प्राइमिङ इफेक्ट

यदि कुनै महत्त्वपूर्ण खेल हारेको खेलाडी वा टोली विज्ञापनमा देखिन्छ भने उक्त उत्पादनको विज्ञापनमा खासै भरोसा लाग्दैन । यो कुनै आधारहीन कुरा होइन । बजारशास्त्र पद्धतिको रूपमा व्यापक रूपमा प्रयोग हुने ‘प्राइमिङ इफेक्ट’ (priming effect) ले यसको कारण बुझाउँछ । मनोविज्ञानमा, प्राइमिङ एउटा अन्तर्निहित स्मृति प्रभाव (implicit memory effect) हो, जसमा एउटा उत्तेजक (stimulus) को अनुभवले अर्को उत्तेजकप्रतिको प्रतिक्रियालाई प्रभाव पार्छ ।
मानिसहरू सकारात्मक भावनाद्वारा प्रभावित हुँदा वस्तुहरूप्रति सकारात्मक दृष्टिकोण राख्ने र नकारात्मक भावनाद्वारा प्रभावित हुँदा नकारात्मक दृष्टिकोण राख्ने प्रवृत्तिका हुन्छन् । त्यसैले, एउटा विश्व प्रसिद्ध पेय पदार्थ कम्पनीले गम्भीर बहसका कार्यक्रम वा सङ्कट र दुर्घटनाका समाचारलगत्तै आफ्ना विज्ञापनहरू प्रसारण नगर्ने कडा नियम बनाएको छ । कारण यसले उक्त उत्पादनको राम्रो छविलाई फितलो बनाउँछ ।
प्राइमिङ इफेक्टलाई मानव सम्बन्धमा पनि सहजै प्रयोग गर्न सकिन्छ । कसैको बारेमा राम्रो प्रशंसा वा मूल्याङ्कन सुनेर उसलाई भेटन् गइन्छ भने उक्त व्यक्तिलाई सकारात्मक रूपमा राम्रो व्यवहार गर्न पुगिन्छ ।
हामीहरूचाहिँ परमेश्वरको महिमा प्रकट गर्ने साधनको रूपमा बोलाइएका हौं । त्यसैले परमेश्वरको सन्तान भएका हामीले बोल्ने शब्द र गर्ने कार्यले उहाँको स्वरूप र छविमा प्रभाव पार्छ । तसर्थ असल बोली र सत्कर्मद्वारा परमेश्वरको महिमा बढाउनु नै सुसमाचारको प्राइमिङ इफेक्ट हो ।