लुटेराको मन परिवर्तन गरिदिएको उदारता

5,664 भ्यु

संयुक्त राज्य अमेरिकाको न्यू योर्कमा घटेको घटना हो । एक जना जवान समाजसेवी कामपछि घर फर्कंदैथिए । तब कुनै सुनसान ठाउँमा पुगेपछि तिनी एक्कासि लुटेराको फेला परे । हातमा चक्कु लिएको त्यो लुटेराचाहिँ १०-२० वर्षजतिको ठिटो थियो । तिनी एकछिन त अलमल्ल परे, र तुरुन्त आफ्नो गोजीबाट पर्स झिकेर त्यस लुटेरालाई थम्याइदिए । पर्स खोसेर त्यो लुटेरा छिटो-छिटो भाग्न थाल्यो ।

तब भागिरहेको लुटेराको पछि-पछि दौडिँदै ती समाजसेवीले यसो भन्दै कराए, “ए भाइ, एकैछिन पर्ख त ! तिम्रो केही छुटेको छ ।” तब छक्क पर्दै टक्क अडिएर लुटेराले पछाडि फर्केर हेऱ्यो । तब ती समाजसेवीले त्यसलाई यसो भने, “रातभर यसरी काम गर्दा तिमीलाई चिसो लाग्न सक्छ । त्यसैले यो मेरो कोट लिएर जाऊ । म अब साँझको खाना खान जान लागेको छु । तिमी पनि सँगै जान्छौ ?” सुरुमा अलि अकमकिएको त्यो लुटेरा अन्ततः ती समाजसेवीको सबैभन्दा मन पर्ने रेस्टुरेन्टमा सँगै गयो । ती समाजसेवीले रेस्टुरेन्टका व्यवस्थापक र कर्मचारीहरूसँग उदारतापूर्वक व्यवहार गरे, तर त्यस लुटेराको नजरमा भने त्यो सबै एकदम असाधारण देखियो ।

खाना खाइसकेपछि ती समाजसेवीले त्यस लुटेरा ठिटोलाई यसो भने, “मेरो पर्स तिमीसँग भएकोले तिमीले पैसा तिरिदेऊ । तिमीले मलाई पर्स फिर्ता गऱ्यौ भने म तिरिदिनेछु ।” तब त्यसले बिस्तारै पर्स फिर्ता गऱ्यो । अनि ती समाजसेवीले त्यस लुटेराको चक्कु लिएर त्यसको बदलामा त्यसलाई इनामस्वरूप २० डलर दिए ।

लुटेरा बन्न लागेका त्यस कलिलो ठिटोले, ती समाजसेवीको उदारता देखेर आफ्नो मन परिवर्तन गऱ्यो ।