
लामो समयसम्म उजाड-स्थानमा भौंतारिएपछि इस्राएलीहरू अन्ततः कनानको भूमिमा प्रवेश गरे । परमेश्वरको आज्ञाअनुसार प्रत्येक कूलले भूमिको अधिकार पाउनको लागि चिट्ठा हाले, र यर्दनको पश्चिमी भूमि बाँड्ने समयमा कालेब यहोशूकहाँ गए ।
कालेबले भने, “अब हेर्नुहोस्, म आज पचासी वर्षको भएको छु । तैपनि मलाई मोशाले पठाएको दिनमा म जति बलियो थिएँ, अहिले पनि उतिकै बलियो छु । यसकारण अब यो पहाडी देश[हेब्रोन] मलाई दिनुहोस्, जसको बारेमा परमप्रभुले त्यस दिन भन्नुभएको थियो । त्यहाँ अनाकीहरू रहन्छन्, उनीहरूका ठूला-ठूला गढ भएका सहरहरू छन् भन्ने तपाईंले त्यस बेला सुन्नुभएकै थियो । परमप्रभुको सहायताद्वारा उहाँको वचनअनुसार म उनीहरूलाई धपाउनेछु ।”
कालेबले ४५ वर्षअघि नै हेब्रोनको भूमिको अधिकार पाउने परमेश्वरको प्रतिज्ञा पाइसकेका थिए । कालेबले त्यो दिनसम्म पनि परमेश्वरले गर्नुभएको प्रतिज्ञा बिर्सेका थिएनन् ।
कालेबको दृढ संकल्प देखेर यहोशूले तिनलाई आशिष् दिए, र तिनको अधिकारमा हेब्रोन दिए ।
यद्यपि तिनीहरू कनानमा प्रवेश गरे पनि हेब्रोन जस्तो शक्तिशाली क्षेत्र जित्न सकेका थिएनन् । कालेबले चाहेको यो भूमि युद्धद्वारा मात्र प्राप्त गर्न सकिने भूमि थियो । यद्यपि कालेबले आफू बुढो भएको कुरालाई वास्ता गरेनन् । तर परमेश्वर साथमा भएमा जुनसुकै ठाउँ पनि जित्न सकिन्छ भन्ने कुरामा दृढ विश्वास गरे । त्यत्रो समय बितिसक्दा धेरै कुरा परिवर्तन भइसकेको थियो, तर परमेश्वरको प्रतिज्ञा निश्चित पूरा हुनेछ भन्ने कुरामा तिनले दृढ विश्वास गरे ।
“तापनि म त पूर्णरूपले परमप्रभु आफ्ना परमेश्वरको पछि लागें ।” यहो १४:८
समय बित्दैजाँदा परिस्थिति परिवर्तन भए पनि, परमेश्वरका प्रतिज्ञाहरू कहिल्यै परिवर्तन हुँदैनन् । यदि केहि परिवर्तन हुन्छ भने, त्योचाहिँ हाम्रो मन हो । कालेबले निडर र स्थिर भई अगाडि बढेका कारण प्रतिज्ञा गरिएको अधिकार प्राप्त गर्न सके । योजस्तै हामी पनि परमेश्वरलाई पूर्ण रूपमा पछ्याऔं ।