प्रेमलाई व्यक्त गरेमा त्यसलाई प्रेम भन्न सकिन्छ

प्रेम गर्ने मनजत्तिकै महत्त्वपूर्ण कुरा त्यसलाई व्यक्त गर्नु पनि हो ।
प्रेमचाहिँ आफूलाई मनपर्ने तरकाले होइन, तर आफ्नो मान्छेलाई मनपर्ने तरिकाले व्यक्त गर्नुपर्छ ।

54,971 भ्यु
लेख सुन्नुहोस् 36:39

प्रेमचाहिँ हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण हिस्सा हो । प्रेम नै जीवनको सार हो भन्दा अतिशयोक्ति हुँदैन । तर प्रेमलाई देख्न, सुँघ्न वा छुन सकिँदैन । त्यसैले आफ्नो मनभित्रको प्रेमलाई भौतिक रूपमा बाहिर निकालेर देखाउन वा सुन्दर उपहारको बट्टामा प्याक गरेर दिन सकिँदैन । त्यसो भए हामीले कहिले प्रेम महसुस गर्छौं, र त्यसलाई कसरी व्यक्त गर्न सक्छौं होला ?

वास्तवमा, प्रेमको सूत्र नै ‘मन × अभिव्यक्ति’ हो । जब प्रेम व्यक्त गरिन्छ, तब मात्र त्यो बाहिर प्रकट हुन्छ र संसार बदल्ने एउटा अद्भुत औषधी बन्छ । मनमा प्रेम सत प्रतिशत नै किन नहोस्, तर यदि त्यसको अभिव्यक्ति शून्य छ भने, त्यसको कुनै अर्थ हुँदैन । तपाईं, कसैको जतिसुकै नजिक भए पनि, उनीहरू तपाईं नभएकाले तपाईंको मनमा के छ भनेर उनीहरूले पूर्ण रूपमा थाहा पाउन सक्दैनन् ।

कुकुरहरू आफूलाई मन पर्ने मानिससँग आँखा जुधाएर पुच्छर हल्लाउँछन् । ह्वेल माछाहरू गीत गाउँछन् र बाँदरहरूले आफूलाई मनपर्ने अन्य बाँदरहरूको जीउ कन्याइदिन्छन् । पेन्गुइनहरूले आफूलाई मन पर्ने पेन्गुइनका लागि स-साना ढुङ्गाहरू खोजेर उपहार दिन्छन् । यसरी जनावरहरूले पनि आ-आफ्नै तरिकाले प्रेम व्यक्त गर्छन् ।

हामी सजिलै आफ्नो क्रोध र कुण्ठा अरूलाई व्यक्त गर्न सक्छौं । तर प्रेम व्यक्त गर्ने समयमा भने ‘मनमा भए पुगिहाल्छ नि, व्यक्त गर्नैपर्छ र ?,’ ‘व्यक्त नगरे पनि उनीहरूले बुझिहाल्छन् नि,’ वा ‘मलाई व्यक्त गर्ने बानी छैन’ भनेर पछि हट्छौं । तर मनमा जति राम्रो भावना हुन्छ, त्यसलाई व्यक्त गर्नु त्यति नै बढी महत्त्वपूर्ण हुन्छ । व्यक्त नगरिएको प्रेम माटोमुनि गाडिएको बीउजस्तै हो । जबसम्म त्यसलाई पानी हाल्ने वा घामको किरण पार्ने जस्ता काम गरिँदैन, तबसम्म केही पनि उम्रिँदैन ।

जति धेरै प्रेम व्यक्त गरिन्छ, त्यति नै बढी प्रेम गर्न सकिन्छ

बेलायतमा बच्चालाई कुनै पनि शारीरिक दुर्व्यवहार नगरे पनि प्रेम नदिई बेवास्ता मात्र गऱ्यो भने त्यसलाई अपराध मानिन्छ । बुबा-आमाको उदासीनता र प्रेमको अभावका कारण भविष्यमा उत्पन्न हुन सक्ने गम्भीर समस्याहरूलाई रोक्नका लागि यसो गरिएको हो । बुबा-आमाको प्रेम र हेरचाह नै बच्चाको सबैभन्दा ठूलो मनोवैज्ञानिक चाहना हो । त्यसैले यदि त्यो चाहना पूरा भएन भने, बच्चा एकदमै चकचके वा अरूमा बढी निर्भर हुन सक्छ, र कहिलेकहीँ उनीहरूको विकासमा पनि बाधा आउन सक्छ । तर पर्याप्त प्रेम पाएर हुर्किएको बच्चा भावनात्मक रूपमा स्थिर हुन्छ, र उसको चरित्र तथा सामाजिकता सकारात्मक दिशामा निर्माण हुने सम्भावना बढी हुन्छ ।

यो कुरा आफ्नो गाँस, बास र कपासको समस्या आफैँ समाधान गर्न सक्ने वयस्कहरूको हकमा पनि लागू हुन्छ । जब उनीहरू कसैको प्रेम महसुस गर्छन्, तब उनीहरूमा सकारात्मक भावना उत्पन्न हुन्छ र आत्मविश्वास बढ्छ । बुबा-आमा, जीवनसाथी र सन्तानबाट प्रेम पाउने मानिसहरू शान्त र जीवन्त महसुस गर्छन्, र उनीहरूमा जिउने इच्छा तीव्र हुन्छ । यदि बच्चाले पर्याप्त प्रेम पाएन भने, उसमा प्रेमको कमीले गर्दा केही लक्षणहरू देखिन थाल्छन् । वयस्कहरूको हकमा पनि उस्तै हुन्छ, उनीहरू अरूलाई नियन्त्रण गर्न खोज्ने, भावनात्मक रूपमा उग्र प्रतिक्रिया दिने, आफूलाई सधैँ पीडित ठान्ने, वा सजिलै चिन्तित र तनावग्रस्त हुने गर्छन् । यस्ता लक्षणहरूले गर्दा अरू मानिसहरूसँग मनमुटाव वा झगडा हुने गर्छ ।

प्रेम गरेर विवाह गरेका दम्पतीहरू पनि जागिर, घरधन्दा र सन्तान हुर्काउने व्यस्त जीवनका कारण कहिलेकहीँ नाम मात्रैको सम्बन्ध वा कर्तव्यमा बाँधिन सक्छन् । तर केवल कर्तव्य सम्झेर मात्र काम गर्न गाह्रो हुन्छ । अर्कोतर्फ, यदि तपाईं आफ्नो मनैदेखि माया व्यक्त गर्नुहुन्छ भने, तपाईंले अरूलाई ठूलो खुसी र आनन्द दिन सक्नुहुन्छ र जस्तोसुकै मनमुटावलाई पनि सजिलै पार गर्न सक्नुहुन्छ । कोही-कोही मानिसहरू भन्छन् कि परिवारका लागि खाना पकाउनु र पैसा कमाउनु नै उनीहरूलाई प्रेम गर्नु हो । तर यदि तपाईंले मुख खोलेर वा स्पष्ट रूपमा व्यक्त गर्नुभएन भने, तपाईंको प्रेम उनीहरूले पूर्ण रूपमा बुझ्न सक्दैनन् ।

अमेरिकी मनोवैज्ञानिक ड्यारिल बेम(Daryl Bem)ले ‘आत्म-प्रत्यक्षीकरण सिद्धान्त(Self-perception Theory)’ प्रतिपादन गरेका छन् । यो सिद्धान्तअनुसार, मानिसहरूले आफ्नै व्यवहारलाई अवलोकन गरेर आफ्नो मनस्थिति विकास गर्छन् । उदाहरणका लागि, प्रेम छ र त हामी कसैका लागि केही गर्छौं । तर कहिलेकहीँ यसको विपरीत, ‘म तिमीलाई प्रेम गर्छु’ भन्दा वा प्रियजनका लागि फूलहरू किन्दा, हामी आफैँले आफ्नो प्रेमको गहिराइ बुझ्न सक्छौं । अर्को शब्दमा भन्नुपर्दा, यदि तपाईंले दयालु शब्द र व्यवहारद्वारा प्रेम व्यक्त गर्नुभयो भने, तपाईंको मनमा अरूप्रति अझ बढी सकारात्मक भावना उत्पन्न हुन्छ र उनीहरूप्रतिको स्नेह अझ गाढा हुन्छ । त्यसैले प्रेम व्यक्त नगर्ने परिवारहरूको तुलनामा मन खोलेर प्रेम व्यक्त गर्ने परिवारहरू अझ बढी खुसी र एकताबद्ध हुन्छन् ।

प्रेम सही तरिकाले व्यक्त गर्नुपर्छ

प्रेमबाट उत्पन्न भएको हो भन्दैमा सबै कार्यहरू सही हुन्छन् भन्ने हुँदैन । अर्को व्यक्तिको भलो चाहने मनसायले वा प्रेमपूर्वक गरिएको कार्यले पनि कहिलेकहीँ नकारात्मक परिणाम निम्त्याउन सक्छ । धेरै पैसा वा सामान मात्रै दिने, अति नै हुरुक्कै हुने, नराम्रो बानीलाई पनि तारिफ गर्ने वा वास्ता नगर्ने, कमजोरीहरू औंल्याएर जबरजस्ती बदल्न खोज्ने, र अनुशासनको बहानामा अरूसँग दाँज्ने वा दोष लगाउने—यी सबै माया देखाउने गलत तरिकाहरू हुन् । यस्तो तरिकाले प्रेम व्यक्त गर्नुभन्दा त नगर्नु नै बेस हुन्छ । कसैलाई प्रेम गर्ने भावना हुनु र त्यसलाई सही तारिकाले व्यक्त गर्नु दुई फरक कुराहरू हुन् ।

कोरियाको एउटा वैवाहिक संस्थाले ४१२ जना पुरुष र महिलाहरूमाझ एउटा सर्वेक्षण गरेको थियो, जसमा उनीहरूले कस्तो खालको प्रेमको अभिव्यक्ति सबैभन्दा बढी रुचाउँछन् भन्ने कुरा सोधिएको थियो । उक्त सर्वेक्षणअनुसार पहिलो नम्बरमा मायालु शब्दहरू थियो । वास्तवमा “म तिमीलाई माया गर्छु” भन्ने अभिव्यक्ति निकै साधारण भइसकेको कुरा मानिसहरूले भन्ने गर्छन्, तर सुन्ने व्यक्तिको मनमा भने यसले गहिरो छाप छोड्छ । प्रेम व्यक्त गर्ने तरिका “म तिमीलाई प्रेम गर्छु” भन्नु मात्र होइन । “आमाले तिमीलाई धेरै माया गर्ने भएकोले यो खाजा बनाइदिएको नि,” “मलाई आफ्नो समय दिएकोमा धन्यवाद,” “बुबाले तिमीलाई धेरै माया गर्नुहुन्छ,” “तिमी मेरो साथमा भएकोले म खुसी छु,” इत्यादि जस्ता बोलीहरू मायाकै स्वरूप हुन् । त्यसैले आफ्नो मिठो र मायालु आवाजद्वारा आफ्ना परिवारका सदस्यहरूलाई यस्तो कृतज्ञता, प्रशंसा, प्रोत्साहन वा क्षमायाचनाका कुराहरू भन्नुहोस् ।

प्रेम बोलीबाट त प्रकट हुन्छ नै, तर जब यसमा व्यवहार पनि जोडिन्छ तब मात्र यसको वास्तविक प्रभाव देखिन्छ । काम र व्यवहारमा प्रकट नगरी मुखले मात्रै भनिएको मायाले अर्को व्यक्तिको मनलाई कदापि छुन सक्दैन । विशेष गरी, शिशु र साना बालबालिकाहरूले बोलीभन्दा शारीरिक स्पर्शबाट प्रेमलाई अझ बलियो रूपमा महसुस गर्छन् । त्यसैले उनीहरूलाई अँगालो हाल्ने र जीउ सुमसुम्याउँदै उनीहरूसँगै खेल्ने समय निकाल्नु एकदमै आवश्यक हुन्छ । यस्तो कोमल स्पर्शले मानिसहरूलाई एक-अर्कासँग आत्मीय रूपमा जोडिएको महसुस गराउँछ र उनीहरूको तनाव कम गर्न मद्दत गर्छ । सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ, जब हामी सँगै समय बिताउँछौं, अर्को व्यक्तिको कुरा ध्यानपूर्वक सुन्छौं, उसको भावना बुझ्ने प्रयास गर्छौं, र उसलाई आवश्यक पर्दा स्वेच्छाले सहयोग गर्छौं, तब प्रेम अझ बलियो हुन्छ । जब मानिसहरू सँगै हाँसेर धेरै समय बिताउँछन्, तब पारस्परिक सन्तुष्टि बढ्छ र राम्रो सम्बन्ध लामो समयसम्म कायम रहन्छ ।

प्रेम निस्वार्थ र निरन्तर रूपमा व्यक्त गरिनुपर्छ । तर यदि बच्चाले कुनै प्रशंसनीय काम गर्दा, जीवनसाथीले आफ्नो विचारलाई समर्थन गर्दा, वा बुबा-आमाले केही दिँदा जस्ता आफू खुसी हुने अवस्थामा मात्र आफ्नो प्रेम व्यक्त गर्नुहुन्छ, अथवा आफ्नो मुडअनुसार व्यवहार परिवर्तन गर्नुहुन्छ भने, स्वस्थ सम्बन्ध कायम राख्न गाह्रो हुन्छ । परिस्थिति जस्तोसुकै भए पनि तपाईंले उनीहरूलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा देखाइरहनुपर्छ । तब मात्र उनीहरूले तपाईंको प्रेमप्रति पूर्ण भरोसा गर्न सक्छन् ।

प्रेमको बराबरी प्रेम नै हो !
राम्रोसँग सुनिदिनु, आदर गर्नु, सहयोगको हात बढाउनु,
अनि कोमलता र आत्मीयताका साथ प्रस्तुत हुनु नै प्रेम हो । ‘द स्टोरी अफ स्टफ,’ एनी लियोनार्ड(Annie Leonard)

अर्को व्यक्तिलाई मन पर्ने तरिकाले प्रेम गर्नु

विशेष गरी बालबालिकाहरूका लागि तयार पारिएको ‘गाई र सिंहको प्रेम’ भन्ने एउटा छोटो कथा छ । एउटा गाई र सिंहले एक-अर्कालाई प्रेम गरेर विवाह गरे । गाईले सिंहलाई दिनहुँ घाँस खान दियो, र सिंहले गाईलाई दिनहुँ सिकार गरेको मासु खान दियो । अन्ततः उनीहरूको सम्बन्ध टुट्यो । यो हाँस्यास्पद तर दुःखद कथा हाम्रो वास्तविक जीवनमा पनि प्रायः घट्ने गर्छ । धेरैजसो अवस्थामा, हामी आफूलाई मन पर्ने तरिकाले प्रेम व्यक्त गर्छौं, र यदि अर्को व्यक्तिले त्यसको कदर गरेन वा प्रभावित भएन भने, निराश हुन्छौं ।

प्रेम व्यक्त गर्ने कुनै निश्चित नियम हुँदैन । त्यसैले प्रत्येक व्यक्तिको प्रेम व्यक्त गर्ने तरिका फरक हुन्छ । धेरैलाई मन पर्ने र चित्त बुझ्ने प्रेम गर्ने शैलीले पनि कसै-कसैको मन नछुन सक्छ, र एउटै तरिकाको प्रेमलाई पनि मान्छेपिच्छे फरक-फरक रूपमा लिइन्छ । अधिकांश मानिसहरू आफूले जसरी प्रेम पाउन चाहन्छन्, त्यसरी नै अरूलाई प्रेम व्यक्त गर्छन् ।

गाई र सिंह दुवैले आफूलाई मन पर्ने र मूल्यवान् लाग्ने कुरा एक-अर्कालाई दिए, तर विडम्बनाको कुरा उनीहरूले एक-अर्काको चित्त दुखाए । ठ्याक्कै त्यसरी नै, यदि तपाईंले मनैदेखि प्रेम गरेर चालेको कदमले पनि अगाडिको व्यक्तिलाई खुसी दिलाउँदैन भने, त्यो प्रेम गर्ने सही तरिका कत्ति पनि होइन । जब अर्को व्यक्तिले आफू कति प्रिय छु भनी महसुस गर्छ, तब मात्र त्यो प्रेम व्यक्त गर्ने सही तरिका हुन्छ । “मैले यो सब तिम्रै माया लागेर त गरेको नि” भन्दै आफ्नै तरिकामा ढिपी कस्नु वा समयसँगै उनीहरू मेरो बानीमा भिज्नेछन् भनेर आशा राख्नु बेकार हो । त्यसैले उनीहरू कहिले खुसी हुन्छन् भन्ने कुरा बुझ्नु आवश्यक छ । सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ, आफ्नो मापदण्डलाई एकछिन पछि राखेर आफूलाई उनीहरूको स्थानमा राख्नु हो, र उनीहरूलाई मन पर्ने तरिकाले प्रेम व्यक्त गर्नु हो ।

अर्को व्यक्तिले चाहेको तरिकाले प्रेम व्यक्त गर्नु राम्रो त हो । तर आफ्नो शैलीलाई चटक्कै बिर्सेर उसले भनेकै तरिकाले प्रेम गर्न दबाब दिनुचाँहि गलत हो । प्रेम पाउनका लागि मात्र दिइने प्रेम बिस्तारै हराउँदैजान्छ । प्रेमसम्बन्धी फरक-फरक अनुभवका आधारमा प्रत्येक व्यक्तिको प्रेमको धारणा र त्यसलाई व्यक्त गर्ने तरिका भिन्न हुन्छ । उदाहरणका लागि, कतिपयलाई “म तिमीलाई माया गर्छु” भन्न गाह्रो लाग्न सक्छ भने, कतिपयलाई अरूप्रति विचारशील हुने आदत नहुन सक्छ । त्यसैले फरक-फरक वातावरणमा हुर्कने क्रममा प्रत्येक व्यक्तिलाई आदत परेका प्रेम व्यक्त गर्ने तरिकाहरू रातारात परिवर्तन हुन सक्दैनन् भन्ने कुरा बुझेर उनीहरूको प्रेम व्यक्त गर्ने तरिकालाई स्वीकार गर्नुपर्छ ।

यदि कसैलाई हामीले प्रेम व्यक्त गरेको तरिका मन परिरहेको छैन भने, त्यो व्यक्तिलाई हामीले अझै पनि चिन्न र बुझ्न सकेका छैनौं भन्ने कुरा बुझ्न सकिन्छ । हामीले जे भन्छौं वा गर्छौं, त्यसमा अर्को व्यक्तिको प्रतिक्रिया कस्तो छ भनी नियाल्ने र उनीहरूले सकारात्मक रूपमा स्वीकार गर्ने कुराहरू अझ बढी गर्ने प्रयास गर्नुपर्छ । यदि यति गर्दा पनि उनीहरूलाई प्रेम दर्शाउने सही तरिका ठम्याउन सकिएन भने “तिमीलाई के गर्दा मबाट बढी प्रेम पाएको महसुस हुन्छ ?” भनेर सीधै प्रश्न गर्न पनि सकिन्छ । आफू र आफ्ना प्रियजन दुवैको मन सन्तोष हुने साझा बाटो पहिल्याउनु र आफूलाई त्यही साँचोमा ढाल्नु नै प्रेम निभाउने सुन्दर तरिका हो ।

जर्मनीका प्रसिद्ध सामाजिक मनोवैज्ञानिक एरिच फ्रोम(Erich Fromm)ले “प्रेम कुनै भावना होइन, तर एउटा कार्य हो” भनेका छन् । अमेरिकी मनोवैज्ञानिक जर्ज वासिङ्टन क्रेन(George W. Crane)ले पनि यस्तै धारणा प्रस्तुत गर्दै “प्रेमलाई व्यक्त र कार्यान्वयन गरेर हुर्काइन्छ” भनेका छन् । प्रेमचाहिँ एउटा फूलजस्तै हो, जसलाई फुल्न धेरै हेरचाह चाहिन्छ । प्रयासविना केही पनि सम्भव हुँदैन । यो कुरा प्रेमको सन्दर्भमा पनि उस्तै हो । यदि परिवारभित्र प्रेमलाई सही तरिकाले व्यक्त गरियो भने, जीवनका साना-ठूला समस्याहरू आफै समाधान हुँदैजान्छन् ।

समयले कसैलाई पर्खदैँन । कुनै दिन यस्तो क्षण पनि आउन सक्छ, जब हामीले चाहेर पनि प्रेम व्यक्त गर्न सक्नेछैनौं । त्यसैले आफ्नो प्रेम व्यक्त गर्ने तरिका उपयुक्त छ कि छैन भनेर एक पटक विचार गरौं, र आफ्नो परिवारप्रति निस्वार्थ र निष्कपट मनद्वारा प्रेम व्यक्त गरौं । प्रेम एउटा यस्तो मुहान हो, जुन जति दिए पनि कहिल्यै सुक्दैन । प्रेमसम्बन्धी हामीले याद गर्नैपर्ने अर्को एउटा कुरा छ । त्यो नै प्रेम दर्शाउनका लागि कुनै खास दिन वा तरिका चाहिन्छ भन्ने हुँदैन । जब हामी आफ्नो दैनिक जीवनमै प्रेम मिसाउन थाल्छौं, तब हरेक दिन आफैमा एउटा विशेष दिन बन्नेछ ।

प्रेमलाई व्यक्त गरेमा त्यसलाई प्रेम भन्न सकिन्छ

36:39
0:00 36:39

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।