WATV.org is provided in English. Would you like to change to English?

हाँसोलाई आशिष्‌ले पछ्याउँछ !

आफ्नो परिवारसँग हाँसेर सञ्चार गरौं !

448 हेरेको संख्या

​हाँसोचाहिँ सञ्चारको अर्को नाउँ हो । सञ्चार भनेको एक-अर्काको मन र इच्छा बाँड्नु हो, त्यसैले आफ्नो मन र इच्छालाई बाँडेन भने हाँसो पनि आउन सक्दैन । हाँसोले केही नभने तापनि एक-अर्कालाई बुझ्ने गराउँछ, यसकारण हाँसोचाहिँ सञ्चारको उत्तम माध्यम हो भन्न सकिन्छ । वार्तालाप सुरु गर्नुअघि मुस्कायो भने सुन्ने मानिसले पहिल्यै मन खोल्ने तयारी गरिसकेको हुनेछ ।

अन्य ठाउँभन्दा धेरै हाँसो पोखिनुपर्ने ठाउँचाहिँ घर हो । अनि अरू कसैलाई भन्दा धेरै हँसाउन प्रयत्न गर्नुपर्ने व्यक्ति नै परिवारका सदस्यहरू हुन् । परिवारमा खोज्न नसकेको हाँसो बाहिर कसरी खोज्न सकिन्छ र ? आफ्नै परिवारका सदस्यहरूलाई खुशी पार्न सकेको छैन भने अरूलाई कसरी खुशी पार्न सकिन्छ र ? हामीले परिवारसँग हाँसो बाँड्यौं भने त्यो जति सानो भए पनि कठिनाइसँग जुध्नको निम्ति त्यसले ठूलो शक्ति प्रदान गर्छ ।

बुबा हाँस्नुभएमा घरको पूरै माहोलमा परिवर्तन आउने

जुनसुकै परिवार भए पनि बुबाको हाँसोले घरभित्रको माहोलमा ठूलो प्रभाव पार्ने काम गर्छ । पूरा दिन काम गरेर थकित भई घर फर्किंदाखेरि बुबाहरू कुनै पनि कुराहरूमा नअल्झीकन आराम मात्र गर्न चाहनुहुने कुरा सही हो । उहाँहरूलाई काममा, हाँस्ने इच्छा नभई-नभई कामसम्बन्धी कुराहरूमा मुस्काउन वा हाँस्न पऱ्यो भने उहाँहरूलाई घरमा कुनै कुरामा नअल्झीकन अझ आराम गर्न मन लाग्छ ।

अन्य मानिसहरूलाई हँसाउने एक जना हाँस्य कलाकारले आफू घरमा शान्त बस्ने र त्यति घुलमिल नहुने कुरा बताएर मानिसहरूलाई छक्क पारेका थिए । ती हाँस्य कलाकारको मात्र होइन, अन्य हाँस्य कलाकारहरूको पनि उस्तै अभिव्यक्ति थियो । यसको अर्थ, अरूलाई हँसाउन सक्दो कोसिस गर्ने कारणले आफ्नो घरका सदस्यहरूलाई हँसाउने शक्ति उनीहरूमा बाँकी हुँदैन । कारण जेसुकै भए पनि उनीहरूले आफ्नो परिवारका सदस्यहरूलाई खुशी पार्न नसक्नु साँच्चै दुःखको कुरा हो ।

पढ्न मन नगर्ने एक जना छोराले परीक्षाको नतिजा घरमा ल्याएछ, उसले खेलकुद विषयमा D ल्याएछ, र बाँकी सबै विषयहरूमा F ल्याएछ । उसका बुबाले रीस पोख्न त सक्थे, तर त्यसो नगरी तिनले छोरालाई यसो भनेछन्, “तिमीले एउटा विषयमा मात्र ध्यान दियौ जस्तो छ ।”

हुन त यो हँसाउनको लागि बनाइएको एउटा कहानी हो, तापनि आफ्ना साना बच्चाहरूलाई हँसाउन यसलाई प्रयोग गरौं । उनीहरूलाई सधैँ हँसाएर अनुशासनमा राख्न त सकिँदैन, तर निराशापूर्ण भावनालाई हाँसोले पखाल्यौं भने त्यसले उनीहरूमा कडा अनुशासनले भन्दा बढी प्रभाव पार्नेछ । गम्भीर र पितृसत्तात्मक बुबाचाहिँ पुरानो जमानाको कुरा हो । हिजोआज छोरा-छोरीहरूसँग धेरै समय बिताउने रमाइलो र विचारशील बुबालाई असल बुबाको रूपमा लिइन्छ । बुबाको रूपमा मान्यता पाउनुभन्दा पनि परिवारको निम्ति धेरै हाँस्ने, परिवारका सदस्यहरूको निम्ति धेरै हाँस्ने गऱ्यो भने घरको वातावरण अझ हर्षपूर्ण बन्नेछ ।

धेरै हाँस्ने परिवारमा सही तरिकाले हुर्किने छोरा-छोरी

‘बुबा-आमाचाहिँ छोरा-छोरीको निम्ति ऐना हो’ भन्ने भनाइजस्तै बुबा-आमा धेरै हाँस्ने गरेमा छोरा-छोरीहरू पनि धेरै हाँस्न पुग्छन् । धेरै हाँस्ने छोरा-छोरीहरूले शारीरिक र मानसिक रूपमा शान्ति र निर्धक्क महसुस गर्छन् । यसो भन्दैमा आफ्ना छोरा-छोरीहरूलाई सधैँ हँसिलो मुहारले व्यवहार गर्नुपर्छ भन्ने अर्थचाहिँ होइन, उनीहरूले कुनै गल्ती गर्दाखेरि उनीहरूसँग नम्र आवाजमा कुरा गर्नुपर्छ । छोरा-छोरीहरूले बुबा-आमाको साँचो हृदयलाई बुझे भने उनीहरूले आफ्नो गल्ती महसुस गरेर पश्चात्ताप गर्नेछन् । सधैँ हाँसो पोखिने घरमा कुनै किसिमको विवाद वा झैँझगडा हुँदैन, किनभने ती परिवारलाई हाँसोले पहिल्यै प्रभावकारी बन्धनमा बाँधेको हुन्छ । यस्ता घरहरूमा हुर्किने बच्चाहरू मिलनसार र सच्चा हुन्छन्, अनि सङ्कटलाई हाँसोले जित्दै जीवनका कठोर छालहरूमा पनि पौडन सक्नेसम्मको बुद्धिमान् हुन्छन् ।

किशोरावस्थाका अपराधीहरूमध्ये ८०%ले घरमा आफ्नी आमालाई हाँसेको कहिल्यै पनि नदेखेको कुरा बताए । धेरै नहाँस्ने बुबा-आमाहरूमा अस्थिर व्यक्तित्व र मान्यता हुने सम्भावना धेरै हुने हुँदा हाँसो धेरै नभएको घरका बच्चाहरूमा सच्चरित्रताको सम्भावना अलि कम हुन्छ । धेरै हाँस्ने बच्चाहरू हुर्किएपछि समस्या खडा गर्ने खालका बन्ने सम्भावना निकै कम हुन्छ । हाँसोचाहिँ सकारात्मक ऊर्जा हो, अनि सकारात्मक मानिसहरूले जीवनप्रति पनि सकारात्मक मानसिकता लिएका हुन्छन् ।

हाँसोद्वारा परिवारको स्वास्थ्यको हेरचाह

हाँसोसँग हाम्रो स्वास्थ्यको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । प्राचीन समयका ग्रीक डाक्टर मिलेटसले “हाँस्नु भन्ने अर्थ रहेको gelo भन्ने शब्दचाहिँ स्वास्थ्य(health) भन्ने अर्थ बोकेको helo भन्ने शब्दबाट आएको हो” भनेका थिए । आधुनिक स्वास्थ्य विज्ञानले हाँसोको प्रभाव पत्ता लगाउनुभन्दा लामो समयअघि नै मानिसहरूलाई हाँसो र स्वास्थ्यबीच नजिकको सम्बन्ध छ भन्ने कुरा थाहा थियो । हाँसोले दुखाइ कम गर्छ भन्ने वास्तविकता सबैलाई पहिल्यै थाहा भएको कुरा हो । साह्रै दुखाइ हुने एङ्किलुसिङ स्पोन्डिलाइटिस[ankylosing spondylitis] भन्ने असाधारण रोगले ग्रस्त एक अमेरिकी लेखक नोर्मन कउसिन्सले दिनहुँ २६ वटा एस्पिरिन[aspirin] चक्की र १२ वटा फेनेलबुटाजोन[phenylbutazone] चक्की सेवन गर्थे, तर निको हुने कुनै सङ्केत नै देखिएको थिएन । तर उनले हाँस्य कार्यक्रमहरू हेर्दै ठूलो आवाजले हाँस्न थालेदेखि उनको दुखाइ हरायो, अनि उनी स्लिपिङ ट्याबलेटविना नै निदाउन सकेका थिए ।

भर्खरै एटोपी[atopy]का रोगीहरूको सङ्ख्या बढिरहेको छ, तर यो रोग लाग्नुको विभिन्न कारणहरू भएकोले ठोस उपचार नै छैन । निदाउन र साथीहरूसँग घुम्न जान पनि नसक्नेसम्मको गम्भीर एटोपीले ग्रस्त एक जना बालक, आफ्नो परिवारसँग हाँस्दाखेरि निको हुन सकेका थिए । प्रायःजसो एटोपीले ग्रस्त बच्चाहरू संवेदनशील र एकदमै तनावमा हुन्छन्, तर हाँस्दाखेरि मनोवैज्ञानिक रूपमा उनीहरूले स्थिरता महसुस गर्छन्, र एटोपीका लक्षणहरू पनि कम हुन सक्छ ।

हाँसोले खोपजस्तै गरेर रोग प्रतिरोधात्मक क्षमता पनि बलियो बनाएर रक्त वाहिनीलाई राहत दिने हुँदा त्यसले रक्तचाप कम गर्नुको साथै धेरै अक्सिजन लिने गराएर श्वास-प्रश्वास बढाउँछ । मधुमेह रोग निवारणमा पनि सहयोग गर्छ, र यो व्यायामजस्तै प्रभावकारी हुन्छ ।

यसरी हाँसोचाहिँ परिवारका साना बच्चाहरूदेखि लिएर वयस्कसम्मका सबैको हेरचाह गर्ने एक सजिलो तरिका हो ।

हाँस्ने तरिका

१. ठूलो सोरले हाँस्ने

हाँस्दाखेरि मुख खोलेर पूरै शरीरलाई प्रयोग गर्नुहोस् । ठूलो आवाजले हाँस्दाखेरि मन खोलिएर साँचो हाँसो प्रस्फुटन हुन्छ । ठूलो सोरले हाँस्यो भने त्यसले आँखामुनिका स्नायुहरूलाई सक्रिय तुल्याएर एन्डोर्फिन वा डोपामिन भन्ने हर्मोनहरू उत्पादनमा मद्दत पुऱ्याउँछ ।

२. एकलै होइन सँगै हाँस्ने

अमेरिकी लेखक मार्क ट्वेनले “निराशालाई यथावत् छोडिदियो भने त्यो आफै कम हुन्छ । तर पूर्ण खुशी पाउने इच्छा छ भने त्यसलाई सँगै बाँड्ने कोही चाहिन्छ” भनेका थिए । सँगै हाँस्यो भने मनमा अझ आराम मिल्छ र अझ ठूलो आवाजले हाँस्न सकिन्छ, अनि त्यसले एकलै हाँसेको भन्दा ३३ गुणा असल प्रभाव पार्छ ।

३. हाँस्न अभ्यास गर्ने

अनुहारका मांसपेशीहरू कडा छ भने हाँसो बनावटी देखिन्छ, अनि आफ्नो हाँसो बनावटी छ जस्तो लाग्यो भने झन् कम हाँस्न पुगिन्छ । जुनसुकै समयमा पनि हाँस्न सकिन्छ भनेर सोच्नुभन्दा आफू एकलै हुँदा नै स्वभावत: हाँस्न अभ्यास गर्नुहोस् ।

४. बारअनुसार हाँस्न अभ्यास गर्ने

योचाहिँ दिनहुँ हाँस्ने अभ्यास हो । आइतबार आनन्दले हाँस्ने, सोमबार सोल्लासले हाँस्ने, मङ्गलबार मज्जाले हाँस्ने, बुधबार बुलन्द आवाजले हाँस्ने, बिहीबार बिहान उठ्नासाथ हाँस्ने, शुक्रबार शुद्ध मनले हाँस्ने, शनिबार शानले हाँस्ने । दिनहुँ हाँस्न अभ्यास गर्नुभयो भने वर्षको ३६५ दिन नै हाँसिरहनुहुनेछ ।

५. गाह्रो हुँदा अझ धेरै हाँस्ने

“खुशी भएकोले हाँस्ने होइन, तर हाँस्ने भएकोले खुशी हुने हो” भन्ने भनाइजस्तै समाधान होला जस्तो नलागेको त्यस्तो समस्या आइपर्दा सकारात्मक सोचाइ लिन कोसिस गर्दै हाँस्नुहोस् । भनिन्छ, नाजीहरूको कठोर दमनमा पनि यहूदीहरूले हाँस्न बिर्सिएनन् । थकित र निराश हुँदा हाँस्यो भने त्यो हाँसो अझ चम्किलो गरी चम्किन्छ भन्ने कुरालाई याद गरौं ।

हाँसोको जाँच-सूची

निम्नलिखित कुरामा १-५सम्मको अङ्कद्वारा उत्तर दिनुहोस् ।

कहिल्यै छैन (१) / खासै छैन (२) / कहिलेकहीँ (३) / प्रायःजसो (४) / सधैँ (५)


म जसलाई भेटे पनि मुस्काउँदै अभिवादन गर्ने गर्छु ।
म अरूलाई हँसाउन विभिन्न उपायहरू अपनाउन कोसिस गर्छु ।
यदि कसैले, मैले सुनिसकेको रमाइलो कहानी भन्यो भने पनि पहिला कहिल्यै नसुनेझैँ गरेर म हाँस्ने गर्छु ।
पुस्तक अथवा पत्रपत्रिकामा मलाई चुट्किलाहरू पढ्न मन पर्छ ।
अरूको नजरमा म हाँस्यास्पद देखिए पनि मलाई केही फरक पर्दैन ।
परिवारसँग म एक दिनमा कम्तीमा एक पटक ठूलो सोरले हाँस्ने गर्छु ।
कसैले गल्ती गऱ्यो भने पनि म हाँस्दै उदार बन्न सक्छु ।
मलाई अरूहरूसँग समय बिताउन मन पर्छ ।
मेरो कारणले अरू हाँसेको मलाई राम्रो लाग्छ ।
हाँस्दाखेरि म ठूलो सोरले हाँस्ने गर्छु ।
हाँसोले असल सम्बन्ध बनाउँछ भनी म विश्वास गर्छु ।
मूड फ्रेश गर्न म हाँस्ने गर्छु ।
ऐनामा हेर्दै म अनुहारको अभिव्यक्ति बनाउन अभ्यास गर्छु ।
मैले आफू सपनामा हाँसेको देखेको छु ।
मानिसहरूले रमाइलो गर्न मलाई खोज्ने गर्छन् ।
हाँसउठ्दो कुरालाई सोच्दै म एकलै हाँस्ने गर्छु ।
बोल्दाखेरि पनि म हाँसउठ्दो तरिकाले बोल्न कोसिस गर्छु ।
म कसैको भावनामा चोट पुग्ने किसिमको चुट्किला भन्ने गर्दिनँ ।
मलाई अहिलेको प्रचलित हँसाउने तरिकाहरू आउँछ ।
मेरो अनुहारलाई हाँसेको सुहाउँछ ।
काम गर्दा हाँस्नु भनेको स्वाभाविक हो भनी म ठान्छु ।
गाह्रो अवस्थामा पनि आशा छ भनी म विश्वास गर्छु ।
मैले हाँसोद्वारा कसैको भावनालाई परिवर्तन गरिदिएको समय पनि छ ।
मलाई हाँसोसम्बन्धी ३ वटा भनाइ थाहा छ ।
  • ९०-१२० अङ्क : सधैँ हाँस्ने स्वस्थ व्यक्ति
  • ७५-८९ अङ्क : थोरै अझ कोसिस गऱ्यो भने हाँसोमा उत्कृष्ट उदाहरण बन्न सक्ने व्यक्ति
  • ७४ अङ्क वा सोभन्दा कम : धेरै नहाँस्ने भएकोले अलि कोसिस गर्नुपर्ने व्यक्ति