सुभोशित औँलाको टुप्पा

गिम दो यङ / ब्यूनस आयर्स, अर्जेन्टिना

650 हेरेको संख्या

एक दिन अचानक मलाई मेरो बाल्यकाल याद आयो । त्यो समयमा म करीब १० वर्षकी थिएँ । म विद्यालय जाने बाटोमा एउटा कस्मेटिक पसल थियो र पसल बाहिर नङ पालिशहरू राखिएको एउटा टोकरी थियो ।

एक दिन म र मभन्दा २ वर्ष कान्छी, मेरी बहिनी विद्यालयबाट घर फर्किरहँदा त्यो पसल अगाडि टक्क अडियौं । सानो तर सुन्दर बोत्तलमा राखिएका विभिन्न रङ्गका पालिशहरू निकै आकर्षक देखिन्थे । मैले कहिल्यै पनि नङ पालिश लगाएकी थिइनँ, अनि मेरा साथीहरूले नङ पालिश लगाएको देख्दा मलाई ईर्ष्या लाग्थ्यो । सायद त्यसैले होला मैले टोकरीमा भएको एउटा नङ पालिश झट्टै उठाएर आफ्नो खल्तीमा राखें ।

त्यहाँ केही बेर उभिरहेका हामीप्रति शङ्का लागेर एक जना कर्मचारी पसलबाट बाहिर निस्कियो । मेरी बहिनीले कर्मचारी आएको चाल पाउनेबित्तिकै मेरो खल्तीबाट छिटो-छिटो नङ पालिश झिकेर पहिलाकै ठाउँमा राखिदिइन् । म लज्जित हुँदै घर फर्किएँ । दुःखको कुरा, मेरी बहिनीले पसलमा भएका सबै घटना आमालाई बताइदिइन् र आमाले मलाई गाली गर्नुभयो ।

अर्को दिन म विद्यालयबाट घर फर्कंदा मेरी आमाले मलाई मूल ढोकामा स्वागत गर्नुभयो । उहाँले आफ्नो दुवै हात पछाडी लुकाइरहनुभएको थियो ।

“आमाले तिम्रो लागि उपहार किनेर ल्याएकी छु !”

मेरी आमाले हात खोलेर देखाउनुभएको कुरा नै नङ पालिश थियो । सफा समुद्री रङमा तारा आकारका चम्किला टुक्राहरू भएको नङ पालिश लगाउन पाउँदा म खुशीले रमाएँ ।

आज, करीब २० वर्षपछि त्यो क्षण याद गर्दा म आमाप्रति धन्यवादी र क्षमाप्रार्थी भएकी छु । पसलमा चोरी गरेकी अविवेकी छोरीलाई गाली गरेकोमा मेरी आमालाई दुःख लागेको हुनुपर्छ । त्यस्तो सानो कुराले उहाँको मन विचलित पारेकोले, उहाँले तुरुन्तै गएर नङ पालिश किनेर ल्याउनुभयो । कठिनाइबीच सन्तानहरू हुर्काउनमै व्यस्त हुनुभएकी आमाले आफ्नो हातमा समेत लगाउन नपाउनुभएको नङ पालिशले मेरा साना हातहरूलाई शोभायमान हुने गरी चम्काइदियो । उहाँको विचारशील प्रेमप्रति म सधैँ कृतज्ञ छु । अर्को पल्ट उहाँलाई भेट्नेबित्तिकै उहाँको हात न्यानो गरी समाउने रहर छ ।