
येशूज्यूले “तिमी मलाई प्रेम गर्छौ भने मेरा भेडाहरूलाई खुवाऊ” भन्नुभयो । भेडाहरूलाई खुवाउने वचनको भोजन त अनेक थरीका छन् तर कसो गरेमा प्रत्येक भेडालाई मिल्ने उचित भोजन खुवाउन सकिन्छ होला भनेर म सधैँ चिन्तन गर्थें ।
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण स्वर्गका राज्यको शिक्षा पाएको हरेक शास्त्री एक जना घरको मालिकजस्तो हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुराना मूल्यवान् सामानहरू बाहिर झिक्तछ ।” मत्ती १३:५२
यो वचनले मेरो चिन्तालाई एकै क्षणमा हल गरिदियो । स्वर्गको शास्त्रीले पुराना तथा नयाँ, अर्थात् पुरानो करार र नयाँ करार दुवैबाट आवश्यक वचन लिएर जुनसुकै आत्मालाई भेटे पनि समयोचित आत्मिक भोजन खुवाउन सक्नुपर्छ । त्योचाहिँ घरको मालिकलाई घरका सामानहरू राखिएको ठाउँ राम्ररी थाहा भएकोले उसले आवश्यकताअनुसार सामानलाई प्रयोग गरेजस्तै हो ।
म, शबाथ-दिनको मूल्य नजानेका आत्माहरूलाई शबाथ-दिनसँग सम्बन्धित वचन, विश्वासमा कमजोर भएकाहरूलाई विश्वास दह्रिलो गराउने वचन, र थकित आत्माहरूलाई सान्त्वनाको वचन बाँड्न सक्नको निम्ति अझ लगनशीलताका साथ वचन अध्ययन गर्ने स्वर्गको शास्त्री बन्न चाहन्छु ।