WATV.org is provided in English. Would you like to change to English?

खुशी ल्याउने ‘हँसिलो मुहार’

स ही जङ / देजन, कोरिया

474 हेरेको संख्या

एक दिन मलाई रिँगटा लाग्यो । पूरै शरीर कमजोर भएर उल्टी आउलाझैँ भयो । म स्वस्थ्य रूपले राम्ररी हुर्किंदैआएकी थिएँ । पहिला त्यसरी शारीर कमजोर हुने वा खाना नरुच्ने भएको थिएन । अचानक त्यस्ता लक्षणहरू देखा पर्दा मलाई चिन्ता लाग्यो । यसो सोचविचार गरेर म अस्पताल गएँ ।

त्यो त पहिला मेरा बुबालाई उपचार गरिएको अस्पताल थियो । डाक्टरले मलाई ती लक्षणहरूप्रति चिन्ता नलिन भन्नुभयो । उहाँलाई पहिला म त्यहाँ बुबासँग आएको कुरा याद रहेछ । उहाँले बुबाको हालखबर सोध्नुहुँदै, बुबा प्रायः बाहिर घुमफिर गर्नुहुन्छ कि गर्नुहुन्न भनेर सोध्नुभयो । डाक्टरले मेरा बुबा एकदम शान्त स्वभावको हुनुभएकोले घरमा एकलै बस्दाखेरि डिप्रेसनको शिकार बन्ने सम्भावना हुने हुँदा उहाँलाई धेरै हँसाउनू भनेर मलाई सल्लाह दिनुभयो ।

त्यतिञ्जेल मैले बुबालाई हँसाउनेबारे ख्यालै गरेकी थिइनँ । त्यही भएर होला डाक्टरको सल्लाहले मेरो अन्तर्रात्मा जगाइदियो । उक्त दिनदेखि मैले डाक्टरको सल्लाहअनुसार बुबालाई कसरी हँसाउने होला भनेर सोच्न थालें । मैले जानेको “ऐना न्यूरोन[mirror neuron]”ले त्यस बेला ठूलो सहयोग पुऱ्यायो । मानव मस्तिष्कमा अर्को व्यक्तिको अनुहारको अभिव्यक्ति वा गतिविधिलाई प्रतिबिम्बित गर्ने स्नायुकोष[neuron, न्यूरोन] हुन्छ । यसकारण अर्को व्यक्ति हाँसेको देखेर आफू पनि स्वतः हाँस्न पुगिन्छ । म पहिला हाँसें भने बुबा पनि स्वतः हाँस्नुहुनेछ भन्ने सोचाइ आयो ।

त्यो समयदेखि मैले बुबाको कोठामा ढकढक्याउनअघि हाँस्न अभ्यास गरें । सुरुमा त मैले उहाँलाई भेटेर के-कस्तो छ भन्दै उहाँको स्वास्थ्यावस्थाबारे सोधें । बुबाले सधैँ भन्ने गर्नुभएका उही कुराहरू भन्नुभयो । त्यसअघि उहाँका कुराहरूलाई त्यति ध्यान दिने गरेकी थिइनँ, तर यस पटकचाहिँ उहाँलाई हँसाउने निधो गरेकीले होला उहाँका कुराहरूमा ध्यान दिन त्यति गाह्रो लागेन । बुबालाई आफ्नो जीवनी लेख्ने इच्छा भएको कुरालाई याद गर्दै उहाँले भनिरहनुभएका कुराहरूलाई मैले एक-एक गरी लेखें । त्यसो गर्दा उहाँलाई प्रश्नहरू पनि सोध्दै उहाँको नजिक हुन सकेको कुरामा गर्व लाग्यो ।

बुबासँगको रमाइलो कुराकानीपछि त्यसलाई अडियो फाइलमा रेकर्ड गर्न मन लाग्यो । रेकर्डको तयारी गर्ने क्रममा मैले बुबालाई कस्तो लागिरहेको छ भनेर सोधें । बुबाले “तिमीले उज्यालो मुस्कानद्वारा कुराकानी गरेको यो पहिलो पटक हो, मलाई पनि तिमीसँग कुराकानी गर्दा राम्रो लागेकोले म लगातार बोलिरहें, बिर्सिएका कुराहरू पनि याद आयो” भन्नुभयो । बुबाले त्यसो भन्नुभएको सुनेर विगतमा उहाँका कुराहरूलाई रुचि नदिईकन सुनेको त्यो मेरो स्वरूप उजागर भएझैँ गरी म एकदमै क्षमाप्रार्थी भएँ ।

अहिले आएर पो मलाई आफू ८७ वर्षीय बुबाअघि साँचो छोरीको रूपमा उभिएको महसुस भयो । बुबा-आमालाई हँसिलो मुहारद्वारा मात्र पनि खुशी तुल्याउन सकिन्छ भन्ने कुरा मैले ढिलै भए पनि महसुस गरें । अहिले मेरा बुबा-आमाको मुहार उज्यालो भएको छ, अनि म पनि अझ स्वस्थ भइरहेकी छु । अबोप्रान्त म हँसिलो मुहारद्वारा सबै जनासँग खुशी बाँड्नेछु ।