मेरा बुबा

थाग जिन सुल / आन्याङ, कोरिया

8,418 भ्यु

विवाहपछिको पहिलो बिदामा बुबा-आमालाई भेट्न जाँदाको कुरा हो । आराम गरिरहेको समयमा मेरा बुबा र पतिले बैठक कोठामा कुरा गरिरहनुभएको मैले सुनें । मेरा पति कोठामा आउनुभएपछि मैले उहाँलाई सोधें,

“बुबासँग के विषयमा कुरा गर्नुभएको ?” “हामीले राजनीतिसम्बन्धी कुरा गऱ्यौं ।” “बुबाले राजनीतिको विषयमा कुरा गर्नुभयो ?”

म छक्क परें । बुबालाई राजनीतिप्रति कुनै चासो छैन जस्तो मलाई लागेको थियो ।

त्यसपछिको राष्ट्रिय बिदामा मेरा बुबा र पति घरमै हुनुभएको बेलामा म र आमा Sauna(बाफमा गरिने शरीरको मालिश) लिन गयौं । बुबाले बिदाको दिनमा कि कोठामा बसेर टिभी हेर्ने कि त व्यायाम गर्नुहुने भएकोले उहाँहरूले छुट्टाछुट्टै समय बिताउनुहुन्छ होला जस्तो लागेको थियो । तर एक-दुई घण्टापछि घर फर्किंदा त बैठक कोठामा चेसको बोर्ड थियो । मेरा पतिले आफूले पहिलो चरणमा मात्र जितेर बाँकी दुई चरणहरूमा बुबासँग हारेको कुरा गर्दै बुबाको चेस खेल्ने खूबीको प्रशंसा गर्नुभयो । मेरो घरमा म सानो छँदादेखि चेस बोर्ड थियो, तर त्यो बुबाको पो रहेछ । उहाँ त्यसमा निपुण हुनुहुन्छ भन्ने मलाई थाहै थिएन ।

मेरा पतिले बुबा अलि कडा हुनुहुन्छ, तर उहाँ हाँस्नुभयो भने नम्र र मिजासिलो देखिनुहुन्छ भन्नुभयो । मैले दैनिक जीवनको विषयमा बुबासँग विरलै बातचीत गर्ने गरेको कुरा सोच्न पुगें । बुबा, आमा, दिदी र म रहेको मेरो घरमा बुबा एक जना मात्र पुरुष हुनुहुन्थ्यो । यसकारण उहाँ एकलै Sauna लिन जानुहुन्थ्यो, अनि उहाँले गह्रौँ भारी बोक्ने र बत्तीका चिमहरू आफैले फेर्ने जस्ता कठिन कामहरू गर्नुहुन्थ्यो । उहाँ हामीसँगै किनमेल गर्न कहिल्यै जानुहुन्नथ्यो । उहाँको काँध मालिश गरिदिन खोज्दा उहाँले ठीकै छ मात्र भन्नुहुन्थ्यो । उहाँलाई एकलै बस्दा नै सजिलो लाग्छ जस्तै देखिन्थ्यो । यसकारण मलाई बुबाको विषयमा राम्ररी थाहा हुन सकेन ।

कहिलेकहीँ मैले फोन गर्दाखेरि उहाँले मेरो स्वास्थ्यको विषयमा सोधेर कि फोन आमालाई दिने, कि त “पछि घर आयौ भने भेटौंला” भनेर फोन राख्ने गर्नुहुन्थ्यो । बुबासँग मेरो राम्रो बातचीत नहुनुको कारणचाहिँ मैले नै उहाँको रुचि र दैनिक जीवनको विषयमा चासो नदिएकीले थियो । मन दुखेको छ भनेर एक पटक पनि नभन्नुभए तापनि दुई छोरीहरूलाई हुर्काउँदा बुबालाई कति एकलो महसुस भएको थियो होला ?

“मेरो बुबा त शान्त र कडा स्वभावको हुनुहुन्छ ।”

कसैले बुबाको विषयमा सोध्यो भने मैले त्यसरी भन्ने गरेकी थिएँ । सायद मैले नै बुबालाई त्यस्तो बनाएँ कि, थाहा छैन । अबदेखि बुबाको अलि नजिक गएर म उहाँको सोचाइ र रुचि सबै जान्न कोसिस गर्नेछु ।