भाषा चयन गर्नुहोस् ।

Close

WATV.org is provided in English. Would you like to change to English?

मातृ नैसर्गिकता

807 हेरेको संख्या

प्रकृतिमा भएका सम्पूर्ण जीवित प्राणीहरू अरूको शिकार हुनबाट बच्न आ-आफ्ना प्राकृतिक शत्रुहरूबाट भाग्ने गर्छन् । तर मातृ नैसर्गिकताबाट उत्पन्न हुने साहसले ती प्राणीहरूलाई प्रकृतिको प्रबन्धविरुद्ध समेत जाने गराउँछ । जिराफले निडरतापूर्वक ५ वटा भोकाएका सिंहहरूलाई सीधै आक्रमण गर्छ, अनि सर्पसँग लड्न लोखर्केले आफ्नो ज्यानको बाजी राख्छ । त्यसको एकमात्र कारण नै आफ्ना बच्चाहरूलाई बचाउनको निम्ति हो । समुद्रमा बच्चा डल्फिनलाई आक्रमण गरेको सार्कलाई माउ डल्फिनले टाउकोले हिर्काउँदा सार्कको मृत्यु भएको घटनासमेत घटेको थियो । अबुझ वन्य जनावरको संसारमा आफ्ना बच्चाहरूलाई सुरक्षा गर्ने आमाहरूको सङ्घर्ष साँच्चै आश्चर्यजनक र हृदयस्पर्शी छ ।

मानिस पनि अपवादमा पर्दैन । कट्टरपन्थी आतङ्कवादी समूहको कुनै सदस्यसँग विवाह गर्न घरबाट भागेकी अपरिपक्व छोरीलाई सीधै आफैले गएर उद्धार गरी ल्याएकी आमा पनि छिन् । त्यसरी आतङ्कवादी समूहको कार्यकारी शिविरमा गएकी छोरीले तुरुन्त आफूले गरेको गल्तीप्रति पछुतो गर्दै आमालाई सहयोगको निम्ति गुहारिन् । सरकारले समेत केही गर्न नसक्ने त्यस्तो अवस्थामा आफ्नी छोरीलाई बचाउन आफ्नो ज्यानलाई समेत जोखिममा मोलेकी ती आमाको साहस साँच्चै उदेकको थियो । विपत्तिमा परेको बच्चा आमाको काखमा सकुशल जीवित भेट्टिएको र कुनै आमाले अलौकिक शक्तिद्वारा आफ्नो बच्चालाई बचाएको जस्ता मातृ नैसर्गिकता दर्शाउने कहानीहरू थुप्रै छन् । यसरी हामीले हाम्रो वरिपरि मातृ नैसर्गिकताको शक्ति सजिलै भेट्टाउन सक्छौं, अनि सबैले यसबाट सहानुभूति प्राप्त गर्छन् ।

स्त्रीको मस्तिष्कमा परिवर्तन ल्याउने कुरा, मातृत्व

अधिकांश आमाहरूले, बच्चा जन्माउनुअघिसम्म कल्पनासमेत नगरेका कार्यहरू बच्चा जन्माएपछि चाहिँ, आफ्नै पुनर्जन्म भएझैँ गरेर सजिलै गर्न पुगेको कुरा बताउँछन् । आमाहरूमा त्यस्तो के हुने भएकोले होला ?

बच्चा जन्माएपछि आमाहरूमा धेरै बिर्सिने बानी बस्छ । योचाहिँ आमाले भ्रूणलाई अधिक मात्रामा पोषक तत्त्व दिने हुँदा तिनको मस्तिष्क खुम्चिने भएकोले गर्दा हो । तर समय बित्दैजाँदा तिनको मस्तिष्क फेरि पहिलाकै अवस्थामा फर्किआउँछ । तब मस्तिष्क पुनर्निर्माण भएर त्यसको दक्षतामा सुधार आउँछ, र त्यो अझ एकाग्र बन्न सक्छ ।

कुनै एक न्यूरो विशेषज्ञ क्रेग किन्स्लीद्वारा गरिएको परीक्षणका अनुसार, गर्भावस्थामा रहेको मुसाको मस्तिष्कलाई चिरेर हेर्दा त्यसमा सिक्ने र स्मरण शक्तिमा मुख्य भूमिका निर्वाह गर्ने हिप्पोक्याम्पल न्यूरोनहरू एकदमै जटिलतापूर्वक पुनर्व्यवस्थित भएर बसेको कुरा पत्ता लागेको थियो । अर्थात् आमाको मस्तिष्क सन्तानलाई राम्ररी हुर्काउन सक्ने गरेर पुनर्निर्मित हुन्छ भन्ने कुरा हो । जनावरको व्यवहारमा गरिएको परीक्षणमा पनि माउ मुसाले सन्तान नजन्माएको पोथी मुसाले भन्दा चाँडो आहाराप्रति प्रतिक्रिया जनाउने कुरा देखायो, किनकि आमा मुसाको सुन्ने र सुँघ्ने ज्ञानेन्द्रीय विकास भएर फुर्तिलो भएको हुन्छ ।

मानिसमा पनि यो कुरा लागू हुन्छ । सन्तान जन्मेको पहिलो हप्तातिर आमालाई अलि आलस्य महसुस हुन सक्छ, तर त्यसपछि ज्ञानेन्द्रीयमा सुधार आएर आफ्नो वरिपरि भएका कुराहरूप्रति तिनले सक्रिय प्रतिक्रिया जनाउन पुग्छिन् । त्यसैले बच्चा उठेको थाहा पाउनेबित्तिकै आमाहरू उठिहाल्छन्, अनि अरूहरूले विरलै याद गर्ने बच्चामा आएका परिवर्तनहरू पनि आमाहरूले भने तुरुन्तै पत्तो पाउँछन् । यति मात्र होइन, आमा एकै समयमा खाना बनाउने, फोनमा कुराकानी गर्ने, बच्चाको रेखदेख गर्ने जस्ता ३-४ वटा भूमिका निर्वाह गर्ने एक अद्भुत स्त्री बन्न पुग्छिन् ।

स्त्रीहरूले अवर्णनीय कष्ट सहेर बच्चा जन्माउँछन्, अनि त्यसपछि आश्चर्यजनक रूपले गहिरो शान्ति महसुस गर्छन् । त्योचाहिँ अक्सिटोसिनले गर्दा हुने हो । अक्सिटोसिनचाहिँ आमाहरूको चिन्ता कम गराउनलाई मात्र नभएर आफ्नो बच्चालाई प्रेम गर्नसमेत मद्दत पुऱ्याउने हर्मोन हो । अनि यसले स्ट्रेस हर्मोनको स्रावलाई दबाएर आमाको सामाजिक क्षमतामा सुधार ल्याउनुको साथै सिक्ने क्षमता पनि बलियो बनाउँछ ।

सुरुमा उल्लेख गरिएजस्तै, आमाहरू सन्तानको निम्ति एकदमै डरलाग्दो र जोखिमपूर्ण अवस्थामा पनि साहसी बन्न सक्नुको कारण नै हर्मोनको प्रभावले गर्दा हो भन्ने अनुमान लगाइएको छ । त्यसबारे थप परीक्षण गर्न बाँकी नै भए पनि, सन्तानको सन्दर्भमा आउने आमाको साहसको पछाडि दुई किसिमका हर्मोनहरू सम्बन्धित हुन्छन् भन्ने कुरा प्रमाणित भइसकेको छ । स्ट्रेस नियन्त्रण गर्ने हर्मोन ‘अक्सिटोसिन’ र दूध उत्पादन गर्ने हर्मोन ‘प्रोल्याक्टिन’ले डर र चिन्ता हटाउँछ । प्रोल्याक्टिनको अनुसन्धानमा सामेल भएका जर्मनी न्यूरो जीवशास्त्री इन्गा नेउमनले “प्रोल्याक्टिनले मस्तिष्कमा काम गरेर आमालाई साहसी बनाउँछ” भनेका छन् । त्यसैले थुप्रै माउ मुसाहरू दूध उत्पादन हुने समयमा पासोमा पर्नुको कारणचाहिँ उनीहरूले आफ्ना बच्चाहरूको लागि अझ जोखिमपूर्ण ठाउँको खोजी गर्ने भएकाले हो ।

मातृ-प्रेमको जैविक कार्यक्रम

जीवित प्राणीको मातृ नैसर्गिकताचाहिँ बलिदान र समर्पणयुक्त हुन्छ । मातृ नैसर्गिकताबाट उत्पन्न हुने आमाको स्याहारले बच्चाहरूलाई जोखिमपूर्ण वातावरणमा पनि बाँच्न सक्ने गरी मद्दत पुऱ्याउँछ । कालो भालुहरूले केही पनि नखाई शीत-निद्रामा पर्ने जाडोयाममा बच्चा जन्माउँछन्, अनि भोकभोकै भए पनि आफ्ना बच्चाहरूलाई दूध खुवाउँदै पूरै जाडोयाम बिताउँछन् । घरविहीन भएर बाटोमा बस्दै आफ्ना छाउरालाई हुर्काउने माउ कुकुर र बिरालोको कहानीले पनि हामीलाई मातृत्वको महानता महसुस गराउँछ ।

विगतमा मानिसहरूले मातृ नैसर्गिकतालाई स्वाभाविक कुराझैँ ठान्ने गर्थे । तर टर्कल र रोजनब्लाटको अनुसन्धानले मातृ नैसर्गिकतालाई वैज्ञानिक दृष्टिकोणबाट हेर्ने महत्त्वपूर्ण अवसर प्रदान गऱ्यो । उनीहरूले बच्चा जन्माएको ४८ घण्टाभित्र माउ मुसाको रगतको नमूना लिएर सन्तान नजन्माएको पोथी मुसाको शरीरमा हालिदिए । त्यसपछि त्यस पोथी मुसाले दूध नआए पनि बच्चालाई दूध खुवाउन खोज्दै आफैले ती बच्चाहरूलाई जन्माएझैँ गरेर तिनीहरूको रेखदेख गऱ्यो । यसले, बच्चा जन्माएपछि तुरुन्तै निकालिएको माउ मुसाको रगतमा मातृ व्यवहार गर्न प्रेरित गराउने तत्त्व समावेश थियो भन्ने कुरा दर्शाउँछ ।

पछि गएर मातृ व्यवहार गर्न प्रेरित गराउने त्यो हर्मोन नै अक्सिटोसिन हर्मोन हो भन्ने कुरा प्रमाणित भयो । अक्सिटोसिनचाहिँ स्त्रीलाई प्रसवपीडाबाट गुज्रिने गराउनुका साथै शरीरमा दूध उत्पन्न गर्न मद्दत गर्ने हर्मोन हो । यसले आमा र सन्तानबीच एकदमै भावनात्मक सम्बन्धको सृजना गर्छ, अनि आमालाई आफ्नो सन्तानको सुरक्षा र रेखदेख गर्न प्रोत्साहन दिन्छ ।

अनि माउ मुसाको मस्तिष्कमा डोपामिनको मात्रामा बद्लाव आएको पनि देखिएको थियो । माउ मुसाले आफ्नो बच्चालाई स्पर्श गर्दा डोपामिनको मात्रा अचानक बढ्थ्यो । डोपामिन भनेको हर्ष र खुशी महसुस गराउने हर्मोन हो । औषधीले डोपामिनलाई मुक्त हुन क्रियाशील गराउँछ । संयुक्त राज्य अमेरिकाका एक अनुसन्धान टोलीले, माउ मुसाले एक प्रकारको औषधी कोकेन र आफ्ना बच्चाहरूमध्ये कुनमा चाहिँ चाँडो प्रतिक्रिया जनाउँछ भन्नेबारे जान्न परीक्षण गरे । सामान्यतया कोकेनको लत लागेका मुसाहरूले खानाभन्दा कोकेन अझ बढी मन पराउँछन् । तर त्यो परीक्षणमा बच्चा जन्माएको माउ मुसाले कोकेनमा कति पनि ध्यान नदिईकन आफ्ना बच्चाहरूको रेखदेख गऱ्यो । किनभने माउहरूलाई कोकेनभन्दा पनि आफ्ना बच्चाहरूसँगै बस्न पाउँदा अझ हर्ष र खुशी महसुस हुने गर्छ ।

सबै जनावरका बच्चाहरू आकर्षक देखिनु भनेको आम विशेषता हो । शरीरको अनुपातमा टाउको ठूलो हुन्छ, टाउकोको तुलनामा आँखाको आकार ठूलो हुन्छ, तिनीहरूका हात र खुट्टा एकदमै छोटो हुन्छ, शरीर गोलाकार हुन्छ, र तिनीहरूको चालढङ्ग अलि अनौठो हुन्छ । जर्मनीका इथोलोजिस्ट कन्राड लोरेन्जले जनावरका बच्चाहरू आकर्षक हुनुको विशेषतालाई “Baby schema(बच्चाको साझा गुण)” भनेका छन्, जसले वयस्कमा रक्षात्मक नैसर्गिकता जगाउँछ । यसले आमाहरू लगायत अन्य वयस्कहरूमा रेखदेख गर्ने व्यवहार गर्न उत्प्रेरित गराउँछ ।

यसबाहेक आमाहरू, बच्चाको नैसर्गिक व्यवहार देखेपछि उनीहरूलाई माया नगरी बस्नै सक्दैनन् । जन्मेको केही महिनापछि बच्चाले, आफूलाई हेरिरहेको व्यक्तिलाई हेर्दै हाँस्न र बर्बराउन थाल्छ । यस विषयमा गरिएको अनुसन्धानअनुसार बच्चाको हाँसोले आमाको मस्तिष्कमा डोपामिन उत्पादन हुन मद्दत गर्छ, जसले आमालाई सधैँ खुशी महसुस गराउँछ । यसो हुँदैपिच्छे आमाले आफ्नो बच्चाप्रति अझ धेरै प्रेम महसुस गर्छिन् । प्रायः नवजात शिशुहरूमा केही अचेतन सजगताहरू हुने गर्छ । हत्केलामा केहीले छोइयो भने अँठ्याउने, छक्क पर्दा कसैलाई अँगालो हाल्ने, कुनै कुराले अनुहारमा छोयो उतैतिर आफ्नो अनुहार फर्काउने, ओठमा केही हालिदिँदा चुस्न खोज्ने इत्यादि । बच्चाहरूको यस्ता किसिमका नैसर्गिक व्यवहारले बच्चा र आमाबीच एक भावनात्मक सम्बन्ध सृजना गर्छ । वास्तवमा यस्तो नैसर्गिक व्यवहारचाहिँ उनीहरूमा आमाप्रति कुनै विशेष प्रेम भएकोले आउने होइन । बच्चा जन्माउँदा आमालाई बच्चाप्रति मातृ नैसर्गिकता महसुस हुने भएकोले आमाले धेरैजसो समय आफ्नो बच्चासँग बिताउने गर्छिन् । यसैकारण बच्चाले स्वभावतः आमालाई नैसर्गिक प्रतिक्रिया देखाउँछ, अनि बच्चाप्रतिको आमाको प्रेम अझ गहिरो हुँदैजान्छ । जन्मेको ६ महिनापछि बच्चाले पनि आमाप्रतिको प्रेम महसुस गर्न थाल्छ । यसरी आपसी प्रेम पूर्वनिर्धारित हुँदै आमा र सन्तानबीच अटल बन्धन गाँसिन्छ ।

“स्त्री कमजोर भए पनि आमाचाहिँ बलिया हुन्छिन्”

स्त्रीहरू पुरुषभन्दा कमजोर भए पनि ‘आमा’ बनेपछि चाहिँ सन्तानको निम्ति उनीहरू जो कोहीभन्दा अझ शक्तिशाली बन्न पुग्छन् । यस्तो मातृ नैसर्गिकता नै मानव-जीवनलाई सुरक्षित राख्न मद्दत पुऱ्याउने शक्तिको मूल हो । आमाको आमा र उहाँको पनि आमाबाट यो मातृ नैसर्गिकता हस्तान्तरण हुँदैआएको हो । यसको उत्पत्ति कहाँबाट भएको होला ?

सन्दर्भ :
मार्क बेकोफ, जनावरहरूको भावनात्मक जीवन : जनावरको सुख, दुःख, सहानुभूति र त्यसको महत्त्वबारे अनुसन्धान गर्ने प्रसिद्ध वैज्ञानिक, न्यू वर्ल्ड पुस्तकालय, सन् २००८
भिटस बि. ड्रोसर Wildly Successful : जनावरको राज्यमा जीवन बचाउने रणनीतिहरू, गोल्डमेन, सन् १९९६
क्याथेरिन एलिसन, आमाको मस्तिष्क : मातृत्वले कसरी तीक्ष्ण बनाउँछ, बेसिक बुक्स, सन् २००६
गाङ सग गि : आमा बनेपछि मस्तिष्क अझ तीक्ष्ण हुन्छ, दोङ्गा साइन्स, सन् २०१२
गिम ह्यङ गुन : स्त्री कमजोर हुन्छिन्, तर आमाचाहिँ शक्तिशाली हुन्छिन्, सन् २००९