WATV.org is provided in English. Would you like to change to English?

छोरीलाई विदेश पठाउँदा

मा उन ही / यशु, कोरिया

407 हेरेको संख्या

केही समयअघिको कुरा हो । कक्षा ६मा अध्ययनरत मेरी छोरी शिक्षण कार्यालयद्वारा प्रायोजित एक ऐतिहासिक भ्रमणका लागि विदेश गइन् । उनलाई जीवनमा पहिलो पटक उडान भर्ने अवसर प्राप्त भयो ।

प्रस्थानको दिनमा मेरा पतिले छोरीलाई बिहान सबेरै विमानस्थल पुऱ्याइदिनुभयो । तर प्रस्थानको समय हुनै लाग्दा कार्यवाहक शिक्षकबाट मलाई फोन आयो ।

“जि उनले पेट दुख्यो भन्दैछिन् । किन होला ?”

मेरी छोरीले प्रायः डर लाग्दाखेरि पेट दुख्यो भन्छिन् । ऊसँग कुरा गरिहेर्दा, त्यो दिन पनि डरले गर्दा नै उनलाई पेट दुखेको थियो । समाधानको अर्को कुनै उपाय नभएकोले मैले उनलाई उडान भर्नअघि केही नखाईकन सुतेर आराम मात्र गर्नू भनें । बिरामी छोरीको निम्ति केही गर्न नसक्दा मन एकदमै दुख्यो । फोनमा त्यति कुरा गरेपछि साँझसम्मै कुनै सम्पर्क भएन ।

साँझमा मेरा पति कामबाट आउनुभएपछि मैले उहाँलाई सबै कुरा बताएँ । तब उहाँले बिहान विमानस्थल जाँदाखेरि बाटोमा छोरीले “मलाई जान मन छैन” भन्दैथिइन् भन्नुभयो । त्यो सुनेर मेरो मुटु छियाछिया भयो । उनको ज्ञान विस्तार गर्न र नयाँ अनुभवहरू बटुल्नको निम्ति त्यो एउटा राम्रो अवसर थियो । तर मैले चाहिँ सानी नानीलाई धेरै टाढा पो पठाएँ कि अथवा ऊ अन्य विद्यालयका साथीहरूसँग घुलमिल हुन नसक्ने हो कि भन्नेतर्फ ध्यान दिएँ । मलाई नाना थरीका चिन्ताले पिरोल्यो ।

छोरीले एक दिनको कार्यतालिका सकाएर मलाई फोन गरिन् । उनले पेटको दुखाइ निको भएको कुरा बताइन् । उनको आवाज पहिलो चोटि देखेका कुराहरूको प्रत्याशा र उत्साहले भरिएको थियो । तब बल्ल मलाई राहत मिल्यो ।

यी कुराहरूद्वारा मैले स्वर्गीय पिता-माताको प्रेम गहिरो गरी महसुस गरें । एउटी छोरीलाई विदेश पठाउँदा त यस्तो चिन्ता हुँदोरहेछ भने झन् यति धेरै सन्तानहरूलाई टाढाको यस पृथ्वीमा पठाउनुहुँदा स्वर्गीय पिता-माताको मन कस्तो भएको थियो होला ? त्यो अटूट प्रेम लिएर यस पृथ्वीमा आउनुभएका स्वर्गीय पिता-मातालाई हृदयदेखि धन्यवाद चढाउँछु ।