व्यक्तित्व फरक छ ? कुनै समस्या छैन !

मानिसको स्वभाव जन्मैदेखि लिएर आएको प्रवृत्ती र वरपरको वातावरणले निर्माण हुन्छ । त्यसैले स्वभाव नमिल्दा एक-अर्कालाई बदल्न खोज्नुभन्दा आफ्नो कुराकानी गर्ने तरिका बदल्नु नै उपयुक्त हुन्छ ।

31,096 भ्यु
लेख सुन्नुहोस् 33:53

“यसले कसको स्वभाव पाएकी हो ?” “म आफ्नो सहकर्मीलाई बुझ्नै सक्दिनँ ।” “ऊ त अर्कै ग्रहबाट आएको मानिस हो ।” “हाम्रो व्यक्तित्व अत्यन्त फरक भएकाले हामीले छुट्टिने निर्णय गऱ्यौं ।” …

मानिसहरूबीचको सम्बन्ध बिगार्ने सबैभन्दा सामान्य र प्रमुख कारण व्यक्तित्वको भिन्नता हो । केही विद्यार्थीहरूलाई विद्यालयमा अरू विद्यार्थीहरूसँग सम्बन्ध गाँस्न गाह्रो हुन्छ । केही मानिसहरू आफ्नो कामका कारण होइन, सँगै काम गर्ने मानिसहरूका कारण जागिर छोड्ने विचार गर्छन् । केही मानिसहरू पारिवारिक कलहबाट पीडित हुन्छन् । यस्ता धेरै मानिसहरूले यसको दोष आफ्नै वा अरूको व्यक्तित्वलाई दिने गर्छन् ।

मानिसले अरूसँगको सम्बन्धबाटै सुख-दुःख, हाँसो रोदन जस्ता भावहरूको अनुभव गर्छ । यहाँसम्म कि आफू आबद्ध रहेको समूह कत्तिको राम्रो छ भन्ने कुरा पनि त्यहाँका मानिसहरूको बानीव्यहोरा हेरेरै थाहा हुन्छ । हामी कोही मानिससँग नजिकिने वा टाढिने कुरा पनि उसको स्वभावमै भर पर्छ । त्यसैले, कोहीसँग लामो र अर्थपूर्ण सम्बन्ध राख्नु छ भने हामी उसको स्वभावलाई निकै महत्त्व दिन्छौं । कहिलेकहीँ कसैको सोच र व्यवहार आफ्नोभन्दा बिल्कुलै फरक छ भने, उसलाई अनौठो मानिस ठानेर हामी सम्बन्ध नै तोडिदिन्छौं ।

मनोरञ्जनका लागि हेरिने राशि र ब्लड ग्रुपका कुरादेखि लिएर अचेल निकै फेसन बनेको ‘MBTI’1 सम्म, मानिसको बानीव्यहोरा जाँच्ने उपाय अनेकौँ छन् । धेरै पहिलेदेखि मानिसले आफ्नो र अरूको स्वभाव केलाउन जुन चासो देखाउँदैआएका छन्, त्यो वास्तवमा आपसी मतभेद बुझेर सरसंगत राम्रो बनाउने चाहना नै हो । जिन्दगीको एउटा ठूलो पाटो मानिने सरसंगत र व्यवहारमा मानिसको स्वभावले नै मुख्य भूमिका खेल्ने हुनाले, हाम्रो जीवनमा यसको ठूलो प्रभाव रहँदैआएको छ ।

१. स्विट्जरल्यान्डका मनोविश्लेषक कार्ल जुङको मनोवैज्ञानिक प्रकारको सिद्धान्तमा आधारित भई मायर्स र ब्रिग्जले तयार पारेको एउटा आत्म-मूल्याङ्कन गर्ने व्यक्तित्व परीक्षण विधि ।

व्यक्तित्व कसरी निर्माण हुन्छ ?

व्यक्तित्व भन्नाले “कुनै पनि व्यक्तिको आफ्नै मौलिक विशेषता वा आचरण” भन्ने बुझिन्छ । यो हाम्रो सोच, भावना र काम गर्ने शैलीलाई तय गर्ने पहिचानको मुख्य खम्बा हो । हाम्रा मूल्यमान्यता, बोल्ने ढङ्ग, समस्यालाई हेर्ने र सुल्झाउने तरिका अनि सही-गलत छुट्याउने आधारहरू सबै यही स्वभावकै उपज हुन् ।

केही बच्चाहरू एकपटक रुन थालेपछि रोकिँदैनन्, तर केही बच्चाहरूलाई भने सजिलै फकाउन सकिन्छ । कतिपय बच्चाहरू त हत्तपत्त रुँदै रुँदैनन् । एउटै नवजात शिशु कक्षमा राखे पनि बच्चाहरूको स्वभाव आ-आफ्नै खालको हुन्छ । किनभने, हरेक बच्चाको ‘जन्मजात प्रवृत्ति’ फरक-फरक हुन्छ । यो भनेको वंशानुगत रूपमै लिएर आउने स्वभाव हो, जसले बाहिरी वातावरणअनुसार बच्चाले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने कुरा स्वतः तय गर्छ । यही जन्मजात स्वभावमा पछि आमा-बाबुको हुर्काउने तरिका, व्यवहार, वरपरको वातावरण र अनुभवहरू मिसिँदै गएर मानिसको ‘व्यक्तित्व’ बन्छ । छोटकरीमा भन्नुपर्दा, व्यक्तित्व भनेको जन्मजात लिएर आएको स्वभावमा जीवनका भोगाइहरू थपिँदै जाँदा बन्ने एउटा रूप हो ।

व्यक्तित्व निर्माणमा जन्मजात स्वभावको बढी प्रभाव हुन्छ कि वरपरको वातावरणको भन्ने विषयमा वैज्ञानिकहरूबीचमै बढी मतभेद छ । वास्तवमा, यत्तिका धेरै अनुसन्धानहरू भइसक्दा पनि आजका दिनसम्म व्यक्तित्वको परिभाषा र यसको सिद्धान्तलाई लिएर कोही पनि एउटै कुरामा सहमत हुन सकेका छैनन् । मानिस भनेको वातावरणअनुसार चल्नका लागि आफ्नो मनभित्रको द्वन्द्व र सम्झौतासँग निरन्तर जुधिरहने प्राणी हो, त्यसैले उसको बानीव्यहोराको रूप र बनोट पनि निकै जेलिएको र जटिल हुन्छ । “खोलाको गहिराइ नाप्न सकिन्छ तर मानिसको मनको गहिराइ नाप्न सकिँदैन” भनेझैँ, मानिसको मनभित्र के चल्दैछ भनेर हेर्न नसकिने हुनाले कसैको स्वभावलाई पनि पुरै बुझ्न वा ‘यस्तै हो’ भनेर किटान गर्न सकिँदैन ।

आधुनिक मनोविज्ञानका अनुसार मानिस हुर्कँदै गएर १८ वर्ष पुगेपछि उसको बानीव्यहोरा लगभग स्थायी बन्छ र खासै बद्लिँदैन । पहिले आगो जस्तो जङ्गिने मानिस पनि उमेर ढल्कँदै जाँदा शान्त र शीलस्वभावको भएको, दुखजिलो काम गर्दागर्दै मिजास कडा भएको, वा खेलकुदमा लागेपछि जोसिलो बनेको जस्ता उदाहरणहरू धेरै सुनिन्छन् । यसले लामो समयको अन्तरालमा मानिसको स्वभाव अलिअलि फेरिन सक्छ भन्ने त देखाउँछ, तर पनि एकचोटि बसेको बानी र कसिलो भएको स्वभाव हत्तपत्त बद्लिँदैन भन्ने कुरामा सबै विज्ञहरू ढुक्क छन् ।

व्यक्तित्व नमिल्नु नै झगडाको मुख्य जड हो र ?

मानिसको अनुहार र जीउडाल फरक भएझैँ स्वभाव पनि फरक-फरक हुन्छ । एउटै वंशानुगत गुण लिएर एउटै परिवेशमा हुर्किएका जुम्ल्याहा बच्चाहरूको स्वभाव पनि हुवहु मिल्दैन । यो संसारमा भएका ७.८ अर्ब मानिसकै आ-आफ्नै खालका स्वभाव छन् । त्यसैले आफ्नो भन्नु पर्ने परिवारका सदस्यहरू हुन् वा जीवनमा भेटिने जोकोही, उनीहरूसँग ‘स्वभाव नमिल्ने’ कुरा त सामान्य हो, जुन हामीले सधैँ भोग्दैआएका छौं ।

तर अचम्मको कुरा, कतिपय मानिसहरूको स्वभाव आकाश-पातालको फरक भए पनि उनीहरूको मेलमिलाप गज्जबको हुन्छ । अनि कोही मानिसहरूको स्वभाव दुरुस्तै मिले पनि दिनदिनै झगडा गरिरहन्छन् । स्वभाव धेरै मिल्दा एउटा बेफाइदा चाहिँ के हुन्छ भने, आफूभित्र रहेको आफूलाई नै मन नपर्ने नराम्रो बानी अर्को मानिसमा देखिन थाल्छ । आखिरमा, ‘स्वभाव नमिलेर कचकच भयो’ भन्नु त बहाना मात्रै हो । कुरालाई अलि भित्रैसम्म बुझ्ने हो भने, मनमुटावको असली कारण बानीव्यहोरा नभएर कुरा अर्कै हो भन्ने कुरा बुझ्न सकिन्छ ।

साथीभाइबाट केही गल्ती वा कमजोरी हुँदा “यसको स्वभाव पनि कस्तो अचम्मको छ ! वा तिमीले यसरी गर्नुपर्ने होइन र ?” भन्दै उसको स्वभावमाथि औँला उठाउनु गलत हो । स्वभाव भनेको मानिसले आफ्नो रहरले बनाउने कुरा होइन, यो त अन्जानमै व्यवहारमा देखिने भएकोले कतिपय अवस्थामा मानिसले आफैँलाई पनि काबुमा राख्न सक्दैन । यसरी कसैको स्वभावलाई नै तोकेर खोट लगाउँदा सुन्ने मानिसको चित्त दुख्छ र उसले उल्टै ढिपी गर्न थाल्छ ।

अर्को कारण, कुरा नमिल्दा विचार फरक हुनुलाई नै गलत सम्झिएर गनगन गर्ने र रिस देखाउने गरिन्छ । पारिवारिक सम्बन्धमा भावनाको महत्त्वबारे अध्ययन गर्ने विज्ञ डा. जोन गाटम्यानका अनुसार दम्पतीहरूबीच हुने झगडाको मुख्य जड स्वभाव नमिल्नु होइन, तर कुराकानी गर्ने तरिका गलत हुनु हो । राम्रोसँग कुराकानी नहुँदा एक-अर्कालाई बुझ्ने बाटो साँघुरिन्छ, जसले गर्दा आपसी भिन्नतालाई स्वीकार्न सकिँदैन र सम्बन्ध नै टुट्ने अवस्था हुन्छ ।

अन्तिम कारणचाहिँ, “म त पहिलेदेखि नै यस्तै हुँ” भन्दै आफू चाहिँ कत्ति पनि बद्लिन नखोज्ने तर अर्को व्यक्तिले मात्र आफ्नो तालमा ताल मिलाइदियोस् भन्ने स्वार्थी सोच राख्नु हो । साथीकै भलाइका लागि हो भन्ठानेर उसको स्वभाव सुधार्न खोज्नु, यदि माया गर्छ भने मैलेजस्तै गर्नुपर्छ भन्ने सोच्नु, वा आफ्नो बानी नै यस्तै छ भन्दै साथीलाई मन नपर्ने काम गरिरहनु जस्ता गतिविधिहरूले झगडा कहिल्यै साम्य बनाउँदैन ।

परिवारका सदस्यहरूसँग ठाकठुक पर्दा, मनमुटावको दोष एक-अर्काको स्वभावलाई दिनुअघि आफ्नो बोल्ने र व्यवहार गर्ने तरिका कस्तो छ भनेर एकचोटि घोत्लिएर सोच्नुपर्छ । आफूभन्दा फरक स्वभाव भएको मानिसप्रति हामीले कुनै पूर्वाग्रह त राखेका छैनौं, वा हामी आफैँ कसरी बोल्छौं र कस्तो व्यवहार गर्छौं भनी नियालेर हेर्ने हो भने समस्या र त्यसको समाधान दुवै छर्लङ्ग हुन्छ ।

व्यक्तित्व नमिल्दा पनि झगडा हुन नदिने उपाय

व्यक्तित्व भनेको हरेक मानिसको आफ्नै मौलिक विशेषता हो । त्यसैले सबैको व्यक्तित्व फरक हुने भएकोले यसलाई कसैको व्यक्तिगत दृष्टिकोणका आधारमा राम्रो, नराम्रो वा अनौठो भनेर मूल्याङ्कन गर्न मिल्दैन । त्यसै गरी हरेक व्यक्तिको व्यक्तित्वमा सबल र दुर्बल पक्ष दुवै हुन्छन् । संसारमा राम्रो मात्रै वा नराम्रो मात्रै भएको स्वभाव कसैको पनि हुँदैन । हेर्ने मानिसको नजर कस्तो छ र निर्णयको नतिजा कस्तो आयो भन्ने कुराले कहिलेकहीँ राम्रो बानी पनि नराम्रो बन्न पुग्छ र कहिलेकहीँ नराम्रो बानी पनि राम्रो साबित भइदिन्छ । त्यसैले आपसमा मनमुटाव हुन नदिने हो भने सबैभन्दा पहिले अरूलाई हेर्ने आफ्नो नजरिया बदल्नुपर्छ र उसको भित्री राम्रो गुणलाई चिन्न सक्नुपर्छ ।

यदि कसैको व्यवहारले आफूलाई मर्का परेको छ भने, सुन्ने मानिसलाई ठेस नपुग्ने र चित्त नदुख्ने गरी सहजै स्विकार्ने तरिकाले आफ्नो मनको कुरा पोख्नुपर्छ । उदाहरणको लागि, तपाईंको जीवनसाथीले टुथपेस्टको ट्युब बीचबाट निचोरेको मन पर्दैन भने, “तिमी किन सधैँ बीचबाट निचोर्छौ ?” भनेर आलोचना वा रिस गर्नुको सट्टा, “बीचबाट निचोर्दा अरूलाई फेरि तलबाट निचोर्नुपर्ने भएकाले असहज हुन सक्छ । अबदेखि तलबाट निचोर्ने प्रयास गरे कसो होला ?” भनी आफ्नो रहर वा इच्छालाई मिठो भाषामा बिसाउनुपर्छ ।

कसैले आफूलाई असहज लागेको वा चित्त नबुझेको कुरा व्यक्त गर्दा, “त्यसमा के खराबी छ र ?” भनेर प्रतिवाद गर्नुहुँदैन, तर अन्तिमसम्म उसको कुरा राम्ररी सुनेर उसको भावनालाई बुझिदिनुपर्छ । आफ्ना लागि सामान्य लागेको कुरा पनि अर्को व्यक्तिका लागि ठूलो समस्या हुन सक्छ । यदि उसको कुरा कत्ति पनि बुझ्न सकिएन भने, “उनी मभन्दा फरक तरिकाले सोच्ने र बोल्ने मानिस हुन्” भन्ने कुरालाई सहजै स्विकार्नु नै राम्रो हुन्छ । वास्तवमा, हामी अर्को मानिसको ठाउँमा नभएकाले उसलाई सतप्रतिशत बुझ्न त गाह्रै हुन्छ । त्यसैले कहिलेकहीँ एउटै कुरामा सहमति जुटाउन मरिहत्ते गर्नुभन्दा, समस्या कसरी सुल्झाउने भन्नेतिर लाग्दा सजिलै कुरा मिलाउन सकिन्छ । उदाहरणका लागि, मञ्जन कहाँबाट थिचेर निकाल्ने भन्ने कुरामा दिनदिनै कचकच गर्नुभन्दा, दुइटा मञ्जन किनेर आ-आफ्नो छुट्टाछुट्टै प्रयोग गर्नु धेरै बुद्धिमानी हुन्छ ।

राम्रो मेलमिलाप भएका परिवारका सदस्यहरूको स्वभाव ठ्याक्कै मिलेर मात्र त्यसो भएको होइन । तर उनीहरूले एक-अर्काको विचार गर्दै मीठो बोलीवचन गर्ने भएकाले झगडाको अवस्था नआएको हो । कुराकानी राम्रोसँग भयो भने व्यक्तित्वको भिन्नता कहिल्यै ठूलो समस्या बन्दैन । त्यसैले अरूलाई आदर गर्दै, उनीहरूलाई सहज लाग्ने शैली र व्यवहारमा बोल्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो । त्यसका लागि आफ्नो स्वभावअनुसार जे मुखमा आयो त्यही बोल्ने वा जस्तो मन लाग्यो त्यस्तै व्यवहार गर्ने गर्नुहुँदैन, तर ‘परिस्थितिअनुसार’ आफूलाई सम्हालेर प्रस्तुत हुन सक्नुपर्छ । बाहिरी कुराहरूलाई बुझ्ने, मनका भावनाहरू महसुस गर्ने र सोच्ने प्रक्रियाप्रति आफैँ सजग भई आफ्नो व्यवहारलाई नियन्त्रण गर्न सक्ने परिपक्वता र लचकता बढाउने अभ्यास हामीलाई चाहिन्छ । आफ्नो वा अरूको स्वभावलाई बदल्न नसकिए पनि बोल्ने ढङ्ग परिवर्तन गरेर मनमुटाव कम गर्ने कोसिस गरियो भने, आपसी सम्बन्धलाई जति पनि सुधार्न र राम्रो बनाउन सकिन्छ ।

हार्भर्ड विश्वविद्यालयको एउटा अनुसन्धानअनुसार, मानिसको सुखमय जीवनको सबैभन्दा ठूलो कडी वा आधार नै ‘आपसी सम्बन्ध’ हो । यसको अर्थ जीवनको आनन्द र खुशी अरूसँग कति राम्रोसँग मिलेर बस्न सकिन्छ भन्ने कुरामा निर्भर हुन्छ । मनोविद् अल्फ्रेड एड्लरले “दुनियाँका सबै पीर-मर्का आपसी सम्बन्धकै उपज हुन्” भनेझैँ, मानिससँगको सरसंगत र व्यवहार सुधार्ने कुरा त जीवनभर कहिल्यै नसकिने एउटा परीक्षा जस्तै हो ।

वास्तवमा अरूलाई बुझ्नु र स्वीकार गर्नु त्यति सजिलो काम होइन । तर यो केवल अरूप्रति विचारशील हुने कार्यमा मात्र सीमित रहँदैन, यसले उल्टै आफूलाई नै ठूलो फाइदा वा प्रतिफल दिन्छ । आफूभन्दा फरक स्वभावलाई बुझ्ने र स्वीकार्ने क्रममा मानिसमा नयाँ संसारलाई हेर्ने एउटा फराकिलो दृष्टिकोण पलाउँछ । साथै, यसले गर्दा मानिसभित्र बुद्धिमानी, धैर्यता, आत्मसंयम र सदाचार जस्ता राम्रा मानवीय गुणहरूको विकास हुन पुग्छ ।

गर्भबाटै लिएर आएको स्वभाव र हुर्कंदैजाँदा बनेको बानीव्यहोरामा जब अरूसँग सरसंगत गर्ने र बोल्ने ढङ्ग सुधार्ने कोसिस थपिन्छ, तब मात्र मानिसमा एउटा असल चरित्र वा संस्कारको विकास हुन्छ । मानिसको सुरुको स्वभाव वा बानी कस्तो थियो भन्ने कुराले खासै फरक पार्दैन । यसरी धेरै मेहेनत गरेर कमाएको असल चरित्र नै जीवनलाई सुख र खुसीको बाटोतिर डोर्‍याउने सच्चा सारथी हो ।

व्यक्तित्व फरक छ ? कुनै समस्या छैन !

33:53
0:00 33:53

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।