माताको सातौँ शिक्षा
“गुनासोले भरिएको मनमा अहङ्कार उत्पन्न हुन्छ । सधैँ कृतज्ञ मनले परमेश्वरको सेवा गरेमा गुनासो र अहङ्कार हटेर जान्छ, अनि नम्रताले हृदयमा वास गर्छ ।”
गुनासोचाहिँ सन्तुष्ट हुन नसक्दा उत्पन्न हुने मन हो । सन्तुष्ट हुन नजान्ने मानिसले सधैँ गुनासो गर्छ । परमेश्वरले जतिसुकै अनुकूल अवस्थामा राखिदिनुभए पनि उनीहरू धन्यवाद दिने कुराभन्दा पहिला नकारात्मक कुरा नै देख्छन् । तर माताले “गुनासोले भरिएको मनमा अहङ्कार उत्पन्न हुन्छ” भन्नुभएको छ । ‘त्यसो गर्नुहुँदैन,’ ‘मेरो तरिका अझ उत्तम छ’ अथवा ‘उसले मसित यस्तो व्यवहार नगर्नुपर्ने’ इत्यादि कुराहरू सोच्दा गुनासो गर्न पुगिन्छ । यस्ता गुनासोबाट हाम्रो मनमा अहङ्कार उत्पन्न हुन्छ, र अन्तिममा हामीले ‘सबैभन्दा राम्रो त म नै हुँ । मजत्तिको राम्रो त कोही छैनँ’ भनेर सोच्न पुग्छौं । अहङ्कारले हाम्रो आत्मालाई विनाशतर्फ डोऱ्याउने भएकोले हामीले जस्तोसुकै अवस्थामा पनि गुनासो नगर्न हरप्रयत्न गर्नुपर्छ ।
त्यसोभए गुनासो नगर्नको निम्ति हामीले कसो गर्नुपर्छ होला ? सधैँ कृतज्ञ मनले परमेश्वरको सेवा गर्नुपर्छ । असन्तुष्ट मनबाट गुनासो उत्पन्न हुन्छ भने सन्तुष्ट मनबाट चाहिँ कृतज्ञता उत्पन्न हुन्छ । हामीहरू जघन्य पाप गरेर स्वर्गबाट धपाइएका पापीहरू हौं, तर परमेश्वरले आफ्नो बलिदानद्वारा हाम्रा पापहरू क्षमा गरिदिनुभएर हामीलाई मुक्ति र अनन्त स्वर्गको प्रतिज्ञा दिनुभयो । अक्षम्य पाप गरेका हामीलाई प्रदान गर्नुभएको अनुग्रह र आशिष्लाई सोच्ने हो भने जस्तोसुकै परिस्थितिमा पनि सन्तुष्ट भएर परमेश्वरलाई सधैँ धन्यवाद दिन सकिन्छ नि, होइन र ? धन्यवाद दिन सकिने अनुकूल अवस्थामा मात्र धन्यवाद चढाउने होइनकि सबै कुरामा सन्तुष्ट भएर धन्यवाद चढाउने हामीहरू हुनुपर्छ ।
सधैँ आनन्दित रहो । निरन्तर प्रार्थना गरिरहो । सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो । १ थेस ५:१६-१८
विभिन्न परिस्थितिहरूद्वारा हामीलाई खार्नुभएर पूर्ण अस्तित्व बनाउनुहुने परमेश्वरको प्रबन्धलाई हामीले बुझ्नुपर्छ । यदि हामीले परमेश्वरको यस्तो इच्छालाई बुझ्न नसकेर गुनासो गर्छौं भने हामीहरू पूर्ण अस्तित्व बन्न सक्नेछैनौं नता स्वर्ग जान नै सक्नेछौं । हरेक कुरामा, हामीलाई स्वर्गतिर डोऱ्याउनुहुने परमेश्वरको इच्छा रहेको हुन्छ । परमेश्वरको यस्तो इच्छालाई बुझेमा हामीले गुनासो गर्नेछैनौं, अनि हजार, दश हजार पल्ट धन्यवाद चढाए पनि त्यो अपुग नै हुन्छ । सबै परिस्थितिमा परमेश्वरलाई सधैँ धन्यवाद चढाऔं । यसो गरेमा माताको वचनजस्तै, हामीबाट गुनासो र अहङ्कार हटेर जान्छ । अनि नम्र हृदयसहित हामी फेरि नयाँ गरी जन्मिएर परमेश्वरबाट प्रशस्त आशिष्हरू प्राप्त गर्न सक्नेछौं ।
- समीक्षात्मक प्रश्न
- माताको सातौँ शिक्षा के हो ?
- गुनासो र अहङ्कारबाट मुक्त हुनलाई कसो गर्नुपर्छ भन्नेबारे छलफल गरौं ।