मेरो पहिलो तलब

गिम सन उ / सङनाम, कोरिया

7,840 भ्यु

मोबाइल भाइब्रेट हुँदा मैले त्यसमा आएको सन्देश हेरें । मेरो तलब बैंकमा जम्मा गरिएको रहेछ । मेरो जीवनको पहिलो तलब भएकोले म एकदमै खुशी थिएँ ।

‘यो साँच्चै मेरै हो त ? यसलाई कसरी प्रयोग गर्ने होला ?’

उत्साहित हुँदै बैंकतिर लम्कने क्रममा मेरो मनमा थुप्रै कुराहरू खेल्न थाले ।

‘योचाहिँ मेरो जीवनको पहिलो तलब भएकोले अहिलेसम्म मेरो निम्ति बलिदान गर्नुभएकी मेरी आमालाई दिन्छु ।’

मैले बैंकबाट जम्मै तलब झिकेर आमाको हातमा थमाइदिएँ । आमा खुशीले दङ्ग पर्नुहुन्छ होला भन्ठानेको थिएँ, तर उहाँले केही बेर खाम मात्र हेरिरहनुभयो ।

“छोरा, मलाई माफ गरिदेऊ । तिम्रो निम्ति केही गरिदिन नसकेकोमा म अत्यन्तै क्षमाप्रार्थी छु ।”

मैले अनुमान गरेको भन्दा बिलकुल फरक प्रतिक्रिया देखेर म अकमक्क परें । आमा किन क्षमाप्रार्थी हुनुभएको होला भन्ने कुरा बुझ्नै सकिनँ ।

“मलाई तिमीप्रति गर्व छ । अब तिमीले पनि वयस्कको रूपमा जिम्मेवारी बहन गर्दै जिउनुपर्छ । मेरो लागि यतिसम्म सोचिदिएकोमा म एकदमै खुशी भएँ । यो तिम्रो पहिलो तलब तिमी आफ्नै लागि प्रयोग गर ।”

उहाँले त्यो मलाई नै फिर्ता दिनुभयो, तर मैले त्यो जबरजस्ती उहाँकै हातमा थमाइदिएँ ।

केही दिनपछि म कामबाट थकित भएर घर फर्किएको थिएँ । अचम्मको कुरा, मेरो कोठामा एउटा नयाँ सूट झुण्ड्याइएको थियो । आमाले त्यो मेरो लागि किनिदिएको बताउनुभयो । मैले आमालाई दिएको पहिलो तलब मकहाँ नै फिर्ता आयो ।

आमाले मसित माफी माग्नुको कारण बल्ल बुझ्न सकें । वास्तवमा लगातार दिए तापनि अझ दिन सकिनँ भन्ने सोच्दै क्षमाप्रार्थी मात्र हुने मन नै आमाको मन रहेछ । आमालाई केवल एक पटकको तलब दिएको कुरामा गर्व गरेको आफ्नो स्वरूपप्रति म एकदमै लज्जित भएँ, अनि आमाप्रति क्षमाप्रार्थी पनि भएँ ।

सन्तानलाई जन्माएर हुर्काउँदै असीम प्रेम दिनुहुने आमा । मैले थकाइ लागेको र गाह्रो भएको बहानामा आफूले बोक्नुपर्ने भारसमेत आमालाई बोकाइरहेको रहेछु । मैले जति गरे पनि आमाको प्रेमको ऋण चुकाउन सक्नेछैनँ ।