निम्न सुरुवात र महान् अन्त

29,449 भ्यु

हाम्रो सुरुको अवस्था निम्न देखिए तापनि हाम्रो अन्तचाहिँ परमेश्वरको अनुग्रहद्वारा महान् हुनेछ भन्ने आशामा हामीहरू जिइरहेका छौं । हामीहरू प्रतिज्ञाका सन्तानहरू हौं । त्यसैले परमेश्वरको प्रतिज्ञा संसारका अरू मानिसहरूलाई होइन, तर हामीहरूलाई दिइएको छ ।

तपाईंको सुरुको अवस्थाहरू निम्न देखिनेछन्, त्यसरी तपाईंको अन्त अति महान् हुनेछ । अयू ८:७

यो संसारमा सबै कुराको लागि समय छ: सुरु गर्ने एउटा समय र अन्त गर्ने एउटा समय । त्यसैले सुसमाचारको कार्यको निम्ति पनि एउटा निश्चित समय छ । सुसमाचारको कार्यचाहिँ अति निम्न र कमजोर रूपमा सुरु भए तापनि जति अगाडि बढ्दैजान्छ त्यति नै समृद्ध र महान् हुँदैजान्छ । सुसमाचारको परिणाम विगतका समयहरूदेखि वृद्धि भएको थियो, वर्तमानमा पनि वृद्धि भइरहेको छ, र भविष्यमा पनि व्यापक रूपले वृद्धि हुनेछ ।

‘महान् अन्त’ बनाउने अदृश्य शक्तिको स्रोत

सबै थोकको सुरु र अन्त हुन्छ, अनि सुरु र अन्तबीचमा एउटा ‘प्रक्रिया’ हुन्छ । त्यसोभए सुसमाचारको कार्य गर्ने क्रममा कस्तो शक्तिले ‘निम्न सुरुवात’बाट ‘महान् अन्त’ ल्याउन सक्ला त ? अदृश्य शक्तिको स्रोत के हो ? हामीहरू मत्तीको पुस्तकमा गएर हेरौं ।

येशू त्यहाँँबाट जानुहुँदा दुई जना अन्धाहरू … कराउँदै उहाँँको पछिपछि लागे … तब उहाँँले तिनीहरूका आँखा छोएर भन्नुभयो, “तिमीहरूको विश्वासअनुसार तिमीहरूलाई होस्” अनि तिनीहरूका आँखा खोलिए … मत्ती ९:२७-३०

येशूज्यूले दृष्टि दिनुहुनेछ भन्ने कुरालाई ती दुई अन्धा मानिसहरूले दृढ विश्वास गरेका थिए । तिनीहरूको पूर्ण विश्वासले राम्रो परिणाम ल्यायो । तिनीहरूले अन्धकारबाट छुटकारा पाएर चम्किलो ज्योति देख्न सके । यसै गरी यदि हामीमा पनि पूर्ण विश्वास छ भने परमेश्वरले हाम्रो भविष्य पनि समृद्ध गराइदिनुहुन्छ । परमेश्वर व्याकुल मनद्वारा हामीलाई “तिमीहरूको विश्वासअनुसार तिमीहरूलाई होस्” भन्नुहुन्छ ।

मानिलिऔं, हामीले परमेश्वरको सत्यता खोजिरहेको एक जना मानिसलाई भेट्यौंं । सत्यताका वचनहरू सुनाउँदा उक्त मानिसले स्वीकार गर्ला कि नगर्ला भन्दै शङ्का गऱ्यौं भने हामीले असल फल फलाउन सक्दैनौं । तर यदि हामीले यो मानिसलाई आजको दिनमा मुक्ति दिन चाहनुभएर परमेश्वरले हामीसँग भेट गराइदिनुभएको हो भन्ने दृढ विश्वास लिएर परमेश्वरको वचन सुनायौं भने आफ्नो विश्वासअनुसार सुन्दर प्रतिफल प्राप्त गर्न सक्नेछौं ।

यो सिद्धान्तलाई चन्द्रमाको उदाहरणद्वारा बुझ्न सकिन्छ । चन्द्रमाको आफ्नो प्रकाश हुँदैन । यसले सूर्यबाट पाएको प्रकाशलाई परावर्तन गर्ने मात्र हो । त्यसैले चन्द्रमाले सूर्यबाट जति प्रकाश पाएको छ, त्यति मात्रै देखिन्छ । यदि चन्द्रमाको आधा भागले मात्र सूर्यको प्रकाश पायो भने त्यो अर्धचन्द्रको रूपमा देखा पर्छ । यदि त्यसले सूर्यबाट थोरै मात्र प्रकाश पायो भने त्यो खुर्पेचन्द्रको रूपमा देखा पर्छ । अनि यदि सूर्यको प्रकाश पृथ्वीबाट नछेकिईकन चन्द्रमाले पूर्ण रूपमा पाउन सक्यो भने त्यो पूर्णिमाको रूपमा देखा पर्छ ।

परमेश्वर ज्योति हुनुहुन्छ भनिएको छ (१ यूह १:५) । उहाँको ज्योति सारा ब्रह्माण्डमा चम्कन्छ । हामीहरू परमेश्वरबाट ज्योति पाएर अन्धकार संसारलाई चम्काउने चन्द्रमाको जस्तै भूमिका निर्वाह गरिरहेका छौं । चन्द्रमाले सूर्यबाट लिएको ज्योतिको मात्राको आधारमा त्यसको चमक निर्भर भएजस्तै, सुसमाचारको ज्योति पनि हाम्रो विश्वासको स्तरमा निर्भर हुन्छ । यदि हाम्रो विश्वासको मात्रा खुर्पेचन्द्रजस्तै छ भने हामीले संसारलाई खुर्पेचन्द्रले दिएजति मात्र ज्योति दिन सक्छौं, अनि यदि अर्धचन्द्रजस्तै छ भने अर्धचन्द्रले दिएजति मात्र दिन सक्छौं । खुर्पेचन्द्र र अर्धचन्द्रको विश्वासद्वारा हामीले पूर्णिमाले झैँ पूर्ण ज्योति दिन सक्दैनौं ।

त्यसोभए यो संसारलाई परमेश्वरको शक्ति र अनुग्रहको ज्योति प्रदान गर्न हाम्रो विश्वासको चमक कति हुनुपर्छ होला ? परमेश्वरले हामीहरूलाई “तिमीहरूको विश्वासअनुसार तिमीहरूलाई होस्” भनेर सधैँ भन्नुहुन्छ ।

मानिसहरूले एउटा पक्षाघाती मानिसलाई खाटमा ल्याए, र तिनीहरूले त्यसलाई भित्र ल्याउन र उहाँँको अगाडि राखिदिन खोजे … अनि उहाँले तिनीहरूको विश्वास देखेर भन्नुभयो, “ए मानिस, तिम्रा पाप क्षमा भयो ।” लूक ५:१८-२६

पक्षाघाती मानिस र उसलाई बोक्नेहरूले सम्पूर्ण रोग निको पार्ने शक्ति येशूज्यूमा मात्रै छ भनी दृढ विश्वास गरेका थिए । येशूज्यूले तिनीहरूको विश्वास देख्नुभएर त्यो विश्वासअनुसार पाप क्षमाको आशिष् दिनुभयो ।

हामीले दृश्य कुरालाई मात्र हेऱ्यौं भने हाम्रो विश्वास सेलाउँदैजान्छ, तर यदि हामीमा अकाट्य विश्वास छ भने, दृश्य कुराहरू हटिजान्छ । आम सोचाइ र विश्वास सधैँ एक-अर्कामा विपरीत हुन्छ । पाप क्षमा पाएका मानिसहरू आफ्नो सोचाइमा होइनकि येशूज्यूमा निर्भर भएका थिए । ती मानिसहरूले आम सोचाइद्वारा समाधान गर्न नसकिने समस्याहरूलाई विश्वासद्वारा समाधान गरे ।

यदि हामीहरू उज्ज्वल भविष्यको आशा गर्छाैं भने ती मानिसहरूको जस्तो पूर्ण विश्वास हामीमा पनि हुनुपर्छ । त्यस्तो पूर्ण विश्वास लिएर आफ्ना कार्यहरू ईमानदारिताका साथ गऱ्यौं भने हाम्रो भविष्य सुखद र समृद्ध हुनेछ ।

“… धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो । धन्य शोक गर्नेहरू किनभने तिनीहरूले सान्त्वना पाउनेछन् …” मत्ती ५:१-१२

आत्मिक रूपमा दीन भए तापनि नम्रताका साथ सुरु गर्नेहरूले स्वर्गीय राज्यको आशिष् पाउनेछन् । शोक गरेर सुरु गरे तापनि पछि सान्त्वना पाउनेछन् । परमेश्वरले हामीलाई कष्टद्वारा सुरु गराउनुभए तापनि अन्त्यमा पोखिने गरी वृद्धि गराइदिनुहुनेछ ।

‘महान् अन्त’को निम्ति उठौं र ज्योति चम्काऔं

समृद्ध भविष्यको निम्ति अगि बढ्दाखेरि विभिन्न कष्टहरूको सामना गर्नुपर्ने हुन्छ । तर सबैभन्दा महत्त्वपूर्णचाहिँ हाम्रो विश्वास हो । सर्वशक्तिमान् परमेश्वरको निम्ति सबै कुरा सम्भव छ । हामीले एक चोटि सुरु गऱ्यौं भने परमेश्वरले निश्चय नै हाम्रो भविष्य समृद्ध बनाइदिनुहुनेछ । हामीहरू समृद्ध हुने त्यो ऐतिहासिक क्षण निश्चित आउनेछ भनी विश्वास गर्नुपर्छ ।

“उठ्, प्रकाशमान् हो, किनकि तेरो प्रकाश आएको छ, र परमप्रभुको महिमा तँमाथि उदाएको छ … जाति-जाति तेरो प्रकाशमा र राजाहरू तेरो प्रभातको ज्योतिमा आउनेछन् …” यशै ६०:१-२२

वर्तमान समयमा स्वर्गीय परिवारका धेरै सदस्यहरू सियोनमा ओइरिरहेका छन् । धेरै आत्माहरूलाई पश्चात्ताप र मुक्तिमा डोऱ्याउन सियोनका सन्तहरूले आफूमा भएको उत्साहको आगो दन्काइरहेका छन् । हामीद्वारा परमेश्वरको ज्योति देखेर सबै जातिहरू र राजाहरू बादलझैँ, ढुकुरझैँ सियोनमा फर्किआउनेछन् । हामीले यस्तो उज्ज्वल भविष्यको लक्ष्य लियौं भने परमेश्वरले हाम्रा सबै आशाहरू पूरा गरिदिनुहुनेछ ।

“तिमीहरूमध्ये थोरैचाहिँ हजार हुनेछ, र सबैभन्दा सानोचाहिँ एउटा शक्तिशाली जाति हुनेछ । म परमप्रभु हुँ । त्यसको समयमा त्यो चाँडै पूरा गर्नेछु” (यशै ६०:२२) । यो प्रतिज्ञालाई विश्वास गर्दै आफूमा आइपर्ने सम्पूर्ण कष्ट र कठिनाइहरूलाई जित्ने हामीहरू हुनुपर्छ ।

परमप्रभु परमेश्वरका आत्मा ममाथि छ, … तिनीहरूलाई देख्ने सबैले ‘ती परमप्रभुबाट आशिष् पाएका सन्तान हुन्’ भनी स्वीकार गर्नेछन् । यशै ६१:१-९

परमेश्वरबाट आशिष् पाएका सन्तानहरू को हुन् ? तिनीहरू नै परमेश्वरको प्रतिज्ञा पाएका एक लाख चवालीस हजार होइनन् र ? सुरु नै नगरीकन हामीले समृद्ध भविष्य हासिल गर्न सक्दैनौं ।

परमेश्वरले हामीलाई यस्तो प्रतिज्ञा दिनुभएको छ, “तपाईंको सुरुको अवस्थाहरू निम्न देखिनेछन्, त्यसरी तपाईंंको अन्त अति महान् हुनेछ” । प्रतिज्ञा गरिएअनुसार, हाम्रो भविष्य अति नै समृद्ध हुनेछ । परमेश्वरले “तिमीहरूको विश्वासअनुसार तिमीहरूलाई होस्” पनि भन्नुभएको छ । महान् भविष्य प्राप्त गर्नको लागि हामीमा दृढ विश्वास हुनुपर्छ । परमेश्वरको कार्यको सुरुवात निम्न देखिए तापनि, त्यसको अन्त महान् हुनेछ । त्यसको समयमा परमेश्वरले त्यो चाँडै पूरा गर्नुहुनेछ ।

हामीहरू परमेश्वरको प्रतिज्ञालाई अकाट्य विश्वास गर्दै विश्वासलाई कार्यमा प्रकट गरौं । अझ भक्तिपूर्वक परमेश्वरको आज्ञा पालन गर्दै परमेश्वरको इच्छाअनुसार संसारलाई बचाउन परिश्रमसाथ प्रचार गर्ने सियोनका सम्पूर्ण परिवारहरू हुनुहोस् भन्ने चाहन्छु । धेरै आशिष् पाउनुहोस् ।