टिभी बन्द गरेमा परिवार देख्न सकिनेछ !

लापरवाही तरिकाले टिभी हेर्नाले पारिवारिक सञ्चारमा बाधा पुग्न सक्छ । टिभी हेर्ने उचित तरिकाबारे विचार गरौं ।

15,193 भ्यु

​टेलिभिजन भन्ने शब्द प्राचीन ग्रीकको ‘टाढा’ भन्ने अर्थ रहेको ‘tele’ र ‘दृष्टि’ भन्ने अर्थ रहेको ‘vision’ भन्ने शब्दको संयोजनबाट आएको हो । शब्द आफैले बताएजस्तै टेलिभिजनचाहिँ टाढाको ठाउँ, पृथ्वीको विपरीत कुनामा भइरहेका कुराहरू पनि घरमै बसेर हेर्न सकिने प्रसारण प्रणाली हो ।

तर यसले वास्तवमा हाम्रो एकदमै नजिक रहने परिवारजनलाई चाहिँ हेर्नबाट रोक्छ भन्ने कुरा हामीले याद राख्नुपर्छ । रोइरहेको बच्चाको लागि टिभीमा कार्टुन लगाइदिनु अथवा सपरिवार भेला हुने बैठक कोठामा टिभी राख्नुचाहिँ दैनिक कुरा बनिसकेको छ ।

अहिले स्थलीय टिभी च्यानलहरू लगायत अन्य विभिन्न केबल च्यानलहरू पनि भएकाले अधिकांश परिवारहरू बिहान उठेदेखि राती ओछ्यानमा नढल्किउञ्जेल एउटा आदतको रूपमा टिभी अन गरेर राखिरहन्छन् । ‘स्वस्थ परिवारको गुण’ नामक पुस्तककी लेखिका डोलोरेस करेन भन्छिन्, “परिवार टुक्रिएकोले मानिसहरूले अत्यधिक मात्रामा टिभी हेर्न थालेका हुन् कि अत्यधिक मात्रामा टिभी हेरेकोले परिवार टुक्रिएको हो भन्ने कुरा त थाहा छैन । तर यति कुराचाहिँ राम्ररी थाहा छ, कि टिभी हेरिरहेको समयमा हामीले एक-अर्काको हात समाउन सक्दैनौं ।”

टिभी हेर्नु सधैँ नराम्रो मात्र हो भन्न खोजेका चाहिँ होइनौं । यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा महत्त्वपूर्ण छ । टेलिभिजन हाम्रो आधुनिक दैनिक जीवनसँग सम्बन्धित भएकोले यसलाई बुद्धिमानीपूर्वक प्रयोग गरेमा यो फाइदाजनक हुन्छ, तर विचारै नगरी प्रयोग गरेमा यो हानिकारक पनि बन्न सक्छ ।

अत्यधिक टिभी हेर्नाले हुने हानिकारक असर

१ घण्टा टिभी हेर्नाले मोटोपना २%ले बढ्ने तथ्य कुनै एउटा अनुसन्धानले देखाएको छ । टिभी स्क्रिनले अस्थायी रूपमा मस्तिष्कमा भोक नियन्त्रण गर्ने अङ्गलाई पक्षाघात गराई पेट टन्न भए पनि थाहै नपाई खानेकुरा खाइरहने बनाउँछ । यसबाहेक सोफामा ढल्केर टिभी हेर्दा औँलाहरू मात्र चलाइने हुँदा शरीरमा व्यायामको कमी हुन्छ । केस वेस्टर्न रिजर्भ विश्वविद्यालयका डाक्टरहरूको अनुसन्धानको परिणामअनुसार अधबैंसे मानिसहरूले अत्यधिक मात्रामा टिभी हेर्नाले अल्जाइमर रोगजस्ता दिमागी रोगहरू हुने खतरा ३ गुणा बढी हुन्छ ।

यसबाहेक टिभीले एकतर्फी दृश्य जानकारी मात्र दिने भएकोले यसले सिक्ने क्षमतालाई कमजोर बनाउँछ र अपराध, दुर्घटना र प्रकोपका नराम्रा खबरहरू देखाउने भएकोले तनाव र चिन्ता बढाउँछ । अनि यसले अवास्तविक हिंसात्मक विषयवस्तुद्वारा आक्रामक स्वभाव, यौनजन्य विषयवस्तुद्वारा असामान्य यौन व्यवहार, अत्यधिक विज्ञापनका विषयवस्तुद्वारा झट्ट रिसाउने तथा आवेगी किनमेल अनि अधिक स्वास्थ्य जानकारीद्वारा स्वास्थ्यप्रति अनावश्यक चिन्ता बढाउँछ ।

विशेष गरी बढ्दो उमेरका बच्चाहरूका लागि यो अझ हानिकारक हुन सक्छ । बाल्यावस्थामा अत्यधिक टिभी हेर्नाले उनीहरूले बुबा-आमाको आवाजमा कुनै प्रतिक्रिया नदिन अथवा उहाँहरूसँग रिसाउन पनि सक्छन् । टिभी हेरिरहँदा उनीहरूले आफ्ना बुबा-आमासँग नजिक हुने मौका गुमाउँछन्, र यसले उनीहरूको भावनात्मक विकासमा बाधा पुऱ्याउँछ । केही बुबा-आमाहरूले चाहिँ घरायसी कामकाजमा व्यस्त भएकाले अथवा टिभीमा आउने गीत र नाचहरू हेरेर बालबच्चाले केही सिक्छन् भन्ठानेकाले आफ्ना बच्चाहरूका लागि टिभी अन गरेर छोडिदिन्छन् ।

तर जतिसुकै शिक्षामूलक कार्यक्रम भए पनि बच्चाहरूलाई लामो समयसम्म टिभी हेर्न दिनु शारीरिक र मानसिक रूपमा उचित होइन । टिभी हेर्ने बानी बस्यो भने यसले उनीहरूको मस्तिष्कको संरचनालाई बिगार्ने मात्र होइनकि उनीहरूले एकाग्रता र सृजनात्मक क्षमतासमेत गुमाउन पुग्नेछन् ।

जति धेरै टिभी हेऱ्यो त्यति नै परिवारसँग वार्तालाप गर्ने समय घट्छ । टिभीको आवाजले गर्दा परिवारजनको सोरलाई सजिलै सुन्न सकिँदैन । एउटै ठाउँमा सँगै भए पनि कुराकानी गर्ने अवसर हुँदैन । अनि कुराकानी गर्दा पनि खासै गम्भीर कुराकानी गर्न सकिँदैन । कहिलेकहीँ त रिमोट कन्ट्रोल लिन र आफूलाई मन पर्ने च्यानल हेर्नलाई परिवारजनबीच झगडा पनि हुने गर्छ । त्यसो हुँदा परिवारमा अशान्ति सृजना हुन्छ ।

टिभी बन्द गऱ्यो भने के हुन्छ होला ?

संयुक्त राज्य अमेरिकाको लाभ निरपेक्ष संस्थाले “टिभी अफ गरौं, जीवन अन गरौं” भन्ने नाराका साथ प्रत्येक वर्ष कम्तीमा एक हप्ता टिभी बन्द गर्ने क्याम्पेन सञ्चालन गर्दैआएको छ ।

टिभी हेरिएन भने अल्छी र झर्को लाग्नेछ, अनि संसारमा भइरहेका घटनाहरूबारे केही थाहा हुँदैन भनेर सोच्नुहुन्छ होला, तर यो केवल एक अनावश्यक चिन्ता हो । कोरियाको कुनै एउटा प्रसारण कम्पनीले सउलको ग्यङगी प्रान्तमा १३० परिवारलाई २० दिनसम्म टिभी हेर्नबाट प्रतिबन्ध लगाई परीक्षण गरेको थियो । सुरुका केही दिनहरूमा बच्चाहरूले आफ्ना बुबा-आमालाई टिभी खोलिदिनू भन्दै रोइकराइ गरे, बुबाहरूले चाहिँ के गर्ने, कसो गर्ने थाहा नभएर झर्कोफर्को गरे, अनि आमाहरूलाई चाहिँ आफ्ना साथीहरूसँग भेट्दा के विषयमा कुराकानी गर्ने भन्ने नै थाहा भएन । तर यस्ता असरहरू लामो समयसम्म भने रहेन ।

टिभी हेर्ने लत बसिसकेकी एक कलेज विद्यार्थीले आफ्नो कोठा सफा गरिन्, र फोहोर कपडाहरू धोइन्, आइतबारचाहिँ दिनभरि हातमा रिमोट कन्ट्रोल लिने बुबाले आफ्ना बच्चाहरूसँग खेले, र बाहुला माथि सार्दै पत्नीलाई काममा सघाए । अन्य धेरै सहभागीहरूले आफूसँग खाली समय धेरै भएको महसुस गर्दै पुस्तक अथवा पत्र-पत्रिका पढ्ने, कोठाहरू सफा गर्ने वा केही स्वास्थ्यमूलक गतिविधिहरू गर्ने जस्ता क्रियाकलापहरू गरेर खाली समयलाई पहिलाभन्दा अझ अर्थपूर्ण तरिकाले बिताए । अनि एक जना सहभागीले चाँडै सुत्ने र चाँडै उठ्ने गर्दा आफूलाई अझ स्वस्थ र कम थकित महसुस भएको कुरा पनि बताए ।

​धेरैजसो सहभागीहरूले, टिभी बन्द गऱ्यो भने बच्चाहरूलाई धेरै गाह्रो हुन्छ होला भनेर सोचेका थिए, तर खेलौनाहरूसित खेलिरहँदा पनि टिभी खुल्लै राख्ने बच्चाहरूले बिस्तारै आफ्नो पुस्तकहरू पढ्न थाले, र आफैले बनाएका नयाँ खेलहरू पनि खेले । यो देखेर बुबा-आमाहरूले “बच्चाहरूलाई टिभीको लत लाग्नुमा वयस्कहरू पो जिम्मेवार रहेछन्” भनेर बुझे ।

परिवारजनले एक-अर्कालाई अझ राम्ररी जान्न सक्नु र धेरै समय कुराकानी गर्न सक्नु नै सबैभन्दा ठूलो परिवर्तन थियो । उनीहरूले टिभी बन्द गरेकाले आफ्ना परिवारजनलाई देख्न सके, र टिभीको आवाज नहुँदा परिवारजनले भनेका कुराहरूमा ध्यान दिन थाले । टिभीविनाको बैठक कोठा शान्त र शून्य होइनकि अझ बढी कुराकानीले भरियो ।

टिभी हेर्ने स्मार्ट तरिका

  • दराज, फर्निचरको बीचमा टिभी नराख्ने, टिभीलाई बैठक कोठाको सट्टामा बुबा-आमाको कोठामा राख्ने ।
  • टिभी खोल्ने बानी बस्न नदिने । पहिला पत्रपत्रिका अथवा अनलाइनमार्फत कार्यक्रमको तालिका जाँच गर्ने र आफूले हेर्न चाहेको कार्यक्रम आएको बेला मात्र टिभी खोल्ने ।
  • टिभी हेर्नबाट टाढा रहने उदाहरण पहिला बुबा-आमाले देखाइदिने । यदि बुबा-आमाले आफूचाहिँ दिनभरि टिभी हेर्ने, तर छोरा-छोरीलाई चाहिँ हेर्नुहुँदैन भन्ने गर्नुहुन्छ भने विवाद मात्र उत्पन्न हुन्छ ।
  • छोरा-छोरीलाई टिभीको अगाडि एकलै नछोड्ने । उनीहरूले टिभीमा बाल कार्यक्रम हेरिरहेका छन् भने पनि बुबा-आमाले उनीहरूसँगै हेर्दै त्यहाँ भएका पात्र अथवा विषयवस्तुबारे कुराकानी गरिदिने ।
  • सपरिवार एकसाथ भेला भएर टिभी हेर्ने साप्ताहिक तालिका बनाउने र टिभी नहेर्ने समयमा चाहिँ सँगै पढ्ने, हिँडडुल गर्ने, व्यायाम गर्ने वा खेल्ने जस्ता योजनाहरू बनाउने ।
  • बच्चाको उमेर सुहाउँदो सही किसिमको टिभी प्रोग्राम चयन गर्ने ।
  • खाना/खाजा खाने समयमा टिभी अनिवार्य बन्द गर्ने ।
  • टिभी हेर्दा कम्तीमा पनि ६ फिटको दूरी राखेर सही ढाँचामा बस्ने र एक घण्टाभन्दा बढी टिभी नहेर्ने ।
  • २ वर्षमुनिका शिशुलाई टिभी हेर्न नदिने ।

यदि तपाईंले टिभीलाई नियन्त्रण गर्न सक्नुभएन भने टिभीले तपाईंलाई नियन्त्रण गर्नेछ । आफ्नो परिवारले टिभीको कारण धेरै समय गुमाइरहेका छन् कि ? परिवारका लागि कुराकानी गर्ने बैठक कोठाचाहिँ टिभी हल पो बनिरहेको छ कि ? जाँच गरौं । आजदेखि भए पनि टिभी स्क्रीनलाई हेर्नुको सट्टा आफ्नो परिवारजनलाई हेरौं । तब तपाईंले आफूले पहिला नदेखेका अमूल्य कुराहरू देख्न सक्नुहुनेछ ।