WATV.org is provided in English. Would you like to change to English?

सञ्चारद्वारा पारिवारिक अर्थव्यवस्था मिलाउने !

खुशीचाहिँ आय र सम्पत्तिको मात्रामा निर्भर हुँदैन । यो त परिवारको अवस्थामा मिल्ने उचित उपभोगको आदतबाट आउँछ ।

26,614 भ्यु

अहिलेचाहिँ उपभोगको युग हो । मानिसहरू विश्वव्यापी मन्दीको बारेमा कुरा त गर्छन्, तर बिदामा विदेश घुम्न जाने मानिसहरूले बिमानस्थल खचाखच भरिएको हुन्छ । मलहरूमा वस्तुहरूको मूल्य जति धेरै भयो, बिक्री पनि त्यति नै धेरै हुन्छ । होम सपिङमा चाहिँ “लगभग बिक्री भइसक्यो,” “सीमित अफर” आदि पर्चाहरूले मानिसहरूमा उपभोगको इच्छा जगाइदिन्छ । एउटा क्लिक मात्र गऱ्यो भने घरैमा सामान आइपुग्छ । मानिसहरू खानाभन्दा थोरै महँगो एक कप कफी बाहिर गएर पिउनु आवश्यक छ भन्ने गर्छन् । जहाँ गए पनि उपभोगको प्रलोभनमा पार्ने यस्ता धेरै कुराहरू भएकोले पैसा खर्च गर्नुबाहेक मानिसहरूसित अर्को विकल्प रहँदैन ।

तर हामी आफूले लिन चाहेका कुराहरू सबै लिन अथवा खान चाहेका कुराहरू सबै खान सक्दैनौं । आफूले चाह गरेको कुरा उपभोग गरेर पूर्ण सन्तुष्टि पाए तापनि त्यसले सुखमय जीवनको ग्यारेन्टी भने दिन सक्दैन । जीवनको अन्तिम लक्ष्य, खुशी प्राप्त गर्नु छ भने पैसा फजुल खर्च नगरीकन परिवार चलाउनु अझ महत्त्वपूर्ण छ । परिवारजनमा खर्चप्रतिको फरक विचारका कारण हुने झगडा वा विलासी खर्चले निम्त्याउने कठिनाइ वा सत्यानाशले खुशीलाई उनीहरूबाट टाढा धकेलिदिन्छ ।

परिवारमा सञ्चारको कमी छ अथवा एक जना व्यक्तिले मात्र आफूखुशी खर्च गर्दै अरूमाझ खुलासा गर्दैन भने माथि भनिएजस्ता अवस्थाहरू हुने सम्भावना बढी हुन्छ । परिवारजनले एक-अर्कामा भरोसा गरेर परिवारको आर्थिक अवस्था र त्यसलाई खर्च गर्ने योजनाबारे जानकारीहरू साझा गरेमा परिवारभित्र आर्थिक स्थिरता छाउँछ, अनि उनीहरू सबै एउटै डुङ्गामा छन् भन्ने भाव पनि अझ प्रबल बन्नेछ ।

पैसाले हुने घरायसी झगडालाई कम गराउने तरिका, वार्तालाप

सन् २०१३मा कुनै रोजगार वेबसाइट करियरले २७८ जना विवाहित कर्मचारीहरूमा घरायसी झगडा हुनुको कारणबारे सर्वेक्षण गरेको थियो । आर्थिक समस्या (२५.५%)चाहिँ पहिलो कारणको रूपमा रहेको पाइयो । दम्पतीहरूले अक्सर पैसाको निहुँमा झगडा गर्नुको कारणचाहिँ पर्याप्त आय नभएकोले भन्दा पनि उनीहरूमा खर्चबारे विचार फरक भएकोले गर्दा हो । उदाहरणको लागि, पतिलाई पैसा बचत गर्न मन पर्छ, तर पत्नीलाई चाहिँ पैसा खर्च गर्न मन पर्छ भने पत्नीले केही कुरा किनेर ल्याउँदा पति निराश हुनेछन्, अनि पत्नी पनि आफ्नो पतिको प्रतिक्रियाबाट निराश हुनेछिन् । फरक आर्थिक दृष्टिकोणको कारण झगडा हुन लाग्दा उनीहरूले एक-अर्कालाई दोष लगाउनुभन्दा एक-अर्काको पृष्ठभूमि र व्यक्तित्वको कदर गर्दै कुराकानीद्वारा सम्झौता गर्न प्रयास गर्नुपर्दछ ।

पैसाचाहिँ जसले व्यावहारिक रूपले व्यवस्थापन गर्न सक्छ उसैले नै पारिवारिक खर्चको जिम्मा लिँदा हुन्छ । आफूले पारिवारिक खर्चको जिम्मा पायो अथवा आफू पैसा कमाउने व्यक्ति हो भन्दैमा आफ्नो शक्तिको दुरुपयोग गर्नुहुँदैन । पारिवारिक खर्चको जिम्मा जसले लिएको भए पनि उसले आफ्नो पति/पत्नीलाई त्यसको दैनिक विवरण थाहा दिनुपर्छ । धेरै मात्रामा पैसा खर्च गर्नुपर्दा वा महँगो सामान खरीद गर्नुपर्दा अनिवार्य एक-अर्काको सल्लाह लिनुपर्छ । पारिवारिक कार्यक्रम खर्च, अस्पताल खर्च, सार्वजनिक छुट्टी आदि अप्रत्याशित रूपमा अक्सर पैसा खर्च हुने गर्छ । त्यसैले पति-पत्नीले यसबारे पहिल्यै छलफल गरेर पैसा बचत गरेका छन् भने आकस्मिक हुने खर्चहरूमा तयार रहन सक्छन् । कुन कुरामा सबैभन्दा बढी खर्च हुन्छ भन्नेबारे छलफल गरेर खर्चको लागि योजना बनाउन पनि प्रयास गर्नुपर्छ ।

केही अप्रत्याशित कुराको कारण परिवारको आर्थिक अवस्था खस्किने परिस्थिति वा विगतका आर्थिक कठिनाइहरूबारे छलफल गर्दा कसो होला ? किराना सामानहरू किनमेल गर्नको निम्ति पति-पत्नी सँगै गएर बजारको मूल्य जान्नु पनि प्रभावकारी हुन्छ । पारिवारिक खर्च र वित्तीय प्रवृत्तिको अवस्थाबारे कुराकानी गर्नु पनि राम्रो हो, तर यदि कोही एक जना संवेदनशील छ भनेचाहिँ त्यसो नगर्दा नै बेस हुन्छ ।

बाल्यावस्थादेखि नै बच्चामा आर्थिक अवधारणा विकास गर्ने

बच्चा ३-४ वर्षको उमेरमा पुगेपछि उसलाई पैसा भनेको केही चीज किन्ने साधन हो भन्ने थाहा हुन्छ । बच्चाको आर्थिक अवधारणा बाल्यकालदेखि नै सही तरिकाले विकास गर्न आवश्यक हुन्छ । आर्थिक अवधारणाको चाहिँ व्यक्तित्वसँग पनि घनिष्ठ सम्बन्ध हुन्छ । सीमित र बुद्धिमानीपूर्वक पैसाको प्रयोग गऱ्यो भने वातावरणसँग मिल्ने क्षमतालाई पनि त्यसले प्रबल पार्दछ । तर बच्चामा, आफूले चाहेको सबै चीज पाउने आदत बस्यो भने उसलाई थोरै कठिनाइ पनि सहन गाह्रो हुन्छ । सबै बुबा-आमा आफूले थोरै खाने र थोरै खर्च गर्ने भए पनि आफ्नो बच्चाले चाहिँ प्रशस्त जीवनको आनन्द लिएको चाहन्छन्, तर यस्तो इच्छा अधिक भएमा यो प्रेम व्यक्त गर्ने विकृत तरिका पनि बन्न सक्छ, अनि बच्चाको स्वस्थ चेतनामा उपभोगबारे नराम्रो असर पर्न सक्छ ।

बच्चाले थाहै नपाई आफ्ना बुबा-आमाको क्रियाकलापबाट सबै कुरा सिक्ने गर्छ । बुबा-आमाले पैसालाई अति नै मूल्यवान् ठाने भने उनीहरूका बच्चाले पनि पैसालाई सबैभन्दा मूल्यवान् वस्तु ठान्नेछन् । अनि यदि बुबा-आमाले अरू मानिसलाई उनीहरूसँग कति पैसा छ भन्ने आधारमा मूल्याङ्कन गर्छन् अथवा पैसालाई अदृश्य हतियारको रूपमा प्रयोग गर्छन् भने उनीहरूका बच्चाले पनि त्यही सिक्नेछन् । पैसाचाहिँ बुबा-आमाले पर्स खोल्नेबित्तिकै प्राप्त गर्न सकिने कुरा होइन, तर बुबा-आमाको परिश्रमको फल हो भन्ने कुरा बुबा-आमाले छोरा-छोरीलाई थाहा दिन आवश्यक हुन्छ । मानिसले आफूले चाहेको सबै कुरा प्राप्त गर्न सक्दैन, उसले आफूलाई चाहिएको कुरा र आफूलाई आवश्यक परेको कुराबीचको भिन्नतालाई छुट्‌ट्याउन जरुरी हुन्छ, अनि आफूले खर्च गरेको कुराप्रति जिम्मेवार हुनुपर्छ भन्ने कुराहरू पनि बुबा-आमाले आफ्नो छोरा-छोरीलाई थाहा दिन आवश्यक छ । यी कुराहरू विस्तृत रूपमा सिकाउँदै बुबा-आमाले आफ्नो बच्चालाई छलफल गर्ने र उचित निर्णय लिने कुराको उदाहरण देखाइदिनुपर्छ ।

बच्चाले आफूले चाहेको कुरा धेरै पल्ट किनिदिनू भनेर हैरान पार्दाखेरि सीधै हुँदैन मात्र भन्नुभन्दा बरु उसले त्यो चीज चाहनुको कारण बुझ्नुपर्छ, अनि त्यो किन नकिनिदिने भन्नेबारे उसलाई बुझाउनुपर्छ । “यो खेलौना गाडी तिमीसँग भएकोभन्दा फरक छ हो ?” अथवा “यदि तिमीले यो किन्यौ भने तिमीले किन्न चाहेका अरू कुरा किनिदिन मसित पैसा हुनेछैन” भनेर कुराकानी गर्न प्रयास गर्नुपर्छ, अनि त्यो चीजबाहेक अरू कुनै कुरा किनिदिनेछैनँ भन्ने नियम बनाएर त्यसको पालना गर्दै उदाहरण देखाइदिनुपर्छ । सपिङचाहिँ आवश्यकता पूर्ति गर्नलाई गरिने कार्य हो, क्षतिपूर्तिको साधन होइन भन्ने कुरा सधैँ मनमा राख्नुहोला ।

पारिवारिक अर्थव्यवस्था बुबा-आमाले चलाउने भएकोले छोरा-छोरीलाई थाहा दिन आवश्यक छैन भनेर नसोच्नुहोस् । पारिवारिक खर्चको विस्तृत जानकारी साझा गर्नु अझ राम्रो कुरा हो । योद्वारा छोरा-छोरीलाई पनि आफ्नो चाहनाभन्दा परिवारको अवस्थाबारे सोच्न मद्दत मिल्नुको साथै परिवारजनको रूपमा अपनत्व पनि बढ्नेछ ।

मितव्ययी उपभोगको बानीद्वारा परिवारको अर्थव्यवस्थालाई बलियो पार्ने

उपभोग गर्दा सावधान रहनुपर्ने कुरा भनेको नै अधिक उपभोग र आवेग खरीद हो । अधिक उपभोग भनेको कुनै ब्रान्डको नाम भएको झोला किन्नु वा विलासी गाडी किन्नु मात्र होइनकि उपभोगको सीमालाई नाघ्नु वा कम आवश्यक वस्तुमा पैसा खर्च गर्नु हो । बुद्धिमान् व्यक्तिलाई परिश्रमको कमाइ कसरी खर्च गर्ने भन्ने कुरा थाहा हुन्छ । पारिवारिक खर्चको लागि उपयुक्त हुने मितव्ययी उपभोगको बानी बसाल्न प्रयास र धैर्यताको आवश्यकता पर्ने भए पनि यसको प्रक्रिया र परिणामबाट तपाईंले खुशी पनि महसुस गर्न सक्नुहुनेछ ।

मितव्ययी उपभोग कसरी गर्ने ?
१. घरेलु खाता पुस्तक लेख्ने
खाता पुस्तक सधैँ लेख्नुभयो भने पारिवारिक अर्थव्यवस्थाको हिसाब राख्न सक्नुहुन्छ र केमा बढी खर्च भइरहेको छ भन्ने कुरा देख्न सक्नुहुन्छ । यदि यो लेख्ने बानी छैन भने आफ्नो मोबाइलमा सुविधाजनक एप पनि प्रयोग गर्न सक्नुहुन्छ ।
२. नगदको प्रयोग
क्रेडिट कार्ड प्रयोग गर्नाले खर्च तुरुन्तै नदेखिने भएकोले यसले अत्यधिक उपभोग गराउँछ । अनि बुबा-आमाले क्रेडिट कार्डको प्रयोग धेरै गरे भने बच्चाले आफूले कुनै सीमाविना पैसा खर्च गर्न सक्छु भनेर गलत तरिकाले बुझ्न सक्छ । त्यसकारण नगदद्वारा तिर्ने र खुद्रा पैसा लिने उदाहरण बच्चालाई देखाउँदा राम्रो हुन्छ ।
३. सस्तो पायो भन्दैमा जेसुकै सामान नकिन्ने
आफूलाई आवश्यक नपरेको वा खरीद गर्ने कुनै योजना नभएको कुरा सस्तो पायो भन्दैमा किनियो भने पछि पछुताउन पुगिन्छ । “एउटा किन्दा अर्को सित्तैँमा” जस्ता खरीद प्रलोभनका पर्चाहरूमा नलोभिऔं । त्यो आफूलाई साँच्चै आवश्यक छ कि छैन भनेर पहिला सोचिहेरौं ।
४. पर्स झिकिहाल्नुभन्दा पहिला जाँच गर्ने
योभन्दा अझ सस्तोमा किन्न सकिन्छ कि ? घरमा भएको कुनै कुरासँग साट्न सकिन्छ कि ? यो कुरा आफूलाई साँच्चिकै आवश्यक छ त ? आफूले किन्न सक्छु कि सक्दिनँ ? भन्ने कुराहरू जाँच्नुहोस् ।
५. सपिङको समय र सङ्ख्या घटाउँदैलाने
सपिङ गर्न जानुहुँदा खरीद गर्नुपर्ने सामग्रीहरूको सूची बनाउनुहोस्, अनि सूचीमा भएका सामग्रीहरू मात्र खरीद गर्नुहोस् । कुनै चीज पनि खरीद गर्ने योजना छैन भने टिभीमा होम सपिङ च्यानलहरू वा सपिङ वेबसाइटहरू नहेर्नुहोस् । यसबाहेक सपिङ मललाई पारिवारिक भ्रमणस्थल नबनाउनुहोस् ।
६. आफूलाई आवश्यक परेको जति मात्र खरीद गर्ने
सस्तो पाएकोले धेरै मात्रामा खरीद गर्नु फाइदाजनक लाग्न सक्ला, तर धेरै हुँदा त्यसलाई बचत गर्नतिर लागिँदैन र त्यसको म्याद पनि सकिन सक्छ । परिणामस्वरूप अत्यधिक उपभोग हुन जान्छ ।
७. चलनचल्तीको देखासिकी नगर्ने
चलनचल्तीको देखासिकी गर्दै कपडाहरू खरीद गर्नुहुन्छ भने ती लामो समयसम्म टिक्दैनन् । कपडाहरू खरीद गर्नुहुँदा त्यसलाई कति लगाइन्छ भनेर सोच्नुहोस् र चलनचल्तीको भन्दा आफूलाई सुहाउने स्टाइलको खोज्नुहोस् ।

प्रायःजसो पैसाप्रति धैरै लोभी भएर वा त्यसलाई अनावश्यक रूपमा खर्च गरेर आफ्ना प्रियजनहरूलाई गुमाएका मानिसहरू हामी देख्न सक्छौं । पैसाले हाम्रो जीवन सहज बनाउँछ भन्ने कुराप्रति कुनै शङ्का नै छैन । तर पारिवारिक अर्थव्यवस्थाको दायराभित्र यसलाई आवश्यकताअनुसार प्रयोग गर्नुपर्छ, अनि आफू योद्वारा नियन्त्रित हुनुहुँदैन । पैसाद्वारा नियन्त्रित नहुने उत्तम तरिका भनेको नै सन्तुष्ट र धन्यवादी हुनु हो, होइन र ? आफ्नो पति/पत्नीलाई धेरै पैसा नकमाएको भन्दै दुःख नदिनुहोस् । यदि भोजन धेरै छैन भने खानलाई अझै पनि केही भोजन भएको कुरामा धन्यवादी हुनुहोस् । यदि आफूसँग गाडी छैन भने हिँडेर स्वस्थ रहन सकिन्छ भनेर धन्यवादी हुनुहोस् । यसो गरेमा तपाईं र हाम्रो परिवार खुशीले भरिपूर्ण हुनुको साथै पारिवारिक अर्थव्यवस्था पनि सुव्यवस्थित हुनेछ ।