उत्कृष्ट खेलाडीको विशेषता

조회 13,027

समय रोकिएझैँ गरी भारोत्तोलन(वेटलिफ्टिङ्ग) हल अचानक सुनसान हुन्छ । खेलाडीले जोडसँग कराउँदै आफ्नो सारा बल लगाएर बारबेल उठाउँछन् । सफलताको सङ्केत दिने बत्ती बल्छ, र बजर बज्छ । दर्शकहरूबाट ठूलो समर्थनको आवाज आउँछ, र खेलाडीको मुहारमा खुशी छाउँछ ।

विशाल बारबेलहरू उठाउने भारोत्तोलन खेलाडीहरूको रहस्य के होला ? एक अमेरिकी लेखक, जेम्स क्लियरले भारोत्तोलन प्रशिक्षकलाई उत्कृष्ट खेलाडीहरूको विशेषताहरूको बारेमा सोधे । हरेक दिन एउटै चाललाई दोहोऱ्याउँदै प्रशिक्षणको आलस्यलाई सहनु नै एउटा विशेषता हो भनी प्रशिक्षकले बताए ।

कहिलेकहीँ खेलाडीहरूले प्रेरणा गुमाएर हिम्मत हार्ने मनसाय लिन पुग्छन्, तर उनीहरू नकारात्मक भावनामा फस्नुको सट्टा आफैलाई उत्प्रेरित गरेर अगि बढाउने तरिका खोज्छन् । सहनशीलताको समय पार गरेका खेलाडीहरूले मात्र मञ्चमा उभिएर लामो समयको प्रशिक्षणमार्फत बढाएको आफ्नो सारा शक्ति र सीपले आफ्नो वजनभन्दा तीन गुणा गह्रौँ बारबेल उठाउँछन्, जुन उनीहरूले विगतमा उठाउन असम्भव ठानेको वजन हो ।

परमेश्वरले हामीलाई सुसमाचारको मिसन सुम्पनुभएको छ । सुसमाचारको लक्ष्य सधैँ स्पष्ट भइदिए र हामीहरू हरसमय सुसमाचारप्रतिको जोशले भरिन पाए राम्रो हुनेथियो, तर कहिलेकहीँ हामीहरू थकित हुन्छौं र हामीलाई सुम्पिइएको मिसन भारी महसुस भएर निराश बन्न पुग्छौं । त्यस बेला हामीले हाम्रो जोश गुमाउनुको सट्टा सुसमाचारप्रतिको जोश जगाउने उपायहरू खोज्नुपर्छ । जब हामीहरू प्रार्थना, परमेश्वरको वचन अध्ययन जस्ता विश्वासभित्र सरल तर सामान्य दिनचर्यामा लीन हुन्छौं, तब परमेश्वरले हामीभित्र जोशको आगो सल्काइदिनुहुनेछ, र हाम्रो आत्मालाई सुसमाचारको जगमाथि बलियो गरी बसाल्नुहुनेछ । सहनशीलताको समय पार गरेकाहरूले परमेश्वरले दिनुहुने पवित्र आत्माको शक्ति प्राप्त गर्छन्, र विगतमा आफ्नो शक्तिद्वारा पूरा गर्न नसकेको कार्य सजिलैसँग पूरा गर्न सक्छन् ।