परमेश्वरलाई धन्यवाद देओ

शताब्दीकै महान् आविष्कारक थमस एडिसनको निधनको सम्झनामा संयुक्त राज्य अमेरिकाभरि मानिसहरूले एक मिनेटका लागि बत्ती निभाए । योचाहिँ उनले आविष्कार गरेको बिजुलीप्रति कृतज्ञता व्यक्त गर्नको निम्ति गरिएको थियो ।
त्यसोभए के हामीले कहिल्यै स्वर्ग र पृथ्वी सृष्टि गर्नुभएका परमेश्वरलाई धन्यवाद चढाएका छौं त ? एक व्यावसायिक वृत्तचित्र च्यानलले तयार पारेको काल्पनिक परिदृश्यका अनुसार, यदि प्रति घण्टा १,६०० किलोमिटरको गतिमा आफ्नो अक्षमा घुमिरहेको पृथ्वी पूर्ण रूपमा रोकियो भने, दिन पनि ६ महिना र रात पनि ६ महिना हुनेछ । दिनको समयमा सूर्यको प्रचण्ड राप सिधै पृथ्वीको सतहमा पर्दा तापक्रम ५५ डिग्रीसम्म पुग्छ र रातको समयमा ह्वात्तै घटेर माइनस ५५ डिग्रीसम्म पुग्छ । यो त एउटा सानो उदाहरण मात्र हो, यदि पृथ्वीको गति एक पलका लागि मात्र पनि रोकियो भने, त्यसले सामान्य असुविधा मात्र ल्याउने होइन, तर पूरै मानवजातिको अस्तित्व नै असम्भव पारिदिन्छ ।
अदृश्य कुराहरूलाई प्रायः बिर्सन पुगिन्छ, तर बिना कुनै त्रुटि निरन्तर घुमिरहने पृथ्वीप्रति हामी कृतज्ञ हुनुपर्छ । ब्रह्माण्डका सम्पूर्ण थोक सृष्टि गर्नुभएर मानवजीवनको श्वासप्रश्वासलाई आफ्नो नियन्त्रणमा राख्नुहुने र हाम्रा आत्माको मुक्तिका लागि आजको दिनमा पनि अहोरात्र खटिरहनुहुने परमेश्वरलाई हामीले हरेक दिन धन्यवाद चढाउँदै जिउनुपर्छ ।
उहाँले दिनमा प्रभुत्व गर्नलाई सूर्य बनाउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ । उहाँले रातमा प्रभुत्व गर्नलाई चन्द्र र तारा बनाउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ । भजन १३६:८-९