भाइलाई बचाउन

4,863 भ्यु

सन् २०१३ अप्रिल महिनामा कोरियाको सउलमा प्राथमिक तहमा अध्ययनरत दुई दिदी-भाइ विद्यालयबाट घर फर्किरहेका थिए । घर फर्कने क्रममा उनीहरूले खेल मैदानको नजिकै बाढी पम्प गर्ने मेसिनको प्लेट[plate of a flood pumping]माथि केही बच्चाहरू तल-माथि उफ्रिरहेका देखे । ती बच्चाहरू सबै त्यहाँबाट गएपछि भाइचाहिँ त्यो ठाउँमा गएर उफ्रिन थाल्यो । उसकी १२ वर्षिया दिदीले भाइलाई त्यहाँबाट निकालेर ल्याउन खोज्दा अचानक प्लेट पल्टिएर दुवै जना स्टेसनभित्र खस्न पुगे ।

८ मिटर उचाइको स्टेसनभित्र पानीको गहिराइ १३० से.मि.(४.३ फिट) थियो । धन्न दिदीको उचाइ १५३ से.मि.(५ फिट) भएकोले तिनले पानीको सतहभन्दा माथि टाउको निकालेर सास फेर्न सकिन्, तर भाइको उचाइ १४० से.मि.(४.६ फिट) भएकोले ऊ पूरै पानीमा डुबेको थियो । यसकारण भाइले सास फेर्न सक्ने गरी दिदीले उसलाई बोकेर आफ्नो पैताला उचालिन् । साँझको समय भएकोले वरिपरि पूरै अन्धकार थियो, अनि अर्को दु:खलाग्दो कुराचाहिँ त्यो पानी फोहोर र एकदमै चिसो थियो । जाडोले काँप्दै सहयोगको निम्ति चिच्च्याइरहेका उनीहरू अर्धचेतन अवस्थामा रहे । उनीहरू त्यहाँ खसेको ५० मिनेटपछि माध्यमिक तहका एक जना विद्यार्थीले चाल पाएर रिर्पोट गरे । तब बल्ल उनीहरूलाई त्यहाँबाट उद्धार गर्न सकिएको थियो ।

पछि, दिदीले पानीमा डुबिरहेको भाइलाई बोक्नुबाहेक आफूले अरू केही सोच्नै नसकेको कुरा बताइन् । भाइले दिदीलाई आफू गह्रौं भएकोले तल झार्न भने तापनि, दिदीले भाइलाई तल झाऱ्यो भने मर्ने हो कि भन्ने डरले उसलाई अन्त्यसम्मै बोकिरहिन् ।

मृत्युको डरमा भाइलाई बचाउनको निम्ति अन्त्यसम्मै धैर्य गरेकी दिदीको भाइप्रतिको त्यो प्रेमले उनीहरू दुवैलाई बचायो ।