
मलाई वर्षायाम खासै मन पर्दैन । उदास मौसमले निराश महसुस गराउनुका साथै लुगा र जुत्ता पनि भिजाइदिन्छ । स्नायु रोगबाट पीडित भएकोले मौसम केन्द्रले भन्दा पनि पहिला मेरो जोर्नीहरूले वर्षायाम आएको कुरा थाहा पाउँछ । त्यसैले योचाहिँ मलाई वर्षायाम मन नपर्नुको दोस्रो कारण हो । तर कहिलेकहीँ म पानीमा हिँड्दा मुस्कुराउने गर्छु ।
प्राथमिक विद्यालयको पहिलो दुई वर्ष मैले एउटा सानो सहरको विद्यालयमा अध्ययन गरें । मेरो घर सहरको केन्द्रमा थियो । नजिकै घर भएकोले विद्यालयको खेल मैदानबाट आमाले छतमा कपडा सुकाएको दृश्य स्पष्ट देखिन्थ्यो । त्यो समयमा विद्यार्थीहरूका लागि घरदेखि विद्यालयसम्म ३० मिनेट वा एक घण्टाभन्दा बढी बाटो हिँड्नु सामान्य कुरा थियो । तर उनीहरूको तुलनामा मेरो अवस्था एकदमै राम्रो थियो ।
एक दिन, विद्यालयको खेल मैदान हुँदै घरतिर जान लाग्दा भारी वर्षा भयो र हावाहुरी पनि चल्न थाल्यो । ठूलो वर्षा र हावा चलेकोले मलाई घरसम्म जान गाह्रो भयो । सानो छँदा म दुब्ली भएकीले मानिसहरूले मलाई “ब्याग बोक, नत्र हावाले उडाउला” भन्ने गर्थे । हावाको झोक्काले बेस्सरी धकेलिरहेको बेला मैले एउटा ठूलो कालो छाया देखें । उहाँ मेरो बुबा हुनुहुन्थ्यो ।
“मेरी कान्छी छोरीलाई हावाले उडाउने हो कि भनेर म आएँ ।”
सधैँ काममा व्यस्त हुनुहुने मेरो बुबा त्यसरी मलाई लिन आउनुभएको देख्दा म छक्क परें । यद्यपि म खुशी हुँदै बुबासँगै घर फर्किएँ ।
केही वर्षपछि म सहरको अर्को विद्यालयमा भर्ना भएँ जसका कारण म बुबा-आमाबाट टाढा बस्नुपर्ने अवस्था भयो । तर कहिलेकहीँ हावाहुरी र पानी पर्ने दिनमा, बुबाले सधैँ फोन गरेर सोधपुछ गर्नुहुन्थ्यो । उहाँले अलिकति गम्भिर अनि अलिकति ठट्यौली रूपमा म हावाले नउडाइकन सुरक्षितसाथ घरमा आउन सकें कि सकिनँ भनेर सोध्नुहुन्थ्यो ।
अहिले म हावाहुरी र वर्षासँग लड्न सक्ने मध्यम उमेरको स्त्री भइसकें, तर पानी र हावाहुरी चल्दैपिच्छे “मेरो बच्चा घर आइपुग्यो कि पुगेन” भनेर सोध्नुहुने मेरो बुबाको आवाज सम्झिन्छु ।