माताको एघारौँ शिक्षा

“ठूलो भाँडा बन्ने प्रक्रियामा बलिदानको आवश्यकता पर्दछ ।”

58,120 भ्यु

परमेश्वरले हामीलाई भाँडासँग दृष्टान्त गर्नुभएको छ । सानो टोकरीमा धेरै फलफूल राख्न नसकिएजस्तै, हामीले जतिसुकै धेरै आशिष् पाउन र ठूलो कामदारको रूपमा प्रयोग हुन चाहे तापनि यदि हाम्रो मनको भाँडा सानो छ भने हामीले त्यो आशिष् कदापि प्राप्त गर्न सक्नेछैनौं । हामीसित धेरै आत्माहरूलाई समेट्न सक्ने ठूलो मनको भाँडा छ भने मात्र हामीले पवित्र आत्माको आशिष् प्रशस्त प्राप्त गर्न सक्नेछौं ।

तर भाँडा फराकिलो र गहिरो बनाउनको निम्ति कष्ट र खारिने प्रक्रियाबीच गुज्रिनुपर्ने हुन्छ । सियोनमा धेरै आत्माहरूलाई अँगाल्नको निम्ति बलिदानको आवश्यकता पर्छ । विश्वासको जीवन भर्खर सुरु गरेकोले हामीले एकदेखि दशसम्म विचारशील भइदिनुपर्ने त्यस्ता आत्माहरू पनि हुन्छन् भने रुखो र कठोर स्वभाव लिएका आत्माहरू पनि हुन्छन् । यी सबै आत्माहरूलाई हामीले प्रेमद्वारा अँगाल्नुपर्छ, र उनीहरूलाई विश्वासको सही मार्गमा डोऱ्याउनको लागि हामीले बलिदान गर्नुपर्छ । यसकारण यदि हामीहरू साँच्चै नै ठूलो भाँडा बन्न चाहन्छौं भने हामीले दाजुभाइ, दिदीबहिनीका लागि बलिदान गर्न जान्नुपर्छ ।

आफ्नो निम्ति मात्र सोच्ने मानिस परमेश्वरले चाहनुहुने ठूलो भाँडा बन्न सक्दैन । भाइ-बहिनीका खातिर बलिदान गर्ने र मरिरहेका आत्माहरूलाई बचाउन कष्टलाई खुशीसाथ अँगाल्ने मानिस नै परमेश्वरले चाहनुहुने ठूलो भाँडा हो । परमेश्वरले हामीलाई क्षणिक कष्टको समय दिनुभएको चाहिँ अन्त्यमा हामीलाई ठूलो आशिष् दिनको निम्ति हो भन्ने कुरालाई महसुस गरेर ठूलो भाँडा बन्नका लागि हामीले खुशीसाथ बलिदान गर्नुपर्छ । त्यसो गर्दै ठूलो भाँडो भएर पवित्र आत्माको फल र आशिष् प्रशस्त पाउने हामीहरू होऔं ।

समीक्षात्मक प्रश्न
माताको एघारौँ शिक्षा के हो ?
ठूलो भाँडा बन्नका लागि आवश्यक पर्ने बलिदान के-कस्ता हुन् भन्नेबारे छलफल गरौं ।