परमेश्वरको इच्छाअनुसार

सेलेन्ने क्रिस्टिन सान्चेज / लस एन्जलस, संयुक्त राज्य अमेरिका

12,875 भ्यु

क्याथोलिक मण्डलीकी कट्टर विश्वासी, मेरी हजुरआमाको कारणले मैले अन्य धर्मको बारेमा कहिल्यै पनि सोच्न पाइनँ । परमेश्वरको मण्डली धाउनुहुने मेरा दिदी-भिनाजुले मलाई सत्यता जानकारी दिनुहुँदा म ‘बाइबलमा यस्तो वचन रहेछ’ भन्दै उत्सुक त हुन्थें, तर त्योभन्दा बढी बुझ्न मन गर्दिनथें ।

तर एक दिन दिदी-भिनाजुसँगै परमेश्वरको मण्डलीमा जाँदा मेरो सोचाइ परिवर्तन भयो । त्यो ठाउँका मानिसहरू प्रेमले भरिएका देखिन्थे ।

मलाई बाइबल अध्ययन गर्न पनि रमाइलो लाग्दैगयो । मैले पाप प्रायश्चितको रहस्यबारे सिकें, अनि ‘मानिस किन यस्तो कष्ट भोग्दै अन्त्यमा मर्नुपरेको होला ?’ भन्ने प्रश्नको उत्तर पनि विस्तृत रूपमा पाएँ ।

त्यस बेलासम्म म परमेश्वरलाई विश्वास गर्छु भनेर दाबी त गर्थें, तर गाह्रो अवस्था आइपर्दा म विश्वासबाट पछि हट्थें, अनि जिन्दगीलाई कठिन र निरर्थक यात्रा ठान्थें । परमेश्वरको इच्छाबारे ख्यालै नगरीकन मैले आफ्नै तरिकाद्वारा परमेश्वरलाई प्रेम र विश्वास गर्दैआएकीले विश्वासमा डगमगिनुचाहिँ मेरो निम्ति स्वाभाविक कुरा थियो ।

एलोहिम परमेश्वरलाई राम्ररी चिनेदेखि जीवनप्रतिको मेरो दृष्टिकोणमा बद्लाव आयो । अहिले ममा जीवनको आशा छ, अनि केको निम्ति जिउनुपर्छ भन्ने कुरा पनि मैले थाहा पाएँ । बल्ल मैले मेरो जीवन पूर्ण भएको महसुस गरेकी छु । अब मैले परमेश्वरको तरिकाअनुसार विश्वासको बाटोमा हिँडेर स्वर्गीय परिवार बन्ने अठोट लिएँ ।

तर मेरो त्यो इच्छा पूरा हुन समय लाग्यो । त्यो समयमा, आफूले समाधान गर्न नसक्ने केही समस्याहरूले गर्दा म सियोन जान सकिनँ । परमेश्वरको साँचो सन्तान बन्ने त्यो दिनको प्रतीक्षा गर्दै मैले मेरो हृदयमा परमेश्वरको वचन खोप्दैगएँ । आफ्ना सन्तानहरूसँगै यो पृथ्वीमा रहनुभएर सन्तानहरूको कष्ट सट्टामा भोग्नुहुने परमेश्वरको त्यो प्रेम र बलिदानले मेरो हृदयमा अझ गहिरो प्रभाव पाऱ्यो ।

अन्ततः एलोहिम परमेश्वरको सन्तान भएकी म, परमेश्वरको अनुग्रहको निम्ति परमेश्वरलाई थोरै भए पनि खुशी दिलाउन चाहन्थें । त्यसैले म सन्तहरूसँगै सुसमाचार प्रचार गर्न गएँ । तर प्रचार कार्य कदापि सजिलो थिएन । म साह्रै डराउने भएकीले होला, अन्य मानिसहरूलाई एक शब्द सुनाउन पनि एकदमै गाह्रो लाग्थ्यो ।

अन्ततः एक वर्ष बितिसक्दा पनि कुनै परिणाम आएन । मैले फलको स्वाद एकैछिन त चाख्न पाउँथें, तर त्यो त्यतिमै सीमित हुन्थ्यो । खराब स्वभावलाई फालेर परिवर्तन हुनुपर्छ भन्नुभएका परमेश्वरको वचनलाई पालन नगर्दाखेरि, मुश्किलले भेटिएका आत्माहरू पनि विश्वासमा हुर्कनुअगावै सबै हराएर जान्थे । सुसमाचारको कार्य यतिसम्म साँचो थियो ।

सम्पूर्ण समस्याको जड त म आफै पो रहेछु, म नयाँ गरी नजन्मिएसम्म असल परिणाम कदापि पाउन सक्दिनँ भन्ने यथार्थता महसुस गर्न मलाई धेरै समय लाग्यो । धन्यवादको कुराचाहिँ परमेश्वरले कमजोर मेरो हृदयमा ‘परमेश्वरलाई प्रसन्न तुल्याएमा उहाँले निश्चित सहायता गर्नुहुनेछ’ भन्ने विश्वास रोपिदिनुभयो ।

यस्तो विश्वास लिएर मैले परमेश्वरलाई खुशी दिलाउने सुसमाचार प्रचारको मिसनलाई अगि बढाएँ, अनि परमेश्वरले मलाई सहायता गर्नुभयो । मेरो परिस्थिति यति राम्रो हुँदैगयो, कि मैले लामो समयदेखि प्रतीक्षा गरेको स्वर्गीय परिवारसित मेरो भेट भयो । हँसिलो र दयालु स्वभावकी मेरी सहकर्मी “तपाईं जानुहुने मण्डलीमा म पनि सँगै जान चाहन्छु” भन्दै पहिला मकहाँ आउनुभयो । त्यो क्षण म एकदमै खुशी हुनुको साथै थोरै रनभुल्लमा पनि परें, किनकि मैले उहाँलाई कैयौँ पटक सत्यता सुनाए तापनि उहाँलाई आउनुहोस् भनेर आमन्त्रणचाहिँ कहिल्यै गरिनँ ।

ती सहकर्मीलाई सियोन प्रवेश गर्दा र बाइबल अध्ययन गर्दा निकै राम्रो लागेछ । धेरै पल्ट बाइबल अध्ययन गरेपछि अन्ततः सिस्टर केइलाले सत्यता ग्रहण गर्नुभयो । उहाँको विश्वासको विरुद्धमा उठेका परिवारप्रति उल्टै चिन्तित हुँदै सिस्टर कहिलेकहीँ धेरै रुनुहुन्थ्यो, तर पनि उहाँ विश्वासबाट कदापि डगमगिनुभएन ।

सिस्टरले चाँडै नै आफ्नो अर्मेनियाली पतिलाई सियोनमा डोऱ्याउनुभयो । ती ब्रदरचाहिँ सियोनमा डोरिनुभएका पहिलो अर्मेनियाली नागरिक हुनुभएकोले म छक्क पर्नुका साथै खुशी पनि भएँ । आफ्नो पतिलाई डोऱ्याएपछि भाइलाई पनि परमेश्वरको काखमा डोऱ्याउनुभएकी सिस्टर केइला अहिले पनि सुसमाचारमा परिश्रम गर्दैहुनुहुन्छ ।

मेरो काकाले सत्यता स्वीकार्नुहुँदा पनि अप्रत्याशित घटना घट्यो । विगतमा, आफ्नो परिवारबाट विरोध आउँदा पनि काका प्रोटेस्टेन्ट मण्डली धाउनुहुन्थ्यो । तर एक दिन पास्टरको खराब व्यवहारले गर्दा उहाँ निरुत्साहित हुनुभएछ । त्यस बेलादेखि काकाले मण्डली जान छोडेर एकलै धार्मिक जीवन जिउन थाल्नुभएछ ।

म काकालाई हाम्रो मण्डलीको बारेमा सुनाउन चाहन्थें, तर यस मामिलामा उहाँ अलि कठोर स्वभावका हुनुभएकोले उहाँलाई सुनाउनु त्यति सजिलोचाहिँ थिएन । यदि काकाले परमेश्वरको वचन सुन्नुभयो भने पनि, मेरा परिवारमध्ये उहाँ नै मेरो कुरा सुन्ने अन्तिम व्यक्ति हुनुहुनेछ जस्तो लागेको थियो ।

तर मेरो अनुमान सरासर गलत ठहरियो । परिवारमा सबैभन्दा पहिला स्वर्गीय परिवार बनेको मेरो भाइ(काकाको छोरा)को सुन्दर परिवर्तित स्वरूप देखेर काका ज्यादै प्रभावित हुनुभयो, अनि सत्यताप्रति उत्सुक हुँदै बाइबल अध्ययन गर्न थाल्नुभयो । बाइबल अध्ययन गरेपछि, उहाँले “सबै कुराहरू बाइबलमा गवाही दिइएको रहेछ” भन्दै एकदमै नम्रतापूर्वक एलोहिम परमेश्वरलाई ग्रहण गर्नुभयो । उहाँले आफ्नी पत्नी र कान्छो छोरालाई पनि डोऱ्याउनुभयो, अनि आफ्ना सहकर्मीहरूलाई पनि सुसमाचार प्रचार गरेर फलको आशिष् प्रशस्त पाउनुभयो । अझ भन्ने हो भने उहाँले मेरो बुबा-आमालाई पनि बाइबल अध्ययन गराउन सहयोग गर्नुभयो ।

आफ्ना परिवारलाई वचनको बीउ छर्नमा साहसी र विश्वस्त हुनुभएका मेरा काका, मेरो निम्ति असल उदाहरण बन्नुभयो । अहिले पनि काका आफ्नो विश्वासलाई दृढतापूर्वक कायम राख्दै स्वर्गीय पिता-मातालाई लगनशीलताका साथ पछयाउँदैहुनुहुन्छ ।

सुसमाचारको कार्य परमेश्वर स्वयम्‌ले गर्नुहुन्छ । मैले गर्ने कार्यचाहिँ बीउ रोप्ने र त्यसमा पानी हाल्ने मात्र हो । बीउलाई उमारेर हुर्काउनुहुनेचाहिँ परमेश्वर नै हुनुहुन्छ ।

मैले महसुस नगरेसम्म परमेश्वरले मौनतापूर्वक प्रतीक्षा गर्नुहुँदै मलाई सुसमाचारको मिसन सुम्पनुभयो । त्यो अनुग्रहलाई सम्झिँदैपिच्छे मलाई अझ बढी साहस मिल्छ । म एक पापी भएकीले, मैले अझ बलिदान गर्नुपर्छ, अझ धेरै प्रार्थना गर्नुपर्छ, कडा परिश्रम गर्नुपर्छ, र प्रत्येक आत्मालाई अझ बढी प्रेम दिनुपर्छ भनेर सोच्दै म आफू पहिला होचिएँ ।

सुसमाचारलाई पहिलो प्राथमिकता दिँदै र परिवर्तन हुन सम्पूर्ण प्रयत्न गर्दै म आगामी दिनमा पनि जोशका साथ निरन्तर अगि बढ्न चाहन्छु । आजको यो दिन नै अन्तिम मौका हो भन्ने सोच्दै प्रेरित पावल र यर्मिया अगमवक्ताजस्तै सुसमाचारको कार्यमा म अगि बढ्नेछु । अझै पनि सत्यता ग्रहण नगरेका परिवार, इष्टमित्र लगायतका आत्माहरूलाई साहसका साथ मुक्तिको खबर सुनाई परमेश्वरबाट पाएको सिक्काबाट ३० गुणा, ६० गुणा र १०० गुणा बढी कृतज्ञताका फलहरू फलाउन चाहन्छु ।

मानव-जातिले जान्न नसक्ने त्यो प्रेम, पापी हामीहरूलाई जान्ने गराउनुभएकी स्वर्गीय मातालाई धन्यवाद चढाउँछु । माताको स्वरूपमा मिल्ने नयाँ मानिस भएर, माताको मनद्वारा सुसमाचारको मिसन पूरा गर्नमा म अन्त्यसम्म तल्लीन भएर लागिपर्नेछु ।