शुभ बिहानी !

एउटा नयाँ दिनको सुरुवात बिहानीबाट हुन्छ । खुशीपूर्ण बिहानीले खुशीको दिनतर्फ डोऱ्याउँछ, र प्रत्येक खुशीको दिनले खुशी जीवनतर्फ डोऱ्याउँछ ।

19,797 भ्यु

“बिहानी भन्नेबित्तिकै तपाईंको दिमागमा के आउँछ ?” यो प्रश्नको उत्तरमा कसै-कसैले घामको प्रकाश, शीत, व्यायाम, स्फूर्ति, मौका भन्ने गर्छन्, तर कसै-कसैले चाहिँ हतार, अबेरसम्म सुत्ने, ढिलो हुने, व्यस्तता, र थकान भन्ने गर्छन् । बिहानीसँग सम्बन्धित मनमा आउने शब्दहरूको आधारमा, मानिसहरूले आफ्नो बिहानी कसरी बिताउँछन् भन्ने कुरा सजिलै थाहा पाउन सकिन्छ ।

प्रत्येक नयाँ वर्षको दिनमा, देशभरका सूर्योदय हेर्ने स्थलहरूमा उदाउँदो सूर्यलाई हेरेर वर्षको सुरुवात गर्नेहरूको भीड ठूलो हुन्छ । वर्षको सुरुवात नयाँ वर्षको पहिलो दिन हो भने, दिनको सुरुवातचाहिँ बिहानी हो । शुभ बिहानी नै शुभ दिनको आधार हो । किनभने बिहान खुशी भएमा दिनभरि नै खुशी रहन सकिन्छ । बिहानीचाहिँ हाम्रो सम्पूर्ण जीवनलाई नै असर गर्ने सुनौलो समय हो भन्दा फरक पर्दैन, किनभने बिहानीले दिनलाई असर गर्छ र त्यो दिन, महिना र वर्षमा परिणत हुँदै हाम्रो जीवनलाई नै असर गर्छ ।

“बिहानको समय सुनजस्तै मुल्यवान हुन्छ” (इटाली), “चाँडै उठ्नेलाई परमेश्वरले सहायता गर्नुहुन्छ” (स्पेन), “साँझभन्दा बिहानी अझ बुद्धिमान हुन्छ” (रूस), “बिहानको समय पैसा कमाउने समय हो” (फ्रान्स), “वार्षिक योजना वसन्तमा र दैनिक योजना बिहान बनाइन्छ” (चीन) । पूर्व र पश्चिम दुवैतिर बिहानीको महत्त्वबारे शिक्षा दिने धेरै उखानहरू छन् ।

मानव शरीरमा एउटा जैविक लय (biorythm) हुन्छ जसले गर्दा मानव शरीरले सूर्य उदाउँदा काम गर्छ र अँध्यारो हुँदा आराम गर्छ । जैविक लयमा बाधा पुग्नेबित्तिकै, हर्मोन उत्पादन, र पाचन प्रणालीजस्ता कोषिका गतिविधिहरू भ्रमित हुन्छन् र सजिलै थकान, मानसिक तनाव, र रोगहरू निम्तिन्छन् । जैविक लयचाहिँ मस्तिष्कमा उत्पादन हुने सेरोटोनिन र मेलाटोनिनसँग सम्बन्धित हुन्छ । यी हर्मोनहरू राम्ररी उत्पादन गराउनको लागि हामीमा बिहानको समयमा आफूलाई मनपर्ने कुनै पनि क्रियाकलाप गर्ने बानी हुनुपर्छ । अमूल्य बिहानीलाई रमाइलो र खुशी बनाउनको लागि असल बानीहरू सिक्नुपर्छ ।

धन्यवादी मन लिएर उठ्ने

बिहान सबैभन्दा पहिला गरिने कार्य नै ओछ्यानबाट उठ्ने कार्य हो । उठ्ने समय हुँदा स्वतः आँखा खोलिएर उठन सक्नुचाहिँ एकदमै राम्रो कुरा हो, तर वास्तविकतामा त्यस्तो हुँदैन । “अब पाँच मिनेट मात्र” भन्दै अलि लामो समय ओछ्यानमा बस्नु लोभलाग्दो हुन्छ । तर ओछ्यानबाट नउठिकन सुतिरह्यो भने अझ बढी सुत्ने इच्छा मात्र हुन्छ ।

त्यस्तो अवस्थामा हामीले याद गर्नैपर्ने एउटा कुरा छ । धेरै सुत्नु आशिष् होइन, तर निद्राबाट ब्यूँझन सक्नु आशिष् हो । मानव जीवनको कुनै भरोसा छैन । सुत्ने र उठ्ने कार्यचाहिँ दैनिक दिनचर्या भएकोले, राति सुतेपछि बिहान उठ्ने कुरा स्वाभाविक लाग्न सक्छ, तर भोलिपल्ट बिहान आँखा खुल्छ भन्ने ग्यारेन्टी कसैले पनि दिन सक्दैन । अघिल्लो रात कुनै समस्याविना सुतेर बिहान सुरक्षितसाथ उठ्न पाउनु भनेको सामान्य कुरा होइन ।

बिहान आँखा खुल्ने बित्तिकै, नयाँ बिहानीको लागि कृतज्ञ हुने बानी बसालौं । धन्यवादी हृदयले धेरै सुत्ने इच्छालाई जितेर राम्रो मूडमा उठ्नको लागि प्रेरित गर्दछ ।

मुस्कुराउँदै सकारात्मक कुराहरू भन्नुहोस्

बिहान उठेपछि तपाईंले बोल्ने पहिलो शब्द के हो ? दिनको पहिलो शब्द सधैँ सकारात्मक हुनुपर्छ । “बिहान भइसक्यो ? मलाई उठ्नै मन छैन” भन्ने शब्दले हामीलाई अझ अल्छी बनाएर असहज महसुस गराउँछ । तर निद्रा लागेर थकित भए पनि, शरीर तन्काउँदै “ओहो, यो त नयाँ बिहानी हो”, “म राम्ररी सुतें, आज पनि म खुशी हुनेछु” भनियो भने, यो कुरा हृदयमा खोपिएर एकदमै राम्रो महसुस हुनेछ । राम्रो महसुस हुँदा दिमाग बढी सक्रिय हुन्छ । अनि ऐनामा हेरेर चम्किलो गरी मुस्कुराउँदै यो कुरा भनियो भने हाम्रो आत्मविश्वास पनि बढ्नेछ ।

बिहान हामीले आफूलाई भन्ने पहिलो कुरा सकारात्मक हुनुपर्छ, र परिवारलाई भन्ने कुरा पनि सकारात्मक हुनुपर्छ । कसैलाई पनि बिहानैदेखि गाली, आलोचना वा आदेश सुन्न मन पर्दैन । बिहान उठेपछि उज्यालो मुस्कानका साथ सबै परिवारलाई अभिवादन गर्नुपर्छ । “शुभ प्रभात !” वा “राम्ररी सुत्नुभयो ?” भनेर खुसीसाथ आफ्नो परिवारलाई अभिवादन गरियो भने राम्रो महसुस हुनेछ र अथाह ऊर्जा मिल्नेछ ।

आफ्नो परिवारलाई प्रेमपूर्वक उठाउनुहोस्

बिहान खुशी हुनको निम्ति, परिवारका सबै सदस्यहरू खुशी हुनुपर्छ । तर समयमा नउठ्ने सदस्यलाई उठाउँदा रिसाउन वा कराउन पुगिन्छ । त्यस्तो अवस्थामा अनिच्छुक भएर उठ्ने व्यक्ति स्वाभाविक रूपमा रिसाउनेछ । आँखा खोल्नेबित्तिकै असहज महसुस भयो भने उठ्ने र उठाउने दुवै व्यक्तिको बिहानी खराब हुनेछ ।

सामान्यतया, आमाले बच्चाहरूलाई उठाउनुहुन्छ । तर बच्चाहरूलाई उठाउँदा आमाहरूले कहिल्यै पनि चिच्याउने, हल्लाउने वा कम्बललाई बलपूर्वक तान्ने गर्नुहुँदैन । रिसाएर उठ्ने बच्चाले नास्ताको आनन्द लिन सक्दैन, अनि खराब मुडमा स्कूल जाने बच्चा, साथीहरूसँग राम्रोसँग घुलमिल हुन सक्दैन र ध्यान दिएर पढ्न पनि सक्दैन ।

यदि बच्चाहरू मुस्कुराउँदै उठून् भन्ने चाहनुहुन्छ भने आमाहरूले खुशीसाथ उनीहरूलाई उठाउनुपर्छ । मायालु स्वरमा उसलाई उठ्नुको कारण बताउँदै उसको हातखुट्टा सुम्सुम्याएर आमाको प्रेम महसुस गराउनुपर्छ । अथवा उनीहरूलाई मनपर्ने सङ्गीत बजाउन वा छोटो कथा पढिदिन पनि सकिन्छ । उनीहरूलाई तनाव नदिईकन उनीहरूको भावनात्मक अवस्थाको ख्याल गरी बिहान उठाउनु एकदमै महत्त्वपूर्ण कुरा हो ।

बिहानको नास्ता खाने

दिनको सुरुवात राम्रोसँग गर्नको लागि हाम्रो शरीर र मन दुवै ऊर्जाले भरिएको हुनुपर्छ । सजिलो गरी भन्नुपर्दा, बिहानको नास्ता गर्नुपर्छ । दिनको तीन छाकमध्ये, सबैभन्दा महत्त्वपूर्ण नै बिहानको नास्ता हो । बिहानको खाजा सामान्यतया अघिल्लो रातमा खाना खाएको १० घण्टापछि खाइने भएकोले पेट खाली हुन्छ र रगतमा सुगरको मात्रा कम हुन्छ ।

बिहानीको नास्ता नगरीकनै काम गर्न थालियो भने शरीरमा भएको ऊर्जा समाप्त भएर कार्य दक्षता घट्नेछ । अनि बिहान पोषक तत्त्व नखाएकोले त्यसलाई परिपूर्ति गर्न दिउँसो वा बेलुकाको समयमा आवश्यकताभन्दा बढी खाना खाइयो भने पेट ढुस्स भएर सुत्न सकिँदैन । अन्ततः यसले भोलिको दिनलाई समेत असर गर्दछ ।

नास्ताले व्यक्तिगत स्वास्थ्य कायम गर्न मद्दत मात्र गर्दैन, तर पारिवारिक सम्बन्धलाई बलियो बनाउन पनि मद्दत गर्दछ । खेलाडिहरूले खेल सुरु हुनुअघि गोलाकार भएर एक-अर्कालाई हौसला दिएजस्तै नास्ताको समयचाहिँ पारिवारिक टिमवर्क निर्माण गर्ने समय हो । एउटै टेबिलमा आमनेसामने बसेर ब्रेकफास्ट खानु सामान्य कुराजस्तो लाग्न सक्छ, तर आ-आफ्नो काममा जानुअघि हरेक बिहान सँगै नास्ता खाने परिवार र नखाने परिवारमा स्पष्ट भिन्नता हुन्छ ।

चाँडै उठ्ने बानीको विकास गर्ने

बाइबलमा, “लगनशीलका इच्छाहरू पर्याप्त रूपले पूरा गरिन्छ” भनेर लेखिएको छ । सर्वाधिक बिक्री हुने लेखक एन्ड्रयू म्याथ्यूजले पनि भनेका छन्, “खुशी हुनको लागि, पहिले परिश्रमी हुनुपर्छ ।” सम्मानित र सफल व्यक्तिहरूमध्ये, अल्छी र निष्क्रिय व्यक्ति बिरलै हुन्छन् ।

लगनशील मानिसको सबैभन्दा उल्लेखनीय विशेषता भनेकै बिहान सबेरै उठ्ने बानी हो । बिहानको समयलाई बर्बाद पार्ने सबैभन्दा सरल कुरा भनेको धेरै सुत्ने मनोवृत्ति हो । ढिला उठियो भने समयको अभाव भएर अधीर हुन पुगिन्छ जसले गर्दा परिवारलाई पनि दिक्क बनाउने अवस्था हुन्छ । परिवारमा धेरै सदस्यहरू भएको अवस्थामा, शौचालय प्रयोगलाई लिएर झगडा हुन सक्छ ।

छिटो उठ्दा पर्याप्त समय हुन्छ, सकारात्मक बोली बोलेर समयमै नास्ता गर्न सकिन्छ । शौचालय प्रयोग गर्न पर्खिरहेका परिवारका सदस्यहरूप्रति पनि विचारशील हुन सकिन्छ । चाँडै उठियो भने व्यस्तताको कारणले पछि सारेका कामहरू पनि सुरु गर्न सकिन्छ ।

सबैभन्दा ढिला उठ्ने मानिससमेत वनभोज जाने दिनमा छिट्टै उठ्छ । बिहान छिटै उठ्नको निम्ति अघिल्लो रात कुनै आशा लिएर सुत्नुपर्छ । दिक्क मान्दै वा थकित हुँदै सुत्नुको सट्टा कुनै आशा लिएर भोलिको दिनको प्रतीक्षा गर्दै सुतियो भने सजिलै उठ्न सकिन्छ ।

महान् शिक्षा (Great Learning) भन्ने चिनियाँ शास्त्रमा एउटा भनाइ छ, “प्रत्येक दिन नयाँ, प्रत्येक दिन नयाँ, फेरि प्रत्येक दिन नयाँ ।” यसले हामीले दिनैपिच्छे आफूलाई परिमार्जन गर्नुपर्छ भन्ने अर्थ बोकेको छ । बिहानीको ज्योतिले अन्धकारलाई धकेलेर संसारलाई उज्यालो बनाउँछ । मानिसहरूले प्रायः कठिन र पीडादायी समयबाट गुज्रिदा आउने नयाँ आशालाई उज्यालोसँग तुलना गर्छन् । त्यसैले उज्यालो लिएर आउने बिहानीचाहिँ परमेश्वरले हामीलाई नयाँ जीवन सुरु गर्नको लागि दिनुभएको दैनिक उपहार हो ।

सबै कुरा नयाँ गरी सुरु गर्ने यस्तो अमूल्य बिहानी के तपाईं हतारका साथ बिताउन चाहनुहुन्छ वा खुशीसाथ बिताउन चाहनुहुन्छ ? जे गरे पनि एकलै गर्नुभन्दा सँगै गरेमा, अझ हौसला मिल्नेछ र सफल हुने सम्भावना बढी हुनेछ । यदि तपाईं आफ्नो परिवारसँग एउटै घरमा बस्नुहुन्छ, तर एक-अर्काको पर्वाह नगरी एक-अर्कालाई समय नदिई आफ्नो बिहानी आफ्नै दैनिक दिनचर्यामा व्यस्त बिताउनुहुन्छ भने, अबदेखि बिहानको परिवार बन्ने प्रयास गरौं । धन्यवादी मन लिएर बिहान सबेरै उठ्ने, एक-अर्कालाई न्यानो अभिवादन गर्ने, हल्का व्यायाम गर्ने, मैत्रीपूर्ण कुराकानी गर्ने र सँगै नास्ता गर्ने । राम्रो मुडमा दिनको सुरुवात गरियो भने दिनभरि नै रमाइलो हुनेछ । अन्ततः सम्पूर्ण परिवारको निम्ति त्यो एक अद्भुत दिन हुनेछ !