विश्वभरिका स्त्री पादरी कर्मचारीको लिडरशीप सम्मेलन

माताको शिक्षा र प्रेमद्वारा पूरा हुने सुसमाचारको मिसन

दक्षिण कोरिया

April 27, 2019 8,564 भ्यु

७ अरब मानव-जातिलाई प्रचार गर्ने मिसन पूरा गर्न सुसमाचारमा समर्पित विश्वभरिका परमेश्वरको मण्डलीका पादरी कर्मचारीहरूको छेउमा रहेर मण्डलीको रेखदेख गर्दै सन्तहरूको सेवा गर्ने ‘स्त्री पादरी कर्मचारीहरू’ अर्थात् पादरी कर्मचारीका पत्नीहरू छन् । अप्रिल २७ तारिखदेखि नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा ‘विश्वव्यापी स्त्री पादरी कर्मचारी लिडरशीप सम्मेलन’ आयोजना गरिएको थियो । ४ रात ५ दिनको उक्त प्रशिक्षण कार्यक्रममा कोरियाका ४०० वटा मण्डली लगायत संयुक्त राज्य अमेरिका, पेरु, फिलिपिन्स, मङ्गोलिया, भारत इत्यादि गरी ५२ वटा देशका स्त्री पादरी कर्मचारीहरू सहभागी भए । ठीक त्यही बेला कोरियाको भ्रमण गरेका शाखा मण्डली सञ्चालकहरू पनि प्रशिक्षणमा सहभागी भए । उनीहरूले अगमवक्ताको कर्तव्य र सुसमाचारको भिजनलाई पुनः निश्चित गरे ।

प्रशिक्षणचाहिँ शबाथ-दिन(अप्रिल २७)को आराधनासँगै औपचारिक रूपमा सुरु भयो । बिहानको आराधनामार्फत माताले ‘सबैभन्दा निम्न र अदृश्य स्थानमा रहेर सुन्दर सुगन्ध प्रवाह गर्ने फूलहरू’ भन्नुभएर स्त्री पादरी कर्मचारीहरूको प्रशंसा गर्नुभयो । माताले “सन्तानहरूलाई बचाउनको निम्ति आफ्नो जीवनसमेत बलिदान गर्नुभएका परमेश्वरको प्रेम प्राप्त गरेर यहाँहरूले पादरी कार्य गर्ने क्रममा आइपर्ने सम्पूर्ण कठिनाइलाई खुशी र धन्यवादले जित्नुहुँदै दाजुभाइ-दिदीबहिनीलाई आफ्नै शरीरलाई झैँ हेरचाह गरिदिनुभएकोले विश्व सुसमाचार अझ तीव्र गतिले पूरा हुन सकेको हो” भन्नुभएर प्रोत्साहन दिनुभयो । अनि माताले ‘सर्वोत्तमचाहिँ प्रेम हो’ भन्ने विषयद्वारा “ज्ञान र आम सोचाइद्वारा गर्न नसकिने कार्यलाई पनि प्रेमले सम्भव गराउँछ । आर्थिक कठिनाइ र व्यक्तिवाद व्याप्त भएर प्रेम सेलाउँदैगएको वर्तमान युगमा परमेश्वरको सन्तान भएअनुरूप अनुग्रहात्मक र भक्तिपूर्ण बोली र व्यवहारद्वारा सियोनभित्र र बाहिरका मानिसहरूमाझ प्रेम र जीवनको भोजन लगनशीलताका साथ बाँड्नू” भन्ने शिक्षा दिनुभयो (१ कोर १३:१-११; २ तिमो ३:१-५; १ यूह ४:५-११; रोम १३:१०; १ पत्र ४:७-८) । माताले ‘खुशी मण्डली अन्तर्राष्ट्रिय सम्मेलन’ र अन्तर्राष्ट्रिय बाइबल गोष्ठी जस्ता सम्पूर्ण कार्यक्रमहरूमा सँगै सहभागी हुनुहुँदै भोजन लगायत आवासको व्यवस्था मिलाइदिनुभयो । माताको स्वरूपबाट स्त्री पादरी कर्मचारीहरूले विचारशीलता र सेवा गर्ने मनस्थिति जस्ता सद्गुणहरू सिक्न सके ।

“परमेश्वरले, माताको स्वरूपमा मिल्ने स्त्री पादरी कर्मचारीहरूको समर्पणबाट प्रभावित हुनुभएर प्रत्येक मण्डलीमा अझ प्रशस्त आशिष् झारिदिनुहुनेछ” भन्नुभएका महासचिव पास्टर गिम जु छलले स्त्री पादरी कर्मचारीलाई आवश्यक पर्ने लिडरशीपको विशेषताबारे बताउनुभयो । पहिलोचाहिँ बोलीको महत्त्व थियो । “एउटा बोलीले हृदयमा कहिल्यै पनि निको नहुने चोट दिन सक्छ भने छियाछिया भएको हृदयलाई निको पार्न पनि सक्छ । त्यसैले विश्वासको जीवनमा पनि ‘बोली’लाई परमेश्वरको प्रेम र सत्यता सुनाउने साधनको रूपमा होशियारीपूर्वक प्रयोग गर्नुपर्छ” भनेर उहाँले भन्नुभयो । यसको निम्ति परमेश्वरको घरको जिम्मा पाएका पादरी कर्मचारी र पादरी पत्नीहरूले विनम्र स्वभाव लिँदै परमेश्वरको इच्छालाई सधैँ पहिलो स्थानमा राख्न आवश्यक छ । पास्टर गिम जु छलले ‘दृष्टिकोणको भिन्नता’ भन्ने शीर्षकमा विशेष वक्तव्य दिनुहुँदा पादरी कार्यसम्बन्धी विभिन्न घटना र अनुभवको उदाहरण दिनुभएर पूर्वी र पश्चिमी संस्कृतिको भिन्नताबारे बुझाउनुभयो । अनि “७ अरब प्रचार एकदमै तीव्र गतिमा पूरा भइरहेको यो समयमा समुद्रले सम्पूर्ण फोहोर-मैला लिएर शुद्ध गराएजस्तै, प्रत्येकको विचार र दृष्टिकोण फरक हुन्छ भन्ने कुरालाई स्वीकार्दै सन्तहरूको गल्तीलाई फराकिलो मनले ढाकछोप गर्दा पूर्ण एकता कायम हुन सक्छ” भन्नुहुँदै उदार र सहनशील मनस्थिति लिन आग्रह गर्नुभयो (लूक २३:३९-४२; मत्ती १२:३५-३७; एफि ४:२६-३२; भज १३२:१२-१५; यशै ५१:३) ।

स्त्री पादरी कर्मचारीहरूले सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी, ‘खुशी मण्डली’ अन्तर्राष्ट्रिय सम्मेलन, स्त्री पादरी कर्मचारीको अन्तर्राष्ट्रिय वर्कशप जस्ता विभिन्न कार्यक्रमहरूद्वारा परमेश्वरको दृष्टिमा योग्य पादरी पत्नीको भूमिकाको खोजी गर्दै प्रशिक्षणबाट पाएको आफ्नो अनुभव र ज्ञान एक-अर्कासँग बाँडे । कार्यक्रमको अन्तिम दिनमा कोरियाली स्त्री पादरी कर्मचारीहरूले ‘बुबाको साँचो हृदय’ प्रदर्शनी (सउल, ग्वानाग मण्डलीमा) र ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी (सङनाम, साङदेवन मण्डलीमा) परख गरी आत्मिक र शारीरिक परिवारको उदात्त प्रेमलाई बुझ्न सके । विदेशका स्त्री पादरी कर्मचारीहरूले चाहिँ कोरियाली लोक गाउँ, हानोग गाउँ (परम्परागत कोरियाली घर), ग्यङबोगुङ दरबार, सउल N टावर जस्ता प्रसिद्ध ठाउँहरूको भ्रमण गरेर कोरियाको परम्परागत संस्कृति र कोरियाको विकासलाई हेर्दै, भव्य रूपमा पूरा हुने सुसमाचारको भविष्यलाई कल्पना गरे ।

डिकनिस सिन्डी क्विन्टेरो(मेरिल्यान्ड, बाल्टिमोर, संयुक्त राज्य अमेरिका)ले “यस पटकको प्रशिक्षणमार्फत माताले हामी पादरी पत्नीको भूमिका के हो, र यो भूमिका कसरी निर्वाह गर्नुपर्छ भन्ने कुरा १००% उदाहरणद्वारा देखाइदिनुभयो । अब म आत्मकेन्द्रित विचार र व्यवहारलाई त्यागेर माताजस्तै स्वर्गीय परिवारको निम्ति जिउनेछु” भनिन् । डिकनिस रमा हुमागाईं(धरान, नेपाल)ले “हिमाली गाउँका मानिसहरूले समेत सत्यता ग्रहण गर्न सकेको चाहिँ केवल पिता-माताको प्रेमले गर्दा हो । मेरो मिसनचाहिँ पिता-माताले आँसु र बलिदानद्वारा खोज्नुभएका आत्माहरू एक जनालाई पनि नगुमाईकन सबै सन्तहरूलाई अँगाल्नु हो” भन्दै सुसमाचारप्रतिको आफ्नो सङ्कल्प व्यक्त गरिन् ।

बाइबलको वचनमा कान लगाएर माताको प्रेमको उदाहरणलाई हेर्दै पश्चात्ताप र धन्यवादको समय बिताएका स्त्री पादरी कर्मचारीहरू ‘मुहारमा मुस्कान र हृदयमा कृतज्ञता’ लिएर आ-आफ्नो मण्डली फर्किए ।