स-साना र सामान्य कुराहरूले जीवनमा पुतली प्रभाव ल्याउन सक्छन् !
तपाईंले आफ्नो दैनिक जीवनलाई कसरी व्यवस्थापन गर्नुहुन्छ भन्ने कुरामा तपाईंको खुसी निर्भर हुन्छ ।

“एउटा सानो किलाको कमीले नाल गुम्यो, नाल नहुँदा घोडा गुम्यो, घोडा नहुँदा योद्धा गुम्यो, योद्धा नहुँदा युद्ध हाऱ्यो । अनि युद्ध हारेकै कारण सिङ्गो राज्य गुम्यो, र यो सबै विनाश त्यो एउटै साङ्गो किलाको अभावले भयो ।”
माथिको अङ्ग्रेजी लोकगीतले एउटा सानो किलाका कारण पूरै राज्य कसरी गुम्यो भन्ने कुरा देखाएको छ । सामान्यजस्तो देखिने एउटा किलाले कसरी एउटा विशाल राज्यलाई बर्बाद पार्न सक्छ र ? यो उदाहरण केही हदसम्म अतिरञ्जित लागे पनि, यसले स-साना र मामुली कुराहरूले कसरी शृङ्खलाबद्ध रूपमा पछि गएर विशाल रूप लिन सक्छ भन्ने कुरा प्रष्ट पारेको छ ।
मानिसहरू सामान्यतया स-साना र सामान्य कुराहरूलाई हलुका रूपमा लिने गर्छन् । ठूलो नाफा वा नोक्सान हुने कुरा वा जीवनमा ठूलो परिवर्तन ल्याउने विषयलाई मानिसहरूले गम्भीरतापूर्वक लिन्छन्, तर दैनिक जीवनमा स-साना कुरा आउँदा, तिनीहरूले खासै ध्यान दिँदैनन् । वास्तवमा भन्नुपर्दा अधिकांश ठूला र महत्त्वपूर्ण कुराहरू स-साना कुराबाटै सुरु हुन्छन् । विशाल समुद्र एउटा सानो खोलाबाट सुरु हुन्छ, र बाक्लो जङ्गल पनि स-साना बीउहरूबाट नै सुरु हुन्छ नि, होइन र ? त्यसैले कुनै कुरा जतिसुकै सानो भए पनि त्यसलाई तुच्छ ठान्नुहुँदैन ।
तपाईंले आफ्नो दैनिक जीवन कसरी बिताउनुहुन्छ भन्ने आधारमा तपाईंको जीवन धेरै फरक हुन सक्छ । उस्तै जीवन जिउने मानिसहरूमध्ये पनि कोही खुसी हुन्छन् भने कोही दुःखी हुन्छन् । यो स-साना भिन्नताहरूको परिणाम हो । यदि तपाईंलाई खुसी कुनै ठूलो वा भव्य कुरामा होइन, तर सामान्य देखिने स-साना कुराहरूमा निर्भर हुन्छ भन्ने कुरा थाहा छ भने, तपाईंले त्यही सानो कुराबाट जीवनको अन्तिम लक्ष्य अर्थात् खुसी प्राप्त गर्न सक्नुहुन्छ ।
हलुका र सामान्य कुराकानीले परिवारको मेलमिलाप निर्धारण गर्छ
एक जना बालक आफ्नो साथीसँग उसको घरमा गयो । त्यहाँ पुग्नेबित्तिकै, साथीले विद्यालयमा भएका सबै कुराहरू आफ्नी आमालाई बेलिबिस्तार लगायो, र आमाले पनि साथीले भनेका हरेक स-साना कुराहरू ध्यानपूर्वक सुनिन् । त्यो बालकले भने आफ्नी आमालाई भोलिपल्ट विद्यालयमा के लैजानुपर्ने वा कुन किताब किन्नुपर्ने हो जस्ता आवश्यक कुराहरू मात्र सुनाउने गर्थ्यो, तर उसको साथीले भने आफ्नी आमासँग निकै रमाइलो कुराकानी गरिरहेको थियो । त्यो देखेर उसलाई साथीको घर निकै खुसी र न्यानो लाग्यो ।
साथीको घर खुसी देखिनुको कारण साथी र उसकी आमाबीच भएको त्यही सामान्य कुराकानी थियो । यस्ता स-साना कुराकानीले पारिवारिक मेलमिलापमा ठूलो प्रभाव पार्छ । यदि घरमा परिवारका सदस्यहरूले आवश्यक कुरा मात्र गर्ने हो भने, घरको वातावरण कति खल्लो र असहज हुन्छ होला ? दिनभरि अप्रिय कुरा भोग्नुपरेको भए पनि घर फर्केर परिवारसँग सहज रूपमा हाँस्दै रमाइलो कुराकानी गर्दा मन निकै हलुका हुन्छ । यो नै हलुका र सामान्य कुराकानीको शक्ति हो, जसलाई कहिल्यै बेवास्ता गर्न सकिँदैन ।

परिवारका सदस्यहरूबीच हरेक स-साना कुराहरूमा गरिने कुराकानी कहिल्यै निरर्थक हुँदैन । कुराकानीमा कुनै विशेष विषयवस्तु नभएजस्तो देखिए पनि परिवारसँग कुरा गर्ने क्रममा अनेपक्षित रूपमा सन्तानको चिन्ता र जीवनसाथीको मनभित्रका भावना बुझ्न सकिन्छ । त्यति मात्र होइन, गम्भीर विषयमा कुरा गर्ने वातावरण पनि स्वाभाविक रूपमा तयार हुन्छ । जुन परिवारले सानातिना विषयहरूमा पनि विनाहिचकिचाहट कुरा गर्ने गर्छन्, त्यो परिवारले ठूलो सङ्कट आउँदा पनि गम्भीर छलफलद्वारा त्यसलाई सजिलै पार गर्न सक्छन् । कठिन परिस्थितिको सामना गर्दा मानिसहरूमा आफ्नो भावना नियन्त्रण गर्ने क्षमता कमजोर हुन्छ । तर परिवारसँग नियमित रूपमा कुराकानी गर्ने आदत बसेको छ भने, यसले समस्या समाधान गर्न ठूलो सहयोग पुऱ्याउँछ ।
कतिपय मानिसहरू आफू कम बोल्ने स्वभावका भएकाले परिवारसँग के कुरा गर्ने भन्ने थाहा नभएको बताउँछन् । तर कुनै ठूलो वा महत्त्वपूर्ण विषय नै हुनुपर्छ भन्ने छैन । समाचारका लेखहरू, मौसम, दिउँसोको खानामा के खाइयो जस्ता सामान्य विषयहरूबाट पनि कुराकानी सुरु गर्न सकिन्छ । यदि साँच्चै कुरा गर्ने कुनै विषय छैन भने, विभिन्न प्रश्नहरू सोधेर साझा रुचिका विषयहरू पत्ता लगाउन सकिन्छ, वा अर्को व्यक्तिको रुचिको विषयमा कुरा गर्न सकिन्छ । यसरी कुराकानी अझ समृद्ध र रमाइलो बन्छ ।
तर हलुका र सामान्य कुराकानी भन्दैमा जे मन लाग्यो त्यही बोल्न पाइन्छ भन्ने होइन । अर्को व्यक्तिलाई रुचि नभएको विषय, गनगन गर्ने कुरा, अप्ठ्यारोमा पार्ने प्रश्न, लापरवाहीपूर्ण जवाफ, र प्रश्न सोधेर पनि उत्तरलाई ध्यान दिएर नसुन्ने व्यवहार जस्ता कुराहरूबाट सधैँ बच्नुपर्छ ।
स-साना कुराहरूमा सन्तुष्ट हुँदा खुसीको सूचकाङ्क बढ्छ
जीवनमा विनाकारण कुनै ठूलो सौभाग्य वा अवसार अचानक आइपर्नु दुर्लभ कुरा हो । जब आफूले चाहेको विद्यालयमा भर्ना वा चाहेको कम्पनीमा जागिर पाइन्छ, तब त्यो क्षणमा ठूलो आनन्द र खुसी महसुस हुन्छ, तर त्यो सधैँभरि रहँदैन । मानिसहरूलाई आम्दानी बढेपछि खुसी पनि सोहीअनुसार बढ्छ जस्तो लाग्छ, तर जब आम्दानी एउटा निश्चित स्तरमा पुग्छ, तब आम्दानी बढे पनि खुसी बढ्दैन भनेर एउटा अनुसन्धानले देखाएको छ ।
बेन्जामिन फ्र्याङ्कलिन(Benjamin Franklin)ले “खुसीचाहिँ जीवनमा विरलै आउने ठूलो सौभाग्यभन्दा पनि हरेक दिन प्राप्त हुने स-साना खुसी र सुविधाहरूमा बढी निर्भर हुन्छ” भनेका छन् । त्यसैले दैनिक जीवनमा हुने स-साना र सामान्य कुराहरूमा पनि आनन्दित हुनु, सन्तुष्ट हुनु र कृतज्ञता व्यक्त गर्नु महत्त्वपूर्ण हुन्छ ।
स-साना कुरामा सन्तुष्ट हुने पत्नीले पति कामबाट घर फर्कँदा परिवारका लागि केही खानेकुरा किनेर ल्याए पनि खुसी हुँदै कृतज्ञता व्यक्त गर्छन्, तर सन्तुष्ट नहुने पत्नीले “कहिले राम्रो रेस्टुरेन्टमा गएर खाने होला ?” भन्दै गनगन गर्न थाल्छन् । त्यसै गरी सानो कुरामा सन्तुष्ट हुने मानिस आफ्नो सन्तानले बनाएको कागजको फूल देख्दासमेत प्रफुल्ल हुन्छन्, तर सन्तुष्ट नहुने मानिसले, “कागजको फूल बनाउने समय छ भने, त्यो समय बरु पढाइमा लगाए हुन्थ्यो नि !,” भन्दै उनीहरूलाई हप्काउँछन् ।

सन् २०१६ मा संयुक्त राज्य सङ्घले सार्वजनिक गरेको प्रतिवेदनअनुसार, संसारकै सबैभन्दा खुसी देश डेनमार्क थियो । डेनमार्कका नागरिकहरूको खुसीको रहस्य अनपेक्षित रूपमा एकदमै सरल छ । उनीहरू आफ्नो जीवनशैलीको रूपमा ‘ह्युग(hygge)’लाई अपनाउँछन् । ह्युग भनेको ‘आरामदायी र आत्मीय वातावरण’ हो, जसको अर्थ दैनिक जीवनमा न्यानो मन र स-साना खुसी महसुस गर्नु हो । यसअन्तर्गत ‘बेलुकीको खाना खाएपछि परिवारसँग आराम गर्नु,’ ‘मैनबत्ती बालेर राम्रो पुस्तक पढ्नु,’ ‘प्रिय भाइ वा बहिनीसँग टहल्नु,’ ‘मन पर्ने साथीसँग कफी पिउनु’ जस्ता गतिविधिहरू पर्दछन् । यस्ता स-साना कुराहरूमा सन्तुष्ट हुँदा खुसी अनुभव गर्ने अवसरहरू धेरै मिल्नेछन् र सम्पूर्ण जीवन नै अझ बढी हर्षित बन्नेछ ।
हामी सबै जना आफ्ना आँखा र कानलाई स-साना र सामान्य कुराहरूतर्फ फर्काऔं । त्यसो गर्दा हामीले निश्चय नै पहिले कहिल्यै नदेखेका बहुमूल्य रत्नजस्ता खुसीहरू भेट्टाउनेछौं ।
प्रायः अवस्थामा, पारिवारिक मनमुटाव स-साना समस्याहरूबाटै सुरु हुन्छ । यसको ठीक विपरीत, एउटा सानो कुरा नै परिवारमा मेलमिलाप बढाउने आशाको किरण बन्न सक्छ । यो पुतली प्रभावजस्तै हो । पुतली प्रभाव एउटा यस्तो परिकल्पना हो, जहाँ एउटा पुतलीको पखेटाको सानो फटफटाहटले पृथ्वीको अर्को छेउमा ठूलो आँधीबेहरी ल्याउन सक्छ । यसको अर्थ, एउटा सानो परिवर्तनले ठूलो प्रभाव पार्न सक्छ भन्ने हो ।
परिवारसँग कुराकानी गर्नु, परिवारका सदस्यलाई हेरेर मुस्कुराउनु, परिवारको फोन आउँदा नम्र आवाजमा जवाफ दिनु, सानो सहयोगका लागि पनि कृतज्ञता व्यक्त गर्नु, सानो उपहार दिनु– यी कुराहरू हेर्दा साना र सामान्य लाग्न सक्छन् । तर यस्तै स-साना प्रयासहरूले नै खुसीको सपनालाई साकार पार्छन् । यदि तपाईं खुसी जीवनको सपना देख्नुहुन्छ भने, पुतलीको पखेटाको फटफटाहटजस्तै स-साना कुराबाट एक-एक पाइला गर्दै सुरु गर्नुहोस् । त्यति गरे पुग्छ ।