अगमवाणी पूरा भएको भूमि, बेटन रूजमा

जङ मिन ग्यङ / ह्युस्टन, टेक्सस, संयुक्त राज्य अमेरिका

811 हेरेको संख्या

अहिले हामीहरू रहेको ठाउँचाहिँ संयुक्त राज्य अमेरिकाको लुइजियाना क्षेत्रको बेटन रूज हो । हामीहरू यो ठाउँमा आएको पनि १ वर्ष भइसक्यो । सुसमाचार खासै प्रचार नभएको, आत्मिक रूपमा सुख्खा र उजाड यो भूमिमा आउन डर लागेको थिएन भन्नुचाहिँ झूट बोल्नुसरह हो । तर सदाजस्तै यो ठाउँमा पनि परमेश्वर हाम्रो साथमा हुनुहुन्थ्यो । छोटो समयमै जीवनको पानीले पुनर्जीवित हुनुभएका सन्तहरूलाई देखेर मैले फेरि पनि परमेश्वरको शक्ति महसुस गर्न सकें ।

हामी यहाँ आउनुअघि एक जना कोरियाली सिस्टरले ५ वर्षको लामो समयदेखि एकलै सुसमाचार प्रचार गर्दैहुनुहुन्थ्यो । ग्याँस स्टेशन व्यवस्थापनमा व्यस्त हुनुभए तापनि उहाँले आफ्नो कार्यक्षेत्रलाई सुसमाचारको मैदान ठान्दै ग्राहकहरूलाई लगनशीलताका साथ वचन प्रचार गर्नुहुन्थ्यो । सत्यताका वचन मन नपराएर फेरि फर्केर नआउने ग्राहकहरू पनि हुन्थे, तापनि ‘मरिरहेका आत्माहरूलाई बचाउनैपर्छ’ भन्ने व्यग्रताले सिस्टरको हृदयमा जोशको आगो दन्काइदिन्थ्यो ।

त्यही ग्याँस स्टेशनबाट बेटन रूज हाउस चर्चको पहिलो फल फल्यो । उहाँ नै ब्रदर केड हुनुहुन्छ । ग्याँस स्टेशनमा आउनुहुँदा पहिलो चोटि जीवनको पानीको सत्यता सुन्नुभएका ब्रदरले केही हप्तासम्म वचन अध्ययन गर्नुभयो, र अन्त्यमा एलोहिम परमेश्वरलाई ग्रहण गर्नुभयो ।

परमेश्वरले दिनुभएका सम्पूर्ण वचनलाई सहृदयले विश्वास गरी पालन गर्न चाहनुभएका ब्रदरले लगनशीलताका साथ शबाथ-दिनको आराधना गर्नुभयो, र ह्युस्टनबाट अल्पकालीन मिसनमा आउनुभएका टोलीसँगै उहाँ प्रचारमा पनि सहभागी हुनुभयो । त्यस बेलादेखि प्रचारचाहिँ ब्रदरको महत्त्वपूर्ण दिनचर्या बनेको छ । ब्रदरले हालसालै उच्च माध्यमिक तह उत्तीर्ण गर्नुभएकोले साथीहरूसँग कतै घुम्न जाने मन पनि आएको थियो होला, तर कामको बीचमा विश्राम गर्दा, साथीहरूलाई भेट्दा, सामान किनमेल गर्दा, गाडीबाट ओर्लिंदा … आफू जहाँ भए पनि उहाँ सत्यता प्रचार गर्नुहुन्छ । असल रूखले असल फल फलाएजस्तै, ब्रदर पनि दाना फल फलाउने सुसमाचारको राम्रो कामदारको रूपमा हुर्किनुभयो ।

ब्रदर साथमा हुनुहुँदा ऊर्जाले भरिएको हाउस चर्च, कोरियाबाट अल्पकालीन मिसन टोली आउनुभएपछि झन् उज्यालो भयो । गर्मीको कारण खलखली पसीना बगे तापनि हामीले मनोहर र अर्थपूर्ण समय बितायौं । यसैबीच डोरिनुभएका विश्वविद्यालय विद्यार्थी ब्रदर स्याम र सिस्टर जोजेल लामो समयदेखि साँचो परमेश्वरको खोजीमा भौंतारिरहनुभएको रहेछ । सत्यताको खोजीमा उहाँहरूले अनेक थरीको मण्डली धाएको कुरा बताउनुभयो । त्यसैले उहाँहरू दुवै जना एकसाथ सियोनमा आएर सत्यता ग्रहण गर्नुभई सुसमाचार प्रचारक बन्नुभएको कुरा स्वाभाविक थियो । उहाँहरू यदि मैले परमेश्वरको बारेमा सुनाइनँ भने उहाँको वचन मेरो हृदयमा जलिरहेको आगोझैँ हुन्छ, म त्यसलाई थाम्नै सक्दिनँ भनेका यर्मियाजस्तै हुनुहुन्थ्यो । उहाँहरू सुसमाचार प्रचारमा यति लगनशील हुनुहुन्थ्यो, कि हामी उहाँहरूबाट उदाहरण लिन्थ्यौं ।

ब्रदर स्यामचाहिँ वचन सुनाउनुपर्ने मानिसहरू धेरै छन् भन्नुहुँदै अबेर रातसम्म एकलै प्रचार गर्नुहुने भएकोले विश्वविद्यालयमा उहाँले ‘मिस्टर चर्च’ भन्ने उपनामसमेत पाउनुभएछ । वचन सुनाउने समय धेरै छैन भन्नुहुँदै, परमेश्वरको कार्य गर्ने लक्ष्य बोकेर उहाँ विनाविश्राम प्रचार गर्नुहुन्छ ।

सिस्टर पनि सत्यता थाहा नभएका आफ्ना साथीहरूप्रति दया दर्शाउँदै विद्यालयमा साहसका साथ वचन सुनाउनुहुन्छ । वरिपरिका मानिसहरूले विरोध गरे भने पनि यी कुराहरू समयसँगै बितेर जानेछन् भन्नुहुँदै सिस्टरले हामीहरूको चिन्तालाई उल्टै सान्त्वनामा परिणत गरिदिनुहुन्थ्यो । यस्ता सन्तानहरूप्रति पिता-माता कति खुशी हुनुहुन्छ होला ? अनि सोचेजस्तै, यी दुई ब्रदर र सिस्टरले प्रचार गर्न थालेदेखि सुन्दर फलहरू फलाउनुभयो ।

नयाँ सन्तहरू सुसमाचारको कार्यमा मात्र जोशिलो हुनुभएको चाहिँ होइन । उहाँहरू सियोनमा सेवा गर्न पनि निकै सक्रिय हुनुहुन्छ । भाँडाकुँडा माझ्न, सरसफाइ गर्न इत्यादि आशिष् पाइने काममा कसैले नभने पनि उहाँहरू अग्रसर बन्नुहुन्छ । उहाँहरू सबै जना परमेश्वरको प्रेमभित्र सुसमाचारको कामदारको रूपमा हुर्किनुहुनेछ भनी विश्वास गर्दछु ।

अहिले हाम्रो हाउस चर्च साँघुरो बनेको छ । “त्यस दिन यरूशलेमबाट जिउँदो पानी निस्केर आउनेछ, आधाचाहिँ पूर्वको समुद्रतिर र आधाचाहिँ पश्चिमको समुद्रतिर बगिनिस्कनेछ” भन्ने बाइबलको अगमवाणीअनुसार परमेश्वरको सत्यताले यो ठाउँ, बेटन रूजमा पनि असङ्ख्य आत्माहरूलाई पुनर्जीवित गराइरहेको कुरा हिजोआज महसुस हुन्छ ।

आगामी दिनमा अझ धेरै आत्माहरू सियोनमा ओइरिएर आउने कुरा पक्का भएकोले हामीहरू अझ फराकिलो मन्दिरमा सर्ने योजना छ । नयाँ मन्दिर कस्ता सन्तानहरूद्वारा भरिने होला, अनि पहिला परमेश्वरको काखमा डोरिनुभएका सन्तानहरूले कस्तो स्वरूपद्वारा परमेश्वरलाई खुशी दिलाउनुहुन्छ होला भन्ने कुरा कल्पना गर्दा मेरो हृदय खुशीले प्रफुल्लित हुन्छ ।

नव वर्षमा हामीहरूको पाइला अझ व्यस्त हुनेछ होला । किनकि बेटन रूज र लुइजियानाभरि मुक्तिको गीत फैलाउन हामीले गर्नुपर्ने कार्यहरू साँच्चै धेरै छन् । दिनहुँ परमेश्वरको साथमा हिँड्न पाएकोमा हामीहरू खुशी र धन्यवादले भरिएका छौं ।