WATV.org is provided in English. Would you like to change to English?

मुक्तिको कार्य पूरा गर्ने शक्तिको स्रोत

416 हेरेको संख्या

सियोनका परिवारहरूले विश्वासभित्र एकै मनका भएर परिश्रम गरिरहनुभएको परिणामस्वरूप विश्वभरि ७,०००भन्दा बढी सियोनहरू स्थापना भएका छन् । आश्चर्यजनक मुक्तिको कार्यलाई हेर्दै, कसै-कसैले प्रधान कार्यालयको फलानो विभाग योजना बनाउनमा सिपालु भएकोले यस्तो हुन सकेको हो, र कसैले चाहिँ उत्कृष्ट नेतृत्व क्षमता भएका पादरी कर्मचारीहरू र मिसनरीहरू भएकाले यस्तो परिणाम आउन सकेको हो भनेर सोच्न सक्लान् ।

तर बाइबलद्वारा हेर्ने हो भने स्वर्गीय सुसमाचारचाहिँ परमेश्वरले जसलाई नियुक्त गर्नुभए पनि सारा संसारमा फैलिनेछ, र मुक्तिको कार्यचाहिँ परमेश्वरको सहयोगद्वारा पूरा हुन सक्छ भन्ने कुरा महसुस गर्न सकिन्छ । हामीहरू स्वर्गदूतको संसारमा पाप गरेर यो पृथ्वीमा धपाइएका पापी स्वर्गदूतहरू हौं । त्यसैले हामी कसैले पनि घमण्ड अथवा गर्व गर्न मिल्दैन । बरु उल्टै “प्रभु, म पापी हुँ” भनेका कर उठाउनेको जस्तो विश्वास लिएर अझ धेरै पश्चात्ताप गर्दै परमेश्वरलाई धन्यवाद चढाउनुपर्छ । मुक्तिको कार्य पूरा गर्ने शक्तिको स्रोत कहाँबाट आउँछ भन्ने कुरालाई सधैँ विचार गर्दै अनन्त स्वर्गतिर बलपूर्वक दौडने सियोनका परिवारहरू हुनुहुनेछ भनी आशा गर्दछु ।

मोशाले हात माथि उचाल्दा इस्राएलीहरू विजयी

४० वर्षको उजाड-स्थानको यात्रामा इस्राएलीहरू र अमालेकीहरूबीच युद्ध भएको थियो । यहोशू इस्राएलीहरूलाई डोऱ्याएर युद्ध लड्न गए । तर युद्धको विजयचाहिँ न अगुवाइ गरेका यहोशूमा न त तिनलाई पछ्याएका सेनाहरूमा नै निर्भर थियो ।

तब अमालेकीहरू आएर रपीदीममा इस्राएलीहरूमाथि आक्रमण गरे । अनि मोशाले यहोशूलाई भने, “हाम्रा निम्ति मानिसहरू चुनेर अमालेकीहरूसित युद्ध गर्न जाऊ । भोलि परमप्रभुको लहुरो मेरा हातमा लिएर म डाँडाको टाकुरामा खडा हुनेछु ।” तब मोशाले तिनलाई भनेबमोजिम यहोशूले गरे, र अमालेकीहरूका विरुद्धमा लड्न लागे । मोशा, हारून र हूरचाहिँ डाँडाको टाकुरामा गए । मोशाले आफ्ना हात माथि उचालिराख्दा इस्राएलीहरू विजयी हुन्थे । तर तिनले आफ्ना हात तल झार्दा अमालेकीहरू विजयी हुन्थे । जब मोशाका हात थाके, तब तिनीहरूले एउटा ढुङ्गा ल्याएर तिनीमुनि राखिदिए, र तिनी त्यसमाथि बसे । हारून र हूरले चाहिँ तिनका हात थामिराखे, एउटाले एकापट्टि र अर्काले अर्कोपट्टि । यसरी सूर्यास्त नहोउञ्जेल तिनका हात स्थिर रहे । अनि यहोशूले अमालेकी फौजलाई तरवारले जिते । प्रस १७:८-१३

आपसी युद्धले भीषण रूप लिइरहेको त्यो समयमा मोशा डाँडाको टाकुरामा उक्ले । मोशाले आफ्ना हात माथि उचालिराख्दा इस्राएलीहरू विजयी हुन्थे भने तिनले आफ्ना हात तल झार्दा अमालेकीहरू विजयी हुन्थे । मोशाले आफ्ना हात उचालेका छन् कि झारेका छन् भन्ने कुरामा युद्धको परिणाम निर्भर थियो । मोशाले निरन्तर हात माथि उचालिराखे, र यसरी इस्राएलीहरू युद्धमा विजयी भए ।

उजाड-स्थानको घटनाले वर्तमान समयमा विश्वासको उजाड-स्थानमा हिँडिरहेका हामीहरूलाई विजयको मूल स्रोत कहाँ छ भन्नेबारे अवगत गराएको छ । मोशाचाहिँ येशूज्यू अर्थात् परमेश्वरलाई सङ्केत गर्ने पात्र हुन् । मोशाले हात माथि उचालिराख्दा इस्राएलीहरू विजयी भएजस्तै, अन्तिम पवित्र आत्माको युगमा सुसमाचारको कार्य पनि परमेश्वरले साथमा रहनुभएर सहयोग गरिदिनुहुँदा पूरा हुनेछ । परमेश्वरले मन्दिर निर्माण कार्यको सम्बन्धमा “न त बलले न शक्तिले, तर मेरो आत्माले” भन्नुभयो (जक ४:६) । परमेश्वरको सहयोगविना जतिसुकै बुद्धिमान् अथवा ज्ञानी भए पनि, अथवा जतिसुकै धेरै मण्डली र सन्तहरू भए पनि संसारलाई बचाउने कार्य कदापि पूरा गर्न सकिँदैन । योचाहिँ यहोशू जतिसुकै स्रोत र साधनले सशस्त्र र उत्कृष्ट नै भए पनि, अनि बहादुर सेनाहरू र शक्तिशाली हातहतियारहरू प्रशस्त भए पनि, मोशाले आफ्ना हात माथि नउचालेका भए इस्राएलीहरू युद्धमा कदापि विजयी हुन नसकेको अवस्थाजस्तै हो ।

हामीलाई निश्चय नै परमेश्वरको समर्थन र प्रोत्साहन चाहिन्छ । गुप्तमा आफ्ना दुई हात माथि उचालेर हाम्रो विजयको कामना गर्नुहुँदै प्रार्थना गरिदिनुहुने पवित्र स्वर्गीय माता हुनुभएकोले यस्तो आश्चर्यजनक मुक्तिको कार्य अगि बढ्न सकेको हो भन्ने यथार्थतालाई कदापि बिर्सनुहुँदैन । हामीहरू सम्पूर्ण शक्ति कहाँबाट आइरहेको छ भन्ने कुरालाई सोच्दै सुसमाचारमा लागिपरौं । मोशाले हात माथि उचालिराख्दा, यहोशू र इस्राएली सेनाहरूले निश्चय नै युद्ध लड्नुपरेको थियो । यहोशूजस्तै, हामी पनि आत्मिक रूपमा विश्वासको उत्तम लडाइँ लडिरहेका छौं, तर यस युद्धको विजयचाहिँ हाम्रो निम्ति बिन्ती गरिदिनुभई आत्मिक शक्ति प्रदान गर्नुहुने स्वर्गीय मातामा निर्भर छ भन्ने यथार्थतालाई कुनै हालतमा नबिर्सने हामीहरू हुनुपर्छ ।

बाधक बनेको लाल समुद्र, छुटकाराको माध्यम बनेको

परमेश्वरलाई बिर्सेर आफ्नो शक्ति अथवा क्षमताद्वारा चाहिँ सुसमाचारको कार्य कदापि पूरा गर्न सकिँदैन भन्ने कुरा लाल समुद्र दुई भाग भएको इतिहासद्वारा पनि जान्न सकिन्छ । इस्राएलीहरू मिश्रबाट निस्केर दूध र मह बग्ने कनानतिर लाग्दा, पहिलो बाधक नै लाल समुद्र थियो । प्रायः मानिसहरू लाल समुद्रचाहिँ खासै गहिरो छैन भनेर सोच्ने गर्छन्, तर वास्तवमा यो गहिरो समुद्र हो । करिब ३० लाख मानिसहरू र गाईवस्तुहरू लिएर लाल समुद्र कसरी तर्ने होला भनेर इस्राएलीहरूका प्रमुखहरू र अगुवाहरू कति चिन्तित भएका थिए होलान् ? तर परमेश्वरले सहयोग गर्नुभएकोले गहिरो र फराकिलो समुद्र तुरुन्त दुई भाग भएर बीचमा ओबानो बाटो बन्यो ।

जब फारो बढेर आए, तब इस्राएलीहरूले आँखा उठाएर हेर्दा मिश्रीहरूलाई तिनीहरूका पछिपछि आइरहेका देखे । इस्राएलीहरू साह्रै डराएर परमप्रभुलाई पुकारा गरे । … मोशाले इस्राएलीहरूलाई भने, “तिमीहरू नडराओ, स्थिर होओ, र परमप्रभुले आज तिमीहरूलाई दिनुहुने छुटकारा हेर । यी मिश्रीहरू जसलाई तिमीहरूले आज देखेका छौ, उनीहरूलाई तिमीहरू फेरि कहिल्यै देख्नेछैनौ । परमप्रभु नै तिमीहरूका निम्ति लड्नुहुनेछ । तिमीहरू केवल स्थिर बस ।” तब परमप्रभुले मोशालाई भन्नुभयो, “तँ किन मेरो पुकारा गर्छस् ? इस्राएलीहरूलाई अगि बढ्‌ने आज्ञा दे । तैंले चाहिँ आफ्नो लहुरो उठाएर आफ्नो हात समुद्रतिर पसारेर त्यसलाई दुई भाग गर्, कि इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँडेर जाऊन् … तब मोशाले आफ्नो हात समुद्रमाथि पसारे, र परमप्रभुले रातभरि जोडसित पूर्वीय बतास चलाइदिनुभयो, र समुद्रलाई पछि पन्साइदिनुभयो, र पानी दुई भाग भएर समुद्र ओबानो जमिन भयो । प्रस १४:१०-२१

लाल समुद्र इस्राएलीहरूका निम्ति अजेय बाधक बनेको थियो । तर परमेश्वरले सहयोग गरिदिनुभएकोले त्यो अवरोधचाहिँ उल्टै प्रतिज्ञाको देश कनानतर्फ जाने छोटो बाटो र इस्राएलीहरूलाई तिनीहरूका शत्रुहरूबाट सुरक्षा गरेर ती शत्रुहरूलाई नाश गर्ने उद्धारको माध्यम बन्यो । योजस्तै, यदि परमेश्वर साथमा हुनुहुन्छ भने अवरोध अब उसो अवरोध बन्नेछैन, तर उल्टै हामीलाई सुरक्षा र सहयोग गर्ने साधन बन्नेछ ।

लाल समुद्र दुई भाग गर्ने काम न मोशाले गरेका थिए न त तिनको लहुरोले नै गरेको थियो । आफूले देखेको कुरालाई मात्र विश्वास गर्ने मानिसहरूलाई लाल समुद्र दुई भाग गर्ने शक्तिचाहिँ मोशाको लहुरोबाट आएको हो जस्तो लाग्न सक्ला, तर त्यो लहुरोमा त्यस्तो कुनै अलौकिक शक्ति थिएन । मोशाको लहुरोमा शक्ति हालिदिनुभएका व्यक्ति को हुनुहुन्थ्यो त ? “तैंले आफ्नो लहुरो उठाएर आफ्नो हात समुद्रतिर पसार्” भन्नुभएका परमेश्वरको वचनअनुसार मोशाले लहुरो पसारेका मात्र थिए । त्यसपछि सबै कार्य परमेश्वरले नै गरिदिनुभयो ।

सुसमाचारचाहिँ हामी आफैले गर्ने कार्य हो भनेर सोच्यौं भने ढीलासुस्ती हुन पुग्छ । परमेश्वरको महान् शक्तिलाई महसुस गरेर परमेश्वरको सहयोगको निम्ति बिन्ती गरेमा बल्ल सुसमाचारको कार्य उन्नत हुनेछ । हाम्रा सन्तहरूले यो कुरालाई महसुस गरेर विश्वास गरेकाले नै परमेश्वरले गत वर्षसम्म विश्वभरि ७,०००भन्दा बढी सियोनहरू स्थापना हुने गराइदिनुभएर लाल समुद्र दुई भाग भएजस्तै आश्चर्यजनक कार्य पूरा हुने गराइदिनुभएको हो भनी विश्वास गर्दछु । यस वर्ष पनि यो महसुसलाई मनको गहिराइसम्म खोपौं । सुसमाचारचाहिँ मानिसको क्षमताद्वारा कदापि पूरा हुन सक्दैन । परमेश्वर साथमा रहनुभयो भने गोठालोको सामान्य लहुरो नै भए पनि लाल समुद्रलाई दुई भाग गर्ने अद्भुत शक्ति त्यसमा भरिन सक्छ भन्ने कुरालाई विश्वास गरेर कार्य गरौं । सम्पूर्ण शक्तिको स्रोत नै परमेश्वर हुनुभएकोले हाम्रो कर्तव्य भनेको परमेश्वरको अह्रावट अर्थात् परमेश्वरको वचन प्रचार गर्ने कार्य गर्नु हो । त्यसपछिका सबै कामहरू परमेश्वरले नै गरिदिनुहुनेछ ।

काँसाको सर्पको घटनामा, उद्धारचाहिँ परमेश्वरमा निर्भर रहेको

परमेश्वरले सहयोग गरिदिनुभएन भने मुक्तिको कार्यमा कुनै पनि उपलब्धि हासिल हुँदैन भन्ने कुरा विगतको इतिहास र यो युगमा घटिरहेका कार्यहरूद्वारा हामीहरू स्पष्टसँग देख्न सक्छौं । जस्तोसुकै अवस्थामा पनि परमेश्वरलाई नबिर्सीकन, मुक्तिको शक्ति कहाँबाट आउँछ भन्ने कुरालाई सधैँ सोच्ने गरौं । मुक्तिको कार्यचाहिँ कुनै तरिका अथवा मानिसको शक्तिद्वारा पूरा हुने होइन । धार्मिक हाम्रा परमेश्वरले हामीलाई शक्ति दिनुहुने भएकोले हामीले परमेश्वरको शक्तिद्वारा संसारका सबै जातिहरूलाई मुक्तिमा डोऱ्याउन सक्ने हो ।

तिनीहरू एदोम देशलाई फेरो मारेर जान भनी होर पर्वतबाट लाल समुद्रको बाटो भएर गए । तर यात्राको कारण मानिसहरू साह्रै अधीर बने । तब तिनीहरूले परमेश्वर र मोशाको विरुद्धमा यसो भन्न लागे, “यस उजाड-स्थानमा मर्न हामीलाई तपाईंहरूले किन मिश्रदेशबाट ल्याउनुभयो ? यहाँ रोटी छैन, यहाँ पानी पनि छैन । यस तुच्छ खानेकुरादेखि त हामीलाई वाक्कै लागिसक्यो ।” तब परमप्रभुले ती मानिसहरूका बीचमा विषालु सर्पहरू पठाइदिनुभयो, र सर्पले मानिसहरूलाई डसे, र इस्राएलीहरूका धेरै जना मरे । … तब मोशाले ती मानिसहरूका निम्ति प्रार्थना गरे । परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले विषालु सर्पको एउटा प्रतिमा बनाएर त्यसलाई एउटा खामामा झुण्ड्या । सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन् ।” तब मोशाले एउटा काँसाको सर्प बनाएर त्यसलाई एउटा खामामा झुण्ड्याए । सर्पले डसेका सबैले काँसाको सर्पलाई हेरेपछि बाँचे । गन्ती २१:४-९

उजाड-स्थानको यात्रामा विषालु सर्पको टोकाइमा परेका इस्राएलीहरू काँसाको सर्पलाई हेरेपछि बाँचेका थिए । योचाहिँ परमेश्वरको शक्तिद्वारा घटेको चमत्कार थियो । तर मूर्ख इस्राएलीहरूले हिजकिया राजाको समयसम्म करिब ८०० वर्षसम्म काँसाको सर्पलाई पुजे । इस्राएलीहरूले परमेश्वरलाई बिर्सेर आँखामा देखिने कुरालाई मात्र हेरेकाले काँसाको सर्पले नै बचाएको हो भन्ने भ्रम र गलत सोचाइ लिएर अन्ततः मूर्तिपूजा गर्न पुगे ।

शक्तिको स्रोतचाहिँ नता काँसाको सर्प, न परमेश्वर र प्रजाहरूका बीचमा मध्यस्थ कार्य गरेका मोशा नै थिए, तर “काँसाको सर्पलाई हेरेपछि बाँच्नेछन्” भन्नुभएका परमेश्वरको वचन थियो । त्यो वचनमा आज्ञाकारी भएका मानिसहरू विश्वासद्वारा बाँच्न सके । अमालेकीहरूविरुद्धको युद्धमा विजयी भएका यहोशूका सेनाहरू, मोशाको लहुरोद्वारा लाल समुद्र दुई भाग भएको इतिहास, काँसाको सर्पको घटना … यी सम्पूर्ण ऐतिहासिक घटनाहरूलाई हेर्दा मुक्तिको कार्यको पछाडि सधैँ परमेश्वरको शक्ति रहेको यथार्थता हामीहरू पत्ता लगाउन सक्छौं ।

त्यसोभए मुक्तिको निम्ति हामीले कसमा भरोसा गर्नुपर्छ होला त ? सुसमाचारको वातावरणमा असङ्ख्य घटनाहरू घटिरहेका छन् । कहिलेकहीँ हामीमा कमी भएका कुराहरू र बाधा-अवरोधहरू पनि धेरै हुन्छन् । त्यस्तो समय आउँदैपिच्छे वरिपरिका मानिस अथवा बाहिरी वातावरण वा परिस्थितिमा ध्यान केन्द्रित गरियो भने हामीहरू पनि ती इस्राएलीहरूजस्तै विश्वासको उजाड-स्थानको बाटोमा अन्त्यसम्मै निरन्तर गनगन मात्र गर्न पुग्छौं ।

दृश्य भौतिक चीजहरूद्वारा समस्यालाई हल गर्न खोज्ने होइन, तर सधैँ परमेश्वरलाई सम्झने हामीहरू हुनुपर्छ । मुक्तिको कार्य पूरा गर्ने सम्पूर्ण शक्तिको स्रोत नै परमेश्वर हुनुहुन्छ । यस्तो विश्वास लिएर आज्ञाकारी भयौं भने हामीलाई बाधा दिने कुरा पनि उल्टै हामीलाई मद्दत गर्ने सामग्री बन्न सक्छ ।

परमेश्वरलाई सम्झ

परमेश्वरको सुसमाचारको राज्य खडा गर्ने कार्यमा शैतानले हरेस नखाईकन निरन्तर बाधा पुऱ्याउन खोज्छ । असङ्ख्य कठिनाइहरूको बाबजुद, परमेश्वर सधैँ हामीहरूको साथमा हुनुभएकोले अहिले विश्वभरि हाम्रो मण्डली स्थापना भइरहेको छ । परमेश्वरले हात माथि उचालिदिनुभयो भने मात्र मुक्तिको कार्य सम्भव छ भन्ने कुरालाई सधैँ मनमा खोपेर हामीले परमेश्वरलाई महिमा र धन्यवाद दिन कदापि बिर्सनुहुँदैन ।

सावधान बस ! मैले तिमीहरूलाई आज दिएका उहाँका आज्ञाहरू र उहाँका विधिविधान उल्लङ्घन गरेर परमप्रभु तिमीहरूका परमेश्वरलाई नभुल । नत्रता जब तिमीहरू खाएर तृप्त हुनेछौ, र राम्रा-राम्रा घरहरू बनाएर बस्नेछौ, जब तिमीहरूका बगाल र बथानको वृद्धि भएर जानेछ, र तिमीहरूका सुनचाँदी र तिमीहरूसित भएका सबै थोक प्रशस्त हुनेछन्, तब तिमीहरू अहङ्कारी भएर तिमीहरूलाई दासत्वको देश मिश्रबाट ल्याउनुहुने परमप्रभु तिमीहरूका परमेश्वरलाई भुल्नेछौ । उहाँले तिमीहरूलाई विषालु सर्प र बिच्छीहरू भएको, निर्जल र रूखो भूमि भएको विशाल र भयानक उजाड-स्थानको बीचमा डोऱ्याउनुभयो । उहाँले तिमीहरूका निम्ति चट्टानबाट पानी निकाल्नुभयो । अन्त्यमा तिमीहरूको भलो होस् भनेर उजाड-स्थानमा तिमीहरूका पुर्खालाई थाहा नभएको मन्न खुवाएर उहाँले तिमीहरूलाई नम्र तुल्याउनुभयो र जाँच्नुभयो । “हाम्रा हातको शक्ति र बलले नै यो धन-सम्पत्ति हामीले कमायौं” भनी तिमीहरूले मनमा सोचौला । तर परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्झ, किनकि उहाँले नै तिमीहरूलाई धन-सम्पत्ति प्राप्त गर्ने शक्ति दिनुहुन्छ । … व्य ८:११-१८

विगतको उजाड-स्थानको यात्राले दिएको शिक्षामध्येको एउटा सार नै हामीले परमेश्वरलाई कहिल्यै भुल्नुहुँदैन भन्ने कुरा हो । मुक्ति दिलाउने शक्तिको स्रोत हुनुभएका परमेश्वरलाई हामी कसैले पनि बिर्सनुहुँदैन । सम्पूर्ण क्षमता परमेश्वरबाट आउँछ भन्ने कुरालाई मनन गर्दै, सधैँ परमेश्वरसित सहयोगको निम्ति बिन्ती गर्दै कार्य गऱ्यौं भने सुसमाचारको कार्य राम्रो हुनेछ, तर ‘मैले गरें’ अथवा ‘मैले अझ राम्ररी गर्न सक्छु’ भन्ने गलत सोचाइ लियौं भने अहिलेसम्म पूरा हुँदैआएको कार्य पनि बालुवाको महलसरह हुनेछ । हामीलाई सृष्टि गर्नुभएका परमेश्वरलाई हाम्रो बारेमा एकदमै राम्ररी थाहा भएकोले उहाँले हामीलाई सुनचाँदी र सबै थोक प्रशस्त भयो भने पनि उहाँलाई कदापि नभुल्न भन्नुभएको छ ।

परमेश्वरलाई बिर्सेको धार्मिक जीवनको कुनै अर्थ छैन । परमेश्वरले सुरक्षा गरिदिनुभएर जस्तोसुकै जोखिमपूर्ण अवरोधबाट पनि हामीलाई बचाउनुहुन्छ । तर म आफैले गरेको हुँ भनेर घमण्डी भयौं भने त्यसोप्रान्त हामीले परमेश्वरको सहयोगको अपेक्षा गर्न सक्दैनौं, र जताततै समस्याहरू उत्पन्न हुनेछ ।

मैले तिमीहरूलाई आज दिएका सबै आज्ञा होशियारीसाथ मान, कि तिमीहरू जीवित रहन र संख्यामा बढ्‌न सक, र गएर परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशलाई अधिकार गर्न सक । तिमीहरूलाई दीन तुल्याउन, जाँच गर्न र उहाँका आज्ञा मान्ने हृदय छ कि छैन भनी जान्नलाई यी चालीस वर्षभरिको उजाड-स्थानको यात्रामा परमप्रभु तिमीहरूका परमेश्वरले कसरी तिमीहरूलाई डोऱ्याउनुभयो, सो स्मरण गर । उहाँले तिमीहरूलाई नम्र बनाउन भोकले पीडित तुल्याउनुभयो, अनि तिमीहरूलाई मन्न खुवाउनुभयो, जसको बारेमा तिमीहरूलाई र तिमीहरूका पिता-पुर्खाहरूलाई थाहै थिएन । मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्केको प्रत्येक वचनले जिउँछ भन्ने कुरो बुझाउनलाई यसो गर्नुभएको हो । व्य ८:१-३

४० वर्षको उजाड-स्थानको यात्रामा परमेश्वरले इस्राएलीहरूमा, उहाँको वचन पालन गर्ने हृदय छ कि छैन भन्ने कुरा जाँच्नुभयो । त्यसबीचमा तिनीहरूको विश्वासलाई पूर्ण बनाइदिने र अन्त्यमा आशिष् दिने गहिरो इच्छा भएकोले परमेश्वरले त्यसो गर्नुभएको हो । सहज परिस्थितिमा तिनीहरूले सजिलै परमेश्वरलाई भुल्ने कुरा परमेश्वरलाई पहिल्यै थाहा भएकोले उहाँले तिनीहरूलाई उजाड मरुभूमिको बाटो हिँड्ने गराउनुभयो, अनि विभिन्न परिस्थितिमा राखिदिनुभयो । कहिले भोको तुल्याउनुभयो, त कहिले मिश्री सेनाहरूले तिनीहरूलाई लखेट्ने गराउनुभयो । यदि परमेश्वरले लाल समुद्रलाई पहिल्यै दुई भाग गरिदिनुभएको भए, इस्राएलीहरू चिन्तित हुँदै मिश्रबाट भाग्न आवश्यक थिएन । लाल समुद्रअगि, विश्वास नभएका मानिसहरूले गनगन र गुनासो गरे, अनि तिनीहरू परीक्षामा परे । यसरी उजाड-स्थानको ४० वर्षभरि परमेश्वरले इस्राएलीहरूको विश्वास जाँच्नुभयो ।

हामीहरू परीक्षामा पर्नुहुँदैन । परमेश्वर सियोनमा वास गर्नुहुन्छ । पिता परमेश्वर मात्र होइनकि माता परमेश्वर पनि हाम्रो साथमा हुनुहुन्छ, अनि उहाँहरूले हामीलाई डोऱ्याउनुहुँदै साहस र शक्ति प्रदान गर्नुभएकोले हामीले सुसमाचार प्रचारको मिसन राम्ररी गर्न सकेका हौं । सुसमाचारचाहिँ हाम्रो क्षमताद्वारा होइन, तर परमेश्वरको शक्तिद्वारा पूरा हुने भएकोले सधैँ परमेश्वरमा भरोसा गर्दै, प्रार्थनाद्वारा बिन्ती गर्दै सुसमाचारको कार्यमा अगि बढौं । ‘मैले मेरो क्षमताद्वारा गरें’ भनेर घमण्ड गर्ने मानिसलाई परमेश्वरले यसो भन्नुहुनेछ :

किनभने अरूहरूभन्दा तिमीहरू कुन कुरामा फरक छौ ? तिमीहरूसित के छ, जो तिमीहरूले पाएका होइनौ ? अनि तिमीहरूले त्यो पाएका छौ भने त्योचाहिँ वरदान होइनजस्तै गरी किन तिमीहरू घमण्डले फुल्दछौ ? १ कोर ४:७

हामीलाई सबै थोक परमेश्वरले दिनुभएको हो । परमेश्वरले ४० वर्षको उजाड-स्थानको यात्रामा, आफ्ना मानिसहरूले गर्न नसकेको कार्य गर्न सक्ने बनाइदिनुभयो, बाटो बनाइदिनुभयो, बाधक बनेको चीजलाई पनि उल्टै सहयोगको साधनको रूपमा परिणत गराइदिनुभई कठिन प्रक्रिया पनि सजिलै पार गर्ने गराइदिनुभयो । विगतको इतिहासबाट शिक्षा लिँदै, हामीले परमेश्वरलाई कदापि भुल्नुहुँदैन ।

महापवित्रस्थानबाट बगिनिस्कने जीवनको पानी संसारको टाढा-टाढासम्म, अझ गहिरो ठाउँसम्म बग्न सक्ने गरेर परमेश्वरले अहिले सुसमाचारको बाटो खोलिदिँदैहुनुहुन्छ । बरफ र हिउँले जमेको भूमि अलास्का, अमेजोन जङ्गल, हिमालय र एन्डिजका दुर्गम क्षेत्रहरूमा समेत सुसमाचार प्रचार भइरहेको छ । गत वर्ष परमेश्वरको आशिष्‌भित्र थुप्रै सियोनहरू स्थापना भएजस्तै, यो वर्ष पनि अझ प्रशस्त आशिष्‌भित्र धेरै आत्माहरूलाई मुक्तिको बाटोमा डोऱ्याउनको निम्तिचाहिँ यो कार्य कसले गर्दैहुनुहुन्छ भन्ने कुरालाई हामीले कदापि बिर्सनुहुँदैन ।

मुक्तिको कार्य पूरा गर्ने शक्तिको स्रोत हुनुभएका परमेश्वर हाम्रो साथमा हुनुहुन्छ, अनि उहाँले हामीलाई डोऱ्याइरहनुभएको छ । परमेश्वरले हात माथि उचालिदिनुभएमा हामीहरू विजयी हुन सक्नेछौं भन्ने कुरालाई कदापि नबिर्सीकन पिता र मातासमक्ष सहयोगको निम्ति बिन्ती गर्दै सामरिया र पृथ्वीको अन्तिम छेउसम्म सुसमाचार प्रचार गरौं । त्यसो गऱ्यौं भने मुक्तिको कार्य निश्चय नै पूरा हुनेछ । स्वर्गीय पिता र माताको मार्गनिर्देशनलाई खुशी र आज्ञाकारी भएर पछ्याउँदै यरूशलेमको महिमा सारा संसारमा घोषणा गरी अनन्त कनान, स्वर्ग-राज्य प्रवेश गर्ने हामीहरू हुन सकौं ।