सधैँ उस्तै मन लिएर

१ शमूएल १०:१७-२४

13,875 भ्यु

शमूएलले इस्राएललाई न्यायकर्ताको रूपमा नेतृत्व गरिरहेको समयमा इस्राएलीहरूले तिनीहरूमाथि शासन गर्न राजाको माग गरे । परमेश्वरले शमूएललाई उहाँको सामु कुल-कुल र वंश-वंश गरी इस्राएलका प्रत्येक कुलबाट १,००० जना हाजिर हुन आदेश दिनुभयो ।

परमेश्वरको वचनअनुसार शमूएलले इस्राएलका सबै कुललाई हाजिर गराए, र गोला हाले । बाह्र कुलमध्ये बेन्यामिनको कुल चुनियो । बेन्यामिनको कुलमध्ये मत्रीको वंश चुनियो, र अन्त्यमा कीशका छोरा शाऊल चुनिए । तर जब मानिसहरूले उनलाई खोजे तब उनलाई भेट्टाउन सकेनन् ।

“के त्यो मानिस यहाँ छ ?”

शाऊल नभेट्टिएकाले मानिसहरूले परमप्रभुलाई सोधे । परमप्रभुले शाऊल कहाँ छन् भनी तिनीहरूलाई बताउनुभयो । तिनीहरू दौडेर गई उनलाई सामानहरूका बीचबाट लिएर आए । अनि जब उनी मानिसहरूका बीचमा उभिए तब सबै मानिस उनको कुमभन्दा होचा थिए । शमूएलले मानिसहरूलाई भने,

“परमप्रभुले चुन्नुभएको मानिसलाई हेर । यस जम्मै जातिमा उनीजस्तै अरू कोही छैन ।”

तब ती मानिसहरू कराए, “राजा दीर्घायु होऊन् ।”

जब शाऊललाई इस्राएलको पहिलो राजा घोषणा गरियो, मानिसहरूको नजरबाट बच्नका लागि उनी लुके । मानिसहरूले उनलाई यसो भनेर तिरस्कार गर्थे, “यस मानिसले हामीलाई कसरी मुक्त गराउन सक्ला र ?” तर शाऊलले केही भनेनन् । शमूएललाई पहिलो पटक भेट्दा शाऊलले आफू इस्राएलका कुलहरूमध्ये सबैभन्दा सानो कुल भएकोले राजा बन्न अयोग्य रहेको कुरा बताए (१ शमू ९:२०-२१) ।

त्यो समयमा, परमेश्वरले शाऊलको शिरमा तेलको भाँडो खन्याउनुभएर तिनलाई राजाको रूपमा अभिषेक गर्नुभयो । यदि शाऊल आफ्नो नम्रतामा स्थिर रहेका भए उनी बाइबलीय पात्रहरूमध्ये अनाज्ञाकारिताको उदाहरण हुनुको सट्टा परमेश्वरबाट मान्यता प्राप्त धर्मी मानिस हुने थिए । शाऊलको घटनाद्वारा हामीले हाम्रो मन अहङ्‌कारी छ कि नम्र छ भनेर सधैँ जाँच गर्नुपर्छ । सदा नम्र हुनेहरूलाई नै परमेश्वरले प्रयोग गर्नुहुन्छ ।