आमाको अँगालोको तिर्सना

भारतको एउटा विद्यालयमा, कक्षाकोठा वरिपरि घुमिरहेको एक जना सानो बालकको दिमागमा अचानक एउटा राम्रो जुक्ति फुर्छ र ऊ दुवै हातमा चक लिएर बाहिर निस्कन्छ । समूह-समूहमा खेलिरहेका बच्चाहरूको माझबाट हिँड्दै, ऊ एउटा एकान्त ठाउँमा पुग्छ र चकले सिमेन्टको भुइँमा एउटा ठूलो चित्र कोर्न थाल्छ ।
उसलाई टाढाबाट हेरिरहेका शिक्षक नजिकै जान्छन् र त्यो चित्र देखेर अचम्म पर्छन् । त्यो सानो बच्चाले कोरेको उक्त चित्रचाहिँ दुवै हात फैलाइरहकी एउटी महिलाको हुन्छ । त्यो केटाले आफ्नो जुत्ता फुकालेर ती महिलाको अँगालोभित्र लमतन्न सुत्छ । “सबै सुख-सुविधा पाएका भाग्यमानी मानिसहरू भन्दा फरक, हामीमध्ये केही यस्ता पनि छौं जसका लागि आमाको माया नै संसारको सबैभन्दा मूल्यवान चीज र एक मात्र चाहना हो” यी शब्दहरूसँगै उक्त भिडियो समाप्त हुन्छ ।
योचाहिँ भारतमा बनेको ‘चक’ नामक दुई मिनेटको भिडियो हो । भिडियोमा देखिएको त्यो बच्चाले वास्तवमा इराक युद्धका कारण आफ्नो आमा-बुबा गुमाएको हुन्छ । सिमेन्टको चिसो भुइँ भए तापनि, आमाको न्यानो अँगालो महसुस गर्नका लागि ऊ त्यही सुत्छ । आमालाई सम्झिरहेको उक्त बच्चाको हृदयले हाम्रो मनलाई पनि छुन्छ ।