परीक्षाका फाइदाहरू

टमाटरलाई स्वादिलो बनाउने एउटा गज्ज्बको तरिका छ, त्यो नै चिचिला लाग्नेबित्तिकै सियोले हल्का घोचेर त्यसमा सानो प्वाल पार्ने प्रक्रिया हो । यसो गर्दा, टमाटरको बोटले आफ्नो घाउ निको पार्नका लागि जराबाट थप पोषक तत्वहरू तान्दछ । यो प्रक्रियाले गर्दा, बोटमा रोग र कीराहरूसँग लड्ने क्षमता विकास हुन्छ र यसले अझ बढी पौष्टिक फल फलाउन सक्छ ।
योजस्तै मानिसका लागि पनि उचित किसिमको कष्ट हुनु खराब होइन । हाम्रो जीवनलाई समग्रमा हेर्ने हो भने, यस्ता कष्ट र परीक्षाहरू लाभदायक छन् । दुःखका पहाडहरू पार गर्न सङ्घर्ष गर्दैजाँदा हामीभित्र दृढ इच्छाशक्ति पैदा हुन्छ र त्यो कष्टलाई जितेपछि एउटा छुट्टै उमङ्ग आउनुका साथै जीवनको वास्तविक अर्थ बुझ्न पुगिन्छ । हिजोआज खासै दुःख-कष्ट नभोगी हुर्किएका र जे खोज्यो त्यही तुरुन्तै पाइहाल्ने बानी परेका केटाकेटीहरूलाई केही हदसम्म सङ्घर्ष सिकाउने खालका युवा कार्यक्रमहरू बढ्दै जानुको कारण पनि यही नै हो ।
जतिसुकै गाह्रो भए पनि, परमेश्वरले हामीलाई हाम्रो क्षमताले थाम्न सक्ने जति मात्र दुःख वा परीक्षा दिनुहुन्छ । हामीले कष्टको सामना गर्दा परिस्थितिहरू बढी कष्टकर नहोऊन् भनी परमेश्वरले उचित प्रबन्ध मिलाइदिनुहुन्छ । परमेश्वरले आफ्ना सन्तानहरूले त्यो चुनौतीको सामना गरी आफ्नो आत्माको मुक्ति पाऊन् भन्ने चाहनुहुन्छ । यो नै स्वर्गीय पिता-माताको मन हो ।
मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ । तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ । यसरी तिमीहरू त्यसलाई खप्न सक्नेछौ । १ कोर १०:१३