​चोरको मन फर्काइदिएको नोट​

3,459 भ्यु

बेलायतको सानो रिसोर्ट सहरमा एइलिन नाउँकी एक जना नर्स बसोबास गर्थिन् । बिरामीलाई भेट्न जाँदाखेरि प्रायः उनी साइकल प्रयोग गर्ने गर्थिन् । तर कुनै एक दिन, बिरामीलाई उपचार र परामर्श दिएर बाहिर निस्कँदा उनको साइकल गायब भएछ । त्यो दिनमा भेट्न जानुपर्ने बिरामीहरू धेरै थिए, अनि त्यो साइकल उनको साथीको चिनो पनि भएकोले उनलाई धेरै रीस उठेछ । तैपनि मनलाई शान्त पार्दै उनले एउटा नोट लेखेर भित्तामा टाँसिदिइछन् ।

“अनुरोध गर्छु । मेरो साइकल फिर्ता गरिदिनुहोस् । माया मात्र पाउँदैआएको त्यो मेरो साइकल, मालिकविना एकदमै डराउँछ ।”

भोलिपल्ट, कतै पाइहालिन्छ कि भन्ने मन लिएर साइकल हराएको ठाउँमा गएकी ती नर्सको मुहारमा खुशीको मुस्कान लहराएछ । हराएको साइकल त नयाँ ताला लगाएर बत्तीको खम्बामा बाँधेर राखिएको थियो । “माफ गर्नुहोस् । मैले तपाईंको साइकलको दुरुपयोग गरेको छैनँ” भन्ने क्षमायाचनाको सन्देशसहितको पत्रमा, तालाको चाबीचाहिँ बिरामीको घरको प्रवेशद्वार बाहिरको म्याटमुनि छ भनेर पनि लेखिएको थियो । त्यसपछि उनले फेरि एउटा नोट टाँसिदिइछन् ।

“साइकल फिर्ता ल्याइदिनुहुने व्यक्तिलाई साँच्चै धन्यवाद । साइकललाई तपाईंसँगको समय रमाइलो लाग्यो अरे, अनि अहिले मकहाँ फर्कन पाउँदा उसलाई खुशी लागेको छ अरे ।”