WATV.org is provided in English. Would you like to change to English?

आत्मिक संसारलाई हेरौं

543 Views
FacebookTwitterEmailLineKakaoSMS

हामीहरू स्वर्गीय घरको आशा गर्दै यो पृथ्वीमा प्रवासी जीवन बिताइरहेका छौं । यो दृश्य र सीमित संसारमा शरीरको लुगा लगाएकोले हाम्रो मन सांसारिक थोकहरूमा सजिलैसित आकर्षित हुन जान्छ । त्यसैले हामीहरू आत्मिक संसारलाई हेर्न सक्दैनौं । सांसारिक थोकहरूमा अल्झिँदा हामीले परमेश्वरको इच्छालाई बुझ्न सक्दैनौं । विश्वासमा बढ्न सक्दैनौं, अनि हामीमा भएको विश्वास पनि बिस्तारै सेलाउँदैजान्छ ।

हाम्रा विश्वासका पुर्खाहरूले अदृश्य संसार अस्तित्वमा छ, र त्यो नै अनन्तको संसार हो भनेका छन् ।

हामी दृश्य कुरालाई होइन, तर अदृश्य कुरालाई हेर्छौं, किनभने दृश्य कुरा क्षणिक हुन्छन्, तर अदृश्य कुराचाहिँ अनन्तसम्म रहन्छन् । २ कोर ४:१८

प्राय: मानिसहरू यो दृश्य संसारमा घट्ने घटनाहरूलाई विश्वास गर्छन्, तर अदृश्य संसारलाई विश्वास गर्न गाह्रो मान्छन् । स्वर्गचाहिँ आत्मिक र अदृश्य संसार भएकोले स्वर्गको आशामा जिउने मानिसहरू एकदमै थोरै छन् ।

ऊँटका पाइलाका डोबहरू र परमेश्वरको अस्तित्व

दुई जना व्यापारीहरू मरुभूमिमा यात्रा गरिरहेका थिए । तीमध्ये एक जनाले परमेश्वरलाई विश्वास गर्थ्यो भने, अर्कोचाहिँ अविश्वासी थियो ।

थकानपूर्ण यात्रा गरिरहेको बेला, तिनीहरूबीच परमेश्वरको अस्तित्वबारे गम्भीर विवाद हुन थालेछ । एक जनाले ‘परमेश्वर निश्चय नै अस्तित्वमा हुनुहुन्छ’ भनी दाबी गऱ्यो, तर अर्कोले चाहिँ ‘परमेश्वरको अस्तित्व छैन’ भनी जिद्दी गऱ्यो । तिनीहरूको विवाद चर्किंदैगयो । अविश्वासीले भन्यो, “त्यसोभए मलाई परमेश्वरको अस्तित्वको प्रमाण देखाऊ । यदि परमेश्वर अस्तित्वमा हुनुहुन्छ भने उहाँको अस्तित्वको दृश्य प्रमाण पनि हुनुपर्छ ।” त्यो अविश्वासीको तर्क अझ बलियो देखियो । केही बेरपछि बिस्तारै साँझको अन्धकार छाउन थाल्यो, र तिनीहरूले त्यो रात मरुभूमिमै बिताए ।

ती दुवैले जमिनमा एउटा लट्ठी गाडे, र आफ्नो ऊँटलाई त्यसमा बाँधे । तिनीहरूले आ-आफ्नो पाल टाँगेर सुत्ने प्रबन्ध मिलाए, अनि एकदमै थाकेकाले तिनीहरू तुरुन्तै मस्त निद्रामा परे । भोलिपल्ट बिहान ब्यूँझिदा, तिनीहरूले आफ्नो ऊँट देखेनन् । बालुवै बालुवाको विशाल मरुभूमिमा आफ्नो ऊँट हराउनुचाहिँ तिनीहरूको निम्ति चिन्ताजनक कुरा थियो । तिनीहरूले चारैतिर खोजे, तर कतै भेट्टाएनन् ।

त्यसपछि ऊँटको पाइलाका डोबहरू देखेर त्यो अविश्वासी “मैले ऊँट भेट्टाएँ !” भन्दै खुशीले कराउन थाल्यो । अनि विश्वासीले उसलाई सोधेछ,

“ऊँट कहाँ छ त ?”

“यी पाइलाका डोबहरूलाई हेर । यदि हामीले ऊँटका पाइलाका डोबहरूलाई पछ्यायौं भने के हामीले ऊँट भेट्टाउँदैनौं र ?”

“तिमी यो के भन्दैछौ ? यहाँ त ऊँट होइन, केवल ऊँटको पाइलाको छाप मात्र छ त ।”

“यदि हामीले ऊँटका पाइलाका डोबहरूलाई पछ्यायौं भने हामीले निश्चय नै ऊँटलाई भेट्टाउनेछौं ।”

अविश्वासीले त्यो कुरा चर्को स्वरमा आत्तिँदै भनेको थियो । त्यसपछि परमेश्वरमा विश्वास गर्ने व्यापारीले गम्भीर हुँदै यसो भन्यो,

“तिमी ऊँटका पाइलाका डोबहरूलाई हेरेर त्यहाँ निश्चित ऊँट छ भनी विश्वास गर्छौ । हेर त तिम्रो वरिपरि परमेश्वरका पाइलाका डोबहरू कति धेरै छन्, तापनि तिमी किन उहाँको अस्तित्वलाई विश्वास गर्दैनौ ?”

त्यस बेला सूर्य उदाइरहेको थियो ।

“हेर ! प्रत्येक बिहान उदाउने सूर्य पनि परमेश्वरको पाइलाको डोब हो ।”

त्यो व्यापारीले केवल ऊँटका पाइलाका डोबहरू देखेर ऊँट यतै वरिपरि छ भन्ने विश्वास गऱ्यो । परमेश्वरको अस्तित्वका प्रमाणहरू हाम्रो वरिपरि प्रशस्त छन् । हामीहरू जिइरहेको यो पृथ्वी पनि परमेश्वरको महान् कला हो ।

सौर्य मण्डलमा यो पृथ्वी एउटा यस्तो ग्रह हो जहाँ मानिस, जीव-जन्तु र वनस्पतिहरू बाँच्न सक्छन् । परमेश्वरले मानव-जातिको निम्ति मुक्तिको प्रबन्ध पूरा गर्न यो पृथ्वी बनाउनुभएको हो भनेर बाइबलमा दर्शाइएको छ । बुध र वरुणजस्ता ग्रहहरूमा नभएर किन पृथ्वीमा मात्रै जीवन सम्भव भएको होला ? यसको कारणचाहिँ परमेश्वरले विशेष गरी मुक्तिको प्रबन्ध पूरा गर्नको निम्ति यो पृथ्वी बनाउनुभएकोले हो ।

परमेश्वरले केवल पृथ्वीमा मात्रै अक्सिजन प्रदान गर्ने र हावा शुद्धीकरण गर्ने रूख तथा बिरुवाहरू उत्पन्न गराउनुभयो, अनि परावैजनी विकिरणजस्ता सूर्यका हानिकारक किरणबाट मानिसहरूलाई बचाउन उहाँले माथिल्लो वायुमण्डलमा ओजोन-तह पनि राखिदिनुभयो । यसरी मानिसहरूलाई पृथ्वीमा जिउन चाहिने सम्पूर्ण आधारहरू परमेश्वरले जुटाइदिनुभएको छ । यी यावत् थोकहरू नै वास्तवमा परमेश्वर जीवित र क्रियाशील हुनुहुन्छ भन्ने कुराको प्रमाण होइनन् र ?

गाइने कीराको ‘दृश्य संसार र अदृश्य संसार’

गाइने कीराहरू अण्डा पार्ने समयमा पानीको सतह नजिकै उड्ने गर्छन्, र आफ्नो शरीरको टुप्पाले पानीको सतह छुने गर्छन्, अनि पानीमा अण्डा पार्छन् । ती अण्डाहरू जालोले ढाकिएका लार्भाको रूपमा परिवर्तन हुन्छन्, र बढ्ने क्रममा तिनीहरूले बारम्बार आफ्नो बाहिरी खोल खसाल्छन् । अन्तिम चरणमा ती लार्भाहरू नै निम्फमा परिणत हुन्छन् । निम्फहरूले माटोमा, बालुवाको पीँधमा अथवा ढुङ्गाहरूमा आफ्नो घर बनाउँछन् । गाइने कीराको निम्फ विकसित भएपछि ती निम्फहरू बिरुवाको डाँठ हुँदै पानीमाथि निस्कन्छन् । तब तिनीहरूको छाला स्वत: चिरिन थाल्छ, र ती विकसित निम्फहरूमा पखेटा पनि पलाउँछ । अन्तत: तिनीहरू चाँडै आकाशमा उड्न सक्ने हुन्छन् । पानीमुनिका निम्फहरू आकाशमा उड्ने गाइने कीराको रूपमा परिवर्तन भएको त्यो स्वरूप साँच्चै कति आश्चर्यजनक छ ! यो एउटा आश्चर्यको परिवर्तन हो ।

एक दिन गाइने कीराका निम्फहरू बस्ने पोखरीभित्र एउटा भ्यागुता पसेछ । त्यो भ्यागुताले आफूले बाटोमा देखेका सुन्दर फूलहरू, राती आकाशमा चम्कने ताराहरू, मौरी र पुतलीजस्ता कीराहरूको बारेमा त्यहाँका निम्फहरूलाई सुनाएछ । त्यो भ्यागुताले, ती निम्फहरू पनि पानीबाट बाहिर निस्किएपछि सुन्दर पखेटा भएका गाइने कीरामा परिवर्तन हुने यथार्थता बताएछ ।

“तिमीहरू अहिले केवल पानीमुनिका निम्फहरू हौ, तर हुर्किएपछि तिमीहरूमा सुन्दर पारदर्शी पखेटा लाग्नेछन्, र तिमीहरू स्वतन्त्र रूपमा उड्न सक्नेछौ । पखेटा भएपछि तिमीहरू एउटा फूलदेखि अर्को फूल गर्दै स्वतन्त्र रूपले उड्न सक्नेछौ ।” यद्यपि बाहिरी संसारको विषयमा भ्यागुताले भनेका कुराहरू ती निम्फहरूलाई अविश्वसनीय, अकल्पनीय र असम्भव लागेकाले तिनीहरूले विश्वासै गरेनन् ।

भ्यागुता फर्केर गएपछि, गाइने कीराका निम्फहरू आपसमा छलफल गर्न भेला भए । “उसको कुरा सत्य पनि हुन सक्छ ।” “होइन ! त्यो बेकारको कुरा हो ।” प्रत्येक निम्फले आ-आफ्नै विचार राखे । अन्त्यमा तिनीहरूले यस्तो निष्कर्ष निकाले : “भ्यागुताले भनेजस्तै, यदि हामीहरूमध्येको कोही साँच्चै नै आकाशमा उड्न सक्ने गाइने कीराको रूपमा परिवर्तन भइहाल्यो भने ऊ पानीमा फर्केर आउनुपर्छ, अनि हामी सबैलाई सत्य कुरा के हो सो बताउनुपर्छ ।”

केही समयपछि, कुनै एउटा निम्फको परिवर्तन हुने समय आएछ । त्यो गाइने कीराको निम्फ, बिरुवाको फेदबाट उक्लेर पानी बाहिर निस्कियो, र त्यसको छाला पनि चिरियो । भ्यागुताले भनेजस्तै, त्यो निम्फ चम्किलो पखेटा र लामो पुच्छर भएको गाइने कीरामा परिवर्तन भयो । पानीमुनिको संसारबाट बाहिर निस्किएपछि सुन्दर पखेटा पलाएर त्यो अब फूलको सुवास लिँदै एउटा फूलबाट अर्को फूलमा उड्न सक्ने भयो ।

राती आकाशमा देखिने आकाश गङ्गा, प्रत्येक बिहान उदाएर चम्किलो प्रकाश दिने सूर्य, शीतल बतास, आकाशमा तैरने सेता बादलहरू, सुगन्धित सुन्दर फूलहरू इत्यादि … । पानीमुनिको संसारमा रहँदा कल्पना गर्नै नसकेको त्यस्तो सुन्दर दृश्य थियो ।

त्यो गाइने कीराले, त्यस्तो सुन्दर संसार पनि छ भन्ने कुराप्रति अनभिज्ञ आफ्ना साथीहरूलाई सम्झिएछ, अनि तिनीहरूले आपसमा भनेको कुरा त्यसलाई याद आएछ : “हामीहरूमध्येको कोही साँच्चै नै गाइने कीराको रूपमा परिवर्तन भइहाल्यो भने ऊ पानीमा फर्केर आउनुपर्छ, अनि हामी सबैलाई सत्य कुरा के हो सो बताउनुपर्छ ।” त्यसपछि आफ्ना साथीहरूलाई सत्य कुरा सुनाउनको लागि त्यो गाइने कीरा आफू पहिला बसेको पोखरीमा पस्न खोजेछ । तर त्यो कीरा पूर्ण रूपमा तिनीहरूभन्दा फरक बनिसकेकोले त्यो अब उसो पानीभित्र पस्न सकेनछ ।

अनन्त जीवनसम्बन्धी परमेश्वरको प्रतिज्ञा

गाइने कीराका निम्फहरू पूर्ण रूपले परिवर्तन नभएसम्म बाहिरी संसार अस्तित्वमा छ भन्ने कुरालाई विश्वास गर्न गाह्रो परेजस्तै, हामीहरूलाई पनि यो पृथ्वीमा आफूले नभोगेका कुराहरूलाई विश्वास गर्न र स्वीकार्न गाह्रो पर्छ । त्यसैले स्वर्ग र नरकबारे येशूज्यूले दिनुभएको शिक्षालाई बुझ्न र महसुस गर्न गाह्रो पर्ने अवस्थाहरू प्राय: धेरै हुन्छ ।

स्वर्ग प्रवेश गर्दा हामीहरूमा आउने परिवर्तनबारे बाइबलमा वर्णन गरिएको छ ।

अब भाइ हो, म तिमीहरूलाई यो भन्दछु, मासु र रगत स्वर्गका राज्यको हकदार हुन सक्दैन, न त विनाश अविनाशको हकदार हुन सक्छ । हेर, म तिमीहरूलाई एउटा रहस्य भन्दछु, हामी सबै सुत्दैनौं, तर हामी सबैको परिवर्तन हुनेछ, एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा । किनभने, तुरही बज्नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन् । अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ । किनकि यस विनाशी स्वभावले अविनाशी, र यस मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ … १ कोर १५:५०-५४

“यस मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ” भन्ने वचनले, हामीहरू अमरत्व धारण गरेको शरीरमा परिवर्तन हुनेछौं भन्ने कुरालाई देखाइएको छ । तसर्थ परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नुभएको अनन्त जीवनको विषयमा बाइबलमा भनिएको कुरालाई हामीले गहिरिएर अध्ययन गर्न जरुरी छ ।

येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु । यूह ६:५३-५४

त्यसोभए येशूज्यूको देह र रगत कसरी खान र पिउन सकिन्छ होला ?

अब अखमिरी रोटीको चाडको पहिलो दिन चेलाहरूले येशूकहाँ आएर भने, “तपाईंको निम्ति निस्तार-चाडको भोज खाने प्रबन्ध हामी कहाँ गरौं ?” … तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । … तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ । मत्ती २६:१७-२८

परमेश्वरले निस्तार-चाडको रोटीलाई येशूज्यूको देह र निस्तार-चाडको दाखमद्यलाई उहाँको रगतको रूपमा छाप लगाउनुभयो । अनि निस्तार-चाड मान्नेहरूलाई अनन्त जीवनको प्रतिज्ञा गर्नुभयो ।

निस्तार-चाडको रोटी खाएर र निस्तार-चाडको दाखमद्य पिएर ख्रीष्टसँग एउटै शरीर भएका मानिसहरू कहिले महिमित स्वरूपमा परिवर्तन हुनेछन् होला ? त्यो नै अन्त्यको दिनमा हो, जब ख्रीष्ट हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ । त्यो दिनमा हामीहरू सबै जना एकै क्षणमा परिवर्तन हुनेछौं । हामीहरूको शरीर येशूज्यूको महिमित शरीरजस्तै हुनेछ (१ थेस ४:१३-१८) ।

बाइबलमा उल्लेखित परमेश्वरका सम्पूर्ण प्रतिज्ञाहरू पाएका हामीहरू साँच्चै आशिषित मानिसहरू हौं । हामीहरू महिमित पोशाक, स्वर्गदूतको पोशाक लगाई एकै क्षणमा परिवर्तन हुने त्यो क्षणको कल्पना गरौं । अहिले हामीहरू यो दृश्य संसारमा गाइने कीराका निम्फहरूजस्तै जिइरहेका भए तापनि, अब चाँडै नयाँ र महिमित स्वरूपमा परिवर्तन भएर अकल्पनीय सुन्दरताले भरिएको स्वर्ग-राज्यमा सदासर्वदा जिउनेछौं ।

यसरी हामीलाई अनन्त जीवनको निस्तार-चाड थाहा दिनुभएर नयाँ जीवन पाउन सक्ने मार्ग तयार गरिदिनुभएका व्यक्ति को हुनुहुन्छ भन्नेबारे बाइबलमार्फत अध्ययन गरौं ।

अनि धन्य र सर्वोच्च, राजाहरूका महाराजा, र प्रभुहरूका महाप्रभुले उचित समयमा ख्रीष्टको आगमनलाई प्रकट गर्नुहुनेछ । उहाँमा नै अमरत्व छ, … १ तिमो ६:१५-१६

हाम्रो मरणशील शरीरलाई अमरत्व धारण गरेको शरीरमा परिवर्तन गराउन सक्नुहुने व्यक्तिचाहिँ परमेश्वर मात्र हुनुहुन्छ । परमेश्वरलाई बाहेक कसैलाई पनि अनन्त जीवनको मार्ग थाहा छैन । परमेश्वरले मात्र हामीलाई त्यो मार्ग थाहा दिन सक्नुहुन्छ ।

परमेश्वर स्वयम्‌ले हामीहरूलाई निस्तार-चाडको सत्यता थाहा दिनुभएको छ । अनि हामीलाई अनन्त जीवन दिनुभएर आत्मिक संसार, स्वर्ग-राज्यतर्फ डोऱ्याउनुभएको छ । त्यसैले यो दृश्य संसारमा केन्द्रित नभईकन हामीहरू गइरहेको आत्मिक संसारतर्फ केन्द्रित रहँदै, त्यहाँ जानको निम्ति आफैलाई तयारी गराऔं । हामीलाई अनन्त जीवनको सत्यता सिकाउनुभएर अनन्तको घर स्वर्ग-राज्यतर्फ डोऱ्याउनुहुने पवित्र आत्मा र दुलहीलाई अनन्तकाल महिमा र प्रशंसा चढाऔं ।

FacebookTwitterEmailLineKakaoSMS