बोलीको महत्त्व

1136 हेरेको संख्या

‘एउटा बोलीले भारी ऋणसमेत चुक्ता गर्छ’ भन्ने भनाइ छ । एउटा बोलीको प्रभाव साँच्चै ठूलो छ भन्ने अर्थ हो । परमेश्वरले पनि बाइबलका थुप्रै वचनहरूद्वारा बोलीको महत्त्वबारे शिक्षा दिनुभएको छ ।

बाइबलमार्फत बोलीको महत्त्वको विषयमा अध्ययन गरौं ।

१. बोली हाम्रो हृदयमा भएको कुरालाई प्रतिबिम्ब गर्ने ऐनाजस्तै हो ।

“कि रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ । कि रूखलाई खराब बनाओ र त्यसको फल पनि खराब हुनेछ । किनभने फलबाट नै रूख चिनिन्छ । ए सर्पका बच्चा हो ! तिमीहरू आफै दुष्ट छौ, असल कुरा कसरी बोल्न सक्छौ ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन् । असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ ।” मत्ती १२:३३-३५

येशूज्यूले, असल मानिसले असल बोली बोल्दछ, तर दुष्ट मानिसले दुष्ट बोली बोल्दछ भन्नुभयो । परमेश्वरको स्वभावमा मिल्ने भद्र र असल मानिसले सधैँ परमेश्वरलाई धन्यवाद र महिमा चढाउँदछ, अनि वरपरका मानिसहरूसँग नम्र र असल बोली बोल्दछ । तर दुष्ट मानिसले भने दुष्ट बोली बोल्छ, र अरूहरूसित रुखो व्यवहार गर्दछ । हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन् भन्ने बाइबलको शिक्षालाई याद गर्दै हामीले परमेश्वरको असल स्वभावमा मिल्न र असल बोली बोल्न प्रयत्न गर्नुपर्दछ ।

२. अनुग्रह नमिल्ने बोलीले खराब परिणाम निम्त्याउँछ ।

किनकि हामी सबै धेरै भूल गर्दछौं । जुन मानिसले आफूले बोल्ने कुरामा भूल गर्दैन, त्यसले आफ्ना सारा शरीरमा पनि लगाम लगाउन सक्छ, र त्यो सिद्ध मानिस हुन्छ … हेर त, जहाजहरू जो तेज हावाले चल्दछन्, ती ठूला-ठूला भए तापनि एउटा सानो पतवारद्वारा कर्णधारले आफ्नो इच्छाअनुसार जता मन पऱ्यो त्यतै लान्छ । त्यस्तै जिब्रो पनि एउटा सानो अङ्ग भएर ठूला-ठूला कुराको अभिमान गर्दछ । हेर, एउटा सानो आगोको झिल्काले ठूलो वन पनि स्वाहा पार्दछ । जिब्रो पनि एउटा आगो नै हो । यो शरीरका अङ्गहरूमध्ये अधर्मको एउटा दुनियाँ नै हो । यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनको सारा क्रममा नै आगो सल्काइदिन्छ र नरकको आगोमा त्यो जल्छ ! याक ३:२-६

जिब्रो एउटा आगो हो भनिएको छ । एउटा सानो आगोको झिल्काले रूखमा आगो लगाइदिएर पूरै वन नै स्वाहा पारेजस्तै एउटा सानो बोलीले ठूलो पापमा पुऱ्याउन सक्छ । अनि वरपरका मानिसहरूको विश्वासलाई समेत घट्ने गराई खराब परिणाम निम्त्याउँछ । यसकारण परमेश्वरको नजरमा सिद्ध मानिस बन्नका निम्ति हामीहरू सधैँ आफ्नो बोलीप्रति होशियार हुनुपर्दछ ।

३. बोलीद्वारा परमेश्वरको महिमा प्रकट गर्न पनि सकिन्छ भने ढाक्न पनि पुगिन्छ ।

“यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून् ।” मत्ती ५:१६

कहिलेकहीँ परमेश्वरका सन्तान हामीहरूको बोली-व्यवहारद्वारा प्रभावित भएर अविश्वासीहरूले समेत परमेश्वरलाई विश्वास गर्न पुग्छन् । हाम्रो एउटा असल बोलीले परमेश्वरको महिमा प्रकट हुन सक्छ भने एउटा रुखो बोलीले परमेश्वरको महिमा ढाक्न सक्छ । हामीले परमेश्वरको सन्तान भएअनुरूप सधैँ असल बोलीद्वारा अविश्वासी मानिसहरूमाझ उदाहरण देखाउनुपर्छ, तब उनीहरूले परमेश्वरलाई महिमा गर्नेछन् ।

परमेश्वरले बोलीको महत्त्वलाई बारम्बार जोड दिनुभएको छ । हामीहरू परमेश्वरको महिमाको निम्ति सृजिएका हौं (यशै ४३:७) । हामीहरू सधैँ अनुग्रहपूर्ण र असल बोली बोलेर परमेश्वरको महिमा प्रकट गर्ने र परमेश्वरलाई प्रसन्न तुल्याउने परमेश्वरका सन्तानहरू होऔं ।

समीक्षात्मक प्रश्न
परमेश्वरको स्वरूपमा मिल्ने भद्र र असल मानिसले कस्तो बोली बोल्दछ ?
जिब्रो पनि एउटा आगो नै हो भन्ने वचनको अर्थ के हो ?
बोलीको महत्त्व महसुस हुँदाको क्षणबारे सोचिहेरौं ।