रिसाहा संसार, घरदेखि नै यसलाई सच्च्याऔं !
रिसाउने कि शान्त रहने ? उत्तम रोजाइचाहिँ रिसलाई नियन्त्रण गर्नु हो ।
हिजोआज संसार ‘रिसलाई नियन्त्रण गर्न नसक्ने’ बन्दैगएको छ । राजमार्गमा एक जना सवारी चालकले लेन मिच्दा अर्का सवारी चालकले रिसाउँदै बीच सडकमै झ्याप्प ब्रेक लगाएर एक्कासि आफ्नो गाडी रोकेछन् । उनीपछिका चालकले त जसोतसो ब्रेक हान्न भ्याए, तर त्यसपछिका ५ वटा गाडीहरू एक-अर्कासँग नराम्ररी बजारिएर ठूलो दुर्घटना हुन पुग्यो । यसले गर्दा १ जना निर्दोष चालकको घटनास्थलमै मृत्यु भयो भने बाँकी ४ जना चालकहरू गम्भीर घाइते भए । यता आफ्नो अपार्टमेन्टको भुइँ तलामा भएको होहल्लाका कारण एक जना मानिसले ज्यादै क्रोधित भएर भुइँ तलामा आगो सल्काइदिए, जसले गर्दा २ जनाको ज्यान गयो । एक जना छोराले आफूलाई अनुशासन सिकाइरहनुभएका बुबा-आमाको हत्या गऱ्यो । अनि एक जना कर्मचारीले भनाभन परेको निहुँमा आफ्नै सहकर्मीको हत्या गऱ्यो । यसरी रिसलाई नियन्त्रण गर्न नसक्दा यस्ता अप्रिय घटनाहरू बारम्बार दोहोरिने गर्छ ।
रिसलाई दबाउन नसकेर यसले गम्भीर रूप लियो भने ‘रिस नियन्त्रण विकार’ पैदा हुन सक्छ । सन् २०१३मा संयुक्त राज्य अमेरिकाको वासिङटनमा रिस नियन्त्रण विकारले ग्रसित एक जना व्यक्तिले १३ जनालाई गोली हानेर मारे । यसरी रिसलाई अत्यधिक र लापरवाही रूपले प्रकट गर्नेहरूले आफू लगायत अन्य मानिसहरूको पनि जीवन बर्बाद गर्न पुग्छन् ।
“रिस जसलाई पनि उठ्छ । तर उचित व्यक्तिप्रति, उचित मात्रामा, उचित समयमा, उचित उद्देश्यका साथ उचित तरिकाले रिसाउन सक्ने क्षमताचाहिँ जो कोहीमा हुँदैन, अनि यो त्यति सजिलो पनि छैन ।”
अरिस्टोटलले, रिसाउनुचाहिँ सधैँ नराम्रो मात्र होइन भनेका छन् । कहिलेकहीँ अन्यायमा पर्दा रिसाउने गरिन्छ । यस्तो किसिमको रिसलाई पवित्र क्रोध भनिन्छ, अनि यसले खासै ठूलो समस्या खडा गर्दैन । समस्याचाहिँ मानिसहरूलाई प्रायः उठ्ने रिस, पवित्र क्रोध नभएर विवाद र बहस निम्त्याउने सामान्य किसिमको रिस हो ।
जो रिसाउँछ उसैको नोक्सानी
रिसले गर्दा सबैभन्दा बढी नोक्सानी बेहोर्न पुग्नेचाहिँ रिसाउने व्यक्ति आफै हो । एक चोटि रिसाउँदा एड्रेनालाइन र कोर्टिसोल नामक तनाव हर्मोनहरू पैदा हुन्छ, जसले गर्दा रक्तचाप उच्च हुन्छ, मुटुको धड्कन बढ्छ र मुटुभित्रको रक्तवाहिनी नलीका भित्री भित्ताहरू नष्ट हुन्छ । यो अवस्था निरन्तर दोहोरिएमा मुटु रोग, उच्च रक्तचाप, धमनी कडा बन्ने र कब्जियत जस्ता अनेकन समस्याहरू देखा पर्नुको साथै मस्तिष्क कोषहरू नष्ट भएर अल्जाइमर रोग लाग्ने सम्भावना बढी हुन्छ । अनि यस्ता हर्मोनहरूले क्यान्सर कोषिकाहरू नाश गर्ने NK कोषिकाहरूलाई दबाइदिन्छ र परिणामस्वरूप शरीरमा क्यान्सर प्रतिरोधात्मक शक्ति कमजोर हुन्छ ।
बेलायतमा गरिएको परीक्षणको रिपोर्ट : रिस, घृणा र ईर्ष्याका मौखिक अभिव्यक्तिबाट निस्केको सासको संघनित अणुमा विष हुन्छ । यसलाई १ घण्टासम्म सञ्चय गर्दा ८० वटा guinea pig[गिनी पिग, एक प्रजातिको मुसा] मार्न पर्याप्त हुन्छ भने विष उत्पादन गर्ने मानव शरीरका लागि यो झन् कति बढी हानिकारक हुन्छ होला ? भनिन्छ, जति रिसायो उति नै उमेर ढल्कन्छ । एक जना अमेरिकी प्राध्यापकले क्याम्पसमा गरेको सर्वेक्षणअनुसार रिस कडा हुने मानिसहरूको ५० वर्ष लागेपछि मृत्यु दर सामान्यभन्दा ४-५ गुणा बढी हुने कुरा बताएका थिए ।
रिस पोख्दाखेरि एकछिन हलुका भएजस्तो लागे पनि यसले शरीर र दिमागलाई भ्रष्ट पारिदिन्छ, तर यो कुरालाई खासै मतलब नगरिने हुँदा रिस पोख्नु नै उचित छ भनेर गलत सोचाइ लिन पुगिन्छ । कुनै एक समूहलाई, रिस उठेमा मुक्का झोला[Punching Bag]लाई हानेर रिस पोख्न भनिएको थियो भने अर्को समूहलाई चाहिँ रिस उठेमा केही मिनेट शान्त भएर बस्न भनिएको थियो । सर्वेक्षणको नतिजालाई हेर्दाखेरि झोलालाई मुक्का हान्नेहरूले अरूहरूसित पनि आक्रामक व्यवहार गर्न खोजेको पाइयो । त्यसैले यदि रिसलाई नियन्त्रण गरिएन र रिस उठ्दैपिच्छे कसैमा पोख्न खोजियो भने थकित हुन पुगिनेछ । त्यसोभए रिसलाई कसरी नियन्त्रण गर्नुपर्छ होला ?
रिस नियन्त्रण गर्ने मनस्थिति
१. ‘ठीकै छ, म बुझ्न सक्छु !’
मनोवैज्ञानिक अल्बर्ट एलिसले रिसचाहिँ ‘कसैले केही न केही काम गर्नैपर्छ’ भन्ने अपेक्षासँग सम्बन्धित हुन्छ भनेका छन् । उदाहरणका लागि, दिनभरि बालबच्चा स्याहार्ने गृहिणीले ‘पतिले घर फर्किएपछि एकैछिन भए पनि बच्चासँग खेलिदिनुपर्छ’ भनेर सोच्दछिन् भने, पतिले चाहिँ त्यसको ठीक विपरीत ‘दिनभरिको कामको थकानबाट आफूले आराम गर्न पाउनुपर्छ’ भनेर सोच्दछन् । बुबा-आमाले ‘छोरा-छोरीले पढाइमा राम्रो अङ्क ल्याउनुपर्छ’ भनेर सोच्दछन् भने छोरा-छोरीले चाहिँ ‘बुबा-आमाले मेरा चाहनाहरू पूरा गरिदिनुपर्छ’ भनेर सोच्दछन् । यसरी यदि कुनै कुराको अपेक्षा गरिन्छ, तर अपेक्षा गरेजस्तो हुँदैन भने रिसाउन पुगिन्छ । अरूको सोचाइ आफ्नो सोचाइसँग नमिल्न पनि सक्छ । उल्टै सोचेजस्तो नहुने अवस्थाहरू धेरै हुन्छ । अरूबाट केही कुराको अपेक्षा गर्नुको सट्टा ‘ठीकै छ, म बुझ्न सक्छु’ भन्ने फराकिलो मन लिऔं ।
२. समय नै औषधी
मानव सम्बन्ध दृष्टिकोणका लागि प्रख्यात डेल कार्नेगीले कुनै पाठकवृन्दबाट उनको पुस्तकबारे नकारात्मक आलोचनाको पत्र पाएछन् । तब रिसले चूर भएर कार्नेगीले तुरुन्तै एउटा प्रत्युत्तर पत्र लेखेछन् । “मलाई त तपाईंको विवेकमा नै शङ्का छ । सायद यो पत्र पनि सही तरिकाले बुझ्न सक्नुहुन्न जस्तो लाग्छ ।” उनले त्यो पत्रलाई डल्लो पारेर घर्रामा राखेछन्, अनि केही दिनपछि त्यो पढेर फेरि अर्को पत्र लेखेछन् । “मेरो पुस्तकको बारेमा सुझाव दिनुभएकोमा धन्यवाद । म अझ राम्रो पुस्तक लेख्न प्रयत्न गर्नेछु ।”
रिसको हर्मोन १५ सेकेन्डमा चरम सीमामा पुगेर आफै हराउँछ । रिस उठ्दाखेरि तुरुन्त पोख्ने अथवा अरूमाथि जाइलाग्ने नगर्नुहोस् बरु लामो सास फेर्दै केही समय त्यसरी नै बिताउन प्रयत्न गर्नुहोस् । मन शान्त भएमा बल्ल उचित निर्णय लिन सकिन्छ ।
३. रिसलाई सोही दिन निभाउने
सन् २००५को मे महिनामा, बेलायतका १०५ वर्षीय पति र तिनकी १०० वर्षीया पत्नीले ८० वर्षको सबैभन्दा लामो वैवाहिक सम्बन्ध कायम राखेर गिनिज बुकमा नाम लेखाउन सफल भएका थिए । यतिका लामो समयसम्म सुखी वैवाहिक जीवन कसरी बिताउन सक्नुभयो भनेर पत्रकारले सोध्दाखेरि पत्नीले यस्तो जवाफ दिइन्, “अरूहरूको जस्तै हाम्रो पनि ठाकठुक त पर्थ्यो, तर सुत्ने बेलासम्म रिसाएको क्षणचाहिँ एक पल पनि थिएन । हामी सधैँ एक-अर्काको हात समाएर सुत्न जान्थ्यौं ।”
बाइबलमा पनि “घाम अस्ताउन अघि नै तिमीहरूको रीस मरोस्” (एफि ४:२६) भन्ने वचन छ । यहूदी बुबा-आमाले सन्तानलाई बेसरी गाली गरे तापनि सुत्न जानुअघि भने उनीहरूलाई सम्झाइ-बुझाइ गर्ने गर्छन् । रिसलाई चाहिँ सोही दिनमा नै निभाउनु उत्तम हुन्छ, अनि एउटा कारणमा एक चोटि मात्र रिसाउनु पर्याप्त हुन्छ । यदि आफू रिसाएको क्षणलाई मात्र सम्झिरहने वा त्यसलाई लामो समयसम्म मनमा लिइरहने गऱ्यौं भने यसले स्वास्थ्यलाई नै हानि पुऱ्याउनुको साथै अवस्थालाई झनै खराब बनाइदिनेछ ।
४. रिसलाई असल परिणाममा बदल्ने
लेखक थोमस कार्लाइलले वर्षौं लगाएर पूरा गरेको एउटा हस्तलिपि आफ्नो साथीलाई देखाएछन् । तर तिनका साथी घरमा नभएका बेला तिनकी नोकर्नीले त्यसलाई अनावश्यक कागज सम्झेर आगोमा फालिदिइछ । रिसले चूर भएका थोमस ज्यादै चिन्तित भएछन् । तब तिनले एक जना मिस्त्रीले ईंट्टालाई एकमाथि अर्को गर्दै चाङ लगाएको देखेर यस्तो मन लिएछन्, “ठीकै छ, ती मिस्त्रीले एकपछि अर्को गर्दै ईंट्टालाई चाङ लगाएजस्तै म पनि अलि-अलि गर्दै फेरि लेख्न थाल्छु ।” परिणामस्वरूप तिनले पहिलाको भन्दा अझ प्रभावशाली हस्तलिपि लेख्न सकेछन् । यसै क्रममा एउटा उत्कृष्ट नमूना तयार भयो । त्यो नै ‘फ्रान्सेली क्रान्ति’ हो ।
रिस उठ्दा त्यसलाई केही कुरा अभ्यास गर्ने, पढ्ने, अझ परिश्रम गर्ने अथवा आफ्नो क्षमतालाई सुधार्ने अवसरको रूपमा लिनुहोस्, अनि तपाईंले लाभदायक परिणाम प्राप्त गर्न सक्नुहुनेछ । ठीक विपरीत, यदि रिस उठ्दा धेरै खाने, जोशमा आएर जे पनि किन्ने, सामान तोडफोड गर्ने, कसैलाई कुटपिट गर्ने अथवा अपशब्द बोल्ने गरियो भने त्यसको परिणाम भयानक हुनेछ ।
५. ‘रित्तो डुङ्गा’ बन्ने
“कुनै मानिस नदी तर्ने क्रममा यदि रित्तो डुङ्गा बग्दैआएर उसको डुङ्गासँग ठोक्कियो भने ऊ रिसाउनेछैन । तर यदि त्यो डुङ्गामा उसले कसैलाई देख्यो भनेचाहिँ उसले ठूलो सोरले कराउँदै त्यो डुङ्गा हटाउन लगाउनेछ । यदि उसको आवाज सुनिएन भने उसले झन् ठूलो सोरले कराउँदै सराप्न थाल्नेछ । यी सबै भएको चाहिँ त्यो डुङ्गामा कोही भएकोले हो ।”
यो, चुआङ जुको कविताभित्र समावेश भएको विषय हो । यसै गरी यदि हामीले अरूलाई रित्तो डुङ्गाको रूपमा लियौं भने सितिमिति रिस उठ्नेछैन र आफूलाई रित्तो डुङ्गा बनायौं भने हामीले अरूको गल्तीलाई पनि ढाकछोप गरिदिन सक्नेछौं ।
६. रिस उठ्दाखेरि आफैलाई सम्हालेर निम्न प्रश्नहरू सोध्ने :
- रिसले आवेगमा आएपछि कतै मैले पछुतो हुने काम पो गर्न पुग्छु कि ?
- रिसाउनुबाहेक अर्को तरिका छैन होला ?
- यदि म रिसाएँ भने मलाई के लाभ हुन्छ ?
- अरूको दृष्टिकोणबाट हेर्दाखेरि के म यो कुरामा रिसाउनु ठीक होला ?
- के म सही व्यक्तिमाथि रिस पोख्दैछु ?
- के मलाई आफ्नो मस्तिष्कको नसा चुँडाउन मन छ ?
- म रिसाउँदा मेरा परिवारजनलाई हानि पुग्ने हो कि ?
- कतै म रिस उठ्ने परिस्थितितिर बहँदैगएको त छैन ?
७. रिसाहा मानिससँग गर्ने व्यवहार
नरिसाउनु मात्र महत्त्वपूर्ण होइनकि रिसाहा मानिससँग व्यवहार गर्नु पनि महत्त्वपूर्ण छ । कोही रिसाएको बेला यदि तपाईं पनि रिसाउनुभयो अथवा उसलाई दिक्क लाग्ने व्यवहार गर्नुभयो भने विवाद उत्पन्न हुन्छ । मानिस रिसाउनुको पछाडि कुनै न कुनै कारण हुने भएकोले उसलाई उसको दुखेसो सुनिदिने कोही व्यक्तिको खाँचो हुन्छ । यस्तो अवस्थामा यदि तपाईंले उसको कुरा सुनिदिँदै साथ दिनुभयो भने उसको रिस बिस्तारै घट्दैजान्छ र सुनिदिएकोमा मात्र पनि ऊ आभारी हुनेछ । यदि उसमा कुनै कुराप्रति असमझदारी छ अथवा ऊ विनाकारण रिसाएको छ भने पनि उसको कुरा सुनिदिनु र ऊ शान्त नहोउञ्जेल उसलाई साथ दिनु नै उचित हुन्छ । ऊ शान्त भएपछि मात्र उसलाई आफ्नो राय व्यक्त गर्दा हुन्छ ।
धैर्यता सिकाउनु पनि घरेलु शिक्षा
सानोतिनो कुरामा रिसाइहाल्नु वयस्कहरूको मात्र समस्या होइन । कक्षामा निदाएको बेला ब्यूँझाइदिने शिक्षकसँग विद्यार्थी रिसाएको, झगडा रोक्न खोज्नुहुने आमालाई बच्चाले उल्टै जथाभावी भनेको, र किन्डरगार्टनको बच्चाले दिदीलाई भन्दा आफूलाई पाकेट खर्च कम दिनुभएकोमा हजुरबुबालाई लाती हानेका अवस्थाहरू थिए । सन् २०१३को फेब्रुअरीमा कोरियाली शिक्षक सङ्गठनको महासंघले कोरियाभरिका प्राथमिक, माध्यमिक र उच्च माध्यमिक तह गरेर ५९४ जना शिक्षकहरूमा एउटा सर्वेक्षण गरेको थियो । सर्वेक्षणको नतिजाअनुसार १० जनामध्ये ४ जना शिक्षकहरूले, झनक्क रिसाइहाल्ने विद्यार्थीहरूका कारण जागिर नै छोड्न खोजेका कुरा थाहा भयो ।
यस मामिलामा विज्ञहरूको साझा विचार नै घरेलु शिक्षा महत्त्वपूर्ण छ भन्ने कुरा थियो । बालबालिकाहरू प्रारम्भिक बाल्यावस्थामा रोए अथवा रिसाए भने बुबा-आमाले सहानुभूति देखाउनुपर्छ, अनि उनीहरूले आफ्नो रिसलाई नियन्त्रण गर्न सक्ने गरी के सही हो, र के गलत भन्ने कुरा बुझाइदिनुपर्छ । यदि बच्चाहरूलाई हरेक कुरामा आफूखुशी गर्न छोडिदियो भने उनीहरूले धैर्यता सिक्न सक्दैनन् । रोयो भने चाहेको कुरा सबै प्राप्त गर्न सकिन्छ भन्ने सोचाइ हटाउनको लागि उनीहरूलाई प्राप्त गर्न सकिने र नसकिने कुरा सिकाउनुपर्छ । यो प्रक्रियामा बुबा-आमाले अनुचित बोलीद्वारा उनीहरूलाई दबाउनुचाहिँ हुँदैन । यसको अतिरिक्त बच्चाहरूलाई स्मार्टफोन प्रयोग गर्न दिनुभन्दा बरु किताब अथवा पत्रपत्रिका पढ्न दिनुपर्छ, अनि उनीहरूलाई खुलेर वार्तालाप गर्न सक्ने बनाउनको लागि उनीहरूसित दिनमा कम्तीमा पनि १० मिनेटजति सामान्य कुराकानी गर्न अत्यन्त जरुरी हुन्छ ।
यदि बुबा-आमामा रिसाउने आदत बसेको छ भने सन्तानहरूले बुबा-आमालाई टेर्दैनन् । भनिन्छ, बुबा-आमाले बच्चाहरूलाई सानोमा जति धेरै कुटपिट गर्छन्, ती बच्चाहरू किशोरावस्थामा पुगेपछि त्यति नै धेरै कुलतमा फस्ने सम्भावना हुन्छ । बुबा-आमाले किशोरावस्थाका केटा-केटीहरूलाई झपार्नाले उनीहरूलाई कुटपिट गरेजत्तिकै भावनात्मक चोट पुग्न जान्छ । तसर्थ उनीहरूलाई मानसिक रूपमा परिपक्व बनाउनको लागि बुबा-आमाले आफ्नो रिसलाई बुद्धिमानीपूर्वक नियन्त्रण गर्ने उदाहरण देखाइदिनुपर्छ ।
परिवारजनचाहिँ आपसमा नजिक भएकाले एक-अर्कालाई सजिलै रिस पोख्न पुगिन्छ । परिवारजनबाट ठूलो अपेक्षा गरिने भएकोले आफूले सोचेजस्तो नहुँदा झन् बढी निराशा छाउँछ, र आफ्नो परिवारजनसँग जसरी व्यवहार गरे पनि हुन्छ भनेर सोच्न पुगिन्छ । वास्तवमा परिवारजनले भावनामा पुऱ्याएको चोट अझ गहिरो र लामो समय रहन्छ । अरूभन्दा अझ अमूल्य ठान्दै र आभारी हुनुपर्ने आफ्नो परिवारजनसित कुनै हालतमा पनि नरिसाउनलाई प्रयत्न गरौं । यो महिनामा आफ्नो परिवारलाई ‘नरिसाउने परिवार’ बनाउने चुनौती लिँदा कसो होला ?