गलत अभियोग
धूर्त र दुष्ट कुराद्वारा कुनै निर्दोष मानिसलाई उसले गल्ती गरेजस्तै गरेर ऊभन्दा ठूलो व्यक्तिकहाँ गएर दोष लगाउने कार्य ।
१. कल्दीहरूले दानिएलका ३ साथीहरूलाई अभियोग लगाएका
बेबिलोनका राजा नबूकदनेसरले सुनको मूर्तिको सामु घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि तुरुन्तै दन्किरहेको आगोको भट्टीमा फ्याँकिने घोषणा गरे । तापनि दानिएलका तीन साथीहरू– शद्रक, मेशक र अबेद्नगोले सुनको मूर्तिलाई दण्डवत् गरेनन् । त्यस बेला, यी तीन जनाको डाह गर्ने केही कल्दीहरूले उनीहरूमाथि अभियोग लगाए, अनि उनीहरूले सजाय पाऊन् भनी राजालाई कुरा लगाए ।
यसै बेला केही ज्योतिषीहरू अगि सरेर यहूदीहरूका विरुद्धमा अभियोग लगाए । दान ३:८
※ कल्दियाचाहिँ बेबिलोनको दक्षिणमा अवस्थित एक क्षेत्रको नाउँ थियो । कल्दीहरूले बेबिलोनमाथि शासन गर्न थालेपछि बेबिलोनलाई कल्दिया भनिन्थ्यो ।
राजा नबूकदनेसरको कठोर उर्दीको बाबजुद शद्रक, मेशक र अबेद्नगोले मूर्तिलाई दण्डवत् नगरेकाले राजाको क्रोध उनीहरूमाथि खनियो, र अन्तत: साधारणभन्दा सात गुणा चर्को आगोको भट्टीमा उनीहरू फ्याँकिए । आगोको भट्टी यति तातो थियो, कि आगोको ज्वालाले शद्रक, मेशक र अबेद्नगोलाई लैजाने सिपाहीहरूलाई समेत भस्म पाऱ्यो । परमेश्वरबाहेक अन्य देवतालाई कुनै हालतमा नपुज्ने, अनि मर्नुपरे पनि मूर्तिको सामु घुँडा नटेक्ने यी मानिसहरूका निम्ति परमेश्वरले स्वर्गदूतहरू पठाइदिनुभयो, अनि उनीहरूका शिरको रौँसमेत नखहरिने गरी सुरक्षा प्रदान गर्नुभयो ।
२. मादी र फारसीहरूका शासकले दानिएललाई अभियोग लगाएका
बेबिलोनलाई पराजित गरेर मादी-फारस शक्तिशाली साम्राज्य भएको समयमा, राजा दाराले सम्पूर्ण राज्यको शासन गर्नलाई १२० जना प्रान्तका बडाहाकिमहरू नियुक्त गरे । तीमाथि तीन जनालाई अध्यक्ष नियुक्त गरे, जसमध्ये दानिएल एक थिए ।
दानिएलचाहिँ परमेश्वरको अनुग्रह र बुद्धि पाएका व्यक्ति थिए, र तिनी असाधारण गुणहरूद्वारा ती अध्यक्षहरू र प्रान्तका बडाहाकिमहरूका बीचमा फरक देखिएका थिए । यसकारण राजाले दानिएललाई सम्पूर्ण राज्यको शासक नियुक्त गर्ने योजना गरे । तब अध्यक्षहरू र प्रान्तका बडाहाकिमहरूले दानिएलको विरुद्ध अभियोग लगाउनका निम्ति सरकारी काम-कारवाहीहरूमा तिनको दोष खोज्न लागे, तर तिनीहरूले दानिएलमा कुनै पनि गल्ती भेट्टाउन सकेनन् । यसकारण दानिएलले परमेश्वरको व्यवस्था पालन गर्ने कुरालाई प्रयोग गरेर तिनीहरूले अभियोग लगाउने तयारी गरे ।
तिनीहरूले राजाकहाँ गएर एउटा आदेश निकाल्न बिन्ती गरे, जसअनुसार आगामी ३० दिनसम्म राजाबाहेक कुनै देवता वा मानिसलाई कसैले प्रार्थना गऱ्यो भने त्यस्तो व्यक्ति सिंहको खोरमा फ्याँकिनेछ । यसैकारण राजा दाराले लिखित रूपमा यो आदेश निकाले । मादी र फारसीहरूका ऐनबमोजिम राजाले लिखित रूपमा निकालेका आदेश कदापि बदली हुँदैनथ्यो, यहाँसम्म कि राजाले समेत त्यसलाई बदल्न सक्दैनथे । दानिएलले त्यो आदेश निस्केको कुरा थाहा पाए तापनि तिनले सधैँजस्तै दिनमा तीन पल्ट घुँडा टेकी यरूशलेमतर्फ फर्कंदै परमेश्वरलाई प्रार्थना गरिरहे । तब दानिएलमाथि अभियोग लगाउन प्रयासरत ती कल्दीहरू त्यहाँ आइपुगे, र तिनीहरूले उत्तिखेरै राजाको सामु दानिएलको विरुद्धमा अभियोग लगाए ।
दानिएल त्यो समयसम्म राजा दाराको प्रिय व्यक्ति बनेका थिए, तापनि मादी र फारसीहरूका ऐन खारेज हुन नसक्ने भएकोले अन्तत: दानिएललाई सिंहको खोरमा फ्याँक्न राजा बाध्य भए । दानिएल सिंहको खोरमा फालिए तापनि परमेश्वरले आफ्ना स्वर्गदूतहरू पठाउनुभएर सिंहहरूका मुख थुनिदिनुभएकोले भोलिपल्ट बिहानै दानिएल सिंहको खोरबाट सकुशल निस्कन सके । अन्तत: परमेश्वरलाई महिमा चढाएका राजा दाराले, दानिएलमाथि गलत अभियोग लगाएका ती मानिसहरू र तिनीहरूका पत्नीहरू र नानीहरूसमेत सिंहको खोरमा फ्याँकिदिनू भनी आदेश गरे । उनीहरू खोरको भूइँमा नपुग्दै सिंहहरूले उनीहरूमाथि झम्टेर उनीहरूका हड्डीहरूसमेत सबै कऱ्याककुरुक पारेर खाए (दान ६:१-२७) ।
दानिएलमाथि गलत अभियोग लगाएका मानिसहरू राजाको हुकुममा भित्र ल्याइए … दान ६:२४
३. हामानले यहूदीहरूमाथि अभियोग लगाएका
जब परमेश्वरको अगमवाणीको समय आयो, फारसका राजा कोरेसले सम्पूर्ण यहूदीहरू आफ्नै देशमा फर्कून् भन्ने लिखित घोषणा गरे । त्यस बेला आफ्नो घर फर्कन नपाएका मानिसहरू पनि थिए ।
फारसका राजा अहासूरसको समयमा रानीको रूपमा मोर्दकैकी नातेदार बहिनी एस्तर छनोट भइन् । राजा अहासूरसले हामानलाई उच्च पदमा राखेकाले राजदरबारको ढोकामा हुने अधिकारीहरू सबैले हामानलाई घुँडा टेकेर दण्डवत् गर्थे, तर यहूदी मोर्दकैले चाहिँ तिनलाई घुँडा टेकेर दण्डवत् गर्दैनथे । यो कुरा थाहा पाएर हामान रीसले चूर भए । मोर्दकै एक निर्वासित यहूदी हुन् भन्ने कुरा थाहा पाएपछि हामानले राजाको सामु यहूदीहरूका विरुद्धमा अभियोग लगाए, र पूरै यहूदी जातिलाई नाश गर्ने षड्यन्त्र रच्न थाले ।
तब हामानले राजा अहासूरसलाई भने, “हजूरको राज्यका समस्त प्रान्तमा धेरै मानिसहरूका बीचमा फैलिएको एउटा जाति छ । तिनीहरू अलग्गै बस्छन् । तिनीहरूका रीतिरिवाजहरू अरू सबै जातिका भन्दा बेग्लै छन् । तिनीहरूले हजूरका ऐन-कानून पालन गर्दैनन् । हजूरले तिनीहरूलाई सहानुभूति देखाउनु उचित छैन ।” एस ३:८
यसरी सम्पूर्ण यहूदीहरूलाई मार्नू भन्ने उर्दी हरेक प्रान्तमा घोषणा गरियो । यहूदीहरूमाथि यति ठूलो सङ्कट आइपरेकोले एस्तर रानीले आफ्नो ज्यानको बाजी राखेर यहूदीहरूलाई बचाउन ठूलो प्रयत्न गरिन् । अन्तत: यहूदीहरू तिनीहरूका शत्रु हामानमाथि विजयी भए, अनि यहूदीहरूमाथि गलत अभियोग लगाउने दुष्ट हामान, तिनले मोर्दकैलाई झुण्ड्याउन भनी तयार गरेको फाँसीमा आफू नै झुण्ड्याइए ।
४. दियाबलसले परमेश्वरका प्रजाहरूमाथि लगाएको अभियोग
हाम्रो शत्रु दियाबलसले स्वर्गमा परमेश्वरका प्रजाहरूलाई बहकाएर पाप गर्न उक्सायो, र परमेश्वरको सामु गलत अभियोग लगायो ।
त्यो ठूलो अजिङ्गर तल फालियो– त्यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो । त्यो पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए । तब मैले स्वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनें, “अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्टको अधिकार आएको छ । किनकि हाम्रा भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्वरको सामुन्ने तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्यो तल फ्याँकिएको छ ।” प्रका १२:९-१०
दानिएललाई अभियोग लगाएर सिंहको खोरमा फ्याँकिने गराएका ती दुष्ट मानिसहरू आफूले अरूको निम्ति तयार गरेको पासोमा आफै परे, तिनीहरू सिंहको खोरमा फ्याँकिए, र सिंहको आहारा बने । अनि मोर्दकैमाथि अभियोग लगाएर तिनलाई झुण्ड्याउन भनी फाँसी तयार गरेका हामान पनि अन्त्यमा त्यही फाँसीमा झुण्ड्याइए । यसको साथै हामानको पछि लागेर यहूदीहरूलाई मार्न खोजेका अन्य मानिसहरू पनि आफूले अरूको निम्ति भनेर तयार गरेको पासोमा आफै परेर अन्तत: नष्ट भए ।
बाइबलमा उल्लेखित अभियोगका अभिलेखहरूलाई हेर्ने हो भने परमेश्वरका प्रजाहरूमाथि अभियोग लगाएका दुष्ट मानिसहरूचाहिँ पछि गएर परमेश्वरका प्रजाहरूलाई मार्न भनी तयार गरेको पासोमा अन्तत: तिनीहरू आफै परेका देख्न सकिन्छ । योजस्तै, परमेश्वरको सामुन्ने हामीलाई दोष लगाएको हाम्रो शत्रु दियाबलस पनि अन्त्यमा स्वर्गीय सन्तानहरूलाई मार्न भनी तयार गरेको पासोमा आफै परेर नष्ट हुनेछ ।