परिवारलाई खुशी दिलाउने प्रशंसा, ‘राम्रो गर्नुभयो !’

सुन्दर प्रशंसाले आत्मविश्वास र साहस प्रदान गर्छ । प्रशंसाद्वारा स्वस्थ परिवार बनाऔं ।

21,133 भ्यु

“प्रिय / अँ भन । / घर पछाडि राखेको चल्ला देख्नुभयो कि ? / अँ देखें । / कहाँ गएछ ? / ए, मेरो शरीर कमजोर र बूढो भएकोले मैले त खाइदिएँ । / ए राम्रो गर्नुभयो, राम्रो गर्नुभयो, राम्रो गर्नुभयो, राम्रो गर्नुभयो, मलाई तपाईंप्रति गर्व छ !”

योचाहिँ ‘राम्रो गर्नुभयो’ भन्ने प्राचीन कोरियाली गीतको एउटा अंश हो । निष्पक्ष रूपले हेर्दाखेरि ती पतिले गरेको काम कदापि राम्रोचाहिँ होइन । त्यो चल्लालाई हुर्काएर ठूलो भएपछि बेचेको भए गतिलो रकम आर्जन गर्न सकिन्थ्यो । तर पत्नीसँग सल्लाह पनि नगरी तिनले त्यो खाइदिए । यदि पत्नी रिसाएकी भए पनि पतिले बोल्ने ठाउँ हुनेथिएन, तैपनि तिनकी पत्नीले राम्रो गर्नुभयो भन्दै उल्टै प्रशंसा गरिन् ।

यो गीत लोकप्रिय बन्नुको कारणचाहिँ पतिको अपरिपक्व व्यवहारको बाबजुद पत्नीले तिनको प्रशंसा गरेको कुरा साँच्चै राम्रो देखिएकोले हो । संसारमा यस्तै मानिसहरू मात्र हुने हो भने झगडा भन्ने कुरा नै हुनेथिएन । ती दम्पतीको वार्तालापमा हामीले देख्न सकेजस्तै, प्रशंसाले विवादलाई हटाएर मेलमिलाप ल्याउने काम गर्छ ।

‘Whale Done’ नामक पुस्तकमा भनिएजस्तै, प्रशंसाचाहिँ जनावरसँग पनि वार्तालाप गर्न सकिने शक्तिशाली माध्यम हो । प्रशंसाले मानिसको हृदयलाई झन् कति प्रभावित तुल्याएर सुमधुर सम्बन्ध कायम गराउँछ होला ! तर अरूको चापलूसी गर्न पछि नहट्ने तर आफ्नै परिवारका सदस्यहरूको प्रशंसा गर्नचाहिँ कञ्जुस्याइँ गर्ने मानिसहरू धेरै छन् । लाज लाग्ने भएकोले अथवा परिवारको नजरमा आफू राम्रो नदेखिए पनि हुन्छ भन्ने लागेकोले प्रायः मानिसहरू परिवारका सदस्यहरूको प्रशंसा गर्नुभन्दा उनीहरूको गल्तीलाई धेरै औँल्याउने गर्छन् ।

प्रशंसाले मानिसमा खुशी र रमाहट ल्याउँछ । त्यसैले प्रशंसा गर्न कञ्जुस्याइँ गर्नुहुँदैन । अरूको गल्तीलाई औँल्याउनुभन्दा बरु ढाकछोप गरिदिऔं, अनि “राम्रो गर्नुभयो !” भनेर प्रशंसा गरिदिँदै आफ्नो परिवारका सदस्यहरूको मनोबल बढाउने काम गरौं ।

प्रशंसा भनेको के हो ?

१. प्रशंसा जसलाई पनि मन पर्छ

तर्क गर्नमा कमजोर भएका बच्चाहरूले पनि प्रशंसा पाए भने फेरि प्रशंसा पाउने किसिमको काम गर्न प्रयत्न गर्छन् । शिक्षकबाट निरन्तर प्रशंसा पाउने विद्यार्थीहरूले पढाइमा अन्य विद्यार्थीहरूको भन्दा राम्रो नतिजा ल्याएको कुरा एउटा परीक्षणले देखाएको थियो । बच्चाहरू मात्र होइन, वयस्कहरूको सन्दर्भमा पनि उस्तै हो । जागिरेहरूले औधी सुन्न चाहने नै “राम्रो गर्नुभयो, परिश्रम गर्नुभयो” भन्ने शब्द भएकोले मानिसहरूले प्रशंसाको कतिसम्म लालसा गर्छन् भन्ने यसैबाट थाहा हुन्छ । बोल्न र सुन्न नसक्ने बोट-बिरुवाहरू पनि प्रशंसा गरिदिएमा राम्ररी हुर्कन्छ । जनावरलाई पनि प्रशंसा गरिदियो भने खुशी भएर चर्तिकलाहरू देखाउँछ । त्यसैले ‘भावनात्मक प्राणी’ रहेको मानिसलाई प्रशंसाले ठूलो प्रभाव पार्नु त झन् स्वाभाविक हो ।

२. प्रशंसा नै विश्वास हो

ग्लोरिया बेकले ‘प्रशंसा’ भन्ने पुस्तकमा ‘बुबा-आमाले सन्तानलाई विश्वास गर्ने कुराभन्दा अझ ठूलो प्रशंसा छैन’ भनेकी छिन् । “आमा हुनुभएन भने कसले मलाई उठाइदिने ?” भन्ने बच्चाको प्रश्नमा “तिमी एकलै भए पनि उठ्न सक्छौ भन्ने मलाई विश्वास छ” भनेर जवाफ दिँदा बच्चामा आत्मविश्वास आउनेछ । कसैले हामीलाई विश्वास गर्छ भने हामीलाई बुझिदिने र स्वीकार्ने कोही त छ भन्ने महसुस हुन्छ । त्यसो हुँदा हामीमा कार्य-शक्ति प्रचुर मात्रामा भरिन्छ, अनि हामीलाई प्रशंसा गरिदिने व्यक्तिको विश्वास जित्नका लागि अझ धेरै परिश्रम गर्ने मन आउँछ । कहिलेकहीँ हामीभित्र लुकेको क्षमतासमेत बाहिर निस्कन्छ, अनि असम्भव ठानेको कार्य पनि सम्भव हुन्छ ।

३. प्रशंसा नै सकारात्मक मन हो

प्रशंसाले, प्रशंसा पाउने व्यक्तिमा मात्र नभएर प्रशंसा गर्ने व्यक्तिमा पनि राम्रो प्रभाव पार्छ । प्रशंसा गरेमा सकारात्मक मूल्य-मान्यता लिन सक्नुको साथै अझ बुझक्की पनि भइन्छ । बब कङक्लीन नाउँका लेखकले सोच्ने तरिकाको परिचय दिँदै, आफूले नरुचाएको मानिसलाई रुचाउने तरिका यसरी जानकारी दिएका छन् : कोही आफ्नो विचारमा अति नै जिद्दी गर्ने प्रवृत्तिको छ भने उसलाई हठी होइन, दृढ मानिसको रूपमा सोच्ने । अनि कोही धेरै पैसा खर्च गर्न नचाहने प्रवृत्तिको छ भने उसलाई कञ्जुस होइन, मितव्ययीको रूपमा सोच्ने । सोचाइलाई यसरी परिवर्तन गऱ्यौं भने घृणा लाग्ने मानिसलाई पनि प्रशंसा गर्न सक्नुको साथै आफूले पनि सकारात्मक मन लिन सकिन्छ । अरूको कमजोर पक्षलाई मात्र हेऱ्यो भने प्रशंसा गर्न सकिँदैन । मन मात्र छ भने अरूलाई प्रशंसा गर्ने कुरा जति पनि भेट्टाउन सकिन्छ । संसारमा पूर्ण मानिस नभएजस्तै, कमजोर पक्ष नभएको मानिस एक जना पनि छैन ।

४. प्रशंसा नै रुचि हो

प्रशंसा गर्नको लागि कसैले कुनै विशेष वा उत्कृष्ट कार्य गरेकै हुनुपर्छ भन्ने छैन । उदाहरणका लागि, पत्नीको हेयर-स्टाइल फेरिँदा यदि पतिले “ओहो, हेयर-स्टाइल फेरिएछ त । एकदमै सुहाएको छ” भनेर एक वाक्य मात्र भनिदिए पनि पत्नीलाई राम्रो लाग्नेछ । तर यदि हेयर-स्टाइल वा पहिरन इत्यादि फेरिए तापनि परिवारका कसैले पनि त्यसप्रति चासो दिँदैन अथवा कुनै प्रतिक्रिया जनाउँदैन भने पत्नीलाई मनमा खल्लो लाग्नेछ । त्यो कुराले त्यसप्रति कसैलाई पनि चासो छैन भन्ने देखाउँछ । परिवारका सदस्यहरूप्रति सधैँ रुचि राख्दै, सानो बद्लावमा पनि आफ्नो विचार राख्दै सक्रिय प्रतिक्रिया जनाइहेरौं ।

५. प्रशंसाचाहिँ प्रतिध्वनि हो

‘म कोसिस गर्दैछु, तर कसैले पनि बुझिदिँदैन । मलाई खासै कसैले मतलब गर्दैन’ भनेर सोच्ने मानिसले आफ्नो क्षमता पूर्णतः प्रस्तुत गर्न सक्दैन, र पीडित मानसिकताले गर्दा उसले अरू कसैको पनि प्रशंसा गर्न सक्दैन । अनि प्रशंसा पाउन मात्र खोज्दै आफूप्रति धाक लगाउने मानिसले चाहिँ अरूलाई अप्ठ्यारो पार्ने गर्छ । कसैले मलाई प्रशंसा गर्दैन भनेर गनगन गर्नुअघि अरूलाई हृदयदेखि प्रशंसा गरिदिने गरौं । खुशीसाथ अरूको प्रशंसा गर्नेले धेरै प्रशंसा पाउन सक्छ ।

प्रशंसाद्वारा जीवनको फूल फुलाएका मानिसहरू

सफल मानिसहरूमध्ये परिवारको प्रशंसाबाट प्रेरणा पाएका मानिसहरू धेरै छन् । विद्यालयमा उपद्रवी भनेर चिनिएका एडिसन, एक हजारभन्दा बढी थोकहरू आविष्कार गर्ने आविष्कारका राजा बन्न सकेका पनि आमाबाट लगातार प्रशंसा पाएकाले हो भन्ने कुरा त सर्वविदितै छ । २०औँ शताब्दीका उत्कृष्ट प्रतिभा, आइन्स्टाइनलाई पनि विद्यालयमा कहिल्यै उँभो लाग्न नसक्ने आशाहीन केटो ठानिएको थियो, तर तिनले आमाबाट “अन्य कुनै बच्चाहरूमा नभएको विशेष क्षमता तिमीमा छ । तिमी अन्य बच्चाहरूजस्तै भयौ भने कसरी सफल बन्न सक्छौ र ?” भनेर प्रशंसा र प्रोत्साहन पाउँदा आखिरमा तिनी एक महान् वैज्ञानिक बन्न सके ।

दैनिक काम सकेर फर्केपछि दिनहुँ नयाँ इञ्जिन आविष्कार गर्न रातभरि गोठमा बस्ने एक जना व्यक्ति थिए । त्यो समयमा कारलाई सम्पत्ति र शक्तिको प्रतीक मानिन्थ्यो । तर तिनको सपनाचाहिँ धेरै मानिसहरूलाई सस्तो मूल्यमा कार खरीद गरेर चलाउन सक्ने गराउनु थियो । सबैले तिनको खिल्ली उडाउँदै समय मात्र बर्बाद गर्दैहुनुहुन्छ भने, तर तिनकी पत्नीले मात्र तिनलाई विश्वास गरेर समर्थन गरिन् । अन्ततः तिनले आफ्नो सपना साकार पारे । योचाहिँ कारहरूका राजा, हेनरी फोर्डको कहानी हो ।

कहिलेकहीँ परिवारका सदस्यहरू कमजोर र असन्तुष्ट देखिए तापनि प्रशंसा र प्रोत्साहन गरिदियौं भने उनीहरूले ठूलो शक्ति पाउनेछन् । परिवारको समर्थनजत्तिको बलियो कुरा अरू के हुन्छ र ? परिवारका सदस्यहरूले राम्रो गरेको चाहनुहुन्छ भने साँचो मनले प्रोत्साहन दिँदै समय सुहाउँदो प्रशंसा गरिदिन नबिर्सिनुहोस् ।

प्रशंसा कसरी गर्ने ?

१. प्रशंसायुक्त हाउभाउ गर्ने

हामीले अनुहार कठोर पारेर अथवा हात बाँधेर कसैको प्रशंसा गऱ्यौं भने अर्को व्यक्तिलाई प्रशंसा पाएको जस्तो लाग्नेछैन, बरु उल्टै ऊ निराश हुने अवस्था हुन्छ । कसैको प्रशंसा गर्दाखेरि उज्यालो मुस्कान अथवा न्यानो गरी अँगाल्ने वा बूढी औँला उठाउने जस्ता हाउभाउ गरिदिनुपर्छ । मुखले केही नभने पनि हाउभाउद्वारा मात्र पनि अरूको प्रशंसा गर्न सकिन्छ ।

२. तुरुन्तै प्रशंसा गर्नु उचित

प्रशंसा गर्ने कुरामा समय महत्त्वपूर्ण छ । ‘फलाम तातिएको बेला हिर्काइहाल्नू’ भन्ने भनाइजस्तै, कसैले प्रशंसायोग्य काम गर्दाखेरि तुरुन्तै प्रशंसा गरिहाल्नु उचित हुन्छ । मानिलिऔं, पत्नीले मीठो परिकार पकाइन् । खाना खाँदा कुनै प्रतिक्रिया नजनाईकन एक महिनापछि बल्ल “तिमीले गत महिना खुवाएको परिकार मीठो थियो” भन्नु र एक गाँस हाल्नासाथ उतिखेरै “वाह्, साँच्चै मीठो छ । तिमी त उत्कृष्ट भान्से हौ” भन्नु, यीमध्ये कुनचाहिँ अझ प्रभावकारी हुन्छ होला ?

३. विस्तारपूर्वक प्रशंसा गर्ने

“तपाईं साँच्चै उत्कृष्ट हुनुहुन्छ,” “तिमी साँच्चै असल केटो हौ” भनेर अस्पष्ट प्रशंसा गर्नुभन्दा विस्तारपूर्वक प्रशंसा गर्नु नै प्रभावकारी हुन्छ । उदाहरणका लागि, बच्चाले चित्र कोर्दाखेरि “चित्र राम्रो कोर्दारहेछौ” भन्नुको सट्टा “विभिन्न रङहरू भरेर कति राम्ररी चित्र कोर्दारहेछौ,” “यति गहिरो सोचद्वारा कसरी चित्र कोर्न सकेको होला ?” भनेर प्रशंसा गरिदिएमा त्यो बच्चा, उसको मन बुझिदिएको कुरा महसुस गरेर खुशी हुनेछ ।

४. प्रक्रियालाई प्रशंसा गर्ने

कसैले उत्तम परिणाम प्राप्त गर्दा मात्र प्रशंसा गर्ने गऱ्यौं भने प्रशंसा गर्ने कुरा भेट्टाउन गाह्रो हुने मात्र नभएर अर्को व्यक्तिलाई दबाब दिन पुगिन्छ । कसैले सोचेजस्तो परिणाम प्राप्त नगर्दा पनि यदि हामीले “… धेरै कोसिस गर्नुभयो । साँच्चै धैर्यता ठूलो रहेछ !,” “तपाईंले सक्दो प्रयत्न गर्नुभएकोले ठीकै छ । अर्को पटक अझ राम्ररी गर्न सक्नुहुनेछ” भनेर त्यो व्यक्तिको जोश र प्रयत्नको कदर गर्दै प्रशंसा गरिदियौं भने तिनले साहस पाएर अझ प्रयत्न गर्नेछन् ।

५. बढाइचढाइ गरेर प्रशंसा नगर्ने

नभएको कुराप्रति प्रशंसा गर्ने अथवा बढाइचढाइ गरेर प्रशंसा गर्दाखेरि अर्को व्यक्तिले अभिमानी मन लिन सक्ने भएकोले यसलाई सही प्रशंसा भन्न मिल्दैन । यसको साथै धेरै जना भएको ठाउँमा एक जनाको मात्र प्रशंसा गर्नुहुँदैन भन्ने कुरामा होशियार रहनुपर्छ । ३ जना छोराहरूको बीचमा “जेठो छोराचाहिँ उत्कृष्ट छ” भन्यो भने बाँकी दुई जना छोराहरूलाई खिन्न लाग्नेछ ।

आफूलाई प्रशंसा गरिदिने व्यक्तिलाई घृणा गर्ने मानिस कोही हुँदैन । मार्क ट्वेनले ‘सुन्दर प्रशंसा सुनिरहें भने म अझ दुई महिना त्यत्तिकै बाँच्न सक्छु’ भनेका छन्, अनि जिन-ज्याक्वीज रोसोले ‘घाँसलाई हुर्कनको निम्ति घाम चाहिएजस्तै, मानिसलाई पनि स्वस्थ रूपले हुर्कनको निम्ति प्रशंसा भनिने घाम चाहिन्छ’ भनेका छन् । प्रशंसा त्यतिसम्म महत्त्वपूर्ण छ भन्ने अर्थ हो ।

आजदेखि परिवारका सदस्यहरूमा प्रशंसायोग्य पक्षहरू के-के छ भनेर आँखा फराकिलो पारेर खोजौं । राम्ररी प्रशंसा गर्नु पनि प्रशंसा पाउने कार्य हो । प्रशंसा पाउँदाखेरि घमण्डी हुने अथवा लाज मानेर इन्कार गर्ने गर्नुहुँदैन, तर नम्र मनद्वारा एकसाथ खुशी बाँड्नुपर्छ । निरन्तर प्रशंसा गरिने परिवारचाहिँ स्वस्थ हुनुको साथै शक्तिले ओतप्रोत हुन्छ ।