हामीले हेर्ने र सुन्नेबारे
हामीले के खान्छौं भन्ने कुराले हाम्रो स्वास्थ्य निर्धारण गर्दछ, र हामीले के हेर्छौं र सुन्छौं भन्ने कुराले हाम्रो सोचाइ, बोली र व्यवहार निर्धारण गर्दछ ।
कुनै एक जना आमाले आफ्नो बच्चाले शवयात्र बोकेर विलाप गरिरहेको व्यक्तिको नक्कल गरिरहेको देखिन् । उक्त दृश्य देखेर ती आमा डराइन् र चिहान नजिकैको घरबाट बजारतिर सरिन् । तर त्यो बच्चाले व्यापारीको नक्कल गर्न थाल्यो । आमाले फेरि आफ्नो सामान प्याक गरिन् र स्कूल नजिकै सरिन् । त्यसपछि त्यो बच्चाले किताब पढेको नक्कल गर्न थाल्यो, जुन कुरा देखेर आमा खुशी भइन् । यसरी “मिन्सियसकी आमाको तीन वटा चाल” भन्ने चिनियाँ उखानको उत्पत्ति भयो । यो उखानले मिन्सियसकी आमा आफ्नो छोराको शिक्षाको लागि तीन पटक सरेको कुरा बताउँछ र मानिसहरू आफूले देखेका र सुनेका कुराबाट धेरै प्रभावित हुन्छन् भन्ने कुरा पनि देखाउँछ ।
पहिला डरलाग्दो चलचित्र हेर्न र चर्को संगीत सुन्न मन पराउने महिलाहरूले आफू गर्भवती भएपछि चाहिँ हृदयस्पर्शी र भावनात्मक चलचित्र हेर्न खोज्छन् र शान्तमय र आनन्दपूर्ण सङ्गीत सुन्न थाल्छन् । योचाहिँ आमाले देखेको र सुनेको कुराले अप्रत्यक्ष रूपमा भ्रूणको भावनाहरूमा असर गर्ने भएकोले हो । तसर्थ प्रत्यक्ष रूपमा देखेको र सुनेको कुराले कति प्रभाव पार्छ भन्ने कुरा भन्नै पर्दैन ।

सूचना र सञ्चार माध्यमको विकास भएको यो युगमा हामीले धेरै कुराहरू सजिलै हेर्न र सुन्न सक्छौं । टिभीमा सयौं च्यानलहरू चौबिसै घण्टा प्रसारण हुन्छन्, र इन्टरनेटबाट हरेक दिन व्यक्तिगत प्रसारण तथा विभिन्न भिडियो सामग्रीहरू अपलोड भइरहेका हुन्छन् । यस आधुनिक समाजमा, मिडियाविना जिउन लगभग असम्भव छ । त्यसोभए हामीले कस्तो कुरा हेर्न र सुन्न जरुरी छ होला ? यो कुराले एउटा व्यक्तिको जीवनमा मात्र होइन तर परिवारको खुशी र कल्याणमा समेत असर गर्छ ।
आँखा र कानबाट देखिने र सुन्ने कुरा बोली र व्यवहारमार्फत बाहिर निस्किन्छ
सन् १९६० को दशकमा, क्यानेडाली अमेरिकी मनोवैज्ञानिक अल्बर्ट बान्डुराले(Albert Bandura) ३ देखि ६ वर्ष उमेर समूहका बालबालिकाहरूलाई लक्षित गर्दै बोबो डल अनुसन्धान(Bobo doll experiment)गरे । बोबो डलचाहिँ एउटा रोली-पोली खेलौना हो, जसलाई हान्यो भने फेरि त्यो सीधा भएर उभिन्छ । वयस्कहरूले बोबो डललाई दुर्व्यवहार गरेको देखेका बच्चाहरू बोबो डलप्रति आक्रामक थिए, तर त्यो दृश्य नदेखेका बच्चाहरूले तिनीहरूको अगाडि खेलौना बन्दुक र खेलौना चक्कु जस्ता हिंसा निम्त्याउने वस्तुहरू राखिदिए तापनि आक्रामक व्यवहार देखाएनन् ।
एउटा कोरियाली कम्पनीले पनि AI प्रविधि प्रयोग गरेर उस्तै अनुसन्धान गरेको थियो । उनीहरूले 3D प्रविधि प्रयोग गरेर ५ वर्षको बच्चाको नक्कल गरी दुई भर्चुअल बच्चाहरू बनाए । उनीहरूले एउटालाई कथा वाचन गर्ने भिडियो देखाए र अर्कोलाई विभिन्न साइटहरूमा पाइने अनियमित भिडियोहरू देखाए ।
आठ हप्तापछि फरक-फरक भिडियो हेरेका दुई भर्चुअल बच्चाहरूको अन्तर्वाता लिइयो, उनीहरूको जवाफ एक-अर्काबाट उल्लेखनीय रूपमा फरक थियो । गुणस्तरीय भिडियो हेरेको बच्चाले रचनात्मक र कोमल भाषा प्रयोग गऱ्यो, तर जथाभावी भिडियो हेरेको बच्चाले चाहिँ अपशब्द र अरूको खिल्ली उडाउने बोली बोल्यो ।

यो अनुसन्धानले, वरिपरि सुनेका र देखेका कुराहरूलाई बच्चाहरूले स्पन्जजस्तै छिट्टै टिप्छन् भन्ने कुरा देखाउँछ । त्यसोभए वरिपरिको वातावरणले अपरिपक्व बच्चाहरूलाई मात्र असर गर्छ होला त ?
एक कोरियाली प्रसारण स्टेशनले वयस्क सहभागीहरूलाई दुई समूहमा विभाजन गर्यो र उनीहरूलाई वर्डकार्ड प्रयोग गरी वाक्य बनाउन लगायो । अनुसन्धानको उद्देश्यचाहिँ केही शब्दहरू देखाएपछि मानिसहरूले कस्तो व्यवहार गर्छन् भन्ने कुरा जाँच गर्नु थियो । फलस्वरूप वृद्ध, सेवानिवृत्त वचत जस्ता शब्दहरू पाएको समूहले पहिलाको तुलनामा २ सेकेन्ड ढिला हिँड्यो, तर चुनौतीपूर्ण, भावुक र नयाँ भर्ती जस्ता युवासँग सम्बन्धित शब्दहरू पाएको समूहले चाहिँ पहिलाको तुलनामा २ सेकेन्ड छिटो हिँड्यो ।
हाम्रो मनसाय जस्तोसुकै भए पनि, आँखाले देखेका र कानले सुनेका कुराहरू अन्ततः हाम्रो बोली र व्यवहारमार्फत बाहिर निस्कन्छन् । ज्ञान, अनुभव र निर्णय क्षमताको भण्डार भएका वयस्कहरूको सन्दर्भमा पनि उस्तै हो ।
देखेको र सुनेको कुराअनुसार हाम्रो मस्तिष्क परिवर्तन हुन्छ
मस्तिष्कले प्राप्त गर्ने लगभग ८०% जानकारी आँखाबाट आउँछ र १०% जानकारी कानबाट आउँछ । जब आँखाले वस्तुबाट परावर्तित प्रकाशलाई मस्तिष्कसम्म पठाउँछ तब सेरेब्रमले (cerebrum) देख्न सकिने रूपमा एउटा छवि(image) बनाउँछ, र जब कानले हावाका कम्पनहरू मस्तिष्कसम्म पठाउँछ तब हामीले बुझ्न सकिने आवाजको रूपमा सुन्छौं । यो प्रक्रियामा, मस्तिष्कले विगतका अनुभवहरूको आधारमा नयाँ जानकारीको व्याख्या र मूल्याङ्कन गर्छ । अर्को शब्दमा भन्नुपर्दा, आँखा र कानले केवल दृश्य र श्रवण जानकारी मस्तिष्कमा पुऱ्याउँछ । तसर्थ मस्तिष्कले नै देख्ने र सुन्ने काम गर्छ भन्दा अतिशयोक्ति हुँदैन ।
मस्तिष्कले जानकारी प्राप्त गर्ने तरिका जटिल देखिए पनि, यसमा आश्चर्यजनक रूपमा सरल पक्षहरू पनि छन् । मस्तिष्कले पहिला कहिल्यै नदेखेको वा नबुझेको अपरिचित जानकारीलाई सहजै स्वीकार्दैन, तर बारम्बार सुनेको र देखेको जानकारीलाई भने सजिलै विश्वासयोग्य र अनुकूल रूपमा महसुस गर्छ । यसकारण मानिसहरूले सामान खरिद गर्ने क्रममा आफूलाई त्यो सामग्रीबारे ज्ञान वा जानकारी नभए पनि विज्ञापनमा त्यो ब्रान्डको सामग्री देखेको आधारमा त्यसलाई खरिद गर्ने गर्छन् । पेरिसको आइफेल टावर (Eiffel Tower) निर्माण हुँदा त्यसबेलाका मानिसहरूले त्यसलाई कुरूप मान्थे । तसर्थ त्यसलाई भत्काउने कुरासम्म भएको थियो, तर समय बित्दैजाँदा त्यो टावर मानिसहरूमाझ परिचित हुँदैगयो र मानिसहरूले सकारात्मक प्रतिक्रियाहरू दिन थाले । अहिले यो एउटा आकर्षण स्थल बनेको छ । यसरी ‘आइफेल टावर प्रभाव’को उत्पत्ति भयो । योचाहिँ कुनै कुरा बारम्बार देख्दा वा भेटिँदा त्यसलाई मन पराउने प्रवृत्ति बढ्दैजान्छ भन्ने कुरा हो ।

तर समस्या के हो भने, मस्तिष्कले आफू परिचित भएको कुरा तथ्य हो कि होइन, हानिकारक छ कि लाभदायक छ भन्ने कुरा विचारै नगरी सबै कुरा स्वीकारिदिन्छ । यसबाहेक, मस्तिष्कको ‘मिरर न्यूरोन(mirror neuron)’ले आँखाले देखेको कुरा नक्कल गर्न र समानुभूति महसुस गर्न मद्दत गर्छ र सकारात्मक छाप पाएको वस्तुप्रति अझ बढी सक्रिय हुन सहयोग गर्छ । यसकारण विषय जति परिचित र आकर्षक हुन्छ, हामीले त्यसको शब्द र कार्यहरूको नक्कल गर्ने सम्भावना त्यति नै बढी हुन्छ । त्यसैले के सोच्ने र गर्ने भन्ने कुराचाहिँ हाम्रो इच्छाभन्दा पनि वरिपरिको वातावरणबाट प्रभावित हुन्छ ।
अङ्ग्रेजीमा एउटा भनाइ छ, “You are what you eat” । यसको अर्थ ‘जे खाइन्छ त्यस्तै भइन्छ’ भन्ने कुरा हो । हामीले खाने र पिउने कुरा हाम्रो शरीरको आधार भएजस्तै हामीले देख्ने, सुन्ने र अनुभव गर्ने कुराचाहिँ हाम्रो मन र आत्माको आधार हो । अर्को शब्दमा भन्नपर्दा, हामीले सुनेका र देखेका कुराहरू जम्मा भएर हामी बन्छौं ।
असल व्यक्ति बन्नको लागि
अहिले हामीहरू मिडिया उत्तेजक सामग्री, क्षणिक रमाइलोमा केन्द्रित प्रमाणहीन र असावधानीपूर्ण जानकारीले भरिएको मिडियाको युगमा जिइरहेका छौं । क्षणिक रमाइलोका लागि जुनसुकै कुरा सुन्ने र हेर्ने जस्ता कार्य गर्नु भनेको खानेकुरा हानिकारक छ कि छैन भनेर जाँच नगरी मुखमा हाल्नुजस्तै हो । यसकारण ‘मिडिया साक्षरता’ एकदमै आवश्यक छ ।
मिडिया साक्षरता भन्नाले पुस्तक, पत्रपत्रिका, रेडियो, टिभी र इन्टरनेट जस्ता विभिन्न माध्यमहरूद्वारा प्रस्तुत गरिएको जानकारीलाई राम्ररी बुझ्ने क्षमता हो । अनलाइन कक्षाको वृद्धिका कारण विद्यार्थीहरूमाझ साइबरबुलिङको समस्या बढ्दैआएकोले यसलाई रोक्नका लागि मिडिया साक्षरता एकदमै आवश्यक रहेको कुरा शैक्षिक क्षेत्रले बताएको छ ।
दृश्य मिडियामा लाभदायक सामग्री भए पनि, धेरै लामो समयसम्म त्यसलाई हेरिरहँदा त्यसले नकारात्मक प्रभाव पार्न सक्छ । मस्तिष्कले दृश्य मिडियामार्फत छोटो दृश्य र श्रवण उत्तेजनाहरू प्राप्त गर्न अभ्यस्त हुँदा गहिरो सोचको कार्य गर्ने फ्रन्टल लोब (frontal lobe) कमजोर हुन्छ । परिणामस्वरूप मानिसले अझ छिटो र बढी शक्तिशाली उत्तेजना खोज्न थाल्छ र बिस्तारै उसलाई यसको लत लाग्न थाल्छ । यसकारण डिजिटल स्क्रिनबाट भन्दा पुस्तकबाट समान जानकारी प्राप्त गर्दा मस्तिष्कको लागि बढी फाइदाजनक हुन्छ । लगातार पुस्तकहरू अध्ययन गर्दा मस्तिष्कका धेरै भागहरू एकैसाथ सक्रिय हुन्छन्, र अन्तर्दृष्टि, एकाग्रता, सोच्ने शक्ति र संसारप्रतिको दृष्टिकोण पनि फराकिलो हुन्छ ।

मस्तिष्कले दिनभरि प्रयोग गर्ने ऊर्जाको मात्रा सीमित हुन्छ । यदि यसले आफ्नो सबै ऊर्जा परिधीय स्नायुहरू सञ्चालन गर्नमा प्रयोग गऱ्यो भने महत्त्वपूर्ण कुरा छनोट गरेर त्यसमा कार्य गर्न गाह्रो हुन्छ । राम्रो र नराम्रो भनेर छुट्ट्याउन सक्ने क्षमताचाहिँ हामीले कस्तो कुरा हेर्छौं र सुन्छौं भन्ने कुरामा निर्भर हुन्छ । मिडियाबाट लाभ उठाउनका लागि, हानिकारक वा कम गुणस्तरको सामग्रीलाई सक्रिय रूपमा छुट्ट्याउनुपर्छ र जीवनमा आशा र सकारात्मक ऊर्जा दिने कुराहरूको नजिक रहनुपर्छ । यदि कसैले अरूप्रति विचारशील हुँदै सहयोग र प्रेम गर्छ भने त्यस्ता कुराहरू सिकेर व्यवहारमा लागू गर्न सकिन्छ । अर्को शब्दमा भन्नुपर्दा राम्रो कुरा हेऱ्यो र सुन्यो भने राम्रो व्यक्ति बन्न सकिन्छ ।
प्रायः आमाहरूले गर्भमा भएको बच्चाको स्वस्थ र उज्ज्वल जीवनको लागि केवल राम्रो कुरा मात्र हेर्ने र सुन्ने प्रयास गर्छन् । त्यसोभए के हामीले आफूलाई राम्रो चीज दिनुपर्दैन र ? यो नै हामीलाई राम्रो कुरा सुन्ने र हेर्ने गराउनुभएकी आमालाई धन्यवाद दिने तरिका हो । अनि यो केवल आफूलाई मात्र नभएर आफ्नो बहुमूल्य परिवारलाई प्रेम र सम्मान गर्ने तरिका पनि हो ।
हेर्ने र सुन्ने कुराको महत्त्वलाई बुझ्ने मानिसले परिवारसँग बोल्ने प्रत्येक कुरामा ध्यान दिन्छ । त्यसरी ध्यान दिनुको कारणचाहिँ हाम्रो व्यवहारले परिवारमा ठूलो प्रभाव पार्ने भएकोले हो ।
आफ्ना छोराछोरीलाई असल मान्छे बन्न सिकाउनुको सट्टा, पहिला आफै असल मान्छे बन्नुपर्छ, र आफ्नो जीवनसाथी असल मान्छे बनोस् भनेर आशा गर्नुको सट्टा, पहिला आफै असल मान्छे बन्न प्रयास गर्नुपर्छ । त्यसो गरेमा बल्ल उनीहरूको व्यक्तित्व हामीले चाहेअनुसार परिवर्तन हुनेछ । भनिन्छ, “सीधा उम्रने गाँजाको खेतमा तीतेपातीको बोट पनि सीधा उम्रिन्छ ।” यो कुरा घर भनिने खेतमा पनि लागू हुन्छ ।