परमेश्वरले दिनुभएको कुरा

दर्गम क्षेत्रमा यात्रा गर्ने अन्वेषकहरूका लागि दिनको सबैभन्दा कठिन समय भनेको बिहान उठ्ने समय हो । पालभित्र सुतिरहेको बेला बाहिर जोडले हावाहुरी चलेको आवाज सुन्दा उनीहरू डराउँछन् र ओछ्यानबाट उठ्ने इच्छा गर्दैनन् । तर एक चोटि जुरुक्क उठेर बाहिर निस्किएपछि उनीहरूले मौसम त सोचेजस्तो खराब रहेनछ भन्ने कुरा महसुस गर्छन् ।
परिस्थिति मात्र फरक हो, तर यस्तो मिल्दोजुल्दो अनुभव हामी सबैको जीवनमा हुन्छ । आफूले सङ्कल्प गरेको कुरा व्यवहारमा लागू गर्न समय लाग्छ तर त्यो कुरालाई व्यवहारमा लागू गरेपछि चिन्ता गर्नुपर्ने कुरा केही रहेनछ भन्ने कुरा महसुस हुन्छ । वास्तवमा डर नै मुख्य समस्या हो । जे काम सुरु गरे पनि मनलाई तयार पार्न आवश्यक छ, तर योजना गरेभन्दा बढी गल्ती गरिने हो कि भन्ने डरले हामी पछि पर्छौं ।
दुर्गम क्षेत्रमा सुसमाचारको कार्य अग्रसर भएर गर्ने आत्मिक सन्तहरूले डरको आत्माचाहिँ परमेश्वरले दिनुभएको आत्मा होइन भन्ने कुरा महसुस गर्नुपर्छ ।
किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ । २ तिमो १:७
परमेश्वरले हामीलाई प्रेम र आत्मसंयमको आत्मा दिनुभएर जस्तोसुकै कार्य गर्ने शक्ति दिनुभएको छ । विश्वासको उजाड-स्थानमा हावाको आवाज जतिसुकै चर्को भए पनि डर नमानिकन, जुरुक्क उठेर बाहिर निस्किनुपर्छ । तब मात्र परमेश्वरले दिनुभएको कुरा एक-एक गरी देख्न सकिन्छ ।