म केही महिनासम्म बिरामी भएँ । फार्मेसीबाट अनेक थरीका औषधीहरू किनें, अनि घरेलु उपचारदेखि लिएर सबै किसिमका उपचारहरू गरें, तर कुनै सुधार आएन । जागिर छोड्नुपर्ने जस्तो अवस्थामा पुग्दा, पहिला कामको सिलसिलामा चिनजान भएको एक जना डाक्टरलाई भेट्न म गएँ ।
डाक्टरले मलाई एक हप्ताको लागि औषधी लेखिदिनुभयो, र औषधी सेवनको अवधिमा चिनी सख्त बार्न सल्लाह दिनुभयो । चिनीले हाम्रो प्रतिरक्षा प्रणालीलाई कमजोर बनाइदिएर बिमार ढीलो निको हुने गराउँदोरहेछ ।
तर आफ्नो दैनिक भोजनबाट चिनीलाई अलग गर्नुचाहिँ सोचेको भन्दा गाह्रो कुरा थियो । दैनिक खाइने भोजन प्राय: गुलियो हुन्थ्यो, अनि फलफूल र जुस पनि अपवादमा पर्दैनथे ।
सुरुको ३ दिनचाहिँ एकदम गाह्रो भयो । खाना खाएपछि अन्तमा केही गुलियो चीज खान मन लाग्थ्यो । स्न्याक्सहरू बार्न पनि बडो सकस पऱ्यो । तर आफ्नो स्वास्थ्यलाई सोच्दै मैले “चिनीयुक्त खानेकुरालाई हेर्दा पनि हेर्दिनँ, सोच्दा पनि सोच्दिनँ !” भनेर प्रतिज्ञा गरें ।
मलाई सबैभन्दा प्रलोभनमा पार्ने क्षण नै मेरो सामु कफी राखिँदाको क्षण हो । आनन्दकर कफी पिउने आफ्नो इच्छालाई दबाउनुपर्दा मेरो मन एकदमै दुखेको थियो ।
कफी पिउन मन लाग्दैपिच्छे म १०सम्म गन्ती गर्थें अथवा त्यो ठाउँ नै छोडेर जाने गर्थें, अनि बारम्बार आफैलाई, “आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ” भन्ने गर्थें । स्वास्थ्य बिग्रियो भने सुसमाचार प्रचारको त के कुरा, आराधनासमेत राम्ररी गर्न गाह्रो हुने भएकोले मसँग अर्को विकल्प थिएन । धन्न स्वास्थ्यलाई अलि ध्यान दिएकोले म बिस्तारै-बिस्तारै निको हुँदैगएँ ।
त्यो समयसम्म मैले धेरै कुराहरू महसुस गरें । गुलियो खानेकुरादेखि सावधान रहने क्रममा “परमेश्वरको सन्तानले गर्न नहुने कार्य कदापि गर्नुहुँदैन, र हेर्न नहुने कुरा कदापि हेर्नुहुँदैन” भन्ने माताको वचन निरन्तर याद आयो ।
माताको वचनलाई सम्झिँदैपिच्छे आफू कति ठूलो पापी रहेछु भन्ने कुरा मलाई महसुस हुन्थ्यो । माताले हरसमय हामीलाई, आफ्नो आत्माका निम्ति हानिकारक खराब स्वभावबाट अलग बसेर परमेश्वरको वचनद्वारा पखालिनुपर्छ भन्ने शिक्षा दिइरहनुहुन्छ । तर माताको वचनलाई व्यवहारमा लागू गर्नुको सट्टा उल्टै म आफ्नो पापमय स्वभावअनुसार जिउन खोजें । मेरो कमजोर हृदयलाई ढकढक्याउने जुनसुकै प्रलोभनमा पनि म सजिलै रुमलिन्थें ।
चाडको समयमा मैले आफू आत्मिक रूपमा स्वस्थ हुन परमेश्वरसमक्ष आफ्ना सम्पूर्ण पापहरू स्वीकारें, अनि आफ्नो पापमय र सांसारिक अभिलाषाबाट छुटकारा गराइदिनुहोस् भन्दै परमेश्वरमा गहिरो बिन्ती गरें । परमेश्वरले चाडको आशिष्द्वारा मेरो आत्मालाई पखालिदिनुभयो ।
आफूभित्र पाप हुँदा, गह्रौँ झोला बोकिरहेझैँ आभास हुन्छ । परमेश्वरको अनुग्रहद्वारा पाप-क्षमा पाएकोले मेरो आत्मा हलुको भएको छ । “सबै किसिमका खराबीबाट अलग बस” (१ थेस ५:२२) भन्ने बाइबलको वचनजस्तै, म आफूमा भएका सबै खराब स्वभावहरू फालेर खुशीसाथ स्वर्गतिर दौडनेछु ।