सुसमाचारको गवाही दिने मेरो सेवकाइ म पूरा गर्न सकूँ
प्रेरित अध्याय २०

कोरिन्थ, एफिसस, माकेडोनिया हुँदै ग्रीस, त्रोआस, अस्सोस र मितिलेने गएपछि प्रेरित पावल मिलेटसमा आइपुगे । विभिन्न क्षेत्रहरूमा गएर सुसमाचार प्रचार गर्ने क्रममा, पावलले ठाउँ-ठाउँमा विरोधीहरूबाट थुप्रै धम्की र सतावटको सामना गरे । मृत्युको मुखमा पनि धेरै पटक परे ।
अब एसियाबाट निस्केर यरूशलेम जाने बेला भएको छ । यरूशलेममा के-कस्ता परीक्षाहरू परिआउने हो, सो तिनी जान्दैनन् ।
एफिससमा आएका एल्डरहरूलाई पावल यसो भन्छन्,
“कैद र कष्ट ममाथि परिआउँछ भन्ने पवित्र आत्माले मलाई गवाही दिनुहुन्छ । तर म आफ्नो जीवनलाई कुनै मोलको र आफ्नो निम्ति प्रिय ठान्दिनँ । यति मात्र चाहन्छु, कि परमेश्वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवाकाइ म पूरा गर्न सकूँ ।”
यसो भनिसकेपछि पावल घुँडा टेकेर प्रार्थना गर्छन् । सन्तहरू ठूलो सोरमा रुँदै पावललाई हेर्छन् ।
पावलले एक कम चालीस कोर्रा पाँच पल्टसम्म खाए; तीन पल्ट लौराले पिटिए; एक दिन एक रात समुद्रमा नै बिताए; परिश्रममा र कष्टमा, कति-कति अनिदो रातमा, भोक र प्यासमा, बारम्बार उपवासमा, ठन्डी र नग्नतामा परे … पावलको निम्ति सुसमाचार नै कष्ट थियो । तैपनि तिनी न रोकिए न त पछि हटे । किनकि कष्टको बाटोको अन्त्यमा अनन्त स्वर्ग-राज्यको आशिष् र धार्मिकताको मुकुटले पर्खिरहेको कुरामा तिनले दृढ विश्वास गरेका थिए (२ कोर ११:२३-२८; २ तिमो ४:७-८) ।
अहिले हामीहरू हिँडिरहेको सुसमाचारको बाटो नै २,००० वर्षअघि प्रेरित पावलले हिँडेका र तिनीभन्दा अगाडि येशूज्यूले पहिला हिँड्नुभएको बाटो हो । गाह्रो र कष्टकर क्षणहरू आए पनि कदापि नबिर्सौं– क्षणिक परीक्षाहरूलाई जितेर आफ्नो मिसन पूरा गरेपछि अनन्त स्वर्ग-राज्य हाम्रो आँखाअगि फैलने कुरालाई ।