सन्तानहरू एकतामा रहँदा परमेश्वर खुशी हुनुहुन्छ (भज १३३:१; फिलि २:१-२) । तर यदि हामीहरू एक-अर्कासँग रुखो व्यवहार गर्दै विचारशील हुँदैनौं भने एकतामा रहन कठिन हुन्छ । यसकारण हामीहरू प्रेमको मनद्वारा एक-अर्काप्रति नम्र र विचारशील हुँदै परमेश्वर खुशी हुनुहुने एकतामा रहनुपर्छ ।
अब, हामीले एक-अर्कासित कस्तो व्यवहार गर्नुपर्छ भन्नेबारे पत्ता लगाऔं ।
पहिलो, हामीले शिष्टतापूर्वक एक-अर्कालाई प्रेम गर्नुपर्छ ।
“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर । तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर ।” यूह १३:३४
परमेश्वरले हामीलाई प्रेम गर्नुभएजस्तै हामीले पनि एक-अर्कालाई प्रेम गर्नुपर्छ भन्नुभएको छ । नयाँ करारद्वारा परमेश्वरको देह र रगत प्राप्त गरेका हामीहरू परमेश्वरसँग मात्र एउटै शरीर भएका होइनौं, तर दाजुभाइ-दिदीबहिनीसँग पनि एउटै शरीर भएका छौं । यसकारण हामीले साँचो हृदयले दाजुभाइ-दिदीबहिनीलाई प्रेम गर्दै उनीहरूको हेरचाह गर्नुपर्छ ।
परमेश्वरले “प्रेम हठी हुँदैन” (१ कोर १३:४-५) भन्ने वचनद्वारा परमेश्वरको प्रेमको बारेमा बुझाउनुभएको छ । यसकारण हामीहरू परमेश्वरको प्रेमलाई व्यवहारमा लागू गर्न चाहन्छौं भने हामीले दाजुभाइ-दिदीबहिनीसँग नम्र व्यवहार गर्नुपर्छ । भेटेजति सबैलाई हामीले नै पहिला न्यानो अभिवादन गर्नुपर्छ, कुराकानी गर्दा अपशब्द बोल्नुहुँदैन, तर नम्र बोली बोल्नुपर्छ । अनि हामीले अरूसित पनि दयालु र नम्र व्यवहार गर्नुपर्छ ।
दोस्रो, विश्वासमा कमजोर सन्तहरूप्रति विचारशील हुनुपर्छ ।
परमेश्वरले कमजोर हामीलाई प्रेम गर्नुभएर अँगाल्नुभएजस्तै हामीले पनि विश्वासमा कमजोर सन्तहरू अथवा भर्खरै विश्वासको जीवन आरम्भ गरेका सन्तहरूप्रति विचारशील हुँदै उनीहरूलाई प्रेम गर्नुपर्छ ।
विश्वासमा दह्रिला हुने हामीले आफैलाई मात्र खुशी पार्ने इच्छा नराखेर दुर्बल मानिसहरूका कमजोरीलाई सहनुपर्छ । रोम १५:१
“विश्वासमा दह्रिला हुनेले दुर्बल मानिसहरूका कमजोरीलाई सहनुपर्छ” भन्ने यो वचनचाहिँ हामीले दुर्बल मानिसहरूप्रति विचारशील भएर उनीहरूको हेरचाह गर्नुपर्छ भन्ने अर्थ हो । यो वचनअनुसार हामीले नयाँ सन्तहरू र विश्वासमा कमजोर सन्तहरूको न्यानो हेरचाह गर्नुपर्छ (रोम १४:१-३) । यसको साथै उनीहरूले राम्ररी नजानेका कुराहरू हामीले दयापूर्वक सिकाइदिनुपर्छ, तब उनीहरूले परमेश्वरको प्रेम महसुस गर्न सक्नेछन् ।
‘म ठूलो हुँ, मेरो कुरा सुन्नुपर्छ’ अथवा ‘म अग्रज भएकोले मेरो कुरा मान्नुपर्छ’ भन्ने सोचाइले परमेश्वरलाई प्रसन्न तुल्याउन सक्दैन । सत्यतामा आफू जति पहिला आयो त्यति नै धेरै हामीले आफूलाई होच्याउनुपर्छ, अनि सेवाको मनद्वारा सन्तहरूलाई प्रेम गर्नुपर्छ ।
बाइबलमा “एक-अर्कालाई प्रेम गर,” “एक-अर्कासँग मिलापमा बस” भन्ने शिक्षाहरू बारम्बार दोहोरिएर आउँछ । हामीले परमेश्वरको इच्छालाई शिरोपर गर्दै, दाजुभाइ-दिदीबहिनीबीचको शिष्टाचारलाई कायम राख्दै एक-अर्कालाई प्रेम गर्नुको साथै एक-अर्काको सेवा गर्नुपर्छ, अनि विश्वासमा कमजोर सन्तहरूलाई विचारशीलता र प्रेमद्वारा अँगालेर परमेश्वरले खुशी मान्नुहुने पूर्ण एकता कायम राख्नुपर्छ ।
- समीक्षात्मक प्रश्न
- नयाँ सन्तहरू अथवा विश्वासमा कमजोर सन्तहरूको हेरचाह गर्दा अग्रजले ध्यान दिनुपर्ने कुराहरू के-के हुन् ?
- सन्तहरूबीच पालन गर्नुपर्ने शिष्टाचार के-के हुन्, विचार गरिहेरौं ।