हामीहरू अनन्त स्वर्ग–राज्यमा प्रवेश गर्ने लक्ष्य लिएर विश्वासको मार्गमा हिँडिरहेका छौं । विश्वासको उजाड–स्थानमा मानिसहरूलाई खुशी दिलाउने हेतूले विश्वासको मार्गमा हिँड्नेहरू पनि हुन्छन् भने परमेश्वरले हेर्नुहुँदा असल धार्मिक जीवन जिउने मानिसहरू पनि हुन्छन् ।
सुरुको मण्डलीको इतिहासलाई हेर्ने हो भने, प्रेरितहरू र सन्तहरूले “के म मानिसहरूको निगाह खोज्दैछु, कि परमेश्वरको ?” भन्दै परमेश्वरलाई खुशी दिलाउने दिशातर्फ विश्वासको मार्गमा हिँड्न हरप्रयत्न गरेका कुरा देख्न सकिन्छ (गला १:१०) । यो युगका हामीहरू पनि उस्तै नै हौं । हामीहरू ईश्वरीय स्वभाव धारण गर्न कोसिस गर्दै, माताको शिक्षाअनुसार सधैँ हाँस्दै जिउन खोज्नुको कारण पनि, त्यो नै परमेश्वरले हेर्नुहुँदा असल भएकोले गर्दा हो ।
परमेश्वरले हेर्नुहुँदा हामीले परमेश्वरलाई खुशी दिलाउने जीवनलाई रोज्नुपर्छ, तर हामीहरू कहिलेकहीँ आफ्नै नजरमा र अन्य मानिसहरूको नजरमा खुशी देखिने जीवनलाई रोज्न पुग्छौं । जस्तोसुकै परिस्थितिमा पनि हामीचाहिँ सधैँ “परमेश्वरले हेर्नुभयो, त्यो असल थियो” भनेर लेखिइन सक्ने र परमेश्वरलाई खुशी दिलाउने त्यस्तो विश्वासको जीवन जिउनुपर्छ ।
परमेश्वरले आफ्नो इच्छाबमोजिम यो पृथ्वी लगायत यावत् थोकहरू सृष्टि गर्नुभयो । उत्पत्ति १ अध्यायमा उल्लेखित परमेश्वरको सृष्टि–कार्यलाई हेर्ने हो भने सृष्टिका सम्पूर्ण थोक परमेश्वरको वचनद्वारा सृष्टि भएको देख्न सक्नेछौं ।
अनि परमेश्वरले भन्नुभयो, “उज्यालो होस् ।” तब उज्यालो भयो । र परमेश्वरले उज्यालोलाई हेर्नुभयो, त्यो असल थियो । उहाँले उज्यालो र अँध्यारोलाई अलग–अलग गर्नुभयो । परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” भन्नुभयो । साँझ पर्यो र बिहान भयो— पहिलो दिन । उत १:३–५
अनि परमेश्वरले भन्नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस् ।” तब त्यस्तै भइहाल्यो । परमेश्वरले ओबानो भूमिलाई “पृथ्वी” भन्नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्नुभयो । अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो । उत १:९–१०
आकाश र पृथ्वी सृष्टि गर्नुहुँदा परमेश्वरले सबैभन्दा पहिला उज्यालो बनाउनुभयो । परमेश्वरको वचनअनुसार सृष्टि भएको उज्यालोलाई परमेश्वरले हेर्नुभयो, त्यो असल थियो । अनि क्षेत्रमाथिको पानी र क्षेत्रमुनिको पानीलाई दुई भाग गरोस् भन्नुभयो, र त्यस्तै भइहाल्यो । यसै गरी परमेश्वरले समुद्र र जमीन अलग होस् भन्नुभयो, र त्यस्तै भइहाल्यो । यी सबैलाई पनि परमेश्वरले हेर्नुभयो, र सबै असल थिए । यसरी परमेश्वरको वचनअनुसार कार्य गरिएर पूरा भएका सम्पूर्ण थोकहरूलाई परमेश्वरले हेर्नुभयो, र ती सबै असल थिए भनेर बाइबलमा लेखिएको छ (उत १:११–३१) ।
आकाश र पृथ्वी परमेश्वरको वचनमा आज्ञाकारी भएजस्तै, हामीले पनि परमेश्वरले हेर्नुहुँदा र परमेश्वरको मापनमा असल देखिने गरी सम्पूर्ण कार्यहरू गर्नुपर्छ । आफ्नो सोचाइ लगाएर, अथवा मानिसहरूले हेर्दा असल देखिने गरी कार्यहरू गर्यौं भने, हामीहरू परमेश्वरमा अनाज्ञाकारी हुन पुग्छौं, परमेश्वरको नियम र व्यवस्था पालन गर्न चुक्नेछौं र अन्तत: अधर्म कार्यहरू गर्न पुग्छौं । त्यसैले, आफ्नै नोक्सानी हुने मार्ग नै भए पनि हामीहरू त्यसलाई असल भन्ठान्दै मूर्ख कार्य गर्न पुग्छौं ।
हामीले परमेश्वरको दृष्टिकोणमा सही देखिने मार्गलाई रोज्नुपर्छ, र विश्वासद्वारा सोही मार्गमा हिँड्नुपर्छ । परमेश्वरले हेर्नुहुँदा असल देखिएका विश्वासका पुर्खाहरूको कार्यहरूमार्फत्, वर्तमान युगमा जिइरहेका हामीहरू आफ्नो विश्वासको जीवनलाई एक चोटि फर्केर हेरौं ।
अघिअघि लेखिएका कुराहरू हाम्रो शिक्षाको निम्ति लेखिएका थिए, यस उद्देश्यले कि पवित्र–शास्त्रबाट आउने स्थिरता र उत्साहद्वारा हामी आशा प्राप्त गर्न सकौं । स्थिरता र उत्साहका परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूसँग एक भएर एक–अर्कासँग एक चित्तका भई जिउन देऊन्,… रोम १५:४–५
परमेश्वरले हेर्नुहुँदा असल देखिएका थुप्रै कुराहरू बाइबलमा लेखिएका छन् । हामीलाई मुक्तिको बाटोमा डोर्याउन परमेश्वरले विश्वासका पुर्खाहरूको कार्यहरू बाइबलमा लेखाउनुभई उनीहरूको जीवनीमार्फत्, परमेश्वरले हेर्नुहुँदा असल देखिने मार्ग र खराब देखिने मार्गबारे हामीलाई शिक्षा दिँदैहुनुहुन्छ ।
प्राचीन समयमा दानिएलका तीन साथीहरू— शद्रक, मेशक र अबेद्नगोले मूर्तिलाई दण्डवत् गर भन्ने राजाको हुकुमलाई नमानेकाले उनीहरू दन्किरहेको आगोको भट्टीमा फ्याँकिएका थिए । आगोको भट्टीमा फ्याकिइँदा समेत कति पनि नडराईकन परमेश्वरको वचनलाई अकाटय पालन गरेका उनीहरू, परमेश्वरको दृष्टिमा साह्रै असल देखिएका थिए । आफ्नो ज्यान जोखिममा पर्दासमेत परमेश्वरको वचनमा आज्ञाकारी भएका उनीहरूको त्यस्तो अटल विश्वासलाई परमेश्वरले हेर्नुहुँदा राम्रो देखिएकोले, अन्तत: परमेश्वरले उनीहरूलाई दर्दनाक आगोको भट्टीबाट बचाइदिनुभयो (दान ३:१–३०) ।
दानिएलले पनि परमेश्वरको दृष्टिमा असल विश्वासको उदाहरण छाडेका छन् । दानिएल यरूशलेमतिरको झ्याल खुल्ला राखेर दिनमा तीन पल्ट परमेश्वरलाई प्रार्थना गर्थे । तब विरोधीहरूले उनलाई हानि गर्न षड्यन्त्र रचे, र राजाबाहेक अन्य कुनै देवता वा मानिसलाई प्रार्थना गर्ने जोकोहीलाई सिंहको खोरमा फ्याँकिनुपर्छ भन्ने नयाँ शाही आदेश जारी गर्न राजासमक्ष बिन्ती गरे । यो आदेश सुनेपछि पनि दानिएलले परमेश्वरमा प्रार्थना चढाउन रोकेनन् । दानिएलले परमेश्वरको इच्छाअनुसार निरन्तर प्रार्थना गरेकाले, यसलाई परमेश्वरले हेर्नुहुँदा असल र प्रशंसनीय देखियो । परमेश्वरले सिंहको खोरमा फालिएका दानिएललाई बचाउनुभयो र उनलाई झूटो आरोप लगाउने दुष्ट मानिसहरू उल्टै सिंहको आहारा भए(दान ६:१–२८) ।
परमेश्वरले हेर्नुहुँदा असल देखिएका मानिसहरूलाई परमेश्वरले सहयोग गर्नुभयो र उनीहरूलाई अझ ठूलो महिमा दिलाउनुभयो । बाइबललाई ध्यानपूर्वक अध्ययन गर्ने हो भने, परमेश्वरका सम्पूर्ण सृष्टिका थोकहरू परमेश्वरको वचनमा आज्ञाकारी हुँदा “परमेश्वरले हेर्नुभयो, त्यो असल थियो” भनेर वर्णन गरिएको देख्न सक्नेछौं । वचनमा आज्ञाकारी हुनु नै आफ्नो सारा हृदय, सारा प्राण र सारा समझले वचन पालन गर्नु हो, र त्यो नै परमेश्वरले हेर्नुहुँदा असल र प्रशंसनीय देखिन्छ ।
… जसले विश्वासद्वारा राज्यहरू कब्जा गरे, न्याय स्थापना गरे, प्रतिज्ञाहरू हासिल गरे, सिंहका मुखहरू थुनिदिए, आगोका ज्वालाहरू निभाए, तरवारका धारबाट उम्के, कमजोरीबाट बलिया भए, युद्धमा वीर भए, विदेशीहरूका फौजलाई भगाए । स्त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा जीवित पाए । अरूहरूले मृत्युपछि अझ उत्तम जीवन प्राप्त गर्नलाई छुटकारा इन्कार गरेर बरु सास्ती भोगे । अरूहरूले गिल्ला, कोर्राबाजी, बन्धन र कैद पनि भोग्नुपर्यो । तिनीहरूलाई ढुङ्गाले हाने । तिनीहरू करौँतीले चिरिए । तिनीहरू तरवारले मारिए । भेडा र बाख्राका छालाहरू लाएर कङ्गाल भई क्लेश र दु:ख पाएर तिनीहरू यताउता डुलिहिँडे । संसार तिनीहरू निम्ति योग्यको थिएन । मरुभूमि, पहाडहरू, गुफाहरू र पृथ्वीका ओडारहरू हुँदो तिनीहरूलाई घुमिहिँड्नुपर्यो । हिब्रू ११:३३–३८
कष्ट र सतावटको बाबजुद पनि आफ्नो विश्वासलाई बचाइराखेका सुरुका मण्डलीका सन्तहरू पनि परमेश्वरले हेर्नुहुँदा सुन्दर देखिन्थे । तिनीहरू रोमको दमनप्रति कदापि झुकेनन्, आत्मसमर्पण गरेनन्, तर जस्तोसुकै कष्ट र सतावट आइपरे तापनि परमेश्वरको वचनमा आज्ञाकारी रहे । तिनीहरूले परमेश्वरको वचनलाई अकाट्य विश्वास गर्दै आफ्नो प्राणभन्दा अझ अमूल्य ठानेकोले कहिले मरुभूमि, कहिले पहाड, कहिले गुफाहरू र पृथ्वीका ओडारहरू हुँदो घुमिहिँड्ने, त कहिले गिल्ला, कोर्राबाजी, बन्धन र कैद अनि मृत्युसमेत भोग्नुपरे तापनि तिनीहरूले अन्तत: सत्यताका योद्धाको रूपमा आत्मिक विजय प्राप्त गरे ।
रोमी सरकारसँग हात मिलाउँदै रोमन क्याथोलिक मण्डलीले, परमेश्वरले हेर्नुहुँदा असल देखिने मार्गलाई लत्याएर संसारको दृष्टिकोणमा प्रशंसनीय देखिने मार्गलाई रोज्यो । तब बाइबलमा उल्लेख नभएका आइतबारको सेवा र क्रिसमसजस्ता सूर्यपूजाका सिद्धान्तहरू ख्रीष्टियानहरू साँचो सिद्धान्तहरूजस्तै भएर मण्डलीमा भित्रि थाल्यो । यद्यपि, सत्यतालाई प्रेम गरेका सन्तहरूले चाहिँ ती सिद्धान्तहरूको अनुसरण नगरीकन अन्त्यसम्मै सत्यतालाई पछयाए । तिनीहरूले परमेश्वरले हेर्नुहुँदा असल र प्रशंसनीय देखिने मार्गलाई रोजे ।
हामीहरू पनि ती सन्तहरूले जस्तै, जस्तोसुकै अवस्था आइपरे तापनि परमेश्वरले हेर्नुहुँदा असल देखिने मार्गलाई नै रोज्नुपर्छ । परमेश्वरले हामीलाई बाइबल भन्ने बहुमूल्य उपहार दिनुभएको छ । परमेश्वरको वचनको संग्रह बाइबलभित्र मुक्तिको शिक्षा समाविष्ट छ ।
तिमी बाल्यकालदेखि पवित्र–धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ । २ तिमो ३:१५
परमेश्वरले बाइबलद्वारा हामीलाई मुक्तिको सन्देश र मुक्तिको मार्ग जानकारी दिनुभएको छ । यस्तो बाइबलको विशेषतालाई यदि हामीले बुझेका छौं भने बाइबलमा उल्लेखित परमेश्वरको वचनमा पूर्णतया आज्ञाकारी हुँदै परमेश्वरको दृष्टिमा असल देखिने जीवन जिउने हामीहरू हुनुपर्दछ ।
यस पुस्तकको अगमवाणीका वचन सुन्ने हरेक मानिसलाई म चेतावनी दिन्छु: यदि कसैले तिनमा थप्यो भने यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ । अनि कसैले यस अगमवाणीको पुस्तकका वचनबाट केही घटायो भने, यस पुस्तकमा लेखिएका जीवनको वृक्ष र पवित्र सहरबाट त्यसले पाउने हिस्सा परमेश्वरले त्यसबाट खोस्नुहुनेछ । प्रका २२:१८–१९
परमेश्वरको वचनमा हामीले थप्ने अथवा घटाउने गर्नुहुँदैन । त्यसोभए ‘परमेश्वरले हेर्नुभयो, त्यो सबैभन्दा असल थियो’ भन्ने गवाही परमेश्वरबाट पाउनको निम्ति हामीहरू विशेषत: कुन वचनमा आज्ञाकारी हुनुपर्छ होला ? ठयाक्कै अगाडिको वचनमा हेर्यौं भने यसको उत्तर पत्ता लाग्नेछ ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लेओस् । प्रका २२:१७
पवित्र आत्मा र दुलहीको बोलावटलाई स्वीकार्ने मानिसहरू परमेश्वरकहाँ आई जीवनको सत्यतामा वास गर्ने त्यो क्षण नै परमेश्वरले हेर्नुहुँदा सबैभन्दा प्रशंसनीय क्षण हुन्छ । “उज्यालो होस्,” भन्नुहुँदा उज्यालो हुने, “क्षेत्रमुनिको पानी र क्षेत्रमाथिको पानीलाई अलग–अलग होस्” भन्नुहुँदा त्यस्तै भइहाल्ने यी सबै थोकलाई परमेश्वरले हेर्नुहुँदा असल थिए । तर यो युगमा चाहिँ, पवित्र आत्मा र दुलहीले ‘आउनुहोस् !’ भनेर बोलाउनुहुँदा त्यो सोरमा आज्ञाकारी हुनेहरू नै परमेश्वरले हेर्नुहुँदा सबैभन्दा सुन्दर देखिने मानिसहरू हुन् ।
परमेश्वर यो अन्तिम युगमा, पवित्र आत्मा र दुलहीको रूपमा आउनुभएर हामीलाई प्रतिज्ञा गर्नुभई, प्रतिज्ञाका सन्तान बनाउनुभएको छ ।
अब हे भाइ हो, इसहाकजस्तै हामी पनि प्रतिज्ञाका सन्तान हौं । तर त्यस बेला जसरी शरीरअनुसार जन्मेकोले आत्माअनुसार जन्मेकोलाई सताउँदथ्यो, अहिले पनि त्यस्तै छ । गला ४:२८–२९
परमेश्वरले हामीलाई गर्नुभएको प्रतिज्ञा नै अनन्त जीवन हो(१ यूह २:२५)। अनन्त जीवनको प्रतिज्ञा प्राप्त गरेका “प्रतिज्ञाका सन्तान”हरूले निश्चय नै सतावट भोग्नेछन् । तर उनीहरूले पाएको प्रतिज्ञा अत्यन्तै आशिषित् र बहुमूल्य भएकोले त्यो प्रतिज्ञालाई खोस्नको निम्ति शैतानले उनीहरूको मार्गमा विभिन्न अवरोधहरू पैदा गरिदिने गर्छ । यो प्रतिज्ञाचाहिँ परमेश्वरले हाम्रा विश्वासका पुर्खाहरूको निम्ति नभएर वर्तमान समयका हामीहरूको निम्ति साँचेर राखिदिनुभएको हो ।
… मरुभूमि, पहाडहरू, गुफाहरू र पृथ्वीका ओडारहरू हुँदो तिनीहरूलाई घुमिहिँड्नुपर्यो । तिनीहरू सबैले आफ्ना विश्वासको निम्ति ठूलो प्रशंसा पाए, तर प्रतिज्ञा गरिएका कुराचाहिँ पाएनन् । परमेश्वरले हाम्रा लागि अझ असल योजना राख्नुभएको थियो, ताकि हामीसँग मात्रै तिनीहरू सिद्ध तुल्याऊन् । हिब्रू ११:३५–४०
संसारको निम्ति योग्य नभएको ठूलो विश्वास लिएका सुरुको मण्डलीका सन्तहरूले पनि विश्वासद्वारा कदर पाएका भए पनि उनीहरूमध्ये कसैले पनि प्रतिज्ञा गरिएको कुराचाहिँ प्राप्त गरेनन् । किनभने जीवनचाहिँ केवल आमाद्वारा मात्र दिइएजस्तै प्रतिज्ञाका सन्तानहरू पनि केवल स्वर्गीय माताद्वारा मात्र जन्मन सक्ने भएकाले गर्दा हो । पवित्र आत्मासँगै जीवनको पानी दिनुहुने दुलही हुनुभएकी स्वर्गीय यरूशलेम माता प्रकट नहोउञ्जेल इसहाकजस्तै प्रतिज्ञाका सन्तानहरू कुनै हालतमा जन्मिन सक्दैनन् (प्रका २१:९–१०, गला ४:२६–३१)।
वर्तमान समयका हामीहरूचाहिँ परमेश्वरले हेर्नुहुँदा असल देखिने स्त्रीका बाँकी सन्तानहरू हौं(प्रका २२:१७)। यशैयाको पुस्तकमा हाम्रो विषयमा निम्नानुसार अगमवाणी गरिएको छ:
“हे यरूशलेमलाई प्रेम गर्ने हो, तिमीहरू सबै त्यससित आनन्द गर, र त्यसको निम्ति प्रसन्न होओ । हे त्यसको निम्ति शोक गर्ने हो, आनन्दले प्रफुल्लित होओ । किनकि त्यसका सान्त्वना दिने स्तन चुसेर तिमीहरू सन्तुष्ट हुनेछौ, र दूध पूरै चुसेर त्यसको प्रशस्तपनमा आनन्दित हुनेछौ ।” किनकि परमप्रभु यसो भन्नुहुन्छ, “म शान्तिलाई नदीझैँ र जाति–जातिहरूको सम्पत्ति उर्लंदो खोलाझैँ त्यसतर्फ बढाउनेछु । तिमीहरू दूध चुस्नेछौ र तिमीहरू आँगमा बोकिनेछौ, र घुँडामा खेलाइनेछौ । आमाले आफ्ना बालकलाई सान्त्वना दिएझैँ म तिमीहरूलाई सान्त्वना दिनेछु । र तिमीहरूले यरूशलेमको कारण सान्त्वना पाउनेछौ ।” जब तिमीहरूले यो देख्नेछौ तब तिमीहरूका हृदय रमाउनेछन्, र तिमीहरू घाँसझैँ भरिला हुनेछौ । परमप्रभुको हात आफ्ना दासहरूतिर पसारेको तर उहाँको क्रोधचाहिँ उहाँका शत्रुहरूमाथि भएको थाहा गराइनेछ । यशै ६६:१०–१४
आमाको दूध चुसेर आनन्दित हुने र आमासँगै रमाउने एउटा सानो बालकलाई कल्पना गरिहेर्नुहोस् । योभन्दा ठूलो सन्तुष्टि र आनन्द सायद अरू केही छैन होला । यरूशलेमलाई प्रेम गर्नेहरूले यस्तो खुशी र आशिष्को अनुमति दिइएको छ । उनीहरू नै पवित्र आत्मा र दुलहीको बोलावटलाई पछयाउने मानिसहरू हुन् ।
त्यसोभए यरूशलेमलाई प्रेम गर्नेहरूचाहिँ परमेश्वरले हेर्नुहुँदा कस्ता मानिसहरू हुन् त ? उनीहरू नै परमेश्वरले हेर्नुहुँदा एकदमै असल र मायालु देखिने मानिसहरू हुन् । पवित्र आत्मा र दुलहीको रूपमा आउनुभएका परमेश्वरको वचनमा पूर्ण रूपमा आज्ञाकारी हुने र परमेश्वरले दिनुभएको शिक्षालाई पछयाउन अन्त्यसम्म प्रयत्न गर्नेहरू नै, परमेश्वरका प्रतिज्ञाका सन्तान, अर्थात् स्वतन्त्र स्त्रीका सन्तानहरू हुन् ।
यो युगमा परमेश्वरले हामीलाई यरूशलेम स्वर्गीय माताको अस्तित्व जानकारी दिनुभएको छ । साथै बाइबलको शिक्षामार्फत् परमेश्वरले हामीलाई, मैले तिमीहरूलाई देखाइदिएको उदाहरणबमोजिम गर्नू, अनि बाइबलका वचनहरूमा कदापि थपघट नगर्नू भन्ने शिक्षा दिनुभएको छ ।
बाइबलका वचनहरूमा थपघट नगरीकन माताको अस्तित्वबारे छलफल गर्ने हो भने, हामीहरू अन्तत: माता परमेश्वरलाई विश्वास गर्नैपर्छ भन्ने निष्कर्षमा पुग्नेछौं । बाइबलको सुरुदेखि अन्तिमसम्मका सम्पूर्ण वचनहरूमा निरन्तर हाम्री माता परमेश्वर हुनुहुन्छ भन्ने शिक्षा समावेश छ । पृथ्वीका कुराहरू स्वर्गका कुराहरूको ‘नकल र छाया’(हिब्रू ८:५) भनिएको त्यो वचनलाई हेर्ने हो भने, यो पृथ्वीमा आमा हुनुहुन्छ तर स्वर्गमा चाहिँ माता अस्तित्वमा हुनुहुन्न भन्ने जिद्दीचाहिँ, छाया त छ तर वास्तविकताचाहिँ छैन भन्ने व्यर्थको जिद्दी मात्र हो भन्ने बुझिन्छ ।
हामीचाहिँ यरूशलेम माताप्रतिको आफ्नो विश्वासलाई कायम राख्दै, माताको शिक्षालाई अनुग्रहात्मक रूपमा लिँदै त्यसमा आज्ञाकारी हुनुपर्छ । “माता जानुहुने ठाउँमा म पनि जानेछु, माता रहनुहुने ठाउँमा म पनि रहनेछु । माताका प्रजाहरू मेरा आफ्ना प्रजाहरू हुन्, अन्त्यसम्मै मातासँग रहनेछु” भन्ने रूथको पुत्रानुरूप दायित्वलाई बाइबलमा किन उल्लेख गरिएको होला भन्नेबारे सोचिहेर्नुहोस् । बाइबलचाहिँ हामीलाई मुक्तिको शिक्षा दिने पुस्तक हो ।
यसको अर्थलाई सही तरिकाले मनन गरेर बाइबलका एक–एक दृश्यलाई हेर्ने हो भने, बाइबलका सबै कुराहरू मुक्तिसँग सम्बन्धित छ भन्ने यथार्थता पत्ता लाग्नेछ । परमेश्वरले हेर्नुहुँदा असल र प्रशंसनीय देखिएको विश्वासको मार्गमा हामीहरू हिँडिरहेका छौं भन्ने यर्थाथताप्रति गर्व गरौं । वर्तमान समयमा जिइरहेका हामीहरूले प्रतिज्ञाका सन्तानको रूपमा चुनिएर, कल्पनै गर्न नसकिने ठूलो आशिष् पाएका छौं । यी सम्पूर्ण आशिष्हरू केवल माताद्वारा पाउन सकिन्छ । यी आशिष्हरू कति महान् छन् भन्ने कुरालाई सोच्दै, हामीलाई स्त्रीका बाँकी सन्तानको रूपमा अनन्त जीवनको आशिष् र प्रतिज्ञामा डोर्याउनुहुने एलोहिम परमेश्वरलाई सम्पूर्ण धन्यवाद, महिमा र प्रशंसा चढाऔं ।
परमेश्वरले हेर्नुहुँदा असल र प्रशंसनीय हुनको निम्ति हामीहरू परमेश्वरको वचनअनुसार जिउनुपर्छ । पिता माताको मार्गलाई पछयाउनु पनि परमेश्वरको वचनअनुसार जिउनु हो भन्न सकिन्छ । परमेश्वरले देखाइदिनुभएको उदाहरणलाई पछयाउँदै आत्मा र उद्देश्यमा एकताबद्ध भई परमेश्वरको भय मान्न सकौं भनेर नै परमेश्वरले हामीलाई बाइबल दिनुभएको हो । स्त्रीका बाँकी सन्तानहरू, प्रतिज्ञाका सन्तानको रूपमा परमेश्वरले प्रतिज्ञा गर्नुभएको अनन्त जीवनको मुकुट अन्त्यसम्म पक्रिराख्ने र खुशीको चिच्याहटसँगै स्वर्गको चम्किलो महिमामा प्रवेश गर्ने सियोनका परिवारहरू हुनुहुनेछ भन्ने आशा गर्दछु ।