गरिहेरेमा थाहा हुने कुरा

आन ब्यङ छान / सउल, कोरिया

13,861 भ्यु

म सानो छँदै बुबा-आमा बित्नुभएकोले मैले जीविका चलाउन पैसा कमाउनुपर्ने भयो । यसैले मेरो जीवन युद्धजस्तै र संसार युद्धभूमिजस्तै थियो । कसैले मलाई जोगाउन नसक्ने यस निर्दयी संसारमा पछि नपर्नको निम्ति मैले पसीना बगाएर काम गरें । ढिलो उमेरमा परिवार पनि बन्यो तैपनि मेरो जीवन भने जस्ताको तस्तै थियो ।

बजारमा सामान आपूर्तिको काम गर्ने क्रममा, मैले रातमा काम, दिनमा आराम गर्दै १० वर्ष बिताएँ । व्यस्त दैनिक जीवनले गर्दा आफ्ना बालबच्चासँग भेट्न पनि गाह्रो थियो । त्यसैले मेरो मन भुलाउने कुरा भनेको बजारका मानिसहरूसँगै भट्टीमा पसेर मद्यपान गर्नु थियो । सायद जीवन कठिन भएरै होला, हामी सबै जना गरम मिजासका थियौं । हाम्रो बोली र कार्य पनि रुखो थियो । तैपनि हामीहरू परिवारजत्तिकै नजिक थियौं । रातभरि काम गरेपछि बिहानपख वा बिदाको दिनमा हामीहरू एकसाथ भेला भएर हाँस्दै, गफगाफ गर्दै कामको तनावबाट मुक्त हुने गर्थ्यौं ।

कुनै समयदेखि मेरी पत्नी, बच्चाहरूलाई लिएर परमेश्वरको मण्डली जान थालिछिन् । मेरा छोरीहरूले मलाई मण्डली जान भन्दाखेरि मैले हात हल्लाउँदै “म जान्नँ ! स्वर्ग तिमीहरू नै जाओ” भनें । आफू ख्रीष्टियान विद्यालयमा पढेकोले सानोमा मलाई बाइबल र धर्मप्रति खूब चासो हुन्थ्यो, तर मलाई मद्यपान गर्न र अपशब्द बोल्न मन पर्ने भएकोले धार्मिक जीवन मलाई फाप्दैन भनेर म सोच्दथें ।

‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी, मेरो जीवनको परिवर्तन मोड बन्यो । वास्तवमा मैले प्रदर्शनीबाट खासै ठूलो अपेक्षा गरेको थिइनँ । मैले सानै उमेरमा आमा गुमाएकोले आमाको प्रेमचाहिँ अरूले मात्र महसुस गर्न सक्ने कुरा हो भन्ठान्थें । तर लेखहरू एक-एक गर्दै पढ्ने क्रममा मैले आफूलाई सम्हाल्न सकिनँ । मैले उहाँलाई बिर्सेको थिएँ, तर उहाँचाहिँ मलाई स्वाभाविक रूपले प्रेम गर्ने र चाहने व्यक्ति हुनुहुन्थ्यो । मेरी आमा मेरो हृदयमा गृहनगरजस्तै हुनुहुन्थ्यो । ५० वर्षको उमेरमा, म अरूको अगाडि डाँको छोडेर रुन सकिनँ । मैले गुप्तमा आँसु पुछें, अनि शौचालय गएर आमाको यादमा भक्कानिँदै रोएँ ।

‘म किन यसरी जिइरहेको छु ? साँच्चै मैले कहिल्यै पछाडि फर्केर हेरेको छैनँ । कम्तीमा पनि आफ्नो अमूल्य छोरी मलाई सुम्पनुभएकी सासूको खातिर नै भए पनि म यसरी जिउनुहुँदैन । अब म परिवर्तन हुनेछु । म परिवारप्रति अझ कर्तव्यनिष्ठ बन्नेछु ।’

मैले यस्तो दृढ सङ्कल्प लिएँ, र मेरी पत्नी र बच्चाहरूले इच्छा गरेअनुरूप मैले परमेश्वरको सन्तान बन्ने चिन्ह, बप्तिस्मा लिएँ । अनि महिनामा एक चोटि परिवारसँग हात समातेर मण्डली जाने प्रतिज्ञा पनि गरें । योचाहिँ असल पति र असल बुबा बन्नका लागि मैले चालेको पहिलो पाइला थियो, तर मैले त्यो प्रतिज्ञा राम्ररी पूरा गर्न सकिनँ । मण्डली प्रमुखको अनुरोधमा बाइबल अध्ययन गर्दा बल्ल मैले परमेश्वरको इच्छा थाहा पाएँ । त्यसपछि मैले महिनामा एक चोटि मात्र आराधना गर्ने त कुरै भएन । सियोनमा महसुस गरेको परमेश्वरको वचन मैले पहिला सिकेका कुराहरूभन्दा पूर्ण रूपमा फरक थियो । त्यो असल शिक्षा मात्र नभएर वास्तवमै अस्तित्वमा हुनुभएका पिता परमेश्वर र माता परमेश्वरले स्थापना गर्नुभएको व्यवस्था थियो, जुन मैले पालन गर्नैपर्थ्यो ।

पूर्ण रूपले शबाथ-दिनको आराधना गर्दा मैले परमेश्वरको सन्तान भएअनुरूप भक्तिपूर्ण र नम्र जीवन जिउनुपर्छ, अनि भद्र हुनुपर्छ भन्ने कुरा महसुस गरें । सुकर्मद्वारा परमेश्वरको महिमा गर्दै मरिरहेका आत्माहरूलाई बचाउन लगनशीलताका साथ सुसमाचार सुनाउनु पनि मैले पूरा गर्नुपर्ने मिसन हो । मैले आधा जीवनसम्म जिएको जीवनशैलीलाई पूर्ण रूपमा परिवर्तन गर्नुपर्ने अवस्था भयो । मैले तत्काल परिवर्तन गर्नुपर्ने कुराचाहिँ मेरो असंयमी जीवनशैली र कठोर बोली थियो । सुरुमा म चिन्तित थिएँ । ‘मानिसहरूले मलाई धेरै सोझो देख्ने पो हुन् कि ? काममा कुनै समस्या त हुँदैन नि ? मेरा ग्राहकहरू भड्किए भने ठूलो समस्या हुनेछ …’ मेरो दिमागमा अनेकन सोचाइहरू आए ।

परमेश्वरले सहयोग गर्नुहुनेछ भन्ने विश्वासद्वारा मैले सियोनमा सिकेका शिक्षाहरूलाई व्यवहारमा लागू गर्दा अचम्मै भयो । मैले सोचेको भन्दा ठीक विपरीत अवस्था देखियो । मानिसहरू मप्रति हाँस्नेछन् अथवा मलाई इन्कार गर्नेछन् होला भन्ठानेको थिएँ, तर उनीहरूले उल्टै “मण्डली जानेहरू साँच्चै फरक हुन्छन्” भने, अनि ममाथि अझ भरोसा गरे । बोली र कार्यमा म नम्र हुँदा मानिसहरूले पनि मसित नम्र र भद्र तरिकाले व्यवहार गरे । पहिला म उनीहरूसित कठोर भएकोले नै उनीहरूले पनि मलाई त्यही तरिकाले व्यवहार गरेका होलान् भन्ने कुरा मैले महसुस गरें ।

युद्धभूमिजस्तो मेरो दैनिक जीवन हरियो चरनमा चर्ने भेडाको बगालजस्तै शान्त भयो । एक हप्तासम्म परमेश्वरको वचनलाई खुशी र धन्यवादसाथ कार्यान्वयन गरेपछि म शबाथ-दिनमा सियोन जाने गर्छु । तब म दोबर गरी धन्यवादी हुन्छु । एक-अर्कालाई देखावटी होइनकि साँचो प्रेम दिने सियोनका सन्तहरूसँग रहँदा मेरो मुखबाट “म खुशी छु” भन्ने बोली निस्किरहन्छ । मैले जति धेरै पैसा कमाए पनि खुशीचाहिँ मदेखि निकै टाढामा हुन्थ्यो, इन्द्रेणीजस्तै । तर परमेश्वरभित्र रहेकोले अहिले सियोन, घर र कार्यक्षेत्र सबै ठाउँ खुशीले भरिएको छ ।

उत्कृष्ट वचन, सबैभन्दा न्यानो ठाउँ सियोन अनि मायालु स्वर्गीय परिवारहरू … विगतको मैले झैँ खाँदै, पिउँदै मोजमज्जामा डुबेर, साँचो खुशी के हो भन्ने पनि थाहा नपाई जिउने मानिसहरूलाई म आफूले पाएको कुरा बाँड्न चाहन्थें । तर सोचाइलाई व्यवहारमा उतार्न सजिलो भने थिएन । कारण कामपछि घर फर्कनासाथ म सुत्न जान्थें, अनि काममा पनि अर्डर लिँदै सामान बेच्नमा नै व्यस्त हुन्थें । वचन सुनाउँदा कतै मानिसहरूले मलाई अनौठो ठान्ने पो हुन् कि ? उनीहरूबाट पराई भइने पो हो कि ? भन्ने कुरामा पनि म चासो राख्थें ।

त्यसैले सुरुमा मैले बाइबलप्रति नकारात्मक सोच नभएका मेरा चिनाजानाहरूलाई मात्र बेला-बेलामा वचन सुनाएँ । आजभन्दा करीब १ वर्षअघि, फलविहीन समय बिताइरहँदा कुनै घटना घट्यो । मैले मोबाइलबाट सुनेका प्रवचनहरू मेरो आत्माको निम्ति औषधी बन्यो । “जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ” भन्ने वचन सुन्दा ७ अरब मानिसहरूमध्ये नयाँ करारको पूर्ण सत्यता आफूले महसुस गर्न पाएको यथार्थताप्रति म निकै धन्यवादी भएँ । “सत्य परमेश्वरलाई ग्रहण गरेका हामीहरू सबैभन्दा उत्कृष्ट र खुशी मानिसहरू हौं” भन्ने वचनले मेरो हृदयलाई गहिरो गरी छोयो ।

सत्यता यति अमूल्य थियो, कि म समय वा साहसको कमीको बहाना बनाएर त्यसलाई आफूमा मात्र सीमित राख्न सक्दिनथें । मैले कुनै बहाना गर्न चाहिनँ । तुरुन्त बचाइनुपर्ने आत्मा अगाडि हुँदा प्रेरित पावलले यो/त्यो कुरामा बहाना गरेनन् । तिनले पाल बनाउने काम गर्दै आफ्नै खर्चबाट सुसमाचारको कार्य गरे ।

‘म पनि पावलजस्तै जिउनेछु । मैले कार्यक्षेत्रमा भेट्ने मानिसहरू दर्जनौँ छन्, अनि विगत १० वर्षदेखि चिनेका सबै मानिसहरूलाई पनि समेट्ने हो भने सयौँ मानिसहरू छन् । म एक दिनमा कम्तीमा १ जनालाई भए पनि यो शुभ समाचार सुनाउनेछु ।’

सुसमाचारको कार्यमा उत्साहित भएकोले चिनाजानाहरूलाई देख्नासाथ म बाइबलको कुरा निकालिहाल्थें । सुरुमा एक, दुई पटक गर्न गाह्रो भए पनि पछिचाहिँ कुराकानी सहज हुँदैगयो । परिवार अर्कै धर्ममा लागेका छन् भन्दै त्यति चासो नदिने अथवा असहज महसुस गर्नेहरूसमेत जीवन र मृत्युको सवालमा चाहिँ गम्भीर भए । मेरा दौंतरीहरू अब आयु धेरै बाँकी नभएको कुराले डिप्रेसनमा पर्ने अथवा तिनीहरूलाई जीवन निरर्थक लाग्ने हुन सक्छ । यसकारण बाइबलले जीवन र मृत्युको रहस्य अनि स्वर्गीय राज्यको मार्ग स्पष्टसँग देखाएकोले सायद तिनीहरूको कान पूर्ण रूपमा खोलिएको हुनुपर्छ । त्यसमाथि मैले “म मण्डली गएर परमेश्वरलाई विश्वास गर्न थालेदेखि मनमा शान्ति छाएको छ । तिमीहरू पनि मण्डली हिँड । तिमीहरूको जीवन पनि परिवर्तन हुनेछ” भन्दै आफ्नो साँचो मन व्यक्त गर्दा मानिसहरूले “हैन, तपाईंमा यस्तो आमूल परिवर्तन ल्याउने मण्डली कुनचाहिँ रहेछ भनेर म सोच्ने गर्थें” भन्दै सत्यताको वचन गम्भीरतापूर्वक अध्ययन गरे ।

तीमध्ये पिउनकै लागि काम गर्ने एक जना व्यक्ति थियो । यसो सोच्दा उसले आफू भर पर्ने कुरा केही नभेटेकोले खालि मद्यपान गर्ने गर्थ्यो । तर अचम्मको कुरा, उसले विनाहिचकिचाहट सत्यता ग्रहण गऱ्यो, अनि मद्यपान पनि चटक्कै छोडेर अहिले सत्यता पढाइदिन मण्डली प्रमुखलाई बारम्बार अनुरोध गरिरहन्छ । अहिले ऊ मसँगै नियमित रूपले आराधना गर्छ । ऊ यसो भन्छ, “परमेश्वरलाई विश्वास गर्दा यति राम्रो हुन्छ भन्ने कुरा थाहै थिएन ।”

प्रोटेस्टेन्ट मण्डलीमा २० वर्ष धाउनुभएका मेरो एक जना पुरानो साथीले पनि सत्यता ग्रहण गर्नुभयो । सुरुमा उहाँले राम्रो छ भन्नुभयो, अनि आफूले सबैजसो मण्डलीहरू चहारिसकेको कुरा बताउँदै मैले सुनाएको कुरामा उहाँले खासै कान लगाउनुभएन । तर माता परमेश्वरको विषयमा सुनेपछि छक्क पर्दै उहाँले करीब १ महिनासम्म बाइबल पढ्नुभयो, अनि उहाँ परमेश्वरको सन्तानको रूपमा नयाँ गरी जन्मिनुभयो ।

त्यसरी डोरिएका आत्माहरू पोहोर सालदेखि यो वर्षको प्रारम्भसम्म झण्डै ६० जनाभन्दा बढी छन् । मेरो वरिपरि यति धेरै स्वर्गीय परिवारहरू छन् भन्ने कुरा मलाई पहिला थाहै थिएन । बाहिरी रूपमा सन्तुष्ट जीवन जिइरहनुभएकोले उहाँहरूलाई मण्डली वा बाइबलप्रति कुनै रुचि छैन होला भन्ने सोचाइ लिँदै यदि मैले सुसमाचार नसुनाएको भए सायद मैले यस्तो अन्तिम परिणाम पाउनेथिइनँ होला ।

मैले ६ महिनाभन्दा बढी समयदेखि फोनद्वारा सुसमाचार सुनाएको मेरो गृहनगरको एक जना साथीले हालसालै नयाँ जीवनको आशिष् पाउनुभयो । प्रत्यक्ष भेट नभए पनि, इच्छा मात्र गरियो भने जति पनि वचन सुनाउन सकिन्छ, अनि वचन सुन्नेहरू आफ्नो मन खोलेर परमेश्वरकहाँ आउँछन् । योद्वारा मलाई अझ लगनशीलताका साथ प्रचार गर्ने साहस प्राप्त हुन्छ । भनिन्छ, आफूलाई मन पर्ने काम गर्दा कति पनि थकाइ लाग्दैन । म अहिले ठ्याक्कै त्यही अवस्थामा छु । परमेश्वरले ममाथि पवित्र आत्मा खन्याइदिनुहुने भएकोले हरेक दिन बिहान उठ्दाखेरि मेरो आँखामा खुशी र हृदयमा उत्साह छाउँछ । मैले त्यत्तिकै भनेको होइनँ, म साँच्चै नै खुशी छु । परिवारको साथमा परमेश्वरभित्र भएकोले म खुशी छु । यो खुशी मेरो वरपरका अमूल्य मानिसहरूसित बाँड्न पाउँदा मेरो खुशी दोबर हुन्छ । पैसाद्वारा कदापि किन्न नसकिनेसम्म यो खुशी अति अमूल्य छ ।

विश्वभरिका सियोनका परिवारहरूले यो प्रेरणा सँगै पाए कति राम्रो हुनेथियो ! हामीले चाँडै स्वर्गीय परिवार खोज्यौं भने पिता-माताले चाहनुहुने कुरा त्योभन्दा अर्को कुनै हुनेछैन । तरिका गाह्रो छैन । हामीले आफूले पाएको आशिष्‌मा र त्यो कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरामा गर्व गऱ्यौं भने हुन्छ । हामीले हाम्रा नजिकका साथीहरूलाई स्वस्थ खाना खानू भनेर सल्लाह दिएजस्तै हो । तब शक्तिशाली परमेश्वरले हामीलाई सबै कुरामा सहायता गर्नुहुनेछ । हराएका थुप्रै दाजुभाइ, दिदीबहिनीहरू हाम्रो वरपर धेरै हुनुहुँदोरहेछ भन्ने कुरा अनि परमेश्वरले हाम्रो निम्ति यति धेरै आशिष् तयार गर्नुभएको रहेछ भन्ने कुराचाहिँ गरिहेरेमा थाहा हुन्छ । हामी सबै जना गरिहेरौं !