घरको नियम हो भन्दै उहाँलाई सरसफाइमा पेल्नु अलि उचित हुँदैन नि ? यस्तो अवस्थामा अरू कसैले सट्टामा त्यो काम गरिदिने अथवा अर्को दिन पतिलाई नै त्यो काम गर्न दिनु नै उत्तम तरिका हो । जुनसुकै भूमिका अथवा जस्तोसुकै नियम भए पनि सर्वप्रथम हामीहरू प्रेमद्वारा एक-अर्काप्रति विचारशील हुनुपर्छ ।

४. काम राम्ररी गरेन भन्दैमा आलोचना नगर्ने

पति वा छोरा-छोरीलाई घरको काम गर्न मन नलाग्नुको एउटा कारणचाहिँ अरूले जस्तै एकदम परिश्रमसाथ गरे तापनि त्यसको कुनै जस नपाउने भएकाले हो । हुन त कसैबाट जस पाउनलाई घरको काम गर्ने त होइन, तर काम राम्रो भएन भनेर यदि तपाईंले गाली गर्नुभयो भने उनीहरूमा काम गर्ने चाहना हराउनेछ । पहिला कहिल्यै नगरेको काम सुरुमै त कसैले पनि उत्तम तरिकाले गर्न सक्दैन । ​उनीहरूको काम गराइमा केही कमजोरी भए पनि त्यसलाई औँल्याउने अथवा भएन भनेर फेरि आफैले गर्ने नगर्नुहोस्, बरु प्रशंसा गरिदिनुहोस् । प्रशंसा र प्रोत्साहन नै सबैभन्दा ठूलो इनाम हो ।

५. कामको मात्रालाई कम गर्ने

काम नबनाउनु नै राम्रो हो, तर घरमा त्यसै पनि सरसफाइको काम दिनहुँ भइरहन्छ । तैपनि यसलाई कम गर्ने एउटा तरिका छ । कुनै सामान प्रयोग गरेपछि त्यसलाई जताततै राख्छौं भने त्यो ‘काम’ हो, तर यदि त्यसलाई यथास्थानमा राख्छौं भने त्यो काम होइन । मोजा खोलेर जताततै छोड्छौं भने कसैको लागि त्यो काम बन्दछ, तर यदि त्यसलाई लुगा धुने बाल्टी अथवा डिब्बामा राख्छौं भने त्यो काम होइन । यसको साथै फोहोरलाई तुरुन्तै डस्टबिनमा फाल्ने बानी बसालौं ।

६. काम उत्तम हुनैपर्छ भन्ने छैन

अरूलाई देखाउने नमूना घर हो भने बेग्लै कुरा, तर तपाईंले दैनिक जीवनयापन गर्नुहुने ठाउँ हो भनेता त्यो कहिल्यै उत्तम हुँदैहुँदैन । सधैँ बढार्दै, पुछ्‌दै पूर्ण धूलोरहित ठाउँमा जिउनु नै हाम्रो उद्देश्य होइन । महत्त्वपूर्ण कुराचाहिँ त्यसभित्र रहने परिवारको खुशी हो । परिवारजन थकित भएका बेला घरायसी कामको स्तरलाई कम गराउनुपर्छ । परिवारको स्वास्थ्य र खुशीको दायराभित्र घरायसी कामकाज मिलाउनु पनि बुद्धिमानी हो ।

खुशी परिवारमा चाहिँ घरको काम सकिएपछि परिवारजनले कहिल्यै नभुल्ने एउटा कुरा छ । त्यो नै कदरको बोली हो । यदि परिवारजनलाई निराश पार्न चाहनुहुन्छ भने “तपाईंले आफ्नो काम गर्नुभएको मात्र हो, किन त्यसको श्रेय आफैले लिनुहुन्छ ?” भन्दा हुन्छ । तर यदि त्यसो भन्न चाहनुहुन्न भने “तिमीले सघाएकोले मेरो दिन सजिलो बनेको छ,” “तपाईं हुनुभएकोले हाम्रो परिवार आरामले जिउन सकेको छ,” “आज पनि धेरै परिश्रम गर्नुभयो । खै, म मालिश गरिदिन्छु” इत्यादि भन्ने गर्नुहोस् । हुन त यी कुराहरू खासै ठूलो कुराजस्तो देखिँदैन तापनि तपाईंको प्रशंसाले परिवारजनको थकान दूर हुनेछ ।