WATV.org is provided in English. Would you like to change to English?

परीक्षालाई जितेका विश्वासका पुर्खाहरू

136,519 भ्यु

शैतानले संसार सृष्टि भएको समयदेखि नै परमेश्वरका सन्तानहरूलाई परीक्षामा पार्न विभिन्न धूर्त चाल चल्दैआएको छ । हामीले परमेश्वरको आशिष् पाएर अनन्त स्वर्गमा प्रवेश गर्नको निम्ति शैतानका यस्ता परीक्षाहरूलाई जित्नैपर्छ ।

बाइबलमा शैतानको परीक्षालाई जितेर आशिष् पाएका विश्वासका पुर्खाहरूको कार्यसम्बन्धी थुप्रै अभिलेखहरू छन् । तिनीहरूको कार्यबारे अध्ययन गरेर हामीहरू परीक्षालाई जित्नको निम्ति लिनुपर्ने विश्वासबारे जान्ने समय लिऔं ।

१. येशूज्यू

४० दिनसम्म उपवासको प्रार्थना गर्नुभएपछि येशूज्यूलाई शैतानले ३ किसिमले परीक्षा गऱ्यो । येशूज्यूले त्योद्वारा, हामीले उहाँलाई विश्वास गरेर पछ्याउँदा आइपर्ने परीक्षाको विषयमा पहिल्यै जानकारी दिनुभयो । पहिलो, मानिसको सबैभन्दा कमजोर पक्ष रहेको भोजनको परीक्षा आइपर्दा येशूज्यूले “मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ” भन्ने वचनद्वारा परीक्षालाई जित्नुभयो । दोस्रो, दियाबलसले परमेश्वरको शक्तिको परीक्षा गर्दा येशूज्यूले “तैंले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू” भन्ने वचनद्वारा प्रतिकार गर्नुभयो । अनि तेस्रोचाहिँ यस संसारका सबै राज्य र वैभव दिने शर्तमा दियाबलसले मलाई दण्डवत् गर्नू भनेर बहकाउन खोज्दा येशूज्यूले “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू” भन्नुहुँदै दियाबलसलाई धपाउनुभयो । येशूज्यूले यी सबै परीक्षाहरूलाई जित्नुभयो, र हामीले पनि जस्तोसुकै परीक्षा आए तापनि त्यसलाई जित्न सक्नुपर्छ भन्ने कुरा उदाहरणस्वरूप देखाइदिनुभयो (मत्ती ४:१-११) ।

२. अय्यूब

परमेश्वरप्रति साँचो विश्वास लिएका अय्यूबलाई परीक्षा गर्न दियाबलसले थुप्रै कठिनाइहरू ल्यायो । अय्यूबले आफ्नो सबै धन-सम्पत्ति गुमाए, र तिनका छोरा-छोरीहरू सबै मारिनुको साथै तिनको शरीरभरि कष्टप्रद खटिरा उब्जियो । तिनकी पत्नी र साथीहरूले समेत तिनलाई “परमेश्वरलाई सराप्नुहोस् र मर्नुहोस्” भने तापनि परमेश्वरप्रतिको अय्यूबको विश्वास अन्त्यसम्म स्थिर रह्यो । यी सबै परीक्षाहरूलाई जितेपछि परमेश्वरले तिनीमाथि अझ धेरै आशिष् बर्साइदिनुभयो । परीक्षामा पर्नुअघिको भन्दा दुई गुणा बढी धन-सम्पत्ति र धेरै सन्तानसमेत आशिष्‌को रूपमा दिनुभयो । अनि तिनले पहिलेको भन्दा अझ आनन्द र आशिष्‌भित्र परमेश्वरको सेवा गर्दै बाँकी जीवन बिताए (अयू ४२:१०-१७) ।

३. योसेफ

आफ्ना दाजुहरूबाट ईर्ष्या गरिएर मिश्रमा दासको रूपमा बेचिएका योसेफ, पोतीफर(फारोका एक अधिकारी)को घरमा जाँदा तिनलाई ठूलो परीक्षा आयो । पोतीफरकी पत्नीको दृष्टिकोणमा योसेफ हेर्नमा एकदमै सुन्दर र हट्टाकट्टा देखिएकाले तिनले दिनदिनै योसेफलाई परीक्षा गर्न खोजिन् (उत ३९:७-१०) । तर योसेफचाहिँ केवल परमेश्वरलाई सोच्दै अन्ततः परीक्षाबाट विजय हुन सफल भए । यसरी परमेश्वरलाई मात्र सोच्दै शैतानको परीक्षालाई जितेका योसेफ, पछि गएर परमेश्वरको सहयोग र आशिष्‌द्वारा मिश्रका अधिपति बने, अनि तिनले आफ्ना परिवारलाई पनि बचाउन सके (उत ४१:४०-४३) ।

४. प्रेरित पावल

सुसमाचार प्रचार गर्ने क्रममा प्रेरित पावलले एक कम चालीस कोर्रा पाँच पल्ट खाए, ढुङ्गाले हिर्काइए, अनि एक दिन र एक रात समुद्रमा नै बिताए । अनि तिनी नदीहरूका जोखिममा, डाँकूहरूका जोखिममा, आफ्नै जातिका मानिसहरूका जोखिममा, अन्यजातिहरूको जोखिममा, सहरको जोखिममा, उजाड-स्थानको जोखिममा, झूटा भाइहरूबाट आउने जोखिममा परे । परिश्रममा र कष्टमा, कति-कति अनिदो रातमा, भोक र प्यासमा, बारम्बार उपवासमा, ठन्डी र नग्नतामा परे (२ कोर ११:२३-२८) । तर सुसमाचारमा बाधा ल्याउने दियाबलसका विभिन्न परीक्षाहरूको बाबजुद तिनले दृढ विश्वास लिएर कर्तव्यनिष्ठ भई अन्त्यसम्मै सुसमाचार सुनाएकाले तिनले स्वर्गमा तयार भएको धार्मिकताको मुकुट प्राप्त गर्न सके (२ तिमो ४:८) ।

५. दानिएल

दानिएलले राजाबाहेक अरू कसैको नाउँमा प्रार्थना गरे भने तिनलाई सिंहको खोरमा फ्याँकिने धम्की दिइएको थियो । तर सदाझैँ तिनले दिनमा ३ पल्ट यरूशलेमतिर फर्केर घुँडा टेकी परमेश्वरलाई प्रार्थना चढाए । अन्ततः राजाको आदेश उल्लङ्घन गरेको दोषमा दानिएललाई सिंहको खोरमा फ्याँकियो, तर परमेश्वरको सहयोगद्वारा तिनी सिंहहरूबाट बचाइएर सुरक्षित रहन सके । त्यो घटनाद्वारा दानिएलले धेरै मानिसहरूमाझ परमेश्वरको महिमा प्रकट गरे (दान ६:१-२८) ।

६. शद्रक, मेशक, अबेद्‌नगो

दानिएलका ३ साथीहरू शद्रक, मेशक र अबेद्‌नगोलाई मूर्तिको अगि घोप्टो परेर दण्डवत् नगरेमा दन्किरहेको आगोको भट्टीमा फालिने धम्की र परीक्षा आए तापनि तिनीहरू मूर्तिलाई दण्डवत् नगरी अन्तिमसम्म विश्वासमा स्थिर रहे । अन्ततः तिनीहरू सामान्यभन्दा ७ गुणा बढी तातो आगोको भट्टीमा फ्याँकिँदा समेत तिनीहरूको शिरको एउटा रौँ पनि खहरिएन, र तिनीहरूमा आगोको गन्धसमेत थिएन । यो देखेर चकित भएका बेबिलोनका राजा नबूकदनेसर र तिनका राज्यपालहरूले परमेश्वरको महिमा गरे । त्यसपछि राजाले शद्रक, मेशक र अबेद्‌नगोलाई बेबिलोनको प्रान्तमा पदोन्नति गरिदिए (दान ३:१-३०) ।

यो युगमा पनि हाम्रो विश्वासलाई ढलपल गराएर हामीलाई परमेश्वरको इच्छाअनुसार गर्न नदिने केही दुष्ट शक्तिहरू छन् । तर जस्तोसुकै कठिनाइ र परीक्षा आए तापनि अन्त्यसम्म विश्वासलाई जोगाएर ठूलो आशिष् पाएका बाइबलभित्रका विभिन्न पात्रहरूजस्तै, हामीहरू पनि परमेश्वरप्रतिको विश्वासलाई अन्त्यसम्म जोगाएर प्रशस्त आशिष् प्राप्त गरी स्वर्ग फर्कन सक्ने हुनुपर्छ ।

समीक्षात्मक प्रश्न
येशूज्यूलाई शैतानले के-कस्तो किसिमको परीक्षा गरेको थियो ? अनि येशूज्यूले ती परीक्षाहरूलाई कसरी जित्नुभयो ?
प्रेरित पावलले शैतानको परीक्षालाई जितेर कस्तो आशिष् पाए ?
विश्वासका पुर्खाहरूको कार्यलाई हेरेर, शैतानको परीक्षालाई जित्न सकिने तरिकाको विषयमा विचार गरौं ।